Wednesday, August 18, 2010

बेलायतमा नेपाली रोग

नेपालमा हजारौ कार्यक्रममा सहभागी भएर लोद्रो भएको ज्यानलाइ युकेमा सप्ताहन्तमा आक्कल झुक्कल हुने कार्यक्रममा सरिक हुनु कुनै नौलो थिएन । नौलो थियो त परिवेश, कार्यक्रमका तौरतरिका र सहभागी हुने मानिसहरु । कार्यक्रम कसरी चलाइन्छ नै यस पंतिकारका लागि नवीन विषय थियो र रुचिको विषय पनि । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा बेलायत आएको मौका पारी पार्टी आवद्ध स्थानीय संस्था राष्ट्रवादी प्रजातान्त्रिक नेपाली मञ्चले आफू काम गर्ने भवनमै कार्यक्रम राखेपछि कानोले आखो खोजेजस्तै जस्तै भइगो । थापाले व्यक्त गर्ने विचारसित कुनै लिनुदिनु थिएन । स्वार्थ थियो त सिफ कार्यक्रमका पाटोपक्षका बारेमा ।

ओपचारिक निम्तो पत्र पनि नछपाइएको, सञ्चारमाध्यममा विज्ञापन पनि नछपाइएको सो कार्यक्रम साढे दुर्इबजे शुरु हुने भनिएको रहेछ । बेलायती महारानीबाट ओबीइ पाइसकेका प्रवुद्ध व्यक्तित्व डा. राघवप्रसाद धिताल करिब साढे एकबजे नै कार्यक्रम स्थल आइसकेका थिए । अरु सहभागीहरु पनि साढे दुइबजेसम्ममा भित्रिइसकेका थिए । बाकी रहे प्रमुख अतिथि थापा । उनी पनि श्रीमती र छोरीसहित पौने तीन बजे नै कार्यक्रमस्थलमा आए । त्यसपछि कार्यक्रम सञ्चालकले ट्राफिक जामका कारण कार्यक्रमका सभापति आउन ढिला भएकाले केहीबेर प्रतीक्षा गर्न अनुरोध गरे । झट्ट दिमागमा नेपालका चित्र घुमे । प्रमुख अतिथि नआएका कारण निर्धारित समयभन्दा ढिला भएका कार्यक्रम त नेपालमा ९० प्रतिशतभन्दा बढी हुन्थे । टेलिभिजन नआएका कारण, पत्रकार नआएका कारण पनि कति कार्यक्रम ढिला भएका हुन्थे । तर बेलायतमा अलि अनौठो रोग रहेछ । कार्यक्रम प्रमुअ अतिथि, पत्रकार, सहभागीका कारण होइन सभापतिका कारण रोकिदो रहेछ ।

नेपालमा प्रमुख अतिथिका लागि टट्टाउञ्जेल प्रतीक्षा गर्दा पनि नआएपछि अधैर्य सहभागी र सञ्चारकर्मीलाइ आयोजकहरुले थम्थम्याउथे उहा (प्रमुख अतिथि) ट्राफिक जाममा फस्नुभएको छ । आउनासाथ हाम्रो कार्यक्रम शुरु भइहाल्छ ।' एक/दुइ/तीन गर्दा गर्दा चार/पाच घण्टासम्म पनि कार्यक्रम शुरु हुदैनथ्यो । कुनै कुनै कार्यक्रम प्रमुख अतिथि नआउने भएपछि रद्द पनि हुन्थ्यो । आयोजकहरु मरेतुल्य भएर पत्रकार र सहभागीसित क्षमा माग्थे । लाग्थ्यो तिनीहरुमा प्राण हुन्नथ्यो । बेलायतमा पनि कार्यक्रमका सभापति ट्राफिक जाममा फसेको बहाना सुनेपछि नेपालको झल्झली याद आउदैथ्यो । सहभागी एकजनाले प्वाक्कै भनिहाले ( नेपालको ट्राफिक जाम बेलायत सरेछ । निर्धारित समयभन्दा एकघण्टा पछि कार्यक्रम शुरु भएपछि अर्का सहभागीले थपिहाले नेपालको रोग युकेमा पनि आइपुगेछ ।

विश्व विख्यात बिर्टिश टाइमलाइ पनि नेपालीहरुले नेपालीकरण गरिसकेछन् कि कसो ?

Thursday, August 12, 2010

छूचो पेशा

एकबारको जुनीमा मरेर लैजानु के छ र ? सबैसँग मीठो बोली, हाँसखेली जीवन बिताउन कसलार्इ पो मन नलाग्ला र ? सकेसम्म शत्रु नकमाउँ मलामी कम्ती नहोस् भन्ने कसले पो नठान्दो होला र ? तर सबै कुरा सोचेजस्तो नहुँदोरहेछ ।

जानेर नजानेर, बुझेर लहडले । पत्रकारिता पेशामा छिरिहालियो । दाम कम नाम बढी भएको यो पेशामा करिब एकदशक बिताएपछि सिंहावलोकन (सिंहले चार पाइला हिँडेपछि पछाडि फर्केर हेर्छ रे) गर्दा धेरै शत्रु कमाएको र धेरै मलामी गुमाएको निस्कर्षमा पुगेको छु ।

