Thursday, May 21, 2009

नचाहँदा नचाहँदै बनेका हिरो

त्यसो त सगरमाथाको चुचुरो छुने आप्पा शेर्पाको कुनै धोको होइन । अझ कीर्तिमान बनाउने त उनले सपनामा पनि चिताएका थिएनन् । धेरैको जीवन सगरमाथाको टुप्पो त के फेदीसम्म पनि नटेकी बित्छ । तर आप्पा शेर्पा, जसले उद्देश्य नराखिकनै सगरमाथा आरोहणमा एकपछि अर्को कीर्तिमान बनाएका छन् ।
बिहीबार बिहान ८ बजे सगरमाथाको चुचुरोमा 'जलवायु परिवर्तन रोक, हिमालयलाई बाँच्न देऊ' अंकित व्यानर फहराउँदै आप्पाले आफूलाई १९ औँपटक विश्वको सबैभन्दा अग्लो भूगोलमा पुर्‍याए । १३ महिनाअघि आफैँले कायम गरेको सबैभन्दा बढीपटक सगरमाथा चढ्ने मानवको कीर्तिमान आफैँले तोडे । 
थामे, सोलुखुम्बुका ४९ वषर्ीय आप्पा १२ वर्षको छँदा आफ्ना गोठाला पिताको निधन भएपछि परिवार पाल्न पर्वतारोहण पेशामा लागेका हुन् । पिताको मृत्युपछि आमा इलाफुटी, दुई दिदी र दुई भाइको जिम्मेवारी लाक्पा तेञ्जिङको थाप्लोमा आइपर्‍यो । भरियाका रुपमा यस पेशामा लागेका आप्पाले एकजना डेनिस समाजसेवीको मद्दतले सोलुकै हिमालयन ट्रस्ट स्कुलमा भर्ना भए । तर दुई बर्ष नबित्दै पर्वतारोहणले आप्पालाई तानिहाल्यो । 
आप्पाले १९८८ मा पहिलोपटक सगरमाथा आरोहण शुरु गरे । तर उनी ८ हजार ५०० मिटरभन्दा माथि जान सकेनन् । विगत केही वर्षयता कीर्तिमानमाथि कीर्तिमानको भारी बोकिरहेका आप्पाको शुरुका तीन आरोहण प्रयास विफल भएका थिए । सन् १९९० मे १० मा उनले रोब हल, ग्यारी बल र एडमण्ड हिलारीका नाति पिटर हिलारीसित पहिलोपटक सगरमाथाको आरोहण आरम्भ गरेका थिए । 
त्यसपछिका वर्षहरुमा भने आप्पाले कहिल्यै पछि फर्केर हेर्नु परेको छैन । त्यसयताका १९ वर्षमा उनले १९ सै पटक सगरमाथा चढिसकेका छन् । सन् १९९६ र २००१ मा उनले सगरमाथा चढेनन् तर १९९२ मा एकैवर्ष दुईपटक सगरमाथा चढे । आत्मीय पर्वतारोही मित्र बाबुछिरी शेर्पाको आरोहणकै क्रममा निधन भएपछि सन् २००३ मा आप्पाले पर्वतारोहणबाट सन्यासको घोषणा पनि गरेका थिए । तर त्यो कार्यान्वयन भने भएन । 
सन् २००६ को डिसेम्बरदेखि आप्पा अमेरिकाको ड्रापरमा श्रीमती र छोराछोरी समित बसिरहेका छन् । आप्पाले पटकपटक भन्ने गरेका छन् - ँकीर्तिमान राख्ने कुनै योजना पनि थिएन । मैले कीर्तिमान राख्ने सपना पनि कहिल्यै देखिना । म कहिल्यै कीर्तिमानको पछि लाग्दिना पनि’ 
तर के गर्नु जब कीर्तिमान नै आप्पाको पछि लागिदिन्छ 

Tuesday, May 12, 2009

जंगी अड्डाबाट बाँडियो भिडियो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइ समेटिएको विवादास्पद भिडियो टेप नेपाली सेनाको सैनिक मुख्यालयबाट बाँडिएको पाइएको

