Saturday, October 31, 2009

मनु पनि बेलायत गइछन्

मनु ठाडा पनि बेलायत गइछन् नि । नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य नरेन्द्र थापाले सुनाउँदा पत्याइनँ । बेलायत गएकी हैनन होला । गएकी नै भए पनि घुम्न गएकी होलिन् । मैले तर्क गरेँ । सँगै रहेका साथी भोजविक्रम बुढामगरले पनि पत्याएनन् ।

करिब सात वर्षअघि धनकुटामा पहिलोपटक भेट हुँदा मनु ठाडा मगर विद्यार्थी संघको जिल्ला अध्यक्ष थिइन् । बीएड सकेर काठमाडौँ आउने तयारीसहित संघको नेतृत्व पनि हस्तान्तरण गर्दै थिइन् । एक सम्भावनायुक्त नेतृत्व थियो उनको । त्यसैले काठमाडौँ आउनु भएपछि मगर विद्यार्थी संघको केन्द्रीय समितिमा बस्न मैले अनुरोध पनि गरेको थिएँ भलै उनले स्वीकार गरिनन् । पढाइलाई नै अघि बढाउने उनको योजना थियो । योजना मुताबिक नै फटाफट डिग्री सकिन् पनि । यसबीचमा एसएनभी र मार्टिन चौतारीमा स्वतन्त्र अनुसन्धानका काम पनि गर्न भ्याइन् ।

धनकुटाबाट निस्के हाम्रो विचार साप्ताहिककी सम्पादक पनि रहेकी उनी गत सात मेरै अध्यक्षतामा गठित मगर आमसन्चारकर्मी समाजकी कोषाध्यक्ष पनि थिइन् । पत्रपत्रिकामा उनका शोधमूलक खोजमूलक लेखहरु छापिन थालेका थिए । मगर समुदायका कार्यक्रमहरुमा बौद्धिक टिप्पणी पनि गर्न थालेकी थिइन् । मगर समुदायले उदाउँदो बौद्धिक व्यक्तित्वको सूचीमा उनलाई राख्न थालेको थियो ।

मार्टिन चौतारीमा शोधमा संलग्न मित्र झकेन्द्र घर्तीमगरले मनु आइटी पढ्न स्टुडेन्ट भिसामा बेलायत गएको पुस्टि गरेपछि म हतप्रभ भएँ । बेलायत पुगेका विद्यार्थीको बेहाल भएका समाचारका अक्षरहरु पनि घुम्न थाले । सबैलाई त्यस्तो त नहोला तर किन किन एउटा सम्भावनाको पलायन ठानेँ । हुन त विदेशमा ज्ञान आर्जन गरेर देशमै काम गर्न पनि सकिन्छ गरेका पनि छन् । तर किन किन मनु बेलायत गएको समय अलि मिलेन कि जस्तो लागिरह्यो । अरु केही वर्ष नेपालमा उनले लिइरहेको गति निरन्तर गरेको भए उनलाई समाजलाई र देशलाई राम्रो हुन्थ्यो ।

यस्ता कति सम्भावनाहरुको निर्यात भइरहेको छ यसदेशबाट दिनहुँ । आखिर यसमा जिम्मेवार शासन चलाउनेहरु त हुँदैहुन् हामी आफैँ पनि छौँ कि । जे होस् मनुलाई उज्वल भविस्यको शुभकामना ।।।।।।।

त्रिशुलमा उनिएको म

आज आइतबार । मेरो घरमा माइला दाजुको विवाह छ ।बहिनी हिजो रात्री बस चढेर घर पुगिसकी । म भने पुल्चोकको डेरामा तीन तलामाथि बसेको छु त्रिशुलमा उनिएको ध्वजासरह भएर ।

बहराइनबाट एक महिना लामो विदामा नेपाल आएका मेरा माइला दाजु मेरा दाजु मात्र होइनन् एक असल साथी पनि हुन् । उमेरले मभन्दा दुई वर्ष जेठा भए पनि कक्षा आठदेखि हामी पढाइमा पनि सँगै थियौँ । जेठा दाजुको माओवादी जनयुद्धमा लाग्दालाग्दै निधन भएपछि चौपट घरलाई हामी दुईभाइ भएर भरथेग गर्दै आएका छौँ एक अर्कासित सल्लाह गरेरै । एकले अर्काको विचार र योजनाको सम्मान गरेरै ।

पछि साथी बनेका विभिन्न साथीहरुको जन्ती र भोज खान नचुकेको म आफ्नै दाजुको विवाहमा भने गयल भएको छु त्यो पनि आफ्नै मनोगत र आत्मगत कारणहरुले । आफ्नै फोस्रो आडम्बर र मनोमानीले । घरप्रतिको परिवारप्रतिको दाजुप्रतिको र समाजप्रतिको दायित्व बहन गर्न सकिनँ भन्ने गम्भीर पश्चातापले पिरोलिइरहेको छु । दुनियाँलाई लेखेर बोलेर भाषणा गरेर अर्ती उपदेश दिने म आफ्नै दम्भ अहङकार घमन्डका कारण छियाछिया भएको छु ।

