Wednesday, March 25, 2009

कहाँ गयो त्यो पाँच रुपियाँ

'ए साइँला तँ काठमाडौँ जान्छस् त ?’ २०५५, जेठको एक साँझ तेह्रथुम, इवामा मेरी माइली फूपूले पढिसकेको चिठी बन्द गर्दै सोधिन् । 'किन के भयो र फूपू ?’ उल्टो प्रश्न फर्काएँ । सपनामा नचिताएको प्रश्नको जवाफ मसँग थिएन पनि । 'माल्दिदी -फूपूकी माइली छोरी)लाई पसलमा काम गर्ने मान्छे चाहिएको र’छ जाने भए जा हए’ फूपूले त्यति सर्वाधिकार मैमाथि छाडिदिइन् ।
कहाँको राजधानी काठमाडौँ ? कहाँको हाङपाङ -ताप्लेजुङ) मा बाँदर खेदाउँदै हुर्केको म ? मनमा अन्तरद्वन्द्व चर्कियो । त्यो रात म निदाउनै सकिनँ । आँखाभरी काठमाडौँका रंगीन कल्पना छाइरहे । सम्झेँ, केही साल पहिले साइँली फूपूको छोराले 'म त अब काठमाडौँमा जान्छु दाइले बोलाएका छन्’ भनेको । र, बिर्सिनँ -त्यतिबेला म मनमनै भक्कानिएको, 'मेरो त काठमाडौँमा कोही छैनन् मेरो जीवन त काठमाडौँ नपुगी सकिन्छ होला’ सम्झेर ।
'ल दिदी म काठमाडौँ जान्छु’ दुई दिन दुई रात सोचेर निर्णय सुनाएँ । दिदी खुशी हुनुभो । दाँत फुक्लेर थोती भएकी फूपू भर्भराउँदो भदैले छोड्ने हुँदा पनि खुशाउनुको कारण बेग्लै थियो । छ महिना पहिले इवा छिर्दा म बाहुन झैँ थिएँ - मासु मदिरा छुँदै नछुने । तर छ महिनामा म एकसय असी डिग्रीको कोणमा बदलिइसकेको थिएँ । थापा कान्छाको घरमा लोकल ठर्राले ढालेपछि मलाई झ्यााइकुटी पारेर सुताउनुपरेको थियो । साइँला फूपाजु -फूपूको जेठाजु)ले मलाई तीनजना केटी देखाए विहेका लागि । तर शान्ता दिदी, हरि दिदी -फूपूकी छोरीहरु) को डरले मैले कसैलाई अजमाउन भने सकिनँ ।
जाँते -मोरङ) आउने एक नातेदारको साथ म झापा झरेँ । झापा -सुरुङ्गा) आइपुगेकै साँझ आमा, बुबा, जीबा -हजुरबा) र दाइलाई योजना सुनाएँ । सप्पै खुशी भए । नहुन् पनि किन ? लालपानी मावि, शिवगञ्जबाट एसएलसी पास गर्ने पहिलो व्याच र त्यसमाथि पनि प्रथम श्रेणीमा उत्तीर्ण तीनमध्येको एक आफ्नो छोरो निराशाले भौँतारिएको कुन बाबु आमालाई सहृय हुन्थ्योहोला र ? भोलिपल्टै म काठमाडौँ हिँड्ने भएँ । आमाको सानो घुम्ती पसल थियो । पोल्टो टक्टक्याएर आमाले बाटोखर्च तीनसय रुपियाँ दिइन् । दाइ बजारमा चिनिएका नौजवान थिए । टिकट काउण्टरमा सहुलियतमा टिकट मिलाइदिए । तिरेँ - साढे दुईसय रुपियाँ -त्यतिबेला झापा-काठमाडौँको फूल भाडा ४३५ रुपियाँ थियो) ।
