Tuesday, October 1, 2013

त्यो ओलम्पिक, यो ओलम्पिक

साउनको ३ गते मैले घर छाडेँ । २०५३ साल थियो त्यो । एसएलसी त्यही सालको चैतमा दिनुपर्ने थियो । बाउआमाको कचकच एक कानले सुन्दै अर्को कानबाट फुस्स हावामा उडाइदिएँ । जीवनमा पहिलोपटक दुई साताको लागि घर छाड्दै थिएँ म । मनमा घर छाड्नुपर्दाको बिलौना थिएन । बरु थियो त एक भारी उत्साह । करिब १५ मिनेट हिँड्दा पुगिने साथी सुमन विमलीको घर मेरो बाँकी दुई हप्ताको बास बन्दै थियो । र, त्यसरी बास बस्नुको कारण थियो अमेरिकाको एटलान्टामा भोलिपल्ट सुरु हुँदै गरेको ग्रीष्मकालीन ओलम्पिक ।

त्यतिबेलासम्म हाम्रो गाउँ (सुरुङ्गा-७, बेनुबाजा) मा टेलिभिजन थिएनन् । सुमनकहाँ पनि भर्खरै आइपुगेको थियो । उनका बुबा बेनुप्रसाद विमली पुख्र्यौली खान्दानी थिए । हामी पढ्ने लालपानी माविको व्यवस्थापन समितिको अध्यक्ष पनि थिए उनी । श्यामश्वेत, दोस्रो हाते टिभी थियो क्यारे त्यो । १४ इञ्ची थियो त्यसको आकार । टिभी चलाउने अत्यावश्यक उर्जा पनि गाउँमा थिएन । १२ भोल्टको गह्रुँगो ब्याट्री साइकलको पछाडि सीटमा फाटेको ट्युबले टुइँक्याएर सुरुङ्गा बजार पुर्‍याउनुपथ्र्याे चार्ज गर्नको लागि । बाटाहरु फराक र ओभाना थिएनन् । वषर्ात्लेे हिलाम्मे पारेका बाटो कहिले पैनीभित्र पस्थ्यो त कहिले खेतको आलीमा निस्कन्थ्यो । यसरी ब्याट्री लैजाँदा र ल्याउँदा बडो सावधान हुनुपथ्र्यो । कथमकदाचित एसिड चुहियो भने लुगा भ्वाङ पारिहाल्थ्यो ।
ओलम्पिक नहेरी बस्नै नसक्ने खेलकुदका पागलप्रेमी थिएनौँ हामी । कक्षाभरिमा म सबैभन्दा फुच्चे थिएँ । मभन्दा एक अंगुल अग्लो भए पनि सुमनको पनि खेलकुदमा प्यार थिएन । हाम्रो खेल हुन्थ्यो बाघचाल, शतरञ्ज र लुँडो । स्कुलमा भएको एक मात्र शतरञ्ज र लुँडोको सेट जसको पहिले टिफिन हुन्थ्यो त्यसैले हात पारिहाल्थ्यो । शतरञ्ज र लुँडो नपाएको दिन कुनै सर्जाम नचाहिने आसपास र मसिना ढुंगाको गट्टी भेला पारी भुइँ कोरेर खेल्ने बाघचाल हाम्रो खेलकुद हुन्थ्यो । अपवादको कुरा बेग्लै, विद्यालयको वाषिर्क खेलकुदमा भलिबल टीमको जगेडा खेलाडी बनेर एकपल्ट पनि नेट नकटाई दोस्रो पुरस्कार पनि पाएको छु ।

तैपनि हामीले ओलम्पिक हेर्ने अठोट गर्‍यौँ । नेपालभन्दा ठीक विपरीत अमेरिकी समयलाई समात्दै रातभर जाग्राम बस्ने हिम्मत लियौँ । अमेरिकाको जोर्जिया राज्यको एटलाण्टामा भएको त्यो ओलम्पिकमा मुक्केबाज मोहम्मद अलिले ओलम्पिक दीप प्रज्वलित गरेका थिए । तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिण्टनले सेन्सेनियल ओलम्पिक स्टेडियममा ओलम्पिकको उद्घाटन गर्दा हामीलाई भब्य लागेका थियो । द सेलेब्रेसन अफ सेन्चुरी नारा बोकेको त्यो ओलम्पिकमा नेपालको राष्ट्रिय झण्डा बोकेर धावक टीकाबहादुर बोगटीले मार्चमास गरेको काँचको पर्दामा देख्दा हामी खुसीले आधारातमै चिच्याएका थियौँ ।

