Friday, February 12, 2010

झन्नै खलाँसी भएको

बरालिएको जीवन त्यागेर काठमाडौँ छिर्दा त्यति ठूलो सपना थिएन मसित । दुर्गम ताप्लेजुङमा जन्मेर स्याल खेदाउँदै, बाँदर लखेट्दै हुर्केको मलाई त काठमाडौँ स्वप्न शहर नै थियो जति काठमाडौँबासीका लागि अमेरिका र युरोप हुने गर्छ । गाउँमा मेला, मदिरामा अभ्यस्त दिनचर्याबाट मुक्ति पाउन मैले दिदी भेनाको फोटो स्टूडियोमा जे काम पनि गर्ने बाटो रोजेको थिएँ मैले ।
काम सम्हालेको केही महिनामै मैले अर्डर लिन-डेलिभरी दिन, काउण्टर सम्हाल्न, फोटो खिच्न, डेभलप गर्न, धुलाउन सिकेँ । अब त सारा स्टूडियो मेरै जिम्मामा थियो । एकै जनाले सबै काम सम्हाल्नसक्ने, तलब पनि दिन नपर्ने भएपछि लगानीकर्तालाई ढुंगा खोज्दा द्यौता मिलेजस्तै भैगयो । कहिल्यै छुट्टी नलिने सातैदिन जोतिइरहने गोरु भेटेपछि सबै मालिकहरुलाई त्यस्तै लाग्दो हो । त्यतिबेला मेरो तलव भनेको खाईलाई टुप्पी हल्लाई मात्र थियो । तैपनि असन्तुष्टि क्यै थिएन ।
जीन्दगीको यात्रा तराईको राजमार्गजस्तो सीधा हुँदोरहेनछ बरु पहाडको बाटो जस्तो बाङ्गोटिङ्गो, घुम्ती, उकालो, ओरालो, नागबेली हुँदोरैछ । शान्तपूर्वक चलिरहेको जीवनमा एक्कासी उतारचढाव आयो । मगर विद्यार्थी संघको महाधिवेसनमा जान मन लाग्यो । पसलका साहुजी भेनालाई सोधेर हिाडे महाधिवेसनस्थल कीर्तिपुर । महाधिवेसनबाट उतैउतै घरतिर हिँडे । आउनेबेलामा फोन गरेर आउनु’ भन्ने आदेश तामेल गर्दै भेनालाई फोन घुमाएा । तिमी आउनु पर्दैन हामीले अरु नै मान्छे राखिसक्यौँ काठमाडौँ आउने बाटोमा मलाई तगारो हाल्न खोज्दै उनले भने ।
काठमाडौँ बस्ने बानी जो परिसकेको थियो । जसरी भए पनि काठमाडौँ भित्रिनैपर्ने थियो मेरो लागि । फेरि एक व्यक्तिले नाकाबन्दी गर्दैमा मेरा पाइला रोकिने पनि त थिएनन् । थालेँ वैकल्पिक बाटाहरु केलाउन । पहिलो थियो - मैले काम गर्ने पसलसँगैको अर्को सटरमा पसल भएका मोहनश्याम राजभण्डारी दाइले भर्खरै पस्मिना उद्योग खोलेका थिए त्यसमै काम गर्ने । दोस्रो विकल्प थियो - मैले काम गरेको पसलका घरवेटी पुष्प जोशीले नयाँ बस किनेका थिए त्यसैमा खलाँसी बन्ने । दुवै विकल्पलाई एकै बसाइमा फोन मारेँ । दुवैले हरियो बत्ती बालिदिए ।
राजभण्डारीका विश्वासिला लक्ष्मण गिरीले बेलुकी एकपटक फोन गर, म दाइ -राजभण्डारी) सित कुरा गरेर डिसिजन दिउँला’ भने । जोशीका जेठा छोरा राजुले पनि तिमी काम गर्ने भए त राम्रो भो, हामीलाई पनि विश्वासिलो मान्छे चाहिएको छ’ भने । शुरुमा खलाँसी काम गर्ने, कण्डक्टरको काम सिक्दै जाने, केही महिनाभित्रैमा कण्डक्टर बनाउने योजना उनले सुनाए । भैरहवा-काठमाडौँ चल्ने जोशीको अर्को बसमा साथी देवेन्द्र बुढाथोकीले काम गरिरहेकोले पनि मैले सजिलो मानेको थिएँ । तलव कति दिने भन्ने पनि तय भयो । बसको डेण्टपेण्ट हुादै गरेकाले आफ्नो अनुकूलमा काठमाडौँ आएर सम्पर्क गर्न उनले सल्लाह दिए ।
के हुने निर्णय गर्न कुर्न थियो केही घण्टा । पस्मिनामा गएर के काम गर्ने थाहा थिएन त्यसैले त्यता धेरै कल्पना गर्न पनि सकिएन । तर खलाँसीको काम, कर्तव्य र अधिकार पहिले नै देखेकाले धेरै कल्पना गर्न भ्याएँ । सुई सुई ढप ढप । फलानो ठाउँ- फलानो ठाउँ । ओट हाल्ने । पञ्चर भएमा चक्का फुकाल्ने । गाडी पखाल्ने । सामान उचाल्ने-ओराल्ने । दगुर्दै गरेको गाडीमा चढ्ने, दगुर्दै गरेको गाडीबाट उत्रने । ड्राइभर कण्डक्टरका बेसोमत शब्द भरिएका गाली सुन्ने । आदि इत्यादि । सुई सुई पार्न नआएकाले केहीबेर अभ्यास पनि गरेँ ।
बेलुकी निधो भयो । म पस्मिनामा नै जाने भएँ । तैपनि राजु दाइलाई भनेँ - दाइ म तुरुन्तै काठमाडौँ आउँछु हाम्रो गाडी वर्कसपबाट ननिस्किउञ्जेल मोहनश्याम दाइकोमा काम गर्दैगर्छु । उनले हुन्छ’ भने । केही महिनापछि पस्मिनामा काम छोड्न नमिल्ने भो भनेँ । उनले अझै पनि तिमीलाई मन लागेको बेला आऊ न त’ भने । म भने पस्मिना उद्योगबाट समाचार उद्योगतिर पो पुगेँ ।
आजकल पनि सार्वजनिक यातायात चढ्दा झझल्को आउँछ खलाँसी, कण्डक्टरको शरीरमा आफ्नै अनुहार कपी पेस्ट भएको ।