घटना सोमबारको मात्र हो । गोरखाहरुका अठार वर्ष नाघेका केटाकेटीले बेलायतको भिसा नपाएको बारेमा समाचार गर्दै थिएँ । गोरखाहरुका बारेमा क्रियाशील संस्थाहरुले यो समस्याको निप्टाराका लागि के गरिरहेका छन् भन्ने कोट (भनाइ) लिनका लागि गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को अल्डरसटस्थित कार्यालयमा फोन गरेँ । पहिले दुइपटक भेटिसकेका, एकाधपटक फोनमा पनि कुराकानी भइसकेका शाही थरका सज्जनले फोन उठाए । खासमा उनी संस्थाको आधिकारिक भनाइ दिने आधिकारिक स्रोत थिएनन् । आधिकारिक व्यक्ति एकैछिन बाहिर गएका रहेछन्

समय उपयोग गर्दै मैले उनी आफैँ सो समस्याबाट पीडित हुन् कि भनी जिज्ञासा राखेँ । 'शाहीजी तपाइका छोराछोरीले युकेको भिसा पाए ?' मैले सोँधे । उनले नपाएको बताए । मेरो अर्को प्रश्न 'कति कति वर्षका छन् छोराछोरीहरु ?' भन्ने बित्तकिै उनी बम्किए 'अर्काको छोरा छोरी कति कति वर्षका छन् भन्दै सोध्ने तपाइ को ? मैले गेसोको योगदानका कारण्ा बेलायत आउन पाएको हुँ । मेरा छोरा छोरीको केस पनि गेसोले हेरिरहेको छ । गेसोबाहेक कसैसित म केही बताउँदिनँ । पत्रिकाले नानाथरी लेख्दिन्छन्.....' । उनले अर्को कुनै विरोधी संस्थाको प्रमुख (जसलाइ म पनि व्यक्तिगत रुपमा घृणा गर्छु) सित मलाइ तुलना गर्न समेत भ्याए ।

उनको भनाइ सकिएपछि पत्रिका र पत्रकारलार्इ गलतरुपमा बुझेकोमा मैले उनलाइ सम्झाएँ । कडा मिजास र राजनीतिक हिसाबले सचेत उनी सहजै गल्नेवाला थिएनन् । त्यसैले मैले भन्न बाध्य हुनुपर्यो 'के पत्रकारहरुले गोरखा आन्दोलनलाइ नकारात्मकरूपमा मात्र लेखेका छन् ? के गोरखाहरुले यति सुविधा पाउनुमा पत्रिका/पत्रकारहरुको केही हात छैन ? पत्रिका/पत्रकारहरु आक्रोश, भँडास पोख्ने चौतारी/गुनासो अधिकारी मात्र हुन् ?'

'पछि भेटमा कुरा गरौँला' भन्दै फोनवार्ता त तुरियो तर यो चर्काचर्कीपछि उनको र मेरो सम्बन्ध पूर्ववत् नहुने निश्चित छ ।

केही मिनेटको अन्तरालपछि अर्को स्रोतसित फोनमा कुरा गर्नु पर्यो । राइ थरका उनी युनाइटेड गोरखा नाम गरेका संस्थाका युकेका हर्ताकर्ता थिए । डेडलाइनको चटारोले थोरै भूमिकापछि कुराकानी सीधै बढ्दैथियो । आफ्ना भनाइकै बीचमा उनले ममाथि ठाडै आक्षेप लगाउने कुचेष्टा पो गरे । '....खपाङ्गीजी सुन्दैछु तपाइले पनि ......लाइ बोक्दै हुनुहुन्छ रे' '..... ....लाइ २० वर्ष्ादेखि चिन्छु त्यसलाइ मान्छे बनाउन खुबै कोसिस गरेँ, काम लागेन' 'तपाइले बोक्दै हिँड्नुभयो भने राम्रो हुने छैन' ठाडै दादागिरीको भाषा थियो त्यो । मैले कसैलाइ समर्थन गरुँ वा नगरुँ मेरो अधिकारको कुरा हो । उनले सम्झाइरहनुपर्ने, बाटो देखाइरहनुपर्ने विवेकशून्य, निर्णयक्षमताविहीन थिइनँ म ।

"तपाइलाइ मेराबारे जरुर गलतफहमी भएको छ । मप्रति धारणा बनाउने भने दुनियाँको पोल सुनेर होइन, मसित सीधै भेटेर बनाउन सक्नुहुन्छ । तपाइसितको मेरो सम्बन्ध समाचारदाता र स्रोतको मात्र हो । मैले कसलाइ समर्थन गर्ने/नगर्ने मामिलामा तपाइले हस्तक्षेप गर्ने होइन । म मेरो विवेक प्रयोग गर्न समर्थ छु" रिसले तातेको कन्पारो सम्हाल्दै मैले भनेँ ।

काम सिन्को नभाँच्ने तर सधैँ चर्चामा रहन रुचाउने उनी पत्रकारसित सम्बन्ध बिगार्ने पक्षमा थिएनन् । तर उनको मुखबाट फुत्केको बोली फेरि भित्र पस्न असम्भव थियो । 'भेटेर छलफल गरौँला' भन्ने निस्कर्षका साथ कुराकानी टुङि्गयो । तर पहिले दिनहुँजसो फोन गर्ने उनीसित न मेरो पूर्ववत् सम्बन्ध रहने छ न उनले अब दिनदिनै फोन गर्ने हिम्मत गर्लान्

यसभन्दा अघि बोल्ती बन्द भएका, शिष्टाचार समेत साटासाट गर्न छोडिएका, पख्लास् र देखुँला भएका त कति छन् कति ? यही गतिमा दिनहुँ मित्रहरु गुमाउँदै जाने हो भने मर्ने बेलासम्म कतै एक्लै भइने त होइन ?