Saturday, February 28, 2009

हेडलाइन लाहुरे


विश्वप्रसिद्ध सञ्चारमाध्यमका पानामा आफ्नै कथा भरिन्छन् भनेर भोजपुर, दिङलाका ज्ञानेन्द्र राई सपनामा पनि सोचेका थिएनन् । साथीभाइको लहैलहैमा ब्रिटिश सेनामा भर्ती भएका राई फोकल्याण्डको लडाइँमा घाइते भए । हवाइ टापुमा अफिसरसितको भनाभनमा परेर छाँटिए । त्यतिबेला सञ्चारमाध्यमले उनलाई चिनेन । ब्रिटिश सेनाबाट निस्कासनमा परेको २२ वर्षछि सन् २००८ मा उनको पछि को थिएन - बीबीसी, गार्जिएन, टेलीग्रफ, डेली मिरर, डेली मेल, टाइम्स ।
फोकल्याण्डमा लागेको घाउको उपचारका लागि उनले बेलायत जान भिसा मागेका थिए । तर बेलायतले भिसा रातो झण्डा देखाइदियो । उनका वकिल ह्वो एण्ड कम्पनीले बेलायतमा यो कुराको पोल खोलिदिए । अनि त के निहुँ चाहियो - भोकोले आहारा खोजेजस्तै उनलाई खोज्दै बेलायती मिडियाहरु काठमाडौँ मात्र होइन भोजपुरसम्म पुगे ।
अर्कोपटक, सन् २००८ को सेप्टेम्बरमा तिनै ज्ञानेन्द्र फेरि सञ्चारमाध्यमको घेरामा परे । कारण थियो, उनीसहित छ जना पूर्व गोरखा सैनिकले हालेको मुद्दामा ३० सेप्टेम्बर, २००८ मा बेलायती उच्चअदालतले सबै गोरखा भूतपूर्व सैनिकलाई आवासीय अधिकार दिन बेलायत सरकारलाई निर्देशन गर्ने फैसला ।
२०१२ सालमा भोजपुरमा जन्मेका राई सन् १९७३ मा बेलायती सेनामा भर्ती भए । दोस्रो विश्वयुद्धका साक्षी पिताको पाइला पछ्याउँदै राई शुरुमा भोजपुरकै साङपाङको प्रारम्भिक गल्लामा छानिए । त्यसपछि धरानमा ब्रिटिश सैन्यको एसएसली -फाइनल सेलेक्सन) पास गरेर हङकङको सेकोङ तालिम केन्द्र पुगे । नौ महिने तालिमपछि तालिमेलाई पल्टनमा बाँडियो । राई परे सेभेन गोरखा राइफलमा । अझै काम बाँड्दैजाँदा राई पुगे ब्याण्ड प्लाटूनमा । काम थियो ड्रम बजाउने । बाँकी समय मेसिन गन चलाउने ।
सन् १९८२ को कुनै दिन बेलायतमा थियो राईको पल्टन । खबर आयो - अर्जेण्टिनाले बेलायत अधीनस्थ फोकल्याण्डमा आक्रमण गर्‍यो रे । अर्जेण्टिनाको झण्डा गाड्यो रे । अब लडाइँमा जाने सूचीमा परे राई । बेल्समा डेढमहिना तालिम गरेपछि मे १२ तारिखमा क्वीन्स एलिजावेथ २ पानीजहाज चढेर १९ दिनपछि फोकल्याण्ड टेके । बी कम्पनीमा बाँडिएका राईले भात न पानी भएर दशदिन दुस्मन खोज्दै फोकल्याण्डको जंगल चाहारे ।
जुन ११ को दिन थियो । दिउँसो अन्दाजी ११ बजे अर्जेण्टिनी आर्टिलरीले बी कम्पनी बसेको एरियामा फायर गर्यो । पिठ्यूँमा भिरेका सामान छेड्दै बमको चोइटा राईको शरीरभित्र छिरयो । "बमको चोइटा लागेपछि मरेजस्तो लाग्यो" राईले अनुभव बाँडे । "यताउती चल्न कोसिस गर्दा पनि बमबार्ड भइरहेको थियो, रेस्क्यू गर्ने एम्बुलेन्स आउन सक्ने अवस्था नभएकोले त्यत्तिकै बस्यौँ" राईले थपे ।
"पहिला त ढुंगाले कुटेजस्तो लागेको थियो देब्रे कुममा हेर्दा त आगो लागिरहेको देखेँ । हातले छाम्दा आगो त निभ्यो । तर हातै प्वालभित्र पसेजस्तो लाग्यो" कमिज माथि सार्दै घाउको खत देखाउँदै राईले भने । "सामान नबोकेको बेला भए त म फोकल्याण्डमै बित्ने थिएँ" झण्डै भेटिएको मृत्युलाई यसरी सम्झे राईले ।
केहीबेरपछि मेडिकल टुप्सले राई लगायतका घाइतेहरुलाई उठाएर फिल्ड अस्पताल पुर्‍यायो । अपरेशन त्यहीँ भयो । "अपरेसनपछि होसमा फर्कदा त स्टेचरमा रगले छ्याप्पै भिजेको थिएँ । देब्रे हातमा बमको चोइटा प्लाष्टिकमा लगाएर बाँधिदिएको रहेछ । खुट्टामा युनियन ज्याक पनि तयार पारिएको रहेछ । मरिहाल्यो भने ओढाइदिनका लागि" घाइते भएपछिको बेलीबिस्तार यसरी लाए राईले । त्यसपछि रेडक्रसको पानीजहाजमा राखेर राईलाई युगाण्डा लगियो । पानीजहाजमै दुइपटक अपरेसन गरिएको राई बताउँछन् ।
युगाण्डामा राईको बमले डढेको घाउ अरुको मासु थपेर सिलाइदिए । डाक्टरहरुले भन्ने गर्थे रे - तिम्रो घाउ दोब्राएर सिलाइदिएको छु । धेरै नचल्नु फाट्न सक्छ । अलिकति अर्काको मासु थपेर सिलाइदिएको छु । गोरखाली सैनिक पुगेको १४ दिनमा अर्जेण्टिना बेलायतको कब्जामा आयो । गोरखाली पल्टन अमेरिकामा बहादुरी र कौशल प्रदर्शन गर्दै बेलायत फर्क्यो । बेलायतमा केहीसमय बसेपछि पुनः उही टुंगोमा फर्काइयो हङकङ ।
सन् १९८६ मा अमेरिकाको हवाई टापुमा काम गरिरहेको सपोर्ट कम्पनीलाई सघाउन मेसिन गन प्लाटून र क्यूएम प्लाटूनलाई पठाइयो । राई मेसिन गन कम्पनीमा परेर हवाई पुगे । कम्पनीका मेजर पियर्सले तालिममा गोरखालीलाई नहुँदो नहुँदो कुरा गरेको गोरखा सैनिकहरुलाई मन परेको थिएन । तालिम समापनको दिन बिदाई पार्टी राखियो । पार्टी सकिएपछि सबै क्याम्पभित्र सुत्न गए । राई पनि सुत्न गए ।
सुत्न बिस्तारामा पल्टेका मात्र के थिए राईले अचानक हल्लाखल्ला सुने । बाहिर निस्कँदा देखे - गोरखाली सैनिकको एउटा समूह डाँडामा रहेको कम्पनी कमाण्डरको टेण्टतिर दगुर्दै थियो । त्यहाँबाट पनि अगि बढ्न थाल्यो । केही समयपछि क्याप्टेन अमरराज राईले गार्डरुम छेउमा आएर - ओसी साबको टाउको फुट्यो कोही अगाडि नआओ भनेर कराए । तर कसले फुटायो, के कारणले फुटायो आफूलाई थाहा नभएको राईले बताए ।
हवाईबाट हङकङ फर्कनासाथ गोरखाली पल्टनलाई विमानस्थलमै गिरफ्तार गरियो । राई पनि त्यसमा परे । क्याम्पमा बन्दी बनाएर राखियो । अनुसन्धान गरियो । दोषी पत्तो लागेन । स्पेशल इन्भेष्टिगेसन ब्राञ्च गठन गरियो । तैपनि दोषी ठहर गर्न सकेन । कुटाइ खाने गोरा अफिसरले पनि जे भयो भयो अब राम्रोसँग काम गर्नुपर्छ मेरो पनि गल्ती भयो हेला दुवै पक्षबाट क्षमा माग्नुपर्छ’ भनेको राई बताउँछन् । त्यसपछि त्यो केस मिलाउने सर्वाधिकार गोरखा मेजर प्रतापसिंह लिम्बूलाई दिइयो । लिम्बूले मुद्दा मिलाउनुको साटो नरहे बाँस नबजे मुरली जस्तैगरी हवाईबाट फर्केका सबै १११ जना गोरखालीलाई बदमास भन्दै घर पठाइदिए ।
घर फर्काउनु अगि राईसित कमाण्डिङ अफिसरले अन्तर्वार्ता लिए । हवाई जाने सबै डिस्चार्ज हुनुपर्छ तर तिमी फोकल्याण्डमा लडेर घाइते समेत भएको हुँदा तिमीले नोकरी अनुसारको पेन्सन पाउँछौँ’ भनेर हस्ताक्षर गर्न लगाएका थिए । राईले पेन्सन नपाउने हो भने म हस्ताक्षर गर्दिनँ’ भन्दा कमाण्डिङले पक्का पाउँछौँ विश्वास गर’ भनेका थिए रे । तर अहिलेसम्म राईले पेन्सन पाएका छैनन् । भन्छन् "पेन्सनको विश्वासमा सही गरेको थिएँ । यतिका वर्षभयो पेन्सनको कुनै अत्तोपत्तो छैन । उल्टो वेलफेयर अफिस जान पनि प्रतिबन्ध पो भयो ।"
"बेलायती सैनिक बनेर बेलायतको लागि लड्दा लागेको घाउ दुख्दा उपचार गराउन वेलफेयर जाँदा पनि अनुमति छैन भनियो । औषधि दिइहाले पनि पेनकिलर भन्दा केही पाइन्न" बेलायतका लागि लड्दा लागेको घाउले भन्दा बेलायती अधिकारीको ब्यवहारबाट लागेको घाउले बढी मर्माहत भएका राईले दुखेसो पोखे ।
अहिले सञ्चारमाध्यम, बेलायती जनता र बेलायती अदालतले उनको पक्षमा फैसला गरिदिएपछि भने राई हर्षित भएका छन् । हरेक महिनाजसो विदेशी सञ्चारमाध्यमका प्रतिनिधिलाई आफ्नो कथा सुनाउन पाउँदा झण्झट मान्ने त कुरै आएन । कतिले उनका बारेमा वृत्तचित्र नै बनाउँदै छन् । कहिलकाहीँ नराम्रो घटनाले पनि राम्रो परिणाम ल्याउँदो रहेछ । फोकल्याण्डमा घाइते नभएको भए, हवाईकाण्डमा कटौतिमा नपरेको भए ज्ञानेन्द्र राईलाई कसैले खोज्थ्यो -
युरोपको नेपालीपत्रमा प्रकाशित