पश्चातापको आहालमा चोबलिइरहकै बेला अचानक आमाको फोन आउँछ मावली बाजे सिकिस्त बिरामी हुनुहुन्छ केही दिनदेखि । आवाज बन्द भएको छ रे । अनुहारको एक भाग बाहिरै देखिने गरी कालो भएको छ रे । मामालाई फोन गर्दिएस् है । आमाले भन्नुभयो । २०४२ सालका ताप्लेजुङ जिल्ला पन्चायतका जनपक्षीय उपसभापति महेन्द्र थापामगर मेरा जिबा कहिल्यै आफ्ना कुरामा विचलित थिएनन् । आफ्ना छोरा छोरीसित पनि उनले सम्झौता गरेनन् चाहे उनीहरु घरबाट निस्कीएरै किन नजाउन् । यस्ता कडा मान्छे पनि बिराम लागेपछि थलिएछन् गलेछन् ।

तीन छोरा तीन छोरीका पिता मेरा जिबा उपचार नपाएरै अन्तिम दिन गनिरहेका छन् । धन हुनेको मन छैन मन हुनेको धन छैन । आफ्नै सन्तानहरु उनको अन्तिम संस्कार गर्न पर्खिरहेका जस्ता लाग्छन् । धिक्कार छ ती सन्तानहरुलाई । र मजस्ता नालायक नातिहरुलाई जस्ले केही वर्षदेखि थलिएका जिबाको उपचार गराउन सकेन ।

आजै तनहुँ जानु थियो दिदीको जेठानी दिदी बित्नुभएको १३ दिने शुद्ध्याइँमा । घर परिवार सबैको कर थियो दाजुको विहेमा नआउने भए त्यता भए पनि जा न त । तर मलाई किन हो किन मन छैन । मन वेचैन छ । मैले आफ्नो सानो जिम्मेवारी पनि पूरा गर्न सकिरहेको छैन । परिवार समाज नातागोताबाट पर पर भागिरहेको आफ्नै छायाँ देख्छु ।

साथीभाइको फोन आउँछ उठाउन मन छैन । अनलाइन भेटिन्छन् साथीभाइ आफन्तहरु । कुरा गर्न मन छैन । कुरा गर्न खोज्नेहरुलाई छिटोछिटो टाटो लगाउँछु । मीना होटलकी मीना दिदी आउँछिन् भाइ भात खाने होइन । म आफैँ अवाक छु अमन छु । नेपालिपत्रबाट विज्ञान शर्माजी मेल पठाउनुहुन्छ स्टोरी आजै पठाइदिनुभए हुन्थ्यो । जवाफ दिन मन छैन। नियमित काममा जान खुट्टा लागेको छैन । ढोका बन्द गरेर सुत्न मन लागेको छ । सबैबाट केही क्षणलाइ भए पनि अलग भएर । के म दुनियाँबाट भाग्न सकुँला ।