रातभरि टिभी हेर्ने, बिहानभरि सुत्ने निशाचार जस्तै थियो हाम्रो दैनन्दिनी । दिउँसो र बेलुका गाई, भैँसी, बाख्रालाई भुस्सा काट्ने, घाँस-पराल हालिदिने, खोले पकाइदिने, पगा लगाइदिने गथ्र्यौँ । बर्खे बिदा परेकाले स्कुल जानु परेको थिएन । तैपनि कुनै-कुनै बेला बिदाका लागि दिइएको गृहकार्य पनि गरी टोपल्थ्यौँ । पढाइमा सुमनभन्दा अलि जान्ने भएकाले सुमनका बाआमा पनि म आएकोमा खुसी नै देखिन्थे । शायद जान्ने साथीको सङ्गतले सुमनलाई फाइदा नै पुर्‍याउँछ भन्ने उहाँहरुलाई लागेको हुँदो हो । अफसोच, एसएलसीमा सुमनलाई सफलता हात परेन । दुई सातासम्म बस्दा सुमनका बाआमाले कुनै असजिलो मान्नु भएन । रातभर टिभीको अगाडि झुत्तिँदा पनि 'सुत् हे केटा हो' पनि भन्नु भएन । बर्खामास रुझ्दै ल्याएको ब्याट्री रातभर टिभी हेरेर सकिदिँदा पनि कत्ति पनि झर्को मान्नु भएन ।

ओलम्पिक सकिँदा हाम्रो निकैवटा कापी भरिएका थिए । कति देशका, कति खेलाडीले भाग लिएका थिए ? कुन कुन देशले कति पदक जित्यो मात्र होइन कुन कुन खेलको कुन कुन स्पर्धामा को कोले जित्यो भन्ने समेत विस्तृत विवरण थियो हाम्रो बहीखातामा । त्यतिबेला हामीले एटलाण्टा ओलम्पिक सामान्य ज्ञानभन्ने पुस्तक निकालेको भए पनि हुन्थ्यो होलाजस्तो लाग्छ अचेल ।

हामीलाई त्यतिबेला रातभर सुत्न नदिने भूत अर्कै थियो । हाजिरीजवाफ प्रतियोगिता हाम्रो कमजोरी थियो । सामाजिक, आर्थिक, राजनीतिक, भौगोलिक, साँस्कृतिक, खेलकुद सबै कुरा जान्नैपर्छ भन्ने नशा जो लागेको थियो । त्यही भूतले उक्साएको थियो हामीलाई रातारात ओलम्पिक हेर्न । आफूले टिपेका नोटबुकबाट फ्यात्त प्रश्न गर्दै अरुलाई अक्क न बक्क पारेर जान्ने पल्टिन पाएकोमा हामी फुरुङ्ग थियौँ । त्यतिबेला हाम्रो मिसन पूरा भएको जस्तो लाग्थ्यो । त्यसो त झापा जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगितामा तीन पटक पहिलो स्थान ओगटेर त्यस्तो मिहिनेतको सदुपयोग पनि गरेका थियौँ ।

गोलो पृथ्वीले घुमाउँदै फेरो मार्दा यो पंक्तिकार अहिले लण्डनमा गुजारा गर्दैछ । १६ वर्षअघि श्यामश्वेत टिभीको अगाडि रातभर झिमिक्क नगरी ओलम्पिक नियाल्ने आँखाकै सामुन्ने यी पंक्तिहरु कोरिहँदा ओलम्पिक नाचिरहेको छ । आधा घण्टाको पैदल दूरीमा गएको शनिबार र आइतबार साइकलको होडबाजी भयो । दिनभरि नजरबन्दमा बसियो । नजर गर्ने जरुरत ठानिएन । निजी सवारीसाधनमा १० मिनेटको दूरीमा टेनिस चलिरहेको छ । भनौँ, लण्डन बाहिर हुने १० वटाबाहेक बाँकी सबै खेल बढीमा एक घण्टाको यात्राभित्र सम्पन्न भइरहेका छन् । चारैतिर भइराखेका ओलम्पिकका खेलहरुले म घेरिएको छु यतिबेला ।

