Saturday, April 25, 2009

रुँदैरुँदै आफ्नै किताब जलाए चिन्तनले


अधिवक्ता गोपाल सिवाकोटी चिन्तनद्वारा हालै बजारमा ल्याइएको पुस्तक गोरखा आन्दोलन उपलब्धि र चुनौतीमा उर्मिला पुलामीमगरको व्यक्तिगत चरित्रहत्या गरिएकोमा मगर समुदायले विरोध गरेपछि चिन्तनले सबै पुस्तक नष्ट गर्ने भएका छन् । नेपाल मगर विद्यार्थी संघको पहलमा शनिबार भएको सहमति अनुसार चिन्तनले तीन दिनभित्रमा सबै पुस्तक बजारबाट उठाई नष्ट गर्ने छन् । पुस्तक एकहजार प्रति छापिएको थियो । सहमतिको पहिलोचरणमा शनिबारै चिन्तनले ३५० प्रति पुस्तक बागबजार र खुलामञ्चमा जलाएका छन् । आफूले लेखेको पुस्तक आफ्नै हातले जलाउनु पर्‍यो भन्दै चिन्तन पुस्तक जलाउने बेलामा रोएका थिए । पुस्तकको मूल्य ३०० रुपियाँ राखिएको छ । बिहान ८ बजेदेखि शुरु भएको वार्ता करिब छ घण्टापछि मात्र सहमतिमा पुगेको थियो । छ बुँदे सहमतिपत्रमा उर्मिला पुलामीमगरको व्यक्तिगत तथा चरित्रहत्या सम्बन्धमा आजसम्म गोपाल सिवाकोटी चिन्तनले लेखेका र प्रकाशन गरेका विषयबाट उर्मिला र उनको परिवारमा पर्न गएको क्षतिप्रति चिन्तनले लिखित र सार्वजनिक रुपमा माफी माग्ने उल्लेख छ । यस्तै चिन्तनद्वारा लिखित तथा बि्रटिश गोरखा दासत्व विरुद्ध अभियान नामक संस्थाद्वारा प्रकाशित गोरखा आन्दोलन उपलब्धि र चुनौती नामक पुस्तकको सम्पूर्ण प्रतिहरु तीनदिनभित्र नष्ट गर्ने, अब आउने दिनहरुमा सो पुस्तकको प्रकाशन तथा विक्रीवितरण नगर्ने सहमति भएको छ । उर्मिला मगरको बारेमा लेख्य, श्रब्यदृश्य सामग्रीहरु कहिँ कतै कसैलाई प्रदान नगर्ने र तिनीहरुलाई पनि तीनदिनभित्र नष्ट गर्ने, अब उप्रान्त उर्मिलाको चरित्रहत्या सम्बन्धमा गोपाल सिवाकोटी चिन्तनद्वारा कहिँ कतै कुनै प्रकारको लेख, वक्तव्य बाहिर नल्याउने पनि सहमति भएको छ । उर्मिलाको व्यक्तिगत र पारिवारिकलाई चरित्र हत्याबाट पुगेको पीडाको क्षतिपूर्ति उर्मिलाको परिवार र गोपाल सिवाकोटीसँग छलफल गरी तय गर्ने पनि निधो भएको छ । सहमतिहरु पालना नगरेमा चिन्तनलाई आवश्यक सामाजिक र कानुन कारबाही गरिने सहमतिमा चिन्तनले हस्ताक्षर गरेका छन् । सहमति पत्रमा नेपाल मगर विद्यार्थी संघका अध्यक्ष भोजविक्रम बुढामगर, सल्लाहकारहरु बमकुमारी बुढामगर, अधिवक्ताद्वय गौबहादुर आलेमगर र इन्दिरा श्रीशमगर, सभासद् तथा नेपाल आदिवासी जनजाति महासंघका महासचिव रामबहादुर थापामगर, नेपाल मगर संघको उपाध्यक्ष नविन रोकामगर, नेपाल मगर महिला संघकी पूर्णमाया पुलामीमगर र गोपाल सिवाकोटी चिन्तनले हस्ताक्षर गरेका छन् । चिन्तनले उर्मिलालाई आफ्नी पूर्व प्रेमिका भएको दाबी गर्दै उर्मिलाको अर्कैसित विवाह भएपछि उनको बारेमा विभिन्न पत्रिका, पुस्तक, इमेल, इन्टरनेटमा प्रचारवाजी गर्दै आएका थिए ।