करिब साढे तीनबजे काठमाडौँमा खुट्टा टेक्ने ठाउँ बनाउन बस चढेँ । दुर्भाग्य दमक आइनपुग्दै बस रोकियो । सोध्दा थाहा पाइयो - आधीघण्टा अगि बसले दमकमा बच्चा किचिदिएछ । त्यसैको आक्रोशमा राजमार्ग छेकिएको रहेछ । परेन फसाद । न घर जाउँ न बसमै बसौँ ? धेरै यात्रु बसमै बस्ने भएपछि मलाई गाह्रो भएन । गोजीमा थियो ५० रुपियाँ । बेलुकी भात खान होटल चाहारेँ र खाएँ । तिर्नेबेलामा पो तीनचित खाएँ । पैसा भएछ तीस रुपियाँ । जबकि त्यतिबेला झापामा भातको मोल थियो १२ रुपियाँ । बन्दको मौकामा चौका हानेका रहेछन् साहुजीले । के गर्ने खाएपछि तिर्नैपर्‍यो ।
भोलिपल्ट बिहान ११ बजे बस हिँड्यो । दमकमा म छेउको सीटमा एकजना निकै हाइफाइ गर्ने साथी बसे । बस केहीबेर रोकियो । गर्मी प्रचण्ड थियो । साथीले प्रस्ताव गरे -जाउँ चिसो पिउन । नाइँ भन्न सकिनँ । गोजीमा बचेको थियो २० रुपियाँ । उनलाई १२ रुपियाँमा कोकाकोला किनिदिएँ । उनले कोक पिए । कोक खाने मन भए पनि पैसाले साथ नदिएपछि मैले भने उनले पिएको हेरेर घुटुघुटु थुक पिएँ ।
बच्यो आठ रुपियाँ । भात खानपुग्ने पैसा नभएकोले बिहानी खाना हावा खाएरै टारियो । साँझमा ती कोक खाने साथीले 'हिँड म स्टाफ खाना खुवाउँछु’ भन्थे । मनमनै 'पैसा माग्यो भने गर्ने ?’ सोचेर 'खान मन छैन’ भनेँ । बसले राति २ बजे कलंकीचोकमा झारिदियो । जानुपर्ने थियो कुलेश्वर । एकपटक पनि नदेखेको ठाउँ मध्यरातमा कसरी पुग्नु ? मनमा आँधिबेहरी छायो । तिनै कोक खाने साथीले सोधे -एक्लै जानसक्छौ ? 'सक्दिनँ’ मैले फर्काएँ । उनले भने 'आज राति मेरो दाजुकोमा सुतौँ भोलि बिहान म पुर्‍याइदिउँला ।’ ओहो ती मित्र मेरा लागि देउतैसरह भए । कताकता उनको गोडा ससमाएर ढोगौँजस्तो लाग्यो ।
सोल्टी होटलमा काम गर्ने दाजुको क्वार्टरमा लगेर मलाई सुताए । सन्तोकले होला भोलिपल्ट नौ बजेतिर मात्र हामी दुई भाइ बिउाझियौँ । उठ्नासाथ भाउजुले खाना पस्किइन् । क्वार्टरबाटै साथीले मेरी दिदीकहाँ फोन लगाएदिए । खाना खाएपछि साइकलमा सररर कालिमाटी लगेर 'अब यता हिँड्दै जानु’ भनेर बल्खु जाने बाटोतिर लगाएदिए । जतिपर जान्छु पुग्नुपर्ने ठाउँ भेट्दिनँ । आत्तिएँ । छेउको पिसिओमा छिरेर फोन लगाएँ । एक कल फोनको तीन रुपियाँ तिरेँ । अलि अगि दायाँ साइडमा पुग्नपर्ने ठाउँको बोर्ड देखेँ । रह्यो पाँच रुपियाा । त्यो पाँच रुपियाँ मैले कतिबेला केका खर्च गरेँ अहिले सम्झन गाह्रो भइरहेको छ ।