उहिले साढे सात हजार माइल टाढा एटलाण्टामा भएको ओलम्पिक आँगनैमा भएजस्तो लाग्थ्यो । रातभरि हेरिन्थ्यो । दिनभरि जित्ने र हार्नेको मुहार स्मृतिमा छचल्किरहन्थ्यो । अहिले आफ्नै अगाडि ओलम्पिक ठोक्किन आइपुग्दा भने निरपेक्ष जस्तो भएको छु म । बरु ओलम्पिकका कारण सार्वजनिक सवारी साधनहरु खचाखच हुँदा, सधैँ हिँडिरहने बाटो हिँड्न नपाएर अर्कैतिर मोडिनु पर्दा ओलम्पिकसित झोँक चल्छ । आफ्नो घरमा बिजुली बत्ती, टेलिभिजन नहुँदा त्यस्तरी ओलम्पिक हेर्ने म त यतिबेला दुईसाताको छुट्टी लिएर स्टेडियमतिर आहोर-दोहोर गरिरहेको हुनु पर्ने हो । त्यति पनि नसके पार्कहरुमा राखिएका प्रत्यक्ष प्रसारणका यमानका पर्दा अगाडि हाजिर हुनुपर्ने हो । अथवा घरैको ४६ इञ्चको टिभी स्त्रिmनको सामुन्ने मेरो आसन जम्नु पर्ने हो । तर म कतै छैन । कुनै बेला त लाग्छ मेरो १६ वर्ष अघिको ओलम्पिकप्रतिको आशक्तिलाई देखेर अहिले ओलम्पिक मलाई पछ्याउँदै जिस्क्याउन आइरहेको छ र म चाहिँ त्यसबाट पर-पर भागिरहेको छु ।

वास्तवमा ओलम्पिकप्रति न मेरो पहिले कुनै झुकाव थियो न अहिले वितृष्णा नै । पहिले स्त्रिmन अगाडि सुपर ग्लुझैँ लपक्क टाँसिनु र अहिले टाढा-टाढा हुन खोज्नु वास्तवमा मेरो इच्छाको होइन समयको खेल रहेछ । प्राथमिकताहरु फेरिँदा रहेछन्, समयको चक्रसँगै । सर्पको काँचुली जस्तैगरी । बुद्धले भने जस्तै सबै कुरा अनित्य रहेछन् । नित्य छ त केवल सत्य अनि समय । अहिले मेरो लागि ओलम्पिक कागलाई बेला पाक्नु जस्तै भएको छ- न हर्ष न त विस्मात ।