Thursday, April 23, 2009

डाक्टरसाबको पर्खाइमा


बुधबार, अप्रिल २२ मा डा. रमेश चोखानीसित जाँच गराउन नर्भिक इन्टरनेशनल अस्पतालमा तीन महिनाअघि नै नाम लेखाएको थिएँ । २०६४ असोज यता डा. चोखानीसितको यो मेरो चौथो नियमित जाँच थियो । प्रधानमन्त्री पुष्पकमल दाहालको पहिलो भारत भ्रमणको टोलीमा परेर फिर्ताभए लगत्तै म अपत्यारिलो किसिमले दम रोगको पञ्जामा परेको थिएँ । त्यसपछि त महिना, दुई महिना, तीन महिनामा डा. चोखानीकहाँ धाउनु जागिरजस्तै नियमित कार्य बनेको थियो मेरा लागि ।
यसपटक अस्पतालले समय दिएको थियो - साँझ पाँच बजे । सोही अस्पतालकी नर्स बहिनी प्रमिला रानाले मेरो पालो मिलाइदिएकी थिइन् । थला नपरेसम्म सञ्चै ठान्ने गोरखाली स्वास्थ्यचेतनाले युक्त म उनैको करले अस्पताल पुगेको थिएँ । उनले मिलाइदिएको समयतालिका मान्दै म लुरुलुरु पाँच बज्न पाँचमिनेट छँदै अस्पतालमा हाजिर जनाउन पुगेँ । डा. चोखानीको कोठा बाहिर उनलाई कुरेका बिरामीहरुको लाइन पेट्रोल भर्न लाग्ने लामभन्दा कम थिएन । त्यतिले भएन प्यासेजमा राखिएका कुर्सिहरु पनि भरिएका थिए । उनका सहायकलाई ङिच्च दाँत देखाउँदै मैले उपस्थितिको जनाउ दिएँ । 
डा. चोखानी आइपुगेका थिएनन् । उनका सहायक चिकित्सकले प्रारम्भिक बयान लिँदै थिए । १५ मिनेटपछि मलाई पनि सहायक चिकित्सकले बयान लिए । अब कुर्नु थियो डा. चोखानीलाई । त्यतिबेलासम्ममा आफ्नो प्रातकालीन ड्यूटी सिध्याएर प्रमिला आइसकेकी थिइन् । डा. चोखानी सडक जाममा परेको जानकारी आयो । डा. आउने निश्चित थियो तर समय ठेगान थिएन । फर्केर जाने हिक्मत कसैको थिएन । सबै तीन महिनादेखि पालो कुरेका बिरामीहरु थिए । त्यसैले पर्खनुको विकल्प थिएन । बरु विभिन्न बहानामा टहलिनु उचित थियो । हामी पनि निस्क्यौँ चिया पिउन । 
करैले एकघण्टा बिताएर फर्कँदा डा. चोखानी आइसकेका रहेछन् । बुझ्दा थाहा भयो मेरो पालो चौथोमा रहेछ । त्यतिबेलासम्ममा दुईजना बिरामीको नाडी डा. चोखानीले छाम्न भ्याएका रहेछन् । अब तीनवटा रिपोर्ट र एक जनापछि तपाईको पालो’ -करिब सातबजे डा. चोखानीका सहायकले यो वाक्य सुनाउँदा आठ बजेभित्रमा आफ्नो जाँच सकिने लख काटेँ । डा. चोखानीको कक्षबाहिर खुट्टा टेक्ने ठाउँ थिएन । त्यसैले बाहिर अलि परै बसेँ जहाँ हावा राम्रोसँग चल्थ्यो श्वास फेर्न सास्ती हुँदैनथ्यो । 