Thursday, February 19, 2009

पीएचडी गर्ने पहिलो लाहुरे


पैसा भएको तर बुद्धि नभएको । लाहुरे भन्नासाथ शायद धेरैले यस्तै सोच्छन् । काठमाडौँ, पोखराका ट्याक्सी चालकदेखि पढेगुनेकासम्मले । कतिले ठान्दा हुन् - मुर्ख, एकोहोरो, आदेशपालक पनि । लाहुरेप्रतिको यस्ता आमधारणालाई च्यात्दैछन् स्वयम् लाहुरेहरु । यसै अभियानका अग्रज मानिन्छन् डा. हर्षहादुर बुडामगर ।
दोस्रो विश्वयुद्ध, जम्मू-काश्मिर लडाइँ र मलायाको युद्धमा १३ वर्षबिताएका बुडाले पीएचडी मात्र गरेका छैनन् दुइदर्जन पुस्तक पनि लेखेका छन् । पढ्ने उमेरमा आफू लाहुरे बन्नु परे पनि अरुलाई शिक्षा दिलाउन उनले पाठशाला र कलेज समेत खोलेका छन् ।
डा. हर्षहादुरको बाजे, बाबु दुवै लाहुरे थिए । उनका जिजुबा असमको वेल कम्पनीमा हनेरी क्याप्टेन थिए । उनका पिता भक्तबहादुर पहिलो विश्वयुद्धका योद्धा थिए । बुडाको जन्म वि.सं. १९८४ मा बाग्लुङको गल्कोटमा भएको थियो । बुडालाई पढाउन भनेर भारत लगियो । तर सानैमा उनले पितृवियोग सहनुपर्‍यो । सरकारले दिएको क्वार्टरमा राख्दै आमाले बुडालाई पढाउँदै, बढाउँदै जानुभयो । एक्कासी सन् १९४२ मा जापानले भारतमा बर्षार्एको बमले सिंगो गोरखा पल्टनलाई मात्र होइन डा. बुडालाई पनि ब्याक’ हुन बाध्य बनायो ।
आमाको चोर औँला समात्दै बुडा फर्के गल्कोट । तर त्यतिबेलासम्ममा गल्कोटमा उनको परिवारको नाममा आफ्नो भन्ने मन शिवाय केही थिएन । अलिअलि भएको सिरिखुरी साहुले कोप्ल्याइसकेका थिए । आमाले पोल्टामा साँचेको कम्पनी -पैसा) ले जेनतेन घर बन्ने माटो आफ्नो त भयो । तर अब के खाने, के लाउने - समस्या पर्‍यो चर्को । लाहुरे नबन्नु भन्ने आमाको इच्छालाई कठोर मनले तोड्दै १५ वर्षो उमेरमा बुडा हिँडे बाउ बाजेको बिँडो थाम्न ।
१७ वर्षउमेर लेखाएर उनी भर्ती भए उनी पिताजीकै पल्टन थर्डर्-थर्ड गोरखा राइफलमा । सानो कद देखेर गुरुजीहरुले उनलाई भन्थे रे -एकवर्ष यहीँ दुध खाएर बस्ने । यति सानो मान्छे त्यति मोटो मोटो जापानीसित कसरी लड्न सक्छौँ -’ यस्तै प्रश्न सोझिन्थे डा. बुडामाथि । अफसोच के भैदियो भने बुडा सबै तालिममा पहिलो पहिलो भए । लड्न नसक्ने भए किन मलाई तालिममा फस्ट बनायौ त - मलाई भिसी पाउने इच्छा छ किन लडाइँमा जान रोक्छौ’ भनेर उल्टो र्‍याखर्‍याख्ति पारे बुडाले । कमाण्डरहरुसित जवाफ थिएन । त्यसैले १७ वर्षे उमेरमै पठाइदिए ३६ जनाको कमाण्डर बनाएर ।
आफ्नो टीम लिएर बुडा हिँडे इम्फाल । कोइमा पुग्ने बित्तिकै बाटो ब्लक’ भयो अगाडि जान सकिँदैन भन्ने तार आयो । कमाण्डिङले पनि भने -केटा हो ज्यान जोगाओ । रातभर लुकेर बसेपछि बिहान कन्भे गाडी आयो र त्यसैमा चढेर बुडा पुगे इम्फाल । कसरी मैले भिसी पाउन होला - बुडाको ध्यान यसैमा छ । यस्तै सोचाइको तलाउमा डुबुल्कि लगाउँदा लगाउँदै इम्फालको एयरपोर्टमा दिउँसै दुस्मनले आक्रमण शुरु गर्‍यो । यही हो मौका । ठोक भाइ । बुढाले बिना आदेश अरुलाई ँसुत् केटा हो’ भने र ब्रेन गन तीन फायर गरे ड्याम्म...ड्याम्म...ड्याम्म...। हेलिकोप्टर भाग्यो । बिना आदेश फायर गरेको कसुरमा बुडा परे कारबाही -कोर्टमार्सल) मा ।
तीन दिन प्याट्रोलिंग गरेर सजाय काटेपछि बुडा पुरानै ड्यूटीमा फर्किए । बर्माको सेनाममा खटाइयो बुडालाई । कर्र्णोलसित सामान्य निर्देशन लिए । कर्नेलको आदेश थियो - छ महिनादेखि डिफेन्स लिएर बसेको इलाकाबाट अगाडि बढाउने काम तिम्रो परेन फसाद । यसरी सीधै कालको मुखमा ठेल्दिने - के गर्ने अर्डर मान्नै पर्यो । सबै शक्ति लाएर आक्रमण शुरु गरे बुडाले । करिब डेढसय सैनिक गुमाएर सेनाममा आधिपत्य जमाएपछि बुडाको प्रशंसा भयो सबैतिर । पुरस्कारमा एकसाताको छुट्टी पाए बुडाले ।
बर्माको लर्डाई, सिंगापुर, इण्डोनेसिया, जम्मु-काश्मिर सबैमा अनुभव हात पारेपछि बुडा फर्किए घर । मलायामा नोकरी गर्दौगर्दै लिएको शिक्षण तालिम काम लाग्यो । सन् १९५३ मा रिटायर्ड भएर बुडाले गल्कोटको चैतन्य मिडिल हाइस्कुलमा पढाए । आर्मीमा छँदै पेन्सन आउनु अगि उनले आर्मी स्पेशल र्सर्टिफिकेट अफ एजुकेसन सिध्याएका थिए । जुन एसएलसीसरह थियो ।
गल्कोट हाइस्कुलमा शिक्षक हुँदा नै विद्रोही डा. के. आई. सिंहका कार्यकर्ता बनेका थिए बुडा । त्यसैले उनले के. आई. सिंहको फौजलाई हतियार दिएर सहयोग पनि गरेका थिए । यसक्रममा उनी पक्राउ पनि परे । तर आमरण अनसन बसेर १३ दिनमै छुटे ।
युद्धको नरसंहार आँखै अगाडि देखेका बुडाले रिटायर्ड भएपछि पक्लिहवामा हाइस्कुल खोले र बने संस्थापक हेड मास्टर । त्यसपछि खोले सिद्धार्थ कलेज, हालको भैरहवा बहुमुखी क्याम्पस र पाँचवर्षम्म बने संस्थापक प्रमुख । सम्राट अशोकको जीवनी पढेका बुडाले आफूलाई पनि अशोककै पथमा लैजाने जमर्को गरे । आफूले १३ वर्षम्म सिकेको बम गोला बारुदरुपी ज्ञान होइन अब शैक्षिक चेतना फैलाउन पर्छ भन्ने उनले निश्चय लिए । यसका लागि शुरु गर्नुपथ्र्यो आफैँबाट । त्यसैले इलाहावादबाट इन्टरमिडियट बोर्ड गरे भने आगरा विश्वविद्यालयबाट स्नातक गरे । उनले सन् १९६७ मा त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरे । त्यस्तै पटना विश्विद्यालयबाट सन् १९९० मा राजनीतिशास्त्रमै विद्यावारिधि तह उत्तीर्ण गरे ।
साहित्यतर्फ उनले डा. के आई सिंहको जीवनी, किरात वंश र मगरहरु, मगर व्याकरणको प्रारुप, मगर-नेपाली-लिम्बू-अंग्रेजी संक्षिप्त शब्दकोष, जसका ठाडा जुँगा कहिल्यै झुक्न जान्दैनन्, अतृप्त जीन्दगीका असीमित चाहना, मगर र मग्यार, मगर जाति र सामाजिक संस्कार, मगर भाषा र साहित्यको वर्तमान स्थिति, बहुमुखी प्रतिभाका धनी मास्टर मित्रसेन, राष्ट्रका गौरव प्रथम शहीद लखन थापामगर, बहुआयामिक व्यक्तित्व डा. के आई सिंह लगायत नेपाली र अंग्रेजीमा गरी २१ वटा कृति प्रकाशित गरिसकेका छन् ।
नेपाल मगर संघको संस्थापक संगठन नेपाल लाङ्घाली परिवार संघका संस्थापक अध्यक्ष रहेका बुडा नेपाल स्काउटको राष्ट्रिय सचिव पनि भइसकेका छन् । दर्जनौँ संघसंस्थामा अनुभव साटिसकेका बुडाले २०४८ पछि आफ्नै अध्यक्षतामा राष्ट्रिय जनता पार्टी) पनि खोलका थिए । शिक्षा, समाजसेवा र सैन्य सेवा झैँ राजनीतिमा भने बुडाले सफलता पाउन सकेनन् ।
आफूले विद्यावारिधि गर्दाताका कुनै मगरले विद्यावारिधि नगरेकोले सबैले तिमीले नै गर्नुपर्छ’ भनेर उक्साएको बुडाले बताए । मगरहरुका बारेमा मगरले नै लेखेको पुस्तकहरुको अभाव थियो त्यसबखत । फेरि सबैले भने -तिमीले नै लेख्नुपर्छ मगरहरुका लागि । साथीभाइको कर बल र्टार्न नसक्ने बुडाले त्यस्तैमा लेखे २१ कृति ।
८१ वर्षो जीवन व्यथित गरिरहेका बुडा अहिले पनि अध्ययन मै छन् । देशको अवस्था अलि सुध्रनासाथ केही लेख्ने योजनामा छन् उनी । भन्छन् - बाँचुञ्चेल लेखेरै देशको सेवा गर्छु ।
यूरोपको नेपालीपत्रमा प्रकाशित