विस्मृतिले अचेट्दै लैजाँदा

    ‘तपाईलाई त मैले पहिल्यै देखे–देखे जस्तो लाग्छ’ परिचय भइसकेको मानिसले कुटनीतिक शैलीमा यसो भन्दा कन्पारो तातेर आउँथ्यो । ‘माफ गनुहोला मैले अहिले ठम्याउन सकिनँ’ विनयीभावमा लम्पसार पर्दा समेत तातेको रिस ठण्डा हुन्नथ्यो । हेप्न सक्नेलाई त धम्क्याइन्थ्यो, “तपाईलाई परिचय दे’र के काम ? बिर्सिहाल्नुहुँदो रै’छ ।” पेलाहापन देखाउन नमिल्नेलाई भित्रभित्र सल्किएको रिसको आगो शान्त पार्दै बाहिर शिष्ट टोपल्लिएर भनिन्थ्यो, “हामी फलानो सालको फलानो दिनमा फलानो ठाउँमा भेटेको, अनि फलानो फलानो गरेको । अब त सम्झनु भयो कि ?”
    दिनहरु एकनाशको नहुने रैछन् । मानिस उही भए पनि उसको स्वभाव र क्षमता परिवर्तनशील हुने रैछ । कुनै समय एक विधामा खप्पीस मानिस सधैँ उस्तै रहिरहन नसक्दो रैछ । ऋतु परिवर्तनजस्तै मानिसको बाह्य अवस्था मात्र होइन अन्तर्यको खुबी पनि बदलिँदो रहेछ । मन, वचन जति नै तपस्या गरे पनि मानिसको काबुबाहिर हुँदो रैछ ।
    एकदशक अघिसम्म एकपटक भेटेको व्यक्तिको नाम ढुंगाको अक्षरजस्तो अटल राख्नसक्ने त्यो क्षमता बिस्तारै ह्रास आएको देख्दा आफैँ अचम्भित पर्दैछु । दुई साताअघि एक जमघटमा पूर्वपरिचित एक मित्रले परिचयको फेहरिस्त लगाउँदा आपैँmलाई ग्लानीले पानी पानी बनायो । उनले परिचय दिनुअघि ‘मैले यो मानिसलाई मैले कतै देखेको हुनुपर्छ’ भन्ने लखसमेत काट्न सकेको थिइनँ ।
    भेट्दा बुढापाका आफन्तहरु, शुभचिन्तकहरु भन्छन्, ‘बाबु कतै भेट भयो भने बोलाउनु है । हाम्रो त आँखा, कानले धोका दिन सक्छन् ।’ बुढ्यौलीले स्वाभाविकरुपमा धेरै कुरा विस्मृतिमा जाने विषयमा मेरो कहिल्यै र कुनै आपत्ति छैन । तर युवावस्था, शारीरिक, मानसिक रुपमा सक्रिय वयमै धेरै कुराहरु अघि बढ्दै छ पाइला मेट्दै छ हुन्छ भन्नेमा मेरो रत्तिभर भरोसा थिएन । त्यसैले कसैले बिर्सिएको बताउँदा ‘यस्ले आफूलाई सुपर देखाउन नाटक गर्दैछ’ जस्तो लाग्थ्यो । तर त्यो घटनाले भने साँच्चिकै बिर्सिने मेरा होसप्रसाद मित्रहरुप्रति आफूले कति दुर्भावना राखिएछ भनेर मेरो आँखा खोलिदियो ।
    सम्झन सक्नेमा कुनै बेला नामुद थिएँ म । तीन/चार वर्ष अघिसम्म पनि । गोरखापत्रमा सहकर्मीहरुलाई कुनै स्रोतका फोन नम्बर चाहिए मलाई नै सोध्थे । ती नम्बर भन्नलाई मलाई कुनै डायरी चाहिन्नथ्यो । कुनै व्यक्तिको नामथर, पदका बारेमा अन्यौल भएमा साथीहरुले मलाई नै खोज्थे । एकप्रकारले इन्साइक्लोपेडिया थिएँ म । एकपटक बुटवलमा फुर्सद भएको बखतमा हामी चार जना साथीहरुबीच पाँच मिनेटमा सम्झना भएसम्म धेरै फोन नम्बर लेख्ने होड चल्यो । मैले सय कटाउँदा बाँकी साथीहरु त दर्जन कटाउन नसकेर ठस्ठस्सी कनिरहेका थिए ।
    फ्ल्यासब्याकमा त्यसभन्दा अघि पुग्छु । एसएलसी सकेर काठमाडौँमा संघर्ष गर्दा पस्मिना कारखानामा धेरै रंगहरुसित खेल्नुपथ्र्यो । लण्डनको निर्यातकर्ताले दिएको रंगहरुको नाम नानाथरी हुन्थे । अनि त्यो नमूना हेरेर नेपालीहरुले रंग्याएको हुबहु छ कि छैन जाँच गर्नुपथ्र्यो । करिब छ सय रंगहरुको नाम र पहिचान कण्ठस्थै हुन्थ्यो । अझ फर्किएर स्कुले जीवनलाई नियाल्छु । हाजिरी जवाफमा गरेको तरक्की सम्झन्छु । १४ अञ्चल, ७५ जिल्लाका सदरमुकाम मात्र होइन साढे २ सय देशका राजधानी मुखाग्रै थिए । आफू जन्मेको ताप्लेजुङ र हुर्केको झापा जिल्लाका गाविसहरुको नाम मुखमै झुण्डेका थिए । २०४८ र २०५१ को संसदीय चुनावका विजेता र निकटतम प्रतिद्वन्द्वीहरुको नाम मात्र होइन मत हेर्न कुनै सामान्य ज्ञानको पाना पल्टाउनु पर्दैनथ्यो ।