कुर्दाकुर्दा आठ बज्यो । पालो आएन । डा. चोखानीका सहायकलाई भेटेँ । एकैछिन कुर्नुहोस् पालो आइहाल्छ’ भने । उनीसित यसबाहेक भन्ने कुरा नै के थियो र ? घडीको सुईले साढेआठ टेक्यो । फेरि सहायकलाई भेटेँ । त्यतिञ्जेलमा डा. चोखानीको कक्षबाहिर पालो पर्खिरहेका दुईजना दमका रोगीको हालत बिग्रिँदै गइसकेको रहेछ । के गर्ने दाइ पालो त तपाईको हो तर उहाँहरु सिरियस हुनुभयो, उहाँहरुलाई जान दिऊँ कि के गरौँ तपाई जे भन्नुहुन्छ म त्यही गर्छु’ - सहायकले भने । आफ्नो पालोमा मेरो गोरुको बाह्रै टक्का पनि गरेर भएन । यहाँ त अलिकति मानवीयता अलिकति विवेक पनि देखाउनै पर्नेभयो । धार्नीको टाउको स्वीकृतिमा हल्लाउने बित्तिकै पालो आधा घण्टापछि धकेलियो । 
लाममा बसेकाहरु अझै निकै थिए । कोही बृद्ध, कोही बृद्धा, कोही बालख, कोही आइमाइ केटाकेटी । घडीको सुईले रातको नौ नाघिसकेको थियो । बिरामीहरु कसरी घर पुग्ने चिन्तामा थिए । बच्चाहरु कुर्सिमै निधाइसकेका थिए । निस्सासिएर बृद्ध बृद्धाहरु पालो बसे झैँ एकपछि अर्को गर्दै खोकिरहन्थे । महिलाहरु घरायसी कुराकानीमा मस्त थिए । सबैको साझा चिन्ता थियो - बोलाइएको समयमा पालो आएन । तीन घण्टाभन्दा कम समय कुर्ने त कोही थिएनन् । जाचाएर बाहिर निस्केकाहरुको अनुहार बिरामीको जस्तो होइन युद्ध जितेर फर्किएका सिापाहीको जस्तो देखिन्थ्यो । 
बल्लबल्ल पालो पाँचघण्टा कुरेपछि राति १० बजे मेरो पनि युद्ध जित्ने पालो आयो । म भन्दा पछि दर्जनौँ बिरामी थिए तिनको पालो कतिबेला आयो होला ? डा. चोखानीका निजी सहायकलाई सोधेँ - भाइ सबैभन्दा ढिलो कतिबजेसम्म जाँच गरिएको इतिहास छ ? उनले बिहान १ बजेसम्म जाँच गरिएको जानकारी गराए । तीन चित खाएँ । कम्तीमा एउटा बिरामीलाई जाँच्न कति समय लाग्ने ? एउटा रिपोर्ट हेर्न कति समय लाग्ने ? त्यसको आँकलन गरेर त्यही अनुसार बिरामीलाई बोलाए सबैले घण्टौँ खर्चनु पर्दैनथ्यो । समय व्यवस्थापनको अभावमा खेर गइरहेको समयको जिम्मेवारी कसले लिने ? अस्पताल व्यवस्थापनले वा चिकित्सकले ? 
केही दिनअघि बेलायतमा बसिरहेका एक मित्रले फोनमा भनेका थिए - डेन्टिस्टसित समय लिएको थिएँ, जान सकिनँ । पछि त बिल पो पठाएछ । उनले थपे बोलाइएको समयभन्दा पाँच मिनेटपछि पुग्यो भने पिन रिजेक्ट गरिदिँदोरहेछ । अनि अर्को एपोइन्टमेन्टका लागि नाम लेखायो फर्क्यो । नेपालमा चाहिँ आफैँले समय दिएको बिरामीलाई घण्टौँ पर्खाउने स्वास्थ्य व्यावसायी संस्था र चिकित्सकलाई बिरामीहरुको समय बर्बाद गरिदिएवापत् क्षतिपूर्ति भराउनुपर्ने दिन आइसकेको छ । तर बिरालाको घाँटीमा घण्टी कसले बाँधिदिने ? 