सरकारले रुक्माङद कटवाललाई प्रधानसेनापतिबाट हटाउन स्पष्टीकरण सोधेपछि मुख्यालयले सो भिडियो टेप राष्ट्रपति डा. रामवरण यादव, नेकपा एमाले का वरिष्ठ नेता माधवकुमार नेपाल केपी शर्मा ओली, नेपाली काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला तथा संविधानसभामा रहेका विभिन्न राजनीतिक दलका नेताहरुलाई बाँडेको स्रोतले बताएको

यस्तैगरी, सेनाले उक्त भिडियो नेपालस्थित भारतीय राजदूत, अमेरिकी राजदूत तथा विभिन्न कुटनीतिक नियोगमा अंग्रेजी भाषामा उल्थासहित वितरण गरेको स्रोतले जानकारी दिएको

कटवाल प्रधानसेनापति रहेका बखत डेढवर्ष अघि एक जनमुक्ति सेनाको सहयोगमा सो भिडियो टेप जनमुक्ति शिविरबाट बाहिर ल्याइएको थियो

कटवालका तत्कालीन स्टाफ मेजर डिकबहादुर थापाले भिडियो बाहिर ल्याउन जनमुक्ति सेनाका एक उपकमाण्डरसित सम्पर्क सुत्रको काम गरेको स्रोतले बतायो टेप बाहिर ल्याउने योजना सफल पारेवापत मेजर थापालाई कटवालले पुरस्कृत समेत गरेका थिए उनलाई पुरस्कृत गरेर अहिले संयुक्त राष्ट्रसंघीय मिसन अन्तर्गत कंगो पठाइएको

चितवनको शक्तिखोरस्थित जनमुक्ति सेनाको तेस्रो डिभिजनमा १८ महिना अघि माओवादी अध्यक्ष प्रचण्डले राजनीतिक प्रशिक्षण दिने क्रममा तयार पारिएको भिडियो बाहिर ल्याउन सैनिक मुख्यालयले ती छापामारलाई तीन किस्तामा पैसा पठाएको थियो

उपकमाण्डर तहका ती छापामारलाई नेपाली सेनाले मोवाइल समेत किनिदिएको थियो भने टेप तयारीको सम्पूर्ण जिम्मा डिकबहादुर थापालाई दिइएको थियो स्रोतले बतायो थापाले कटवालको सीधा सम्पर्कमा रहेर टेप हात पारेको पनि स्रोतले थप्यो स्रोतका अनुसार कटवालले त्यतिबेलै जनमुक्ति सेनामा विद्रोह गराउन लागि ती उपकमाण्डरलाई प्रस्ताव गरेका थिए

डेढवर्ष अघि प्राप्त भिडियोलाई राष्ट्रपति, राजनीतिक दलहरु, कुटनीतिक नियोग सञ्चारमाध्यममा लैजानु अघि प्रिन्सिपल स्टाफ अफिसर्स पीसीओजको बैठक समेत बसेको थियो बलाध्यक्ष कुलबहादुर खड्कालाई नबोलाइएको सो बैठकको निर्णय अनुसार नै भिडियोलाई वितरण गरिएको थियो तर भिडियो सञ्चारमाध्यमबाट प्रसारण गरिने योजना भने सेनाले राष्ट्रपतिलाई सुनाएको थिएन

भिडियोको सम्पादन तथा वितरण सेनाको मनोवैज्ञानिक अपरेसन कार्य महाशाखाले गरेको थियो नेपाली सेनाका प्रवक्ता रमिन्द्र क्षेत्री सो महाशाखाको स्थापनाकालदेखि प्रमुख छन्

स्रोतका अनुसार भिडियोलाई प्राविधिक रुपमा गुणस्तरीय बनाउने काम महाशाखाका कम्प्युटर अपरेरटर बालकृष्ण शर्माले गरेका थिए भिडियो अत्यन्तै रफ थियो, बालकृष्णले त्यसलाई सम्पादन गरेर स्तरीय बनाएका हुन् स्रोतले भन्यो

द्वन्द्वकालमा माओवादीविरुद्ध मनोवैज्ञानिक दुस्प्रचार फैलाउन खडा गरिएको सो महाशाखा अहिले पनि क्रियाशील स्रोतका अनुसार महाशाखाले माओवादीबाट हत्या गरिएका पत्रकार ज्ञानेन्द्र खड्का तथा माओवादीबाट गरिएको बस आगजनीमा मारिएकी बालिका काजोल खातुनका बारेमा पनि भिडियो तयार गरी कुटनीतिक नियोगमा वितरण गरेको थियो