    स्मरणको मामिलामा आपैँmमा गर्व गर्थेँ । ममुनी वर्षौँटे भाइ जन्मिएको थियो । १४ महिनाको फरकमा जन्मिएको ऊ छ महिनामा बित्यो । अन्त्ेष्ठीका लागि उस्लाई हजुरबाले कपडामा बोकेर लगेको दृश्य अहिले पनि झल्झली आउँछ । त्यसबिहान हाम्रोमा भेला भएका मलामीहरुको नाम अहिले पनि लिन सक्छु । २० महिनाको उमेरदेखि म सम्झन सक्छु भनेर फूर्ति पनि हाँक्थेँ कहिले कहिले । तर ती जमाना गए अब ।
    गत वर्ष नेपाल जाँदा एसएलसीताका तीन/चार महिनासँगै ट्युसन पढेका साथी भेट भए । उनले हामी फलानो कोठामा, फलानो सरसित, फलानो विषय पढ्थ्यौँ । म फलानोको छेउमा बस्थेँ । तिम्ले यस्तो रंगको कपडा लाउँथ्यौ भनेर बेलीबिस्तार लायो । विडम्वना त्यति भनेपछि मैले ‘ए हो, हो, सम्झेँ, सम्झेँ’ भनेर स्थितिलाई सामान्यीकरण गरेँ । तर अहिलेसम्म पनि उनलाई मैले सम्झन सकेको छैन । बरु त्यसैदिन १७ वर्षपछि भेटिएकी मेरा सहपाठी स्कुले मित्रकी ८३ वर्षीया हजुरआमाले नाम काढेर बोलाउँदा पो झसङ्ग भएँ ।
    नेपालमा हुञ्जेल मलाई म जन्मेको गाउँ, मैले पाइला टेकेका ठाउँ, मैले भेटेका, बास बसेका व्यक्तिहरुको नाउँ मलाई चाहिएको थिएन । किनभने मसित घोत्लिएर सोच्ने फुर्सद पनि थिएन । दिनहुँ भेटिने व्यक्ति, टेकिने माटोले ती पुराना कुराहरुलाई टाउको उठाउने मौकै दिन्नथ्यो । जब विदेशिएँ अहिले मलाई चाहिएको छ म हुर्केको गाउँ । मेरा छिमेकी अनि मेरा सहपाठीहरुको नाउँ । रहरले, बाध्यताले, लहैलहैले मैले छिचोलेका बाटाहरु । कुइनेटाहरु । घुम्तीहरु । देउरालीहरु । चौताराहरु । पाटी पौवाहरु । पधेँराहरु । तिरतिरे धाराहरु । गाईवस्तु चराएका वनहरु । पौडी खेलेका, माछा मारेका खोला र दहहरु । बदमासी गरेर फलफूल चोर्दै खाएका बगैँचाहरु ।
    पत्रकारिता र समुदायिक उत्थानका लागि करिब एक दशक काठमाडौँ केन्द्रीत भई काम गरियो । त्यसबीचमा नापियो पूर्व–पश्चिम, उत्तर–दक्षिणको भूगोल । पाइताला परेका जिल्लाहरु गन्दा पचास नाघेछन् । द्वन्द्वको पीडा पहिल्याउँदा रोल्पा, दाङ बर्दिया, नेपालगञ्ज हुँदै लखनऊसम्म पुगियो । २०६१ मा रोल्पा जाँदा क्रस फायरको भयले दुई दिनको यात्रा एकैदिनमा तय गरियो । फर्कँदा ज्वरोले शेष । सुलीचौरको बिरानो ठाउँमा मलमपट्टि गरिदिने, तातोपानी खुवाइदिने, नजिकैको औषधि पसलसम्म हात थामेर लगिदिने ती दिदीको नाम (म कृतघ्न भएको होइन) बल गरेर पनि अहिले सम्झन सक्दिनँ ।
    म सम्झन सक्दिनँ ती बाको नाम, जसलाई मैले नेपालगञ्जको मानवअधिकार आयोगमा भेटेँ । पहिलो भेटमै कुन्नी के ठानेर हो उनले मनपेट खोले । सेनाले हरेक महिना उपस्थित हुन दिएको तारिख खेप्न आएका थिए उनी । विश्वास गरेर उनले बर्दियास्थित आफ्नो घरैमा लगेर माओवादीका भूमिगत प्रकाशनहरु दिएका थिए–सरकारी पत्रिकामा काम गर्ने, यसअघि कहिल्यै नभेटेको, नचिनेको ठिटोलाई विश्वास गरेर । 
    अनि म चाहँदा पनि सम्झिनँ सक्दिनँ, दाङका ती चौधरी दिदीबहिनीहरुका नाम । जसका श