Monday, April 20, 2009

जीवनका छुटेका हरफहरु

चैत २३ गते पूर्व ब्रिटिश लाहुरेहरुको संगठन गेसोको दोस्रो राष्ट्रिय महाधिवेसनको उद्घाटन समारोहमा सभापति पदमबहादुर गुरुङले भनेको दुई वाक्य घत लाग्यो । 'पहिले घरमा सोफासेट राख्नसक्ने मेरो हैसियत थिएन अहिले हैसियत छ तर ढाडको रोगले सोफामा बस्न हुँदैन ।' 'पहिले मसित बियर खानसक्ने क्षमता थिएन अहिले बियर राख पुग्ने पेन्सन छ तर स्वास्थ्यको कारण खान सक्दिनँ' । 
यस्ता अन्तरविरोधहरु मेरा जीवनयात्रामा पनि आए । २०५४ मा काठमाडौँ छिरेर भूमिगतजस्तै भएको म २०५६ मा फेला परिहालेँ । एउटै स्कुल पढेका तर उमेरले दाइ राजु पोखरेल -जो आरआर क्याम्पसका वर्तमान प्रमुख गोपालचन्द्र पोखरेलका कान्छा भाइ हुन्) ले एक नातेदारको शुद्धाइँमा भेटिहाले । उनको 'कहाँ पढ्दैछौ' भन्ने प्रश्नको जवाफ मसित थिएन । पढाइ छोडेर ढाक्रे बनेको ढाँट्न पनि सकिनँ । स्थिति बुझेपछि उनले मध्यमार्गी उपाय रचे - बिहानदेखि साँझसम्म काम गर्ने, बेलुकी कलेज पढ्ने । 
उपाय त्यति नराम्रो लागेन । त्यहीदिन मैले एसएलसी छिचोलेको दसी सर्टिफिकेट र भर्ना खर्च उनलाई थमाएँ । औपचारिक पढाइको नदीबाट भङ्गालो फाटिएको म दुईवर्षपछि फेरि मूलधारमै मिसिएँ । बिहान उठेदेखि दिनभरिको काम सल्टाएर पढ्न जानु मलाई अक्करे भीरको यात्रा पूरागर्नु जस्तो थियो । कहिले अर्जेन्ट अर्डरले रोक्ने, कहिले पालो दिने पात्र अभावले पाइला रोक्ने । मनमा रहर थियो । पढाइको प्यास थियो । एकदिन बिराएर भए पनि कलेज जाऊँ भन्ने इरादा थियो । 
कुलेश्वरबाट २१ नम्बरको कीर्तिपुर यातायातको लामो बस -यसलाई आजभोलि लाउडा पनि भन्दा रहेछन्) चढेर रत्नपार्क झर्‍यो । त्यहाँबाट फड्का नाप्दै आरआर कलेज । विषय रोजेको थिएँ - पत्रकारिता, गणित र जनसंख्या । कक्षामा कहिल्यै समयमा पुग्न सकिनँ । ढिलो आउने भरियाले कहाँ बीचमा घुस्रना पाउनु -जहिल्यै अन्तिम बेञ्चमा । मेरो आँखाको ज्योति त त्यतिबेलै मधुरो भइसकेको रहेछ । शिक्षकले कालोपाटीमा लेखेको हिसाब ठम्याउनै नसक्ने । शिक्षकको उच्चारणको भरमा हिसाब सार्थेँ । यो पाराले गणितको डुङ्गा किनारा नलाग्ने सोचेर म आफैँ किनारा लागेँ । 