Sunday, October 11, 2009

जनजाति आन्दोलनलाई एकधक्का

लोकतान्त्रिक आन्दोलन २०६२ ६३ पछि सबैभन्दा बढी फस्टाएको आन्दोलन मधेसी आन्दोलन थियो भने त्यसपछिको पंक्तिमा पर्न आउँछ जनजाति आन्दोलन । अध्येताहरुले नेपालमा जनजातिहरुको संगठित विद्रोहको डेढसय वर्ष लामो इतिहास कोट्याए पनि उल्लेख्य उपलब्धि दिलाउन भने २०६२६३ कै आन्दोलन कुर्नुपर्यो । फलतः जनताले आफ्ना लागि आफैँले बनाउने भनिएको संविधान बनाउने ऐतिहासिक संविधानसभामा एकतिहाई जनजाति प्रतिनिधिको उपस्थिति छ ।
संविधानसभामा मौजुद जनजाति सभासद्ले जनजातिका पक्षमा संविधान बनाउन के कस्ता भूमिका निर्वाह गर्लान् त्यो त हेर्न बाँकी नै छ । जनजाति सभासद्हरुको साझा फोरम बने पनि अहिले क्रियाशील नरहँदा आशा गर्ने ठाउँ त्यति छैन तर विभिन्न जातिले संविधानसभामा प्रतिनिधित्व गर्ने सभासद्हरु समेतको सहभागितामा खडा गरेका संयुक्त मोर्चाहरु सक्रिय रहिरहेका कारण निराश बन्न पर्ने स्थिति पनि छैन ।
लखन थापाको संगठित विद्रोहसित जोडिने जनजाति आन्दोलनका उपलब्धि एकतिहाई सभासद् निर्वाचित हुनु मात्र होइन । त्यो त एउटा कडी मात्र हो । सरकारले सबै क्षेत्रमा जनजातिका लागि विशेष व्यवस्था गर्नु, राजनीतिक दल लगायत सबै संरचनामा जनजातिको प्रतिनिधित्व गराउन थालिनु निश्चय नै जनजाति आन्दोलनका जग बन्ने प्रक्रिया हो । जनजाति आन्दोलन स्थापित हुँदै जानु हो । भलै यो आन्दोलन जादूको छडीजस्तो निमेषभरमै वा १० महिनामा मानिस जन्मिने शास्वत जस्तै निश्चित समयपछि परिपक्व भएर भएको चाहिँ होइन । यस अवस्थासम्म आइपुग्नुका पछि विभिन्न पाटा र पक्षहरु छन् । ती मध्ये एक महत्वपूर्ण पक्ष हो गोरखा भूतपूर्व सैनिक समुदायको लगानी ।
नेपालमा जनजाति आन्दोलनको थालनी मगर, गुरुंग, राई, लिम्बूबाट भएको पाइन्छ । यी चार जातले गोरखा पल्टनमा पनि नाम कमाएका छन् । पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध लगायतका विभिन्न विभिषिकामा भाग लिएका, अंग्रेजको संगत गरेका, भारतको स्वतन्त्रता आन्दोलन देखेका, मलाया, ब्रुनाइ, इण्डोनेसिया लगायतका क्षेत्रमा आन्दोलन देखेका र भोगेका गोरखा सैनिकहरुले नेपालमा २००७ को प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिए । आन्दोलन सफल भएपछि यिनीहरुले विभिन्न जातिय संस्थाहरुको स्थापना गरे । भलै त्यतिबेला यी जातीय संगठनहरुको उद्देश्य राजनीतिक थिएन । त्यसो त आन्दोलनको उद्देश्य भनेको समयले निर्धारण गर्छ ।
सात सालको परिवर्तनपछि समाजसुधारका नाममा खुलेका यी जातिय संगठनहरुको नेतृत्वमा पूर्व गोरखा सैनिकहरु नै थिए । गोरखाहरुमा त्यतिबेला दिभागमा चेतना थियो, हातमा पैसा थियो । लाहुरेहरुले भनेको गाउँलेले खान्थे । त्यसो त लाहुरेलाई ऋण पनि जति भन्यो त्यति दिने गाउँघरमा चलन नै थियो । नेपाल मगर संघको संस्थापक संगठन नेपाल लांघाली परिवार संघका संस्थापक अध्यक्ष डा. हर्षबहादुर बुडादेखि शुरु यो क्रम केही वर्षअघिसम्म जारी थियो । मगर संघमै क्याप्टेन यमबहादुर बुडाथोकी, किरात राई यायोख्यामा कूलबहादुर राई, सुनुवार समाजमा मेजर मानबहादुर सुनुवार, तमु बौद्ध सेवा समितिमा तोरणबहादुर गुरुंग त यसका केही प्रतिनिधि पात्र मात्र हुन् जसले जातीय संस्थाको नेतृत्व गरे । अहिले पनि लाहुर जाने संस्कार बोकेका प्राय जातिका जातीय संगठनमा गोरखा भूपूहरुको प्रतिनिधित्व छ ।