Tuesday, February 17, 2009

ढल्दैछ मित्र झुप्रो


हिमाञ्चल प्रदेशको भाग्सुस्थित घर जहाँ बसेर नेपाली भाषामा गीत रेकर्ड गर्ने पहिलो छिमलका कलाकार मास्टर मित्रसेन थापा आफ्ना सिर्जनाहरु टुसाउँथे अहिले सो घरमा मुसा र छुचुन्द्राको रजाइँ चलिरहेको छ ।
"घर भन्नु मात्रै माथिबाट मुसाले माटो बुरबुर झार्छ । अहिले मैले घोचामा प्लाष्टिक बेरेर मुसाले माटो झार्ने प्वालमा घुसारिदिएको छु" नेपाल घुम्न आउनु भएकी मास्टर मित्रसेनकी बुहारी देवकन्या थापाले मित्र झुप्रोको दुर्दशाको वर्णन गर्दै भन्नुभयो ।
पुख्र्यौली घर बाग्लुङ राखुपुला भएका मास्टर मित्रसेन भाग्सुमा जन्मेका थिए । दोस्रो विश्वयुद्धमा होमिँदा युद्ध आतंकदेखि विरक्तिएर मास्टर मित्रसेन नेपाली जातिको सेवामा लागेका थिए ।
उनले सन् १९३६ मा हिज मास्टर भ्वाइस कोलकता र दी स्टार अफ इण्डिया वाराणासीबाट नेपाली गीत डिस्क रर्ेकर्ड गराएका थिए । उनका गीतहरु मलाई खुत्रुक्कै पार्यो जेठान त्रि्रो बैनीले, धानको बाला झुल्यो देशै रमाइलो,
लाहुरेको रेलिमाई फेसनै राम्रो,अब त जाउ कान्छी घर बाटो छ उकालो ओरालो लगायतका ३० लोकगीतका र ६ नाटकका डिस्क रेकर्ड गराएका थिए । रेडियो नेपालले उनलाई नेपाली भाषामा गीत रेकर्ड गराउने पहिलो व्यक्ति भनेको छ ।
"घर भत्कन लागेको छ । खिड्कीहरु भत्किसकेका छन् । पूजा कोठा पनि भत्कन लागेको छ । पहिले त त्यहाँ नातिहरु सुत्थे । कतिबेला किच्ला भनेर अहिले सुत्न छाडिसके । बलोहरु लाएर घरलाई टेको लाएको छु" थापाले भन्नुभयो ।
५८ वर्षदेखि मित्र झुप्रोको रेखदेख गर्दै आउनु भएकी ७४ वर्षीय देवकन्याका अनुसार अहिले पनि मास्टर मित्रसेनका कृतिका थुप्रै पाण्डुलिपि अप्रकाशित छन् । "कोही ढुसी लागेका थिए मैले घाममा सुकाएर ठीक पारेँ । कसैमा मुसाले दूलो पारेका छन् । कोही फोटोकपी गरेर मैले कपडामा लपेटेर राखेको छु" थापाले भन्नुभयो ।
झोलामा पोका पारिएका, लुगामा बेरेर राखिएका थुप्रै पाण्डुलिपि धेरैले मागेर लगेको पनि थापाले बताउनुभयो । "हामी रोटीको पछि लाग्यौँ म कुण्डामडालिनीमा हस्पिटलमा काम गर्थे । सासुसित मागेर धेरैले पाण्डुलिपि लगेछन्" थापाले भन्नुभयो ।
प्रवासमा रहेको नेपाली समाजको राजनीतिक, साँस्कृतिक जागरणमा मित्रसेनले योगदान दिएका थिए । उनको योगदानको सम्मान गर्दै नेपाल र भारतका दुवै सरकारले हुलाक टिकट पनि प्रकाशित गरिसकेका छन् ।
देवकन्याका अनुसार अहिले उनको घर मित्र झुप्रोसँगै भारतीय सरकारले मास्टर मित्रसेन संग्रहालय बनाएको छ । संग्रहालयमा मित्रसेनले प्रयोग गर्ने पुराना भाँडाकुँडा, कपडाहरु, लडाइँ र साहित्यसंगीत सेवामा पाएका तक्माहरु, उनले लेखेका र पढेका किताबहरु, उनले बजाएका बाजाहरु, पूजाका सामग्री, कलमदानी, नेपालबाट संग्रह गरिएका शाल्रि्रामहरु राखिएको थापाले जानकारी दिनुभयो । संग्रहालयमा फाटफुट मान्छे आउने गरेको र आफूले उनीहरुलाई जानकारी दिने गरेको थापाले बताउनुभयो ।
भाग्सुका नेपालीहरुले भने मित्रसेनको पुण्यतिथि र जन्मजयन्तीमा सम्झने गरेको पनि उहाँले थप्नुभयो । "सरकारले केही गरेको छैन । मास्टरजीको जन्मतिथि २९ डिसेम्बरमा गाउँलेहरु आउँछन् । मन्दिर छेउमा कार्यक्रम हुन्छ । दुइ सालदेखि मैले सहभागीहरुलाई खाना खुवाउने गरेको छु" थापाले भन्नुभयो ।
भारत सरकारले मास्टर मित्रसेनका बारेमा केही नगरेकोमा गुनासो छ थापाको । तर त्यो भन्दा ठूलो चिन्ता त अर्कै छ - "मास्टरजीको चिनो मित्र झुप्रो र शिव मन्दिरलाई सुरक्षित राख्न पाए हुन्थ्यो" थापाले वह पोखिन् ।

Saturday, February 14, 2009

साइकल चढ्ने क्याप्टेनसाब


महङ्गा गहना ढाकिएकी कुनै महिला भेटिइन् भने लख काटिन्छ लाहुरेकी जहान हुन् कि छोरीबुहारी । घुम्दै जाँदा कतै आधुनिक डिजाइनका भव्य घरमा आँखा परे भने मनमा तर्कना छचल्किन्छन् लाहुरेको घर होला । ब्राण्डेड लुगाकपडा भिरेका युवा युवती देखिए लाग्छ लाहुरेका छोराछोरी होलान् । अत्याधुनिक मोडेलका मोटरसाइकल कतै हुँइकिएको पाइए स्वतः अनुमान हुन्छ लाहुरेका सन्तति होलान् ।
सामान्यतः आम नेपालीको भन्दा लाहुरेहरुको जीवनशैली उच्चस्तरको देखिन्छ । तर नेपाली समाजमा रहेको आम मान्यता र हेराइलाई चुनौती दिँदै साइकल चढ्छन् बेलायती सेनाका एक क्याप्टेनसाब ।
काठमाडौँ र ललितपुरको साँघुरो गल्लीहरुमा टाउकोमा ह्याट, आँखामा कालो सन ग्लास लगाएका, रुमालले मुख छोपेका कुनै अधबैँसे साइकल पेल्दै गरेको भेटिए मान्नुस् उनी हुन् क्याप्टेन कूलप्रसाद पुन । धागोले बुनेको झोला काँधमा भिरेका, हाफ पाइन्टमा सजिएका यी क्याप्टेन साबसँग मोटरसाइकल त के गाडी चढ्ने औकात नभएको होइन । दर्जनौँ व्यावसायिक प्रतिष्ठानमा हात हालेका यी क्याप्टेन साबलाई किन प्यारो लाग्यो त साइकल -
"मोटरसाइकल चढ्ने औकात नभएर मैले साइकल चढेको होइन । आफ्नो परिवार र समाजलाई नमूना देखाउन मैले यसो गरेको हुँ" क्याप्टेन पुन स्पष्ट पार्छन् ।