पछिल्लो समयमा सो महाशाखाले सैनिक रणनीति नेपालको प्रतिरक्षा रणनीति पनि तयार गरेको

ब्रिगिडियर जनरल रमिन्द्र क्षेत्री उनका सहोदर भाइ कर्णेल रतिन्द्र क्षेत्री, प्रमुख सेनानीहरु विनयविक्रम राणा, सुरेन्द्रसिंह रावल, अनुपजंग राणा कर्णेल सन्तोषबल्लभ पौडेल सो महाशाखामा कार्यरत् हुनुहुन्छ ब्रिगिडियर जनरल क्षेत्री राणा बाहेक अन्य सो विभागमा काजमा ल्याइएका छन कर्णेल क्षेत्री पूर्व राजा ज्ञानेन्द्रका स्टाफ थिए भने थापा रेञ्जर गणका गुल्मपति, पौडेल गणेशदल गणका गणपति रावल स्टाफ कलेजबाट काजमा आएका थिए

भिडियो कटवाललाई सरकारले स्पष्टीकरण सोधेपछि बाहिर ल्याइएको थियो सुरुमा एउटा साप्ताहिकले यही भिडियोबाट समाचार बनाएको थियो राष्ट्रपति यादवले कटवाललाई प्रधानसेनापतिमै काम गर्न पत्राचार गरेर असंवैधानिक कदम चालेको भन्दै प्रधानमन्त्री प्रचण्डले राजिनामा दिएपछि यो भिडियोलाई मूलधारका सञ्चारमाध्यमबाट प्रसारण प्रकाशन गरेका थिए