त्यसो त गोरखा भर्तीको अर्को पक्ष गोरखा आन्दोलनका लागि उर्बर भूमि र नेता तयार गर्नु पनि हो । बाउ लाहुरे छादा पल्टनमै हुर्केर शिक्षा दीक्षा पाएकाहरु धेरैले जनजाति आन्दोलनको बागडोर सम्हाले र अहिले पनि सम्हाल्दै छन् । जनजाति आन्दोलनका सर्वमान्य व्यक्तित्व स्वर्गीय हर्क गुरुंग हुन् कि प्राध्यापक सन्तबहादुर गुरुंग, सुरेश आलेमगर हुन् कि डा. ओम गुरुंग सबैको व्यक्तित्वको जरा गोरखा भर्तीसितै गएर गाँसिन्छ । त्यसो त गोरखा भर्तीले नेपालको आदिवासी जनजाति आन्दोलनलाई पछाडि पारेको आरोप पनि लगाइन्छ । विगतमा लाखौँ र हज्जारौँको संख्यामा भर्ती लगिँदा त्यसो भएको थियो भन्ने आधार पनि बलियो होला तर वर्तमानमा दुईसयभन्दा कम मात्र लग्ने गरिएको अवस्थामा त्यो तर्क उचित देखिँदैन ।
एनजीओ आइएनजीओ आउनुभन्दा अगाडि नेपालको जनजाति आन्दोलनको आर्थिक स्रोत लाहुरे समुदाय नै थियो । जुनसुकै कार्यक्रम गर्न चाहिले मामुली खर्चदेखि जातीय संगठनको घर बनाउनेसम्मको खर्चको दुईतिहाईभन्दा बढी स्रोत गोरखा भूतपूर्व सैनिकहरु नै हुन् । अहिले पो एनजीओ आइएनजीओले पैसा खन्याए र ? नत्र त आदिवासी जनजातिहरु सरकारी जागिरमा थिएनन् । बन्द व्यापार थिएन । जातीय संस्थाको दराज, कुर्सि किन्दिनेदेखि विधान, पर्चा छपाइदिने गोरखा भूतपूर्वहरु नै थिए ।
बेलायत सरकारले गत अप्रिल २९ मा सबै गोरखा भूतपूर्व सैनिकहरुलाई बेलायतको आवासीय अधिकार दिने घोषणा गरेपछि त्यसको असर जनजाति आन्दोलनमा प्रत्यक्ष र परोक्ष रुपमा पर्ने देखिन्छ । एक त जातीय संस्थाको बागडोर सम्हालिरहेका, विभन्न पदमा रहेर काम गरिरहेका गोरखा भूतपूर्व सैनिकहरु प्रवासिँदा प्रत्यक्ष असर नै पर्नेछ । अर्कोतर्फ उनीहरुबाट प्राप्त हुने आर्थिक सहायता लगायतले जनजाति आन्दोलनलाई फेरि कमजोर बनाउने छ । बेलायत सरकारको नीतिबाट लाभ हासिल गर्ने करिब डेढलाख गोरखा र उनका परिवारजन्मध्ये दुईतिहाई आदिवासी जनजाति समुदायभित्रबाट पर्नेछन् ।
तथापि बेलायत सरकारको नयाँ नीतिबाट जनजाति आन्दोलनमा पर्ने असरका बारेमा नेपाल आदिवासी जनजाति महासंघले गम्भीर रुपमा सोच्न जरुरी ठानेको देखिँदैन । शायद महासंघका वर्तमान अध्यक्ष लाहुर जाने संस्कार भएका जातिका नभएकाले हुनसक्छ । बेलैमा नसोच्ने हो भने जनजाति आन्दोलनलाई एकाएक झट्का पर्नसक्छ । त्यसो त गोरखा समुदायको पलायनले जनजाति आन्दोलन मात्र होइन सिंगो देशलाई आर्थिक र सामाजिक रुपमा गम्भीर असरहरु पर्ने पनि निश्चित छ । त्यतातर्फ पनि सबैले सोचून ।
अमेरिकाको नेपाली खबरमा प्रकाशित