उनले अहिले चढ्दै गरेको साइकल २०५३ सालमा किनेका रहेछन् । थाइल्याण्डमा बनेको त्यो साइकलको मूल्य त्यतिबेला थियो रे नौहजार रुपियाँ । त्यसैलाई डेण्ट-पेण्ट गर्दै चलाइरहेका छन् पुनले । साइकल चढ्नुको फाइदाको पोको खोल्दै पुन भन्छन् - स्वास्थ्यलाई पनि फाइदा । जतिसुकै साँघुरोमा पनि जान मिल्ने । समयमा पुगिने ।
वि.सं. २००९ मा बाग्लुङ जिल्लाको बोँगादोभान गाउँ विकास समिति, पानचिरबाङमा क्याप्टेन पुनले जीवनको पहिलो पाइला टेके । पाँच पाण्डव छोरा र एक छोरीका सृष्टिकर्ता इन्द्रदास पुन क्याप्टेन पुनका पिता मात्र थिएनन् पहिलो विश्वयुद्धका योद्धा पनि थिए । भैरहवाको नाइट कलेजबाट एसएलसीको फलामे ढोका पार गरेका क्याप्टेन पुन ब्रिटिश आर्मीमा बाबुकै पालादेखि गाँसिएको जरो पहिल्याउँदै अन्ततः सन् १९७१ मा भर्ती भए ।
भैरहवामा पढ्दाताका फुटबलका राम्रा खेलाडी थिए पुन । त्यही कारण भर्ती हुन पनि कुनै सोर्सफोर्स र छक्कापञ्जा गर्नुपरेन । "भैरहवा नजिकै पक्लिहवामा गल्ला अफिस थियो । फुटबलको राम्रो खेलाडी भएकाले त्यहाँका अधिकृत लेङसित राम्रो सम्बन्ध थियो । एकदिन उनले ए कूलप्रसाद भर्ती हुने हो’ भने । बाउले पनि भर्ती हुन जा भनेका थिए । म त त्यतिकै भर्ती भइहालेँ" बस यति थियो भर्तीको अन्तरकथा ।
भर्तीपछि नौतुनवा, गोरखपुर, बनारस हुँदै हङकङ पुगे पुन । हङकङमा तालिम लिने पहिलो टोली पुन सम्मिलित टोली नै थियो । तालिमे जीवनका रमाइला क्षण पुनलाई अझै याद छ । तालिममा सुर्ती, मदिरा, खैनी खान बन्देज थियो । तर पुनको तालिम पार्टनर अशोक थापा भने शौचालयमा गएर चुरोट पिउँदारहेछन् । गुरुजीले यो कुरा सुइँको पाएपछि पुनसहित आठ जनालाई कट्टू खोलेर पोलो मैदान घुमाएको क्षण पुन भुल्दैनन् ।
भैरहवामा स्कुल पढ्दा सामान्य प्रेम भएको पुन स्वीकार्छन् । त्यस्तो डीप चाहिँ थिएन’ पुनले भने । त्यतिबेला पल्टनमा गोरासँगै रहँदा गोराहरुले पनि भ्यालेण्टाइन डेको भने कुनै चर्चा गर्दैनथे रे । क्रिसमस, इस्टर, न्यू इयरबाहेक अरुको कुरा नउठेको पुन बताउँछन् । पल्टनबाट छुट्टी आएपछि मगर रितिअनुसार आफ्नै मामाकी छोरीसित उनले लगनगाँठो कसे ।
नेपाल छँदैदेखिको फुटबलको नशाले पुनलाई पल्टनमा पनि छाडेन । घर आउने छुट्टी नै काटेर पल्टनमा हुने नेपाल कपमा खेल्ने पुनको आदत बनिसकेको थियो । सन् १९७३ मा पुनको सिक्स जीआर पल्टनले नेपाल कप जित्दाको असिम खुशी पुन बिर्सदैनन् । त्यतिबेलाको सम्झना पुन यसरी गर्छन् "त्यत्रो ब्रिगेडका मानिसहरुको अगाडि नेपाल कप जित्दा म मैदानमा छु कि छुइनँ खुशीले थाहै भएन" । फुटबलमा जित्दा साथीभाइ र अफिसरहरुको वाहवाह मात्र होइन पैसा जोगाउन नसकेकोमा बाउको गाली पनि पाएका छन् पुनले ।
अफिसर भएपछि गोरा र गोरखा सिँपाहीबीचको भेदभावको गुत्थी थाहा पाए पुनले । उनी आफैँ पनि ओभरसीजमा जाने मामिलामा भेदभावमा परे । त्यसैले कमाण्डिङ अफिसरले अहिले नजा भन्दाभन्दै पुन १९९३ मा पेन्सनमा घर फर्के ।
घर फर्केपछि के गर्ने - दोस्रो नोकरीका लागि धेरै ठाउँमा दरखास्त दिए । ब्रुनाइको गोरखा रिजर्भ युनिट, नेपालमै विभिनन ठाउँमा छरिएको गोरखा वेलफेयर अफिस सबैतिर । तर कतैबाट प्रत्यूत्तर आएन । त्यसपछि आफैँ केही गर्नुपर्यो भन्ने इरादाले उनले भीमबहादुर लिम्बू र लालबहादुर थापासँग मिलेर धवलागिरी सः मिल खोले । व्यापारिक र्फमहरु दर्ता नै नगरिने त्यस समयमा पुन भने र्फम दर्ता गराउन पुगे घरेलु तथा साना उद्योग कार्यालय । कार्यालयका उपप्रमुखले भनेको "टन्न कमाउनु भाकै छ घर बसिबसि खानोस् न किन दुःख गर्नुहुन्छ -" वाक्य वाण भएर पुनको मनमा भासिएको छ ।
ओहो लाहुरेहरुले त केही व्यवसाय नै गर्नु हुँदैन कि क्या हो - पुनलाई त्यतिबेला यस्तै लागेको थियो । त्यही इखले पुनमा केही गरेरै देखाउने प्रतिज्ञा बिजारोपण भयो । कडा मिहिनेतको फलस्वरुप अहिले उनको सः मिलले वाषिर्क करोडौँ कारोबार गर्न सफल भएको छ ।
गोरखा भूतपूर्व सैनिक संघ गेसोको पुन स्थापनाकालदेखि नै उपसभापति हुनुहुन्छ । गेसोमा लाग्दा उनको जीआरयुमा नाम काटियो । रिटायर्ड भएको एक वर्षपूरा भएको मानिस मात्र वेलफेयरमा राखिन योग्य हुने गरेकोमा पुनलाई हटाएर रिसेटलमेण्ट गर्दै गरेको मानिसलाई ल्याएर राखियो । त्यसो त उनको पेन्सन पनि सात महिनासम्म रोकिएको थियो । पछि मुद्दा लडेपछि फुकुवा भयो । त्यसबेलादेखि ब्रिटिश क्याम्प पस्न छाडेको पुन बताउँछन् । भन्छन् "कतिपय स्थान मेरालागि प्रतिबन्धित छन् ।"
नेपाल मगर संघको केन्द्रीय कोषाध्यक्ष रहेका पुन पूर्व ब्रिटिश गोरखा सैनिकहरु मिलेर खोलिएको गोरखा मिलेनियम बहुद्देश्यीय सहकारी लिमिटेडको लेखापरीक्षण विभाग प्रमुखको जिम्मेवारी पनि निर्वाह गर्दै छन् ।
मासिक करिब पचास हजारको हाराहारीमा पेन्सन थापेर पनि साइकलमा हिँड्ने पुन लाहुरेलाई पल्टने जीवनशैली र रिटायर्डपछिको जीवनशैली फरक बनाउन सुझाव दिन्छन् । भन्छन् - सानोतिनो कमाइलाई कमाइ नदेख्ने सोचलाई त्याग्नुपर्छ । लाहुरेहरुले राम्रो काम गरेर देखाए मात्र पछि आउने पुस्ताले लाहुरेलाई सम्झिरहने पुनको विचार छ । शायद आउने पुस्ताबाट यस्तै अपेक्षाका लागि हो कि पुनको साइकल यात्रा ?
युरोपको नेपालीपत्र २९ माघ फागुन ६ अंकमा प्रकाशित