Tuesday, March 24, 2009

क्षतिपूर्ति नपाएका युद्धबन्दी



युद्धबन्दी हुँदाको क्षतिपूर्ति पाउँला र घर बनाउँला भन्ने हुकुमसिंह पुनको आशा अझै मरेको छैन । कोही लाहुरेलाई अहिले बेलायत जान पाउने कि नपाउने पीर होला, कसैलाई शहरमा घर ठड्याउने, कसैलाई नयाँ गाडी भित्र्याउने पीर होला । तर दोस्रो विश्वयुद्धका यी युद्धबन्दीलाई भने अहिले बसिरहेको छाप्रोको स्तरनोन्नति गर्न सकिएला कि नसकिएला भन्ने पीर छ ।
गुल्मीको रिञ्जामा ९३ वर्षअघि जन्मिएका पुन १६ वर्षको उमेरमा बेलायती सैन्यमा भर्ती भएका थिए । त्यसो त पुनको परिचय बेलायतको लाहुरे, दोस्रो विश्वयुद्धको योद्धा र युद्धबन्दी मात्रले पूरा हुँदैन । दोस्रो विश्वयुद्धमा युद्धबन्दी बनेका एक हजारभन्दा बढी युद्धबन्दीलाई क्षतिपूर्ति दिलाउने अभियानका नायक पनि हुन हुकुमसिंह । हुकुमसिंह पुन, पहलमान गुरुङ र दर्बसिंह राईको तर्फबाट बेलायती उच्चअदालतमा हालिएको मुद्दाको सन् २००२ नोभेम्बर २७ मा फैसला हुँदा युद्धबन्दी गोरखा सैनिकले पनि बेलायती युद्धबन्दीसरह क्षतिपूर्ति पाउने व्यवस्था भएको थियो ।
डकर्मीको घर बाङ्गो, सूचीकारको आङ नाङ्गो भन्ने नेपाली उखान झैँ भएको छ हुकुमसिंहको जीवन । मुद्दाका लागि पटकपटक बेलायत गए, मुद्दा जितेपछि जीवनमा कल्पनै नगरेको देशीविदेशी सञ्चारमाध्यममा छाए । नेपाल फर्केपछि काठमाडौँ, पोखरा, धरान लगायत लाहुरे बाहुल्य बस्तीमा थामिनसक्नु फूलमाला पाए । तर विडम्वना उनले अहिलेसम्म युद्धबन्दीलाई दिइने क्षतिपूर्ति भने पाएका छैनन् ।
दोस्रो विश्वयुद्धमा बेलायतको पक्षबाट जापानविरुद्ध पुन लडे । बेलायती सैन्यबाट फर्किएपछि बेलायतविरुद्ध युद्धबन्दीको पक्षमा मुद्दा लडे । जीवन धान्ने बाध्यतामा भारतीय सीमा सुरक्षा बलमा पनि भर्ती भए । तर अहिले जीवनको अन्तिम घडीतिर युद्धबन्दी भएवापत् पाउनुपर्ने क्षतिपूर्तिका लागि उनी एक दशकदेखि लागिरहेछन् । भन्छन् - बेलायतले देला र पाउँला भन्ने त आशा छैन । गोरखाहरुको आन्दोलनको दबाबबाट भने पाउँछु कि ? उनले थपे - गोराहरु बदमास हुन्छन् तिनको मलाई कति पनि विश्वास छैन । गोरखाहरु बेलायत विरुद्ध लडिरहेका छन् । उनीहरुको आन्दोलनबाट चाहिँ केही हुन्छ कि ?