कस्तो होला नेपालको नयाँ पहिचान ?


संविधानसभाको संवैधानिक समितिले दशैाअघि राष्ट्रिय चिन्हहरुमाथि बहस शुरु गरेपछि विभिन्न पाटा र पक्षहरुबाट विभिन्न खाले प्रतिक्रियाहरु व्यक्त भइरहेका छन् । जनमतबाट अनुमोदित भएर नयाँ संविधान निर्माणको अधिकार पाएको संविधानसभाले शुरु गरेको यस बहसमा सकारात्मकभन्दा नकारात्मक पक्ष हाबी भइरहेको छ । राष्ट्रिय चिन्हरु आकाशका चन्द्रसूर्य जस्तै अपरिवर्तनीय र अटल हुन् भनेर बहसको मुखमा पट्टी बाँध्न खोजिँदैछ । अर्कोतिर संविधानसभाले गर्नुपर्ने काम नगरेर औचित्य नै नभएको विषयमा ध्यान केन्द्रीत गरेको आरोप पनि लगाउन थालिएको छ ।
१० वर्षको सशस्त्र युद्ध, १९ दिने लोकतान्त्रिक आन्दोलन, आदिवासी जनजाति र मधेस आन्दोलनको उपलब्धिस्वरुप देशमा संविधानसभा प्राप्त भएको छ । विगतमा मुठ्ठीभर केही व्यक्तिहरुले जिम्मा लिएर बनाइने र राजाहरुबाट जनतालाई संविधान बक्स हुने गरेकोमा अहिले जननिर्वाचित प्रतिनिधिको हातबाट बल्ल लेख्न अवसर मिलेको छ । अर्को अर्थमा जनताले आफ्नो संविधान आफैँ लेख्ने अवसर हो यो । एकजुगमा एक दिन आउने संज्ञा दिइएको संविधानसभाले अहिले सोचे अनुरुप काम गर्न नसके पनि नयाँ संविधान लेखनको आफ्नो मूल लक्ष्यलाई तिलाञ्जलि दिइसकेको छैन । ढिलै सही नयाँ संविधान यात्रामा गति अगाडि बढाइरहेकै छ । विभिन्न समितिहरुले आफ्ना प्रतिवेदनहरु संविधानसभासमक्ष बुझाइरहेका छन्, कति छलफलका चरणमा छन् । संविधानसभालाई नयाँ संविधानमा राखिने जस्तोसुकै र जुनसुकै प्रावधानहरुका बारेमा छलफल चलाउन र निर्णय गर्न पूर्ण अधिकार छ । यसअघिका संविधानहरुमा जस्तो दरबार, राजा, राजपरिवार अहिले संविधानभन्दा माथि छैनन् सर्वाधिकार जनतामा छ । कुनै पनि विषयमा बहस छलफल नचलाउने भन्नेजस्ता अधिकारबन्देज संविधानसभालाई छैन । तर संविधानसभाले आफ्नो छलफल अगाडि बढाइरहँदा किन सकारात्मक विचारहरु आउन सकिरहेका छैनन् ?
नेपालका राष्ट्रिय चिन्हरु, राष्ट्रिय झण्डा, राष्ट्रिय जनावर, राष्ट्रिय पंक्षी, राष्ट्रिय रङ, राष्ट्रिय फूलले परिवर्तित अवस्थामा नेपालको प्रतिनिधित्व गर्न सकेका छन् कि छैनन् भन्ने विषय संवैधानिक समितिले अहिले उठाएको बहसको चूरो हो । नेपालले २०११ सालदेखि चन्द्र सूर्य अंकित तीन चोसे झण्डालाई राष्ट्रिय झण्डा, गाईलाई राष्ट्रिय जनावर, डाँफेलाई राष्ट्रिय पंक्षी, सिम्रिकलाई राष्ट्रिय रंग र लालीगुराँसलाई राष्ट्रिय फूल मान्दै आएको छ । यी चिन्हहरुको चयन कुनै लोकतान्त्रिक विधि वा जनताको जनमतबाट भन्दा पनि तत्कालीन राजा महेन्द्रको हुकुमबाट भएको इतिहास साक्षी छ । तीस वर्षे पञ्चायत र त्यसपछि पनि अपरिवर्तित रहेका ती चिन्हहरुप्रति लामो समयसम्म अपनाइएका कारण सर्वसाधारणको केही ध्यान खिचिएको हुनसक्छ तर जनमानसले आफ्नो मनमस्तिस्कबाट हटाउनै नसक्नेगरी अमिट छाप बनेर बसेका भने अवश्यै होइनन् । यदि त्यस्तो हुन्थ्यो भने अहिले ती चिन्हहरुलाई परिवर्तन गर्ने कि भनेर कसले हिम्मत गर्थ्यो ? आखिर जनता चिढ्याउन त कुन राजनीतिक पार्टी चाहन्छ र ?
यी चिन्हहरुलाई राष्ट्रिय चिन्ह बनाउन विगतमा जसले सल्लाह र दबाब दिएका थिए त्यही समुदाय र शक्ति अहिले राष्ट्रिय चिन्ह परिवर्तनको बहसलाई निरर्थक र बेतुकको बनाउन खोज्दैछ । आफूलाई संस्कृतिविद्, इतिहासविद्, राष्ट्रप्रेमी भनाउन रुचाउनेहरु जो पशुपतिमा भारतीय पुजारी हुनुपर्छ भनेर चिच्याउँछन् तिनीहरु नै अहिले यस बहसलाई राष्ट्रिय चिन्ह फेर्नु भनेको बाउआमा फेर्नुसरह हो’ देश टुक्रयाउने खेल हो’ भनेर कुर्लिरहेका छन् । २३८ वर्षदेखि जग हालेर प्रत्यक्ष शासनसत्तामा बसेको राजतन्त्रको समाप्तिमा मुलुकका केही प्रक्रियामा गडबडी आउनसक्ने भनेर आवाज निकाल्न नसक्नेहरुले करिब ५० यता कागजमा स्थापित आवाजविहीन र निर्जीव यी चिन्हहरु फेर्दा देशै विखण्डन हुने तर्क गर्नु पनि आफैामा हाँस्यास्पद छ ।