त्यतिबेर मसित दुईजोर कपडा मात्र थिए । एउटा लगायो, एउटा धोयो । सफा कपडा पनि फोटो धुलाउँदा केमिकल उछिट्टएिर एकैदिनमा दागैदाग हुन्थ्यो । घरबाट सफा कपडा लाएर आए पनि दिउँसोसम्ममा छिर्कैछिर्का हुन्थ्यो । कति दिन त म राष्ट्रिय सभागृह, महेन्द्र पुलिस क्लवको गेटसम्म आएर पनि कपडा फोहोर देखेपछि मनभरि निराशाको भारी बोकेर कक्षा नछिरी फर्कन्थेँ । गरिबीले मलाई थचक्कै बनायो । कसैले केही नभने पनि कलेजको ढोकाबाट बाह्र हात टाढै बनायो । त्यस्तै २० दिन कलेज टेकेँ हुँला । बाँकी त्यस्तै एक साता -एक दिन र्फम भर्न, एक दिन प्रवेशपत्र लिन र जाँच दिन) समय दिएपछि आइए पास गरेँ । आइए पास गर्दासम्ममा मेरो एक जना साथी थिए - जयराम लामा ।
बीए पनि तेस्तै । गार्मेन्टमा सुपरभाइजर कम चौकिदारले केको कलेज जान पाउनु ? रातभरि पढो जाँच दिन गो । वर्षमा एकसाता समय दिएर बीए पनि कटाएँ । आइएमा कमाएको साथी आइएमै अड्किए परेँ म एक्लै । एमए पुगेपछि स्कुले रहरजस्तै रहर पलायो कलेज जाने । परिबन्दहरुलाई पनि जित्छु भन्ने लाग्दै थियो । तर म पो परिबन्दहरुको जालोमा परेको रहेछु । कहिले जागिर कहिले समाजसेवाको भाउँतोले दुईवर्षमा दिनगन्तीले त्यस्तै दुईमहिना कलेज पुगेछु ।     
साथीहरुले कलेज जीवनको संस्मरण सुनाउँदा पीडाको सुइरो कोखामा जाकिएजस्तो हुन्छ । कलेजबाट टूर गएको वा जाने योजना सुन्दा पनि शूल भएजस्तो हुन्छ । वास्तवमै आफूमा अलिकति चेत पलाइसकेको, आत्मविश्वास भरिन लागेको जीवन केही गरेर देखाउने मौका पनि हो कलेज जीवन । भिन्न पृष्ठभूमिका मित्रहरुको भिन्न विधाको दक्षता आमोदप्रमोदले जीवनको गोरेटो नै डोरिन पनि सक्थ्यो । जो मैले छुटाएँ । शुरुका अन्तरविरोधी वाक्य जस्तै जीवन केही बनेर पनि केही छुटेको छ । जसलाई म महसूस बाहेक के पो गर्न सक्छु र ?        