कान्छा छोरा, बुहारी र एक नातिका साथमा बुटवल पाखापानीको सुकुम्बासी बस्तीमा हुकुमसिंह बसिरहेका छन् । काठमाडौँ, पोखरा, धरान र बुटवलमा आलिशान महल ठड्याएर बसिरहेका लाहुरेको जीवनस्तरसित हुकुमसिंहको जीवनस्तर तुलना गर्दा मन छियाछिया हुन्छ । लाहुरेको शहरिया बिलासी जीवनशैली मात्र देखेकाहरुको लागि हुकुमसिंहको जीवनशैली अस्वाभाविक पनि लाग्न सक्छ । तिनाउ बगरबाट खेपेको ढुंगाको जगमा बसोबासका लागि झुप्रो टेकाएका छन् पुनले । खरलाई बाँसको भाटाले सापेर पर्खाल बनाएका छन् । परालले घरलाई घामपानीबाट छलेका छन् । घरको मूलथाम बनेको छ चार घना बाँस । घरको बारेमा पनि उनैबाट सुनौँ न त - नौ वर्षपछि घरको टेको फेरेको छु । छोराको कमाइले छानो छाएको छु । अझै पानी पर्दा घरभित्र छिर्ने बाछिटा छेक्न सकेको छुइनँ ।
विश्वकै सम्भ्रान्त मुलुकको रक्षा र विस्तारका लागि बन्दूकको नालमा ज्यान राखेर विश्वयुद्ध लडेका पुनको पारिवारिक अवस्था दुःखलाग्दो छ । बुढेसकालमा दुध, मासु खान मन लागे पनि पैसाले पुग्दैन -उनले मन भारी पार्दै दुखेसो पोखे - छोराको कमाइले बल्ल दालभातसम्म जुरेको छ ।
प्लाष्टिकले बारेर घरलाई दुई खण्ड बनाएका छन् पुनले । एक खण्डमा डोरीको खटियामा नाति लिएर उनी सुत्छन् अर्कोमा छोराबुहारी । किचन, डाइनिङ, मिटिङ, सिटिङ सबै भन्नु यति दुई कोठा । यस्तो घरमा जीवन बित्न लागेकोमा पुनलाई त्यति चिन्ता छैन जति चिन्ता मुद्दा जितेर पनि युद्धबन्दीको क्षतिपूर्ति नपाएकोमा छ ।
तीन दाजुभाइ र तीन दिदी बहिनीका धनी हुकुमसिंहलाई भर्ती गर्न गल्लावालहरु घरैमा आएका थिए । आमा बाबा पुन १४ र १५ वर्षको हुादैमा बितेकाले उनलाई जीवन धान्न पनि भर्ती हुन करै लागेको थियो । त्यसमाथि उनका जेठो र माहिला दाइ पनि बेलायती सेनामा भर्ती भएकाले दायाँबायाँ केही सोच्नै परेन । देहरादुनमा भर्ती भएर तालिम सिध्याएपछि पुनलाई कुइटा लगियो । कुइटाबाट झाँसी लगियो । त्यतिखेर बर्मामा युद्ध मच्चिरहेको थियो । त्यसैले पुन सम्मिलित बटालियनलाई बर्मा पुर्‍याइयो । पुनलाई थाहा थिएन कहाँ लगिँदैछ भन्ने । एक रात एक दिन लगाएर बर्माबाट उनको बटालियनलाई पानीजहाजमा मलाया पुर्‍याइयो ।
मलायामा किनारमा उत्रनासाथ जापानले आक्रमण शुरु गरिहाल्यो । त्यहीँ १०/१२ जना गोरखा ढलिहाले । बाँकी अलि अग्लो स्थान खोज्दै अगाडि बढे । त्यहीँ जापानसित भीषण युद्ध भयो । उनको बटालियनका प्राय सबै मारिए । हुकुमसिंहले चाहिँ सालको रुखको धोद्रोमा पसेर ज्यान बचाउनुभयो । धोद्रोमा उनीसहित अरु तीन जना गोरखाली सैनिकले पनि शरण लिएर ज्यान बचाएका थिए । पुन भन्छन् - सबै साथी भकाभक मारिन थाले । यसो हेरेको बुढो सालको रुख देखियो । भित्र धोद्रो रहेछ त्यहीँ घुसे । म भन्दा अगि दुई जना साथी त्यहाँ बसिसकेका रहेछन् । नत्र म पनि तोपको गोलाले उहीँ अचार हुने थिएँ ।