वास्तवमा यी चिन्हहरुको बहसलाई दुई तरिकाले उठाइएको देखिन्छ । पहिलो कारण हो राष्ट्रिय चिन्ह परिवर्तनको बहस एकीकृत नेकपा -माओवादी) बाट थालनी गरिनु । संविधानसभा निर्वाचनबाट सबैभन्दा ठूलो राजनीतिक दल भए पछि नै माओवादीप्रति अन्य प्रतिस्पर्धी राजनीतिक दलहरु आत्तिएका छन् र एकोहोरो खनिएका छन् । माओवादीको एजेण्डा पारित भएमा आफूहरु जनताबाट विस्थापित हुने डरले अन्य राजनीतिक पार्टीहरु बरु पुराना कुरालाई हुबहु र यथावत राख्न तयार छन् तर केही कुरा पनि परिवर्तन गर्न चाहँदैनन् । चाहे त्यो पशुपतिमा नयाँ पुजारी नियुक्तिको कुरा होस् या न्यायाधीशहरुको नियुक्तिको कुरा होस् । त्यसकारण राष्ट्रिय चिन्हहरु परिवर्तनको विषय माओवादीले उठाएकै कारण यो बहसलाई नकारात्मक कोणबाट हेरिँदैछ । र, चर्को राष्ट्रवादको पगरी लगाइदिएर चर्काउन खोजिँदैछ । काँग्रेस, एमालेले यो विषय उठाएको भए पनि यो विषयलाई बहसभन्दा विवाद बनाइँदैनथ्यो ।
दोस्रो, नेपालको परिवर्तनतर्फको यात्रालाई विश्वभरका हिन्दू अतिवादीहरुले रोक्न खोजिरहेका छन् चाहे त्यो पशुपतिमा नेपाली पुजारी राख्ने विषयमा होस् या धर्मनिरपेक्ष मुलुक घोषणा गर्ने क्रममा होस् । धर्मनिरपेक्ष मुलुक घोषणा गर्नबाट रोक्न उनीहरु असफल भए पनि पशुपतिमा भारतीय पुजारी राखिराख्न भने उनीहरु सफल भएका छन् । शायद जनआन्दोलन लगत्तै धर्मनिरपेक्ष मुलुक घोषणा नगरिएको भए अहिले नेपाललाई धर्मनिरपेक्ष बनाउन सम्भव थिएन र, जनआन्दोलन लगत्तै पशुपतिमा नेपाली पुजारी राख्ने निर्णय गरिएको भए त्यसलाई कसैले रोक्नसक्ने थिएन । जनआन्दोलनका बेला सिथिल हुने र अहिले समय बित्दै जाँदा संगठित हुने त्यो शक्तिको सम्बन्ध प्रत्यक्षरुपमा दरबारसित गाँसिएको छ । तिनै दरबारियाहरु अहिले अनेक वेशमा विरोधी श्वर लिएर प्रकट भइरहेका छन् । राजनीतिक दलहरुबीचको बेमेललाई हतियार बनाएर फाइदा लुट्न पनि सक्षम भइरहेका छन् ।
देशभित्रका राष्ट्रवादी हिन्दूहरु अन्यायमा परिरहेका छन् र विदेशीको इशारामा चल्ने कथित हिन्दूहरुको नै बोलबाला बढिरहेको छ । अहिले राष्ट्रिय चिन्हको बहसमा पनि तिनै विदेशी हिन्दूहरु अगाडि आएका छन् । नेपाललाई हिन्दू अधिराज्य बनाउन नसके पनि राष्ट्रिय चिन्हहरुमा हिन्दूत्व कायम राख्न खोजिरहेका छन् । राष्ट्रिय चिन्हले कुनै न कुनैरुपमा हिन्दू धर्मको पहिचान बोकिरहोस् भन्ने चाहन्छन् । राष्ट्रिय चिन्हले विश्वसामू मुलुकको एकता र पहिचान बोक्नुपर्छ । तर हिन्दू अतिवादीहरु यी चिन्हले केवल हिन्दू धर्मको पहिचान बोके पुग्छ भन्ठान्छन् । होइन भने मुलुक धर्म निरपेक्ष भइसकेपछि गाईलाई राष्ट्रिय जनावर तोकिइरहनुपर्ने कारण के छ ? सिम्रिकलाई राष्ट्रिय रङ मानिरहनुपर्ने कारण के छ ? दुधालु, गुनिलो मात्र कारणले गाईलाई राष्ट्रिय जनावर मान्ने हो भने गाईभन्दा गुनिलो र धेरै दुध दिने धेरै जनावरहरु छन् तिनीहरुलाई मानिनुपर्ने होइन र ?
विश्वका प्राय सबै देशले आफ्नो देशमा पाइने दुर्लभ जनावरलाई राष्ट्रिय जनावर, दुर्लभ पन्छीलाई राष्ट्रिय पन्छी, दुर्लभ बनस्पतिलाई राष्ट्रिय फूल मान्ने गरेका छन् । प्राकृतिक विविधताले भरिपूर्ण हाम्रो देश नेपालमा पनि अन्यत्र नपाइने धेरै यस्ता विशेषताहरु छन् जसले नेपाललाई विश्वसामू चिनाइरहेका छन् । हामीसित विश्वमा दुर्लभ एकसिँगे गैँडा छ, नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर छ, वनस्पतिहरु फूलहरु त नेपालमा मात्र पाइने कति छन् कति ? यदि ती मौलिक र दुर्लभ हाम्रा सम्पत्तिलाई राष्ट्रिय चिन्ह बनाउन सकियो भने नेपालको पहिचान त हुने नै भयो ती सम्पत्तिको संरक्षण र सम्बर्द्धन पनि हुनसक्ने थियो । दुर्लभ वस्तुहरुलाई नियाल्न, अध्ययन गर्न चाहनेहरुका कारण नेपालको आर्थिक उपार्जनमा पनि सहयोग नै मिल्ने थियो । तर विरोध सुन्नपर्छ भनेर मनमा लागेको कुरा पनि व्यक्त गर्न नसक्ने प्रवृत्तिका नेपालीहरुले नयाँ राष्ट्रिय पहिचानलाई स्थापित गराउन सक्लान् ?
मलेसियाको नेपाली खबरमा प्रकाशित