Tuesday, April 14, 2009

हराएकी मेरी दिदी

'कलियुगमा पनि भगवान भेटिँदा र'छन्' धर्ममा भन्दा कर्ममा विश्वास गर्ने मलाई कसैले भगवानको दर्जा दिलायो  । आफैँलाई विश्वास नभएको कलियुगे भगवानको पगरी थाम्न धौ भयो । 
संकटकालको एकदिन म बुटवलबाट काठमाडौँ आइरहेको थिएँ । सुरक्षाकर्मीको कर्मकाण्डबाट मुक्ति पाउँदै कलंकी छिर्दा घडीको सुईले रातको साढेआठ टेकिसकेको थियो । हिउँदको दिन औँशीको पक्ष । अनि त के चाहियो चारैतिर निस्पट्ट अँधेरो । हतारहतार माइक्रोबाट ओर्लेर ट्याक्सी रोक्दै थिएँ । माइक्रोभित्र माइक्रो कर्मचारी र एक नारीबीच आवाज सुनियो - 
'यति राति म कहाँ जानु ? मलाई जसरी भए पनि पुर्‍याइदिनुस्'
'हाम्रो ग्यारेज बालाजु हो त्यहाँभन्दा त लैजान सक्दैनौँ'
'तपाईहरले छ बजे काठमाडौँ पुर्‍याउँछौँ भन्नुभा हैन यति राति ल्याइदिने ? मलाई केही था छैन, म कहाँ जाने ?'
'के गर्ने दिदी हामीले गर्दा ढिलो भाको होइन, समय नै यस्तो छ' 
एक मिनेटभित्रैमा सुनिएको यो सम्वादले मलाई घोरिन बाध्य बनायो । महिलालाई गन्तव्यमा पुग्न समस्या छ बुझ्न मलाई गाह्रो भएन । अनिश्चित यात्राको उद्देश्य बोकेर माइक्रोबाट ओर्लेकी महिलालाई नजिकै गएर भनेँ - 'यदि असजिलो लाग्दैन भने म पुर्‍याइदिन्छु तपाईलाई ।' शिरदेखि पाउसम्म नियालेर उनले मेरो प्रस्ताव स्वीकारिन् । कलंकीबाट पाटन मेरो निवाससम्म ट्याक्सीमा र त्यसपछि थोत्रो हिरोहोण्डामा राखेर उनलाई काँडाघारी बहिनीकहाँ पुर्‍याइदिएँ । दिदीबहिनीसित बसेर लामै कुराकानी भयो । नवलपरासी, कावासोतीकी ती दिदी थिइन् शान्ति गुरुङ । सौन्दर्य व्यवसायी संघ जिल्ला समितिकी पदाधिकारी उनको कावासोतीमा सौन्दर्य ब्यूटी पार्लर थियो । 
केही महिनापछि मगर महिला संघको महाधिवेसनमा भाग लिन कावासोती जाँदा उनैको सत्कारमा हामी छ भाइ बसेका थियौँ । र, साँझमा पानीसरी सुक्र्याएको कोदोको रक्सि सम्झँदा अझै मुखबाट पानी आउँछ । फोन सम्पर्क र भेटघाटले हामी थोरै समयमै नजिकिएका थियौँ । 
धेरै समयपछि कुनै दिन दिदीले फोन गरिन् र भनिन् - 'भाइ मैले त कावासोती छाडेँ । संकटकालको बेला गाउँमा आइमाइ केटाकेटी मात्र बस्न सास्ती भयो ।' चार बहिनी छोरी र एक छोराकी अभिभावक थिइन् ती दिदी । र, श्रीमान् वैदेशिक रोजगारीमा पुगेका थिए इराक -जसलाई दिदी माइला भनि सम्बोधन गर्थिन्) । कावासोतीमा राम्रैगरी जमेकी दिदीको परिवारको दुर्दशा बस किनेपछि शुरु भएको थियो । ंनाम बस भए पनि उनको परिवारलाई भने बसले उठिबास लगाएको थियो । काठमाडौँ-दाङ गुड्ने बसले कुनैदिन दाङमा एक बटुवालाई ठक्कर दियो । घाइते बटुवालाई हतियार बनाएर प्रहरीले कहिले एक लाख, एकमहिना पछि डेढलाख गर्दै बस बेच्ने मात्र बनाएन उल्टो घर नै बन्धकी राख्नपर्ने बनायो । त्यही रिन तिर्न माइला धसिए इराक । 
दिदी सीतापाइला चोकमा कोठा लिएर काठमाडौँमा बस्न थालिन् । एकपटक कोठामा बोलाएर उनले एसएलसी दिन लागेकी छोरीको स्कुल स्थानान्तर हुन नसकेको समस्या सुनाएकी थिइन् । र, उनले दिएकी थिइन् मेरो मोबाइलको नम्बर पनि । कार्यब्यस्तताले केही समय टेलिफोन सम्पर्क हुन सकेन । करिब तीन महिनापछि फोन गर्दा सो मोबाइल सेवामा नरहेको जानकारी पाइयो । तिनी बसेको घर जाँदा पत्तो लाग्यो एक महिना पहिले नै तिनी सरिसकेकी । सरेको इलाका कहाँ कसैले प्रष्ट भन्न सकेनन् । कसैले कलंकी भने कसैले कोटेश्वर । शायद तिनले पनि मेरो नम्बर हराइन् क्यारे । बीचबाटोमा भेटिएकी मेरी दिदी बीचबाटोमै हराइन् । कोही मित्रलाई ती दिदीको जानकारी भए र भेटाइदिएमा म पनि भगवान मान्ने थिएँ ।