Friday, February 13, 2009

शहीद गेटमा प्रथम शहीद लखन थापा



प्रथम शहीद लखन थापामगरको तस्वीर शहीद गेटमा राखिएको छ ।
प्रथम शहीद लखन थापा मगरले शहादत प्राप्त गरेको १३२ वर्षछि उनका शुभेच्छुकहरुले शुक्रबार मध्यान्ह शहीद गेटमा तस्वीर राखेका हुन् ।
लखन थापामगरको १३२ औँ स्मृति दिवसको अवसर पारेर सो तस्वीर राखिएको नेपाल मगर विद्यार्थी संघका महासचिव हेमन्त बुढाथोकीमगरले जानकारी दिनुभयो ।
लखन थापाका समर्थक तथा शुभेच्छुकहरुले शुक्रबार नै खुलामञ्चबाट जुलुस निकालेका थिए । सो जुलुस शहीद गेट पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई नेपाल मगर संघका पूर्व अध्यक्षहरु गोरेबहादुर खपांगीमगर र यमबहादुर बुढाथोकीमगर तथा पूर्व उपाध्यक्ष बमकुमारी बुढामगर र नेपाल मगर विद्यार्थी संघका महासचिव हेमन्त बुढाथोकीमगरले पनि सम्बोधन गर्नुभएको थियो ।
शहीद गेटमा राखिएको लखन थापाको तस्वीर प्रहरीले हटाउन लाग्दा केहीबेर लखन थापाका शुभेच्छुक र प्रहरीबीच झडप पनि भएको थियो । झडपपछि प्रहरी तस्वीर हटाउन नसकी फर्किएको महासचिव बुढाथोकीमगरले बताउनुभयो ।
लखन थापाले जहानियाँ राणाशासनका विरुद्ध पहिलोपटक संगठित विद्रोह गरेका थिए । वि.सं. १९३३ फागुन २ गते जंगबहादुर राणाको आदेशमा लखन थापा मारिएका थिए ।
उनका शुभेच्छुकहरुले उनलाई प्रथम शहीद घोषणा गर्न माग गर्दै आएका छन् । सोही माग गर्दै नेपाल मगर संघ तथा नेपाल मगर विद्यार्थी संघले शुक्रबारै देशभरका जिल्ला प्रसाशन कार्यालयमा ज्ञापन पत्र पनि बुझाएका छन् ।
नेपाल मगर संघका महासचिव वसन्त घर्तीमगरको नेतृत्वमा गएको मगर संघ संस्थाका प्रतिनिधि टोलीले शुक्रबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटी लखन थापालाई प्रथम शहीद घोषणा गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापनपत्र ग्रहण गर्दै प्रधानमन्त्री दाहालले लखन थापालाई प्रथम शहीद घोषणा गर्ने मागप्रति आफू सकारात्मक रहेको बताउनुभएको प्रतिनिधि टोलीका सदस्य नेपाल मगर विद्यार्थी संघका अध्यक्ष भोजविक्रम बुढामगरले बताउनुभयो ।

Saturday, February 7, 2009

ऋषि धमलाको खबर के छ ?