Sunday, May 10, 2009

कमरेड पासाङको खोजीमा

२०६१ असोज १० गते । सरकारी अखबारमा कार्यरत् भए पनि जनयुद्धको राजधानी रोल्पा छिचोल्ने अभिष्टले काठमाडौँ छोडेँ । साँझ पक्रेर भोलिपल्ट दिउँसो बुटबल पुगेँ । 'उज्यालैमा चढेर उज्यालैमा घर पुग्ने बसलाई चाहिँ नाइट बस रे, अँध्यारैमा चढेर अँध्यारैमा घर पुग्ने बस चाहिँ डे बस रे' बसभित्र चलेको यस्ता अन्तरविरोधी चर्चाले म नाइट बसमा चढेँ के कि डे बसमा द्विविधामा परेँ । 
बुटवलमा भेट्नु थियो रोल्पायात्राका संगती हिमाल खबरपत्रिकाका जेवी पुनमगरलाई । पुनलाई भेटेपछि निस्कर्ष निस्कियो - खाम मगर भाषा बोल्ने र बुझ्ने एक गाइड लिएर जाऔँ । कहाँ खोज्ने ? तिनाउ खोलापारि बेलबासमा रोल्पाबाट झरेका पुनका एक मित्र रहेछन् । हरि नामका ती मित्र बिहान मुख धुनु अगावै मदिराले आँत भिजाउँदा रहेछन् । धेरै कर गरेपछि उनले खोजिदिए थवाङका महेश बुढालाई । बुटवल-भालुवाङ बसको सिट र भालुवाङ-सुलीचौर बसको छतमा बसेर रोल्पा पुग्यौँ । विगतका माओवादी महेशले रोल्पाका, माओवादी जनयुद्धका र आफ्नै जीवनका केस्राकेस्रा यति रमाइलोगरी छोडाए कि बसको छतमा बसेर कच्ची बाटोमा गुडिरहेको पत्तै भएन । 
रोल्पा जानुको उद्देश्य थियो - माओवादी सेनाका कमाण्डर पासाङलाई भेट्नु । नेपाल प्रेस इन्स्टच्यूटको तीन महिने खोज पत्रकारिता तालिमले युद्ध अपराधसम्बन्धी आलेख तयार गर्न उक्साएको थियो । र, खोज्नुथियो त्यस्ता युद्ध अपराधका सबुतहरु, प्रमाणहरु, दसीहरु । माओवादी वा राज्य जोसुकैले गरेको होस् । देशभर माओवादीले बर्बर व्यवहार गरेको सञ्चारमाध्यममा छ्यास्सछ्यास्ती थियो । र, सोध्नु थियो पासाङलाई - के साँच्चै तपाईहरुले यस्ता अपराध गर्नुभएकै हो त ? 
रुइनिबाङ -सुलीचौर पारिपट्ट)ि एक आफन्तकहाँ महेशले हामीलाई राखे । फूपाजु पर्ने ती आफन्तसित मगर खाम भाषामा पासाङ कता होलान् भन्ने जानकारी लिए । र, थवाङमा पासाङलाई भेट्न सकिने सम्भावना हामीलाई सुनाए । आस्वासन मात्रैले पनि हामी फुलेल भयौँ । रुइनिबाङबाट अगाडि जान माओवादीको अनुमति हुनु अनिवार्य थियो । त्यहाँका सेक्रेटरी अग्नीलाई भेट्न त सकिएन तर सम्पर्क सुत्रले अनुमतिपत्र नभए पनि जैमाकसलासम्म जानु भन्ने खबर ल्याइदियो । साथमा थिए - हामीलाई स्कर्टिङ गर्ने दुई मिलिसियाहरु । 
जैमाकसला पुग्दा झमक्क साँझ पर्‍यो । अगाडि बढ्न थप अनुमति चाहिने जानकारी पहिले नै गराइएको थियो । त्यसैले त्यसदिनको बास जैमाकसलामै । हामीलाई होटलमा राखे । वरपरि मिलिसियाहरु थिए । नाम, ठेगाना, भेट्न चाहेको व्यक्ति, भ्रमणको उद्देश्य डायरीमा टिपे । उनीहरुको कम्मरमा झुण्डिएको गि्रनेड प्रष्टै देखिन्थ्यो । पाहुना मानेर हामीलाई होटलमै चामलको भात खुवाए । उनीहरुले चाहिँ ठूलो भाँडोमा आँटो ओडालेर साग र छोपसित छाक टारे । 