फायरिङ सिद्धियो । गोरखालीहरु सबै सोत्तर भए । जापानी फौज आएर कब्जा जमायो । पुन लगायत रुखको धोद्रोमा लुकेका सबैलाई बन्दी बनायो । सन् १९४१ को घटना थियो त्यो । पुनका अनुसार जापानले बन्दी बनाएर सिंगापुर पुर्‍यायो ।
बन्दी अवस्थाको कुरै नगरौँ । दुःख भनिसाध्य छैन । दिनको एकपटक भात दिने । त्यो पनि काँचै । नखाउँ भने दिनभरिको शिकार खाउँभने कान्छा बाउको अनुहार उखान जस्तेा । नुहाउन नपाइने । लुगा धुन नपाइने । नयाँ लुगा नदिने । जुम्रा परेर हैरान । यस्तैमा पुनले छ वर्ष गुजारे । भन्छन् - बाँचिएला र फर्किएला भन्ने आशै थिएन । खान नपाएर शरीर सुकिसकेको थियो ।
युद्ध सकिएपछि १९४७ मा हुकुमसिंहलाई युद्धबन्दीबाट रिहा गरियो । जापानले जहाजमा बसालेर पुनलाई कलकत्तामा ब्रिटिशलाई हस्तान्तरण गरिदियो । ब्रिटिशले पनि फेरि देहरादुन लगेर पुनलाई कैदमा राख्यो । कैदमै पुनले झगडा गरे । त्यत्रो वर्ष बेलायतको लागि लड्दा जापानले कैदमा राख्ने अहिले फेरि बेलायतले पनि राख्ने ?’ पुनले प्रश्न गरे । कपाल, दाह्री जुागा, नङ लामो न लामो थियो । कपडा अलिकति तानियो कि धर्रर च्यातिने । ब्रिटिशले नचिनेर कैदमा राखेको भन्यो । उनले झगडा गरेपछि कैदबाट छोडिदियो । हुकुमसिंह नाङ्गो खुट्टा दौडँदै घर आए ।
युद्धबन्दीको ताडना खेपेका पुनले फेरि पल्टन फर्कने आँट निकाल्न सकेनन् । घरमै बसे । गृहस्थी सम्हाले । तर घरमा कति दिन चैन हुने हो र ? फेरि भारतीय सीमा सुरक्षा बलमा भर्ती भए । ३१ वर्षसम्म सीमा सुरक्षा बलमा काम गरेपछि पुनले अवकास लिए । अहिले सोवापत् मासिक दुई हजार भारतीय रुपियाँ पेन्सन थापेर घर चलाइरहे छन् ।
गोरखा सैनिकहरुको आन्दोलनमा सन् २००२ नोभेम्बर २७ लाई ऐतिहासिक दिन मानिन्छ । त्यही दिन हो गोरा र गोरखा सैनिक बराबर भन्ने कानुनी मान्यता मिलेको । युद्धबन्दी गोरखा सिंपाहीले पनि गोरा युद्धबन्दीसरह १० हजार पाउण्ड क्षर्तिपूर्ति पाएको यो नै पहिले घटना हो । त्यसैले गोरखा भूतपूर्व सैनिकहरुले सो दिनलाई ऐतिहासिक विजय दिवस भनेर मनाउँछन् । सारा गोरखालीको शिर उँचो बनाउने सो मुद्दाका एक निवेदक हुकुमसिंह भने खाली हात दुःखपूर्ण जीवन बिताउँदैछन् । आखिर किन त ?
एकपटक गोरखपुर जाँदा पुनको लालबुक लगायत डकुमेण्ट चोरी भयो । त्यसपछि अर्को डकुमेण्ट बनाउन जाँदा युद्धबन्दी भनेर लेखिदिएनन् । पुनलाई यो कुरा थाहै भएन । बेलायतले उनीजस्ता थुप्रै युद्धबन्दीलाई क्षतिपूर्ति दाबी गर्ने डरले डकुमेण्टमा युद्धबन्दी लेखिदिएको थिएन । त्यसैकारण उनले क्षतिपूर्ति पाउन सकेका छैनन् । उनले सुनाएको बयानका आधारमा वकिलले बेलायतको अदालतमा बहस गरे । मुद्दा पनि जिते । विडम्वना, त्यही बयान चाहिँ उनलाई युद्धबन्दी प्रमाणित गर्न समर्थ भएन ।
यूरोपको नेपालीपत्रमा प्रकाशित