हिउँदे बिहानीको निन्द्रालाई जबरजस्ती पञ्छाउँदै, आँखा मिच्दै नित्यकर्मका लागि भर्‍याङ झर्दाझर्दै दोस्रो तल्लामा बस्ने छिमेकी सोमप्रसाद देवकोटाले भन्नुभयो, नरेश सर । नमस्कार । ऋषि धमलाको केस के हो सर ? खै सञ्चारमाध्यममा जति आए त्यति नै हो मैले पनि जानेको भनेर उम्किएँ ।
शहरमा बस्नेहरुको आदत बनेको छ आजकल चियासँगै पत्रिकाका समाचार पिउनु । २०५८ देखि यही बानीको शिकार भएको म अनुहार खकलेर पत्रिका दिन लम्किरहेको थिएँ । भूइँतल्लामा पसल गरिबस्ने घरबेटी केशव महर्जन दाइले पक्रिहाल्नुभयो र सोध्नुभयो त्यो ऋषि धमलालाई के हुन्छ अब ? खै दाइ पुलिसले पक्रेको छ, अनुसन्धान गर्दै होला केही दिनमै थाहा होला नि । जवाफ फर्काएर फुत्किएँ ।
करिब एकसय मिटर परको स्टेशनरीसम्म पुग्दा कसैले बीचबाटोमा रोकेन र सोधेन ऋषि धमलाको हालचाल के छ ? बीडीएस स्टेशनरी, चाकुपाट पाटनको सटरभित्र के छिरेको थिएँ साहुजीले समातिहाले । नरेश दाइ त्यो ऋषि धमलाले साँच्चै बम पड्काएको हो त ? खै भाइ म के भनुँ प्रहरीले जाँचपड्ताल गर्दै छ एक दुइ दिनमा थाहा होला नि । केहीबेर बस्न मन लागे पनि पत्रिकाको बण्डल काखीमा चेपेर कुलेलम ठोकेँ । थप प्रश्न सुन्नु थिएन मलाई ।
पत्रिका पनि पढ्ने चिया पनि पिउने २०५८ सालदेखिको थलो बनेको छ हेमन्त देवकोटाको पसल । पसलभित्र छिरेपछि मलाई ऋषि धमलाका बारेमा गरिने प्रश्नहरुबाट बचियो भन्ने भान भयो । सिन्धुलीका यी मृदुभाषी देवकोटा बन्धुले शुभप्रभातका फर्मालिटी पूरा गरे । चियाको आदेश पनि जारी गरे । र, मतिर फर्किएर सोधे साँच्चि नरेशजी त्यो ऋषि धमला त्यस्तो मान्छे हो त ? प्रश्न सुनेर भाउन्न पनि भयो । समयले बताउला नि । मसित त्यति सारो घुलमिल भएको मान्छे पनि थिएन । त्यसैले म ठीक बेठीक केही भन्न सक्दिनँ भनेँ । छिटोछिटो चियाको सुरुप्प लिएर बिदा भएँ ।
घर आएँ पत्रिका पढेँ । अब पालो थियो इमेल चेक गर्ने । न्यूजसाइट हेरेर अपडेट हुने । जीमेल, एमएसएन र याहू मेसेञ्जर अपलोड गरेँ । फेसबुक साइन इन गरेँ । केहीबेरमै छिचिमिरा झैँ साथीहरु अनलाइन देखा परे । केही साथीहरुले कुरा शुरु गरे हलो । हाइ । नमस्कार । यस्तैयस्तै शब्दबाट । मैले पनि जवाफ फर्काएँ । पालो थियो उनीहरुको । प्राय सबैको दोस्रो प्रश्न थियो ऋषि धमलाको केस के हुँदैछ ? म त तीन छक्क परेँ । जुरुक्क उठेदेखि जहाँजहाँ जान्छु यही प्रश्नले छोडेको छैन । अझ अनलाइनमा पनि यही प्रश्न ?
एक हिसाबले कन्पारो पनि तात्यो । देशमा कति मानिस खाने अन्नको गेडो नपाएर भोकभोकै छन् । कति यो माघको ठण्डीमा नांगै छन् । कति उपचार नपाएर छटपटाइरहेका छन् । कति जागिर नपाएर भौँतारिरहेका छन् । तिनीहरुको बारेमा आजसम्म कसैले सोधेनन् । तर ऋषि धमला को हो र यतिबिघ्न सोधिखोजी हुनुपर्ने ? केही साथीहरुलाई अनलाइनमै यसै भनेर झाटेँ पनि । तर यसरी सोध्नेहरु धेरैजसो प्रवासी र मोफसलबासी नेपाली थिए । माफ गर्नुहोला पनि भनेँ ।
म मात्र होइन । पत्रकारिता क्षेत्रमा काम गरिरहेका धेरै साथीहरुलाई माघ २१ गते ऋषि धमला पक्राउ परेदेखि दिनदिनै र छिनछिनै जहाँसुकै यही प्रश्नले खेदिरहेको छ ।
वास्तवमा दिनहुँ विभिन्न आरोपमा हजारौँ नेपाली देशभरबाट पक्राउ पर्छन् । विदेशमा पक्राउ परेको त कुरै नगरौँ । तिनीहरुको कुनै चर्चा हुँदैन । सभासद बबन सिंह यसै महिना पक्राउ परे तर कसैले मलाई यसरी सोधेका थिएनन् । तर किन ऋषि धमलाको बारेमा मात्र यत्रो चियोचर्चो ? के ऋषि धमला यो देशका प्रधानमन्त्री हुन् राष्टपति हुन् ? मन्त्री हुन्, सभासद् हुन् ? अथवा कुनै क्षेत्रमा ख्याति कमाएका विशिष्ट विज्ञ हुन् ? ऋषि धमला पक्राउ पर्दा समाज र राष्टलाई के हानी हुन्छ र वा खुला रहँदा के फाइदा भएको थियो ?
मिडियाले छोटो समयमै केही व्यक्तिहरुलाई यसरी सगरमाथा चढाइदिएको छ । जसका कारण आममानिसमा तिनीहरु कुनै विषय र क्षेत्रमा दक्ष नहुँदानहुँदै पनि समाज र राष्ट्रका लागि बडा अपरिहार्य छन् भन्ने भ्रम सिर्जना भएको छ । लाग्छ तिनीहरु नभए देशै डुब्ने छ जसरी इतिहासमा रणबहादुर शाहले भनेका थिए म मरे मुलुक डुब्ने छैन भीमसेन मरे मुलुक डुब्ने छ । उता चर्चामा आउनु पर्ने र चर्चा पाउनु पर्ने विषयवस्तु भने डल्लै ओझेल परिरहेका छन् । नेपाली मिडियाको कस्तो जिम्मेवारी निर्वाह ?