भोलिपल्ट बिहानै अनुमति पत्र आउने आश्वासन दिइएको थियो । घडीले सात, आठ, नौ, दश, एघार, बाह्र, एक, दुई बजायो । अनुमति पत्र आएन । त्यहीँको स्वास्थ्य चौकीकी स्वास्थ्य सहायक गोरखाकी विष्णु थापाका कारण दिन बिताउन पट्यार लागेन । आफ्नो नाममा देवी, माया, कुमारी नभएका कारण  पुरुष ठानेर आफूलाई यस्तो द्वन्द्वग्रस्त क्षेत्रमा खटाइएको उनले बताइन् । काठमाडौँमा बसेर रोल्पाको नाम सुन्दै आत्तिने हामी रोल्पाको गाउँगाउँमा दुईवर्ष बिताएकी उनलाई भेटेपछि सम्हालियौँ ।
भोलिपल्ट तीन बजेतिर अनुमति पत्र आयो । पत्रमा लेखिएको थियो - 'जो जससँग सम्बन्धित छ, पत्रबाहक दुई पत्रकारलाई थवाङसम्म जान दिइएको छ । कमरेडहरुले आवश्यक सहयोग गर्नुहोला ।' साथमा थिए बाटो देखाउने दुई कामरेडहरु । जैमाकसलाका कामरेडहरुले एक काइँयो केरा दिएर बिदाइ गरे ।
भोलिपल्ट थवाङ पुग्ने दिन । बिहान पाँचैबजेदेखि हिँडेका हामी चारबजेतिर पुन्टीबाङ पुग्यौँ । बाटामा थवाङबाट र्फकँदै गरेका कामरेडहरु भेटिए । उनीहरुले हामीसँगैका कामरेडहरुसित थवाङमा नेपाली सेना आउँदै गरेकाले महिला केटाकेटीबाहेक सबै घर छोडेर हिँडेको बताए । पुन्टीबाङमै केही जिम्मेवार कमरेडहरु भएकाले थवाङ होइत बरु त्यतै जान सुझाए । 'राति नै सेना आइपुगेर सोत्तर पार्छ कि' सन्त्रास बोकेर रात काट्यौँ । माओवादीका क्षेत्रीय ब्यूरोसदस्य धनेश्वर पोखरेल -लीलामणि पोखरेलका भाइ) रहेछन् त्यहाँ । भोलिपल्ट हामीसित लामो बयान लिएपछि उनले 'स्थिति प्रतिकूल रहेकाले र्फकन' अनुरोध गरे । फूलमाला र अबिर टीका लाइदिएर सानो कोणसभाजस्तै गरे । उनीहरुको आतिथ्यता साँच्चिकै स्मरणयोग्य थियो ।   
र्फकेर धुरी कट्नासाथ आकाशमा जोर हेलीकोप्टर घुम्न थाल्यो । 'ल अब गोला बर्साउने भो' भन्ने भो । दौडेर रुखको पोथ्रामा छलियौँ । हेलिकोप्टरले डाँडा काट्यो । बाटोमा निस्केर दगुर्‍यौँ । एकातिर माओवादीले 'तिमीहरु पनि आउने आर्मी पनि आउने' भनेर सुराकीको शंकामा दुःख देला भन्ने डर । अर्कोतिर आर्मीले तिमीहरु माओवादी नेतालाई भेटेर आएका हौ, नेताहरु कहाँ छन् देखा' भन्ने डर । दोमन बोकेर हामी दगुरिह्यौँ । बेजोडको दगुराईले मेरो त जरो नै फुट्यो । जसोतसो चारपाउ टेक्दै भावाङमा बास बस्यौँ । बास त पाइयो तर घरमा एकजना बिरामी महिला र चार भान्टाङभुन्टुङ मात्र रहेछन् । रक्स्याहा पतिले कुटेर उनको हर फुस्काइदिएका रहेछन् । माओवादीले मदिरा निषेध गरे पनि उनको पति भने माओवादीकै आडमा श्रीमती भकुर्दा रहेछन् । 
जरोले थलिएर रोल्पामा सिद्धिन्छु कि जस्तो भो । आमा, बाऊ, आफन्त, साथीसंगी सबैलाई सम्झेँ । भोलिपल्ट जसोतसो सुलीचौर आइयो । महेशको आफन्तकै घर थियो चिनेको । उनकै पुसैको छोरीले हात थामेर क्लिनिक लगिन्, जचाइँन्, औषधि लिइदिइन् । 'परदेशी मर्ला कि' भन्ने पीर मलाई भन्दा उनलाई चर्को थियो । औषधि र उनको हेरचाहले दुईदिनमै म तङगि्रएँ । पासाङलाई भेटेर के के न प्रश्न गर्छु, रोल्पा गएर के के न स्कुप मार्छु भन्दा माओवादी-आर्मीको शंका र ज्वरोबाट बाँचेर फर्किन पाएको मेरा लागि महत्वपूर्ण भयो । तर यो अखबारमा छापिने समाचार थिएन ।