सम्झेर ती दिनहरु

१.
संघमा लाग्दा जागिर खुस्कियो
२०५६ मंसिरमा काठमाडौँको कुलेश्वरस्थित भिनाजुको सिनिक फोटो स्टूडियोमा काम गर्दै पढ्दै थिएँ । नेपाल मगर विद्यार्थी संघको दोस्रो महाधिवेसन -२०५६ मंसिर २४,२५ र २६) मा हुने जानकारी पाएपछि झापामा रहेका दाइ विष्णु खपांगीलाई प्रतिनिधि बन्ने ब्यवस्था गरिदिन अनुरोध गरेँ । भिनाजुलाई एक महिनाअघि नै मंसिरको २४ गते घर जाने जानकारी गराइसकेको थिएँ -महाधिवेसनमा जाने भनेको भए अनुमति नदिन सक्थे) । मंसिर २४ गते महाधिवेसन उदघाटन भयो, सोही साँझ भिनाजुसित भोलि घर जाने स्मरण गराएँ । उनले साहुजीको सक्कलीरुप रवाफ देखाए । म पनि के कम, साथीहरुसित खर्च सापटी काढेर २५ गते बिहानै बन्दसत्रस्थल त्रिविवि कीर्तिपुर पुगेँ । महाधिवेसनमा सम्पन्न भएपछि दाइसित घर -झापा) गएँ । भिनाजुले घरबाट फर्कनअघि एकपटक फोन गर्न भनेका थिए । गरेँ, स्टूडियोमा मेरो आवश्यकता नभएको उनले जानकारी गराए । मगर विद्यार्थी संघप्रतिको आशक्तिले पहिलोपटक पाएको बेतलवी जागिर खुस्क्यो ।
२.
भोको पेटमा समाज बदल्ने सपना
२०६१ सालतिर हुनुपर्छ मगर विद्यार्थी संघका तत्कालिन महासचिव भूपेन्द्र पुलामी र म धनकुटा र इलामको कार्यक्रमका लागि प्रस्थान गर्यौँ । कहिले मैले, कहिले उनले लागेको खर्च गर्दै गयौँ । बस भाडा, खाना, खाजा खर्च तिर्दै आयौँ । कार्यक्रममा आउनजान कति खर्च लाग्छ सगोलमा हिसाब भए पनि कोसित कति पैसा छ भन्ने हिसाब गरेका थिएनौँ । इलाममा कार्यक्रम सकेर बस चढेदेखि मसित जम्माजम्मी पचास रुपियाँ पनि बचेन । म ठान्थेँ उनीसित पैसा बचेको होला । उनीसित पनि पैसा सकिएको रहेछ उनले पनि ठान्दा रहेछन् मसित पैसा बचेको होला ।
बेलुकी भात खाने बेला आयो । आफूसित पैसा नभएपछि सकसक भयो । मैले मुख फोरेँ, के खाने सर मसित त पैसा सकियो सरसित कति छ ? उनले पनि गोजी टक्टक्याएर भने, मसित पनि पैसा सकियो सर । दुईजनाको गोजी टक्टक्याउँदा करिब ५० रुपियाँ जम्मा भयो । राजमार्गको छेउमा ठडिएको पसलमा उमालेको चाउचाउ आधा पेट खाएर मगर जातिको मुक्तिको मीठो सपना देख्यौँ ।
३.
पैसा नभएर प्लेन चढियो
२०६० को वैशाखमा पोखराको पृथ्वीनारायण क्याम्पसमा मगर विद्यार्थी संघको प्रशिक्षण कार्यक्रम राखिएको थियो । काठमाडौँबाट अध्यक्ष झकेन्द्र घर्ती र म गयौँ, डा. केशरजंग बराल पोखरामै थिए । प्रशिक्षण सकियो । भोलिपल्ट नेपाल बन्द थियो । पोखरा, बगरबाट तातो पीच सडक नाप्दै नेपाल मगर संघका हालका अध्यक्ष झकबहादुर थापाको घर पार्दी गएर बस्यौँ । काठमाडौँबाट छुट्दा मसित ५०० रुपियाँ थियो, झकेन्द्रसित त्यस्तै ५०० जति थियो होला । मेरो पैसा बस भाडा ठिक्क । खाना खर्च तिर्दा उनीसित पनि आधाउधी जति बच्यो होला ।
साथमा पैसा नभएकोले र्फकँदा प्लेनमा फर्कने व्यवस्था गरेका थियौँ किनकि त्यतिबेला मगर विद्यार्थी संघको मुखपत्र लीसारमा -शाही) नेपाल वायुसेवा निगमको विज्ञापन छापेवापत टिकट पाइन्थ्यो । रात पार्दीमा गुजारेर बिहान केन्द्रीय सदस्य प्रेम थापालाई भेट्न महतगौँडा गयौँ । कुखुरा फार्म चलाएर बसेका थापाले बिहानको भान्सा गराए । फर्कने बेला भयो, पैसा जम्माजम्मी २५० रुपियाँ बाँकी रहेछ । प्लेन टिकट सित्तैमा पाइए पनि एयरपोर्ट ट्याक्स तिर्नुपर्ने थियो । पहिलोपटक धर्ती छोड्न लागेका हामी दुई मनुवालाई त्यो ट्याक्स कति लाग्छ थाहा थिएन ।
झकबहादुर थापासित केही पैसा सापट माग्नुपर्ला भनेर झकेन्द्रजीले भन्नुभयो । तर घर पुग्दा थापा बाहिर गइसकेका रहेछन् । म्याडमलाई माग्न असजिलो लाग्यो । के गर्ने, अरु उपाय थिएन । जे होला भनेर विमानस्थल छिर्यौँ । धन्न त्यतिबेला एयरपोर्ट ट्याक्स जनही ११५ रुपियाँ रहेछ । दुईभाइसित बचेको २५० रुपियाँले एयरपोर्ट ट्याक्स मात्र तिर्न पुगेन कि त्रिभुवन विमानस्थल गेटबाट प्रतिव्यक्ति १०/१० रुपियाँ भाडा तिरेर आआफ्नो घर पनि पुग्यौँ ।
४.
बालबाल फुटबाट जोगियो
संकटकालको महाकालरात्रीमा नेपाल मगर विद्यार्थी संघको महाधिवेसन बुटवलमा तोकियो । देशको परिस्थिति झन् जटिल हुँदै जाँदा बुटवलमा महाधिवेसन त केन्द्रीय समितिको बैठक समेत बस्न नसक्ने अवस्था आयो । अध्यक्ष झकेन्द्र घर्तीलाई काठमाडौँमै सुरक्षाकर्मीले निगरानी राखेर हैरान पारेका थिए । महाधिवेसन गर्न एकवर्ष ढिला भइसकेको थियो । सबै तथ्यलाई विश्लेषण गरेर महाधिवेसन काठमाडौँ सारियो ।
बुटवलबाट काठमाडौँ महाधिवेसन सारिएकोमा तत्कालीन उपाध्यक्ष प्रकाश राना, केन्द्रीय सदस्य टेकबहादुर मास्की रानाको अगुवाईमा विरोध मात्र भएन । महाधिवेसन बुटवलमै हुने प्रचारबाजी समेत पत्रपत्रिकामार्फत गरियो । अलगअलग दुईवटा महाधिवेसन हुने समाचार पत्रपत्रिकामा आउन थालेपछि तत्कालीन महासचिव भूपेन्द्र पुलामी, सचिव भोजविक्रम बुढा र म रहेको ट्रोइका वार्ताका लागि बुटवल प्रस्थान गर्यो । बिहानैदेखि वार्ता गरौँ भनेर टेकबहादुर र प्रकाशलाई फोन गर्दा हैरान भइयो । टेकबहादुर आए, आफ्ना कुरा राखे गए तर प्रकाशले आउँछु आउँछु भन्दै हामीलाई दिनभर कुराए मात्र ।
दिनभर न्यू इरा होटलमा सुतेर कटायौँ । साँझ करिब ५ बजे नेपाल मगर संघका तत्कालीन अध्यक्ष क्याप्टेन यमबहादुर बुढाथोकीको पहलमा मगर संघका राष्ट्रिय पार्षद केशव सूर्यवंशीसित भेट भयो । उनैले पहल गरेपछि प्रकाश छ बजेतिर वार्तामा आए । लामो छलफलपछि लुम्बिनी र बाग्मतिका अगुवा कार्यकर्ता, केन्द्रीय सदस्यहरु तथा पार्षदहरुको बैठक राख्ने र सो बैठकको निर्णय सबैले मान्ने सहमतिमा हस्ताक्षर भयो ।
महाधिवेसनको दुईसाता अघि मंसिर २६ गते नारायणघाटमा बसेको संयुक्त बैठकले काठमाडौँमा, पहिले तोकिएकै समयमा महाधिवेसन गर्ने निर्णय गरेपछि मगर विद्यार्थी संघ फुट्नबाट बालबाल जोगियो ।
नेपाल मगर विद्यार्थि संघ काठमाडौँ जिल्ला समितिको मुखपत्र छलांगमा छापिएको