Tuesday, February 3, 2009

ढुंगेनेता बनाउने कारखाना

गएको शनिबार मगर बुद्धिजीवीहरुसित आमनेसामने हुने चाँजो मिल्यो । सन्दर्भ थियो मगर अध्ययन केन्द्रको साधारणसभा । मगर जातिका प्राध्यापक, चिकित्सक, इन्जिनियर, अनुसन्धाताहरु संलग्न केन्द्रको साधारणसभामा पुग्नु संयोग थियो । त्यस्तो ठाउँमा पुगेपछि निसन्देह केही बुद्धि बढ्ने अपेक्षा त हुने भयो नै ।
केन्द्रको चबन्नी सदस्य थिएन यो पंक्तिकार । उद्देश्य बोकेको थियो म्यागासेसे पुरस्कार विजेता महावीर पुनको प्रवचन सुन्ने । तर सूचनादाताको अपूर्ण् सूचनालाई पछ्याउँदा पुगियो नो इन्ट्रीमा । केन्द्रका सदस्यबाहेक बाँकीलाई गोप्य मानिएको साधारणसभामा ।
केन्द्रका संस्थापक अध्यक्ष पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक डा. गोविन्दप्रसाद थापाले हार्दिक स्वागत गर्दै न्यानो हात मिलाउनुभयो । सँगसँगै सोध्नुभयो के गर्दै हुनुहुन्छ आजकल ? के गर्ने र, जागिर खाने बस्ने । अलिअलि अल्छि मान्दै जवाफ दिएँ । पढाइ सकियो ? पूरक प्रश्न तेर्सियो । अँ पत्रकारितामा एमए गर्दै छु मैले भनेँ । कहाँ ? उनले थप चासो देखाए । मैले पत्रकारिता शिक्षणबारे केही जानकारी दिन उचित ठानेँ ।
म त्रिभुवन विश्वविद्यालयमा पढ्दै छु । पहिले त्रिवि एक मात्र पत्रकारिता पढाउने विश्वविद्यालय थियो अहिले सबै विश्वविद्यालयले पत्रकारिता पढाउँछन् । पहिले त्रिविको पढाइ राम्रो थियो अहिले अरुको पनि राम्रो हुँदैछ । प्रहरी सेवाबाट निवृत्त भएपछि काठमाडौँ विश्वविद्यालयमा सुरक्षा व्यवस्थापन पढाउन थालेका डा. थापाले त्रिविप्रतिको भँडास निकाल्न शुरु गरिहाले । त्रिविबाटै विद्यावारिधि गरेका थापाले भने त्रिविको त के गुणस्तरको कुरा गर्ने र ? पढाइ हुन पाए पो ? विद्यार्थीले पढ्ने मन गरे पो ?
मैले पनि सही थपिदिएँ डाक्टरसाब त्रिवि त अब डाक्टर इन्जिनियर उत्पादन गर्ने होइन नेता उत्पादन गर्ने कारखाना बनेको छ नि। यति भन्नासाथ डाक्टरसाबले पूर्णचन्द्र आकार लिइहाले । भने बनायो नेता ? सब ढुंगे नेता बनायो । अध्ययनशील, तर्कशील, बौद्धिक नेता बनाए त ठीकै थियो । खाली ढुंगा हान्न सिकाएर ढुंगे नेता बनायो ।
देशको सबैभन्दा ठूलो शैक्षिक केन्द्र त्रिवि के साँच्ची ढुङ्गे नेता कारखाना बनेकै हो त ? डाक्टर साबको भनाइले भृकुटी खुम्च्याउन बाध्य बनायो ।