Wednesday, May 6, 2009

प्रधानसेनापति : कटवाल कि खड्का

नरेश खपा‌गीमगर, काठमा‌डौ।
राष्ट्रिय सेना नेपाली सेनाको प्रधानसेनापति को? खड्का कि कटवाल? नेपाली सेनाभित्र मात्र होइन देशभित्र र बाहिर पनि यो अन्यौलको तुवाँलो अझै फाट्न सकेको छैन।
सरकारबाट आइतबार बिहान कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी पाएका रथी कुलबहादुर खड्काले दुई दिन बितिसक्दा पनि पद बहाली गर्न र काम सम्हाल्न पाएका छैनन्। उता सरकारबाट आइतबार बिहान नै अवकास पाएका रुक्माङद कटवालले पनि प्रधानसेनापतिको कार्यकक्ष र झण्डा छोडेका छैनन्। राष्ट्रपति डा. रामवरण यादवको प्रधानसेनापति कै काम यथावत सम्हाल्नु भन्ने पत्र आइतबार राति पाएपछि त कटवाललाई सजीवनी बुटी नै मिलिहाल्यो।
राष्ट्रपतिको पत्रपछि पनि को प्रधानसेनापति भन्ने प्रश्नले उत्तर पाउन सकेको छैन। खड्कालाई अहिलेसम्म पनि कसैले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारीबाट मुक्त गरिएको जानकारी दिएको छैन। खड्काले भन्नुभयो "कायममुकायम प्रधानसेनापति मै हुँ तर मैले काम भने गरेको छैन।"
राष्ट्रपतिबाट कटवाललाई प्रधानसेनापतिको जिम्मेवारी पूर्ववत् सम्हाल्नु भन्ने पत्र आए पनि खड्कालाई कायममुकायम जिम्मेवारीबाट हटाइएको पत्र आएको छैन। खड्काले सोमबार साँझ थप्नुभयो "राष्ट्रपति कार्यालयबाट मलाई कुनै चिठ्ठी आएको छैन।"
उता नेपाली सेनाको प्रवक्ताको कार्यालयले भने प्रधानसेनापतिका बारेमा कुनै  द्विविधा नरहेको बताएको छ। कार्यालयका मेजर पंकज पाण्डेले भन्नुभयो "प्रधानसेनापतिका बारेमा कुनै अन्यौल छैन। महारथी रुक्माङद कटवाल प्रधानसेनापति हुनुहुन्छ।" पाण्डेले राष्ट्रपतिको पत्रको आधारमा कटवाल नेपाली सेनाको प्रधानसेनापति रहनुभएको र अरुलाई यथावत जिम्मेवारी दिइएको जानकारी दिनुभयो।
सरकारले एउटा राष्ट्रपतिले अर्को प्रधानसेनापति तोक्दा टाउको चाहिँ प्रिन्सपल स्टाफ अफिसर्स (पीएसओज) हरुलाई दुख्यो। सोमबार बिहानैदेखि बलाधिकृत रथी छत्रमानिसंह गुरुङको कार्यकक्षमा बसेको पीएसओजको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएसम्म कुनै निर्णय गर्न सकेन। जब प्रधानमन्त्रीले राजीनामा दिए त्यसपछि भने पीएसओजलाई निर्णय लिन सजिलो भयो। स्रोतका अनुसार निर्वाचित सरकारले राजीनामा दिइसकेको अवस्थामा राष्ट्रपतिको निर्णय सदर गर्नु नै पीएसओजले उचित ठहर्यायो । बैठकको निर्णय कटवालका पक्षमा जाने भएपछि खड्का भने बैठक छाडी बाहिरिएका थिए।
खड्का र पीएसओजहरुको विवेकपूर्ण निर्णयका कारण सेनाभित्र शक्ति प्रयोगको अवस्था आउनबाट जोगियो। कटवालले खड्कालाई पक्राउ गर्ने खड्काले कटवाललाई जंगी अड्डा छिर्नै नदिने अवस्था आउन परेन। स्रोत भन्छ "खड्काले चाहेको भए कटवाललाई आइतबार बिहान जंगी अड्डा छिर्नै नदिन सक्थे। झण्डा खोस्न सक्थे।" तर खड्काले त्यसो गरेनन्। युनिटपतिहरुले पनि खड्का र कटवालाई उक्साउने थचार्ने काम गरेनन्।
कटवाल भने जंगी अड्डा छाडिहालेमा खड्काले छिर्न नदिने हुन् कि भन्ने त्रासले ग्रस्त रहे। स्रोतका अनुसार आइतबारको रात कटवालले जंगी अड्डामै गुजारे।
अहिले नेपाली सेनाका मातहतका अधिकारीहरुलाई भने कसको आदेश मान्ने भन्ने पीर छ। एक पृतनापतिले भने "सरकारले नियुक्त गरेकाको आदेश मान्ने कि राष्ट्रपतिले नियुक्त गरेकाको मान्ने" तर खड्काले काम नसम्हालेका कारण तत्कालै गाह्रै परिहाल्ने स्थिति चाहिँ छैन।
खड्का पनि अहिले आफूले के काम गर्ने पूर्ववत् बलाध्यक्षको काम गर्ने कि कायममुकायम प्रधानसेनापतिको काम गर्ने दोधारमा छन्। "सरकारले कायममुकायम प्रधानसेनापतिकै पोजिसनमा बसिराख्नु भनेको छ तर मैले काम भने गरेको छैन खड्काले" भने। अब बलाध्यक्षको काम गर्नुहुन्छ कि प्रधानसेनापतिको जवाफमा खड्काले भन्नुभयो "एक दुई दिन पर्खन्छु त्यसपछि के गर्ने निर्णय गरौँला।"