Monday, November 30, 2009

उपराष्ट्रपति नहुँदा कर्मचारीलाई न्यास्रो

मर्यादाक्रममा दोस्रो स्थानमा रहेका उपराष्ट्रपतिको कार्यालय अहिले 'रानोबिनाको माहुरीको घार' जस्तै बनेको छ ।

तीन महिनादेखि देशमा उपराष्ट्रपति निष्त्रिmय अवस्थामा रहे पनि ३० कर्मचारीले उपराष्ट्रपतिको कार्यालय चलाइरहेका छन् । जसको नाममा कार्यालय स्थापना भएको हो, उही नभएको अवस्थालाई कर्मचारीहरूले पनि खल्लो मानेका छन् ।

अरू -उपराष्ट्रपति बहाल रहेको) बेला सुरक्षाकर्मी र भेट्न आउनेहरूको लर्को लाग्ने बहादुरभवन अहिले चकमन्न छ । सुरक्षाकर्मीको स्टर्किङको तीखो साइरन अब बिर्सिन थालिसकिएको छ । ढोकामा दुई नेपाली सेनाका सैनिकले तीन/तीन घन्टामा बदली हुँदै पहरा दिइरहेका छन् ।

ढोका छिचोल्नासाथ टेकिने जनसम्पर्क कक्षमा अहिले न भेट्न आउनेहरूको ताँती छ, न त चेकजाँच गर्ने सुरक्षाकर्मीहरू नै छन्, न छन् सोधपुछ गर्ने, नाम टिप्ने कर्मचारीहरू नै । मात्र रित्ता कुर्सीहरू आगन्तुक कुरेर बसिरहेकाजस्ता भेटिन्छन् ।

दुई तला माथि रहेको उपराष्ट्रपतिको कार्यकक्षबाहिर केही कर्मचारी उपराष्ट्रपति नभए पनि 'ड्युटी' गरिरहेका छन् । "हामी त कर्मचारी, कार्यालयमा जेजस्तो काम परे पनि गर्छौं", सचिवालयका कर्मचारी हरिबहादुर कार्कीले भन्नुभयो ।

परमानन्द झाको उपराष्ट्रपति पद निष्त्रिmय भए पनि उपराष्ट्रपति कार्यालयबाहिर 'परमानन्द झा, उपराष्ट्रपति' अङ्कित नामपाटी भने अझै छ । सायद उहाँकै प्रतीक्षामा हो कि ? "हामीले राखेका पनि होइनौँ, त्यसैले हटाउने कुरा पनि भएन । राज्यले राखिदियो, राज्यले नै हटाउनू भन्नु पर्‍यो", कार्कीले प्रस्टीकरण दिनुभयो ।

सरसफाइका लागि हरेक दिन बिराएर उपराष्ट्रपति कार्यकक्ष कर्मचारीहरूले सफा गर्ने गरेका छन् । "खोलेन भने त बाफिइहाल्छ नि", कार्कीले भन्नुभयो । उहाँका अनुसार एक/दुई दिन बिराएर कोठा खोल्ने, सफा गर्ने, पङ्खा चलाउने गरिएको छ । "हिजोमात्र खोलेको", उहाँले थप्नुभयो ।

भदौ १५ गतेदेखि कार्यालय आउन छाडेका झाले यसबीच बेलाबेलामा फोन गरी कार्यालयको खबर के छ भनी कर्मचारीलाई सोध्ने गर्नुभएको छ । केही दिनअघि जनकपुरको विवाहपञ्चमी मेलाका लागि ˆयाक्समार्फत आएको निमन्त्रणापत्र पठाइदिन झाले फोन गर्नुभएको थियो । उपराष्ट्रपतिले चढ्ने किया र ल्यान्डक्रुजर गाडी अहिले बहादुरभवन प्राङ्गणमा रहेको ग्यारेजमा 'आराम' गरिरहेका छन् । दैनिक उपयोग नभएर होला, गाडीमाथि धूलोको सहत बढ्दो छ । चालकहरूले बेलाबेलामा गाडी स्टार्ट र सफा गर्छन् ।

कार्यालयका सचिव नाथुप्रसाद चौधरी उपराष्ट्रपति हुँदा कार्यालयको रौनक नै अर्को हुने बताउनुहुन्छ । "उहाँ -उपराष्ट्रपति) हुँदा कहिले नेताहरू, कहिले मन्त्रीहरू, कहिले उहाँका जिल्लाबासी, कहिले बालबालिका आउँथे, कार्यालयको रौनकै अर्को हुन्थ्यो", चौधरीले भन्नुभयो ।

उपराष्ट्रपति नहुँदा पनि दैनिक कार्यसम्पादनमा कर्मचारीहरूलाई कुनै असजिलो नभएको र काम पनि नरोकिएको उहाँले प्रस्ट्याउनुभयो ।

"उपराष्ट्रपतिज्यू र उपराष्ट्रपतिको कार्यालयबीच दैनिक कामकाज नै रोकिने गरी 'टाई अप' नभएकाले कार्यालयको कार्य सञ्चालनमा कुनै बाधा परेको छैन", कार्यालयका कानुन उपसचिव सुशील कोइरालाले भन्नुभयो, "तैपनि मनोवैज्ञानिक प्रभाव त परिहाल्छ, अभिभावक हुनु र नहुनुजस्तो ।"