Monday, February 2, 2009

कुइनाले पहाड हल्लाउने मान्छे


दरबारका पूर्व सचिव जर्नेल ऋषिकुमार पाण्डेको घरमा पूरै जागिरे जीवन बिताएका एक पूर्व सैनिक एकदिन अमरबहादुर थापामगरकहाँ आए । मकवानपुरका ती सैनिकले भने - मैले सारा जीन्दगी पाण्डे जर्नेलको घरमा बिताएँ । काम गरुञ्जेल सबैथोक दिन्छु भन्थे । अहिले मलाई रित्तोहात फर्काइयो । ममाथि अन्याय भयो लौन तपाईले केही गरिदिनुपर्यो । नेपाली सेनाका पूर्व सैनिकहरुमाथि भएको शोषणविरुद्ध लड्न कम्मर कसिसकेका थापा पनि के कम - पूर्व सैनिकहरु बटुलेर जर्नेलको घर घेरे र कमैयासरी राखिएका सिपाहीलाई केही दिलाउन बाध्य पारे ।
नेपाली सेनाको अमल्दारबाट अवकास पाएका अमरबहादुरले नेपाली सेनाका पूर्व प्रधानसेनापति धर्मपालवरसिंह थापाको घर पनि घेराउ गरे । निहु थियो सैनिकलाई व्यक्तिको घरमा काम लगाउने । आफ्नै र्सर्भेक्षणमा थापाकहाँ २५ जना अर्दली भेट्टाएका थिए थापाले । "राज्यको सिंपाहीले हाकिमको घरमा होइन राज्यको ड्यूटी गर्नुपर्छ" - थापा भन्छन् । तत्कालीन सरकारले अर्दली हटाउने आश्वासन दिएपछि अफिसरहरुको घर घेर्ने उनको अभियान स्थगित भयो । सँगै आश्वासन कार्यान्वयन गर्ने सरकारी पहल पनि ।
वि.सं. १९९८ मा रामेछापमा अमरबहादुरको जरो पलाएको हो । आर्मीमा गएपछि यस्तो हुन्छ उस्तो हुन्छ भनेर साथीले लोभ्याएपछि १९ वर्षे उमेरमा उनी भए नेपाली सेनाका लाहुरे । टुँडिखेलमा पजनीमा छाँटिएर सैन्य बनेका उनी एक वर्षा सिंपाहीमा उक्ले । २०३० मा अमल्दार भएका उनले २०३५ मा पेन्सन पकाएर अवकास लिए । अवकासपछि तल्ला तहका पूर्व सैनिकका पक्षमा आन्दोलन गर्न थाले थापाले । "माथिका अफिसरले ज्यादै दुःख दिने, रासनमा, प्रोमोसनमा आफ्नो मान्छे नभई नहुने त्यस्तालाई तह लगाउन सकिन्छ कि भनेर लागेको हुँ" थापाले कारणको पोको खोले ।
२०५१ मा स्थापित नेपाल राष्टिय स्वतन्त्र भूतपूर्व सैनिक परिषद्का मूली -अध्यक्ष) छन् थापा । शान्ति पार्टी नेपालको भातृ संगठन बनेर जन्मिएको परिषद् अहिले स्वतन्त्र छ । अहिले उनको संगठनको छातामुनी १० हजारभन्दा बढी भूतपूर्व सैनिकहरु ओतिएका छन् ।
संयुक्त राष्ट्रसंघको आव्हानमा शान्तिसेनामा जाने तल्लो दर्जाका सैनिकको तलव अफिसरहरुले झवाम्म पार्दा अमरबहादुरको चित्त दुख्यो । एउटै सेवामा काम गरेका सिपाहीँले नांगो आङ र भोको पेट बोकेर माग्नुपर्ने, अफिसरहरुको चाहिँ काठमाडौँमा घर ठडिने । कस्तो विडम्वना । २०३० सालदेखि शान्ति सेनामा जान शुरु गरेका लाखौँ सैनिक जवानको गाँस काटेर अर्बौँ रुपियाँ अफिसरहरुले खाएको आरोप ठाडै लाउँछन् थापा । दाबी गर्छन् उनीसित प्रमाणको ठेली नै छ । भन्छन् - "३० सालमा शान्ति सेनामा जाने प्रत्येक सिंपाहीले महिनावारी ५०० डलर पाउँथे तर सैनिकको भाग पथ्र्यो ११० डलर । ३६ सालमा त्यो तलव ६८० डलर पुग्यो, ३७ सालदेखि ५७ सम्ममा बढेर पुग्यो ९५० डलर तर सैनिकले पाए मात्र ४०० डलर । अहिले पनि राष्टसंघले दिन्छ १ हजार २८ डलर तर सैनिकले भने पाउँछन् ८०० डलर ।"
हरेक जर्नेलको गोजीको कोटाबाट १०/१० जना छाँटि्टएर शान्तिसेनामा जाने मौका पाउँछन् सिंपाहीहरुले । जान अघि नै जर्नेलको गोजी गह्रुगो पनि गर्नुपर्छ । त्यसरी जानेहरुको तलव पनि जुकाले रगत चुसे झैँ चुसिन्छ । शान्तिसेनामा गएका सिंपाहीँहरुको पसिना फिर्ता गराउन थापाले भूपू सैनिक उठाएर २०५७ र २०५८ मा बालुवाटार घेरे । प्रधानमन्त्री थिए गिरिजाप्रसाद कोइराला । एक सातासम्म निवासबाट निस्कन पनि दिएनन् । चतुर प्रधानमन्त्री एक सातामा माग पूरा गरिदिने आश देखाएर उम्के । काम अहिलेसम्म सिन्को पनि भाँचिएन ।
जर्नेल र प्रधानमन्त्रीका निवास घेर्ने आन्दोलनलाई अब थापाले अदालतको जस्केलाभित्र छिराए । शान्तिसेनामा खटिने जवानको तलव कुन कानुनका आधारमा काटिएको हो भन्ने प्रश्न गर्दै २०५८ असार १८ गते सर्वोच्च अदालतमा मुद्दा दर्ता गरे । संसारमै हाउगुजी मानिने सेना र तिनका अफिसरहरुसित पौँठेजोरी खेल्नु मामुली थिएन । उनकै शब्दमा 'सरकार र सेना मिलेर साढे पाँचवर्ष १९ पटक पेशी सारिदिए । १४ पटकसम्म टालटुले आदेश मात्र गरियो ।' हरेक चीजको सहने सीमा हुन्छ । त्यहीमाथि अमरबहादुर परे पूर्व सैनिक । जोश भने कम थिएन बहालवाला सैनिकभन्दा कम । लगाएदिए सर्वोच्चको द्वारमा भोटेताला । २०६३ मंसिर १८ गतेको दिन थियो त्यो । साढे तीन घण्टा न्यायाधीशहरुलाई थुन्दिए । बदलामा पुरस्कार पाए पुलिसको लाठी । अन्ततः भोलिपल्ट पूर्व सैनिकको पक्षमा अदालतले फैसला सुनायो । खुशीले लाठीको चोट बिर्सायो ।
अदालतले शान्ति सेनामा जाने सैनिकले पाउने सुविधा, उनीहरुको तलव कट्टा गरी बनाइएको कोषको विधान पेश गर्न सैनिक मुख्यालय र सरकारलाई आदेश दिएको थियो । अदालतको आदेश दुवैले धोती लाइदिए । आदेशको पालना गराउने सरकार नै अटेरी भएपछि कस्को के लाग्छ - अमरबहादुर फेरि संयुक्त राष्ट्रसंघको नेपाल कार्यालय अगाडि अनसन बसे । २८ दिन । बीचैमा पुलिसले गाडी चढाएर उनलाई पाटन अस्पताल पुर्‍यायो । गएको पुस २५ गतेदेखि फेरि उजी खुलामञ्चमा अनसन बसिरहेकै थिए । अचानक सुगर बढेपछि अहिले स्वास्थ्यपरीक्षण र आरामका लागि छुट्टी लिएका छन् उनले । "अलि ठीक भएपछि फेरि जान्छु । यसपटक शान्तिसेनामा काटिएको पैसा फिर्ता गराएरै मात्र उठ्छु" थापा भन्छन् ।
संयुक्त राष्ट्रसंघले ८५० डलर तलव दिँदा सिंपाहीलाई तल्लो दर्जाका सैनिकलाई ३५० डलर दिइथ्यो रे । अफिसरलाई चाहिँ सिंपाहीको तलव काटेर १ हजार डलर । छ महिने अवधि सकिएपछि युएनले हरेकलाई एक हजार डलर बक्सिस, प्रमाणपत्र र तक्मा दिन्थ्यो । तर सैनिक मुख्यालयले भने नेपाली एक हजार रुपियाँ, प्रमाणपत्र र तक्मा दिएर टाटो लाउँथ्यो - थापा बताउँछन् ।
सैनिकको तलव काटेर जम्मा गरिएको पैसाले हेलिकोप्टर किनिएको, राइफल किनिएको, गोली किनिएको सुनेका छन् थापाले । सिंपाहीलाई भौकै मारेर राइफल किन्न मिल्छ कि मिल्दैन - थापाको प्रश्न छ । "हामीले कसैसित भीख मागेका होइनौ, राज्यसित मागेका पनि होइनौँ, आफ्नो पसिना मागेका हौँ" थापाले अडान तेर्स्याए ।
कोषमा हरेक सैनिकको कम्तीमा पाँच लाखदेखि १५ लाखसम्म परेको थापाको दाबी छ । राष्ट्रसंघले अफिसर होस् वा जवान सबैलाई बराबरी तलव दिने गर्दछ । २०३० मा परीक्षणका रुपमा शान्तिसेनामा जान थालेका नेपाली सेना २०३५ देखि नियमित जान थाले । अहिले विभिन्न १५ मुलुकमा वाषिर्क १२ देखि १५ हजार सैनिक शान्ति सेनामा जाने गर्दछन् । थापा अध्यक्ष रहेको परिषदमा १० हजार भन्दा बढीले शान्तिसेनामा गैरकानुनी रुपमा असुलिएको रकम फिर्ता पाउन उजुरी दिएका छन् ।
सैनिक कोषमा कहाँबाट रकम जम्मा गरियो भन्ने आधिकारिक जानकारी सेनाले अहिलेसम्म दिएको छैन । विगतमा प्रधानसेनापति, रक्षा मन्त्री, प्रधानमन्त्री र राजा समेतले सो कोषको स्वाद चाख्न पाए । भूपूसैनिकले आन्दोलन चर्काएपछि मात्र सेनाले २०६१ मा सो कोष सञ्चालन गर्न पहिलोपटक नियमावली बनायो । सो नियमावलीलाई सरकारले हालै खारेज गरी नयाँ बनाएको छ । थापा भन्छन् - सैनिक कोषको रकम कसले खायो भन्ने हिसाब खोज्यो भने बिदा भइसकेका राजा पनि फस्छन् । सैनिकको गाँस काटेर खाने पूर्व राजाले नागार्जुनमा बसेर कालिज पोलेर खाँदै बस्न पाउँछन् -
पूर्व सैनिकहरुलाई ठगिएको अर्को क्षेत्र उनले देखेका छन् सेक्युरिटी उद्योग । मालिक र ठेकेदार मिलेर सिपाहीको श्रम शोषण भइरहेको देखेका छन् उनले । भन्छन् - यसबारेमा पनि राँको बाल्छु ।
कुनै समय तिनै हाकिमको आदेश तामेल गर्थे अमरबहादुर । अहिले तिनैको विरोधमा छन् । कुनै समय हाकिमका लागि सबथोक गर्थे । अहिले तिनैलाई बदनाम र बेचैन बनाउँदै छन् । के त्यो काम सजिलो थियो त - डर धम्की त कति हो कति - भन्छन् - "एकपटक त जर्नेल नै आएर तँलाई कति पैसा चाहियो - चुप लागेर बस । यी नाथे झल्लर सिपाहीका लागि किन मरिहत्ते गर्छस् भन्यो ।" यसरी लोभ्याएको आफैँले भोगेका अमरबहादुरले पूर्व सैनिकको मुद्दामा कसैलाई वारिस राखेका छैनन् । के ठेगान भरे वारिसलाई नै किनिदियो भने -
सेनाभित्र शान्तिसेनाबाहेक रासन, प्रोमोसन र भर्नामै भेदभाव रहेको उनी निर्धक्क बताउँछन् । कुनै समय रासन ठेकेदारी पनि गरेका थापाका अनुसार सम्झौता गरिएकोमा आधा सामान मात्र आपूर्ति गरिन्छ । त्यसमा पनि गुणस्तरको त कुरै नगरौँ । सम्झौतामा हाड छाला नभएको मासु-मासु मात्र उपलब्ध गराउने हुन्छ तर मेसमा एक चोक्टा मासु पाउनु सैनिकका लागि भाग्योदय चिठ्ठा पर्नु जस्तै हुन्छ । सम्झौतामा गाइको शुद्ध घ्यू दिने लेखिन्छ । पाक्छ डाल्डा घ्यू ।
परिषद्को आयस्रोत प्रतिसदस्य सदस्यता शुल्कवापत ६५० रुपियाँ छ । बाँकी आफ्नै गोजीबाट । २०२६ सालमा तेजरथ -दुइसालको तलव एकैपटक झिक्ने काम) झिकेर १ हजार ६०० रुपियाँमा बालाजुमा बनाएको घरमा बस्छन् थापा । कार्यालय खोलेका छन् तीलगंगामा । सेनामै सेकेण्ड क्लास पास गरेका यिनी केका लागि डटिरहेका छन् त - के छ त यिनको स्वार्थ - भन्छन् - यी तल्लो दर्जाका भूपू सैनिकहरुले उनीहरुको बाऊ मरेको दिन आँशु नखसाउलान तर म मरेको दिन खसाउने छन् ।

Sunday, February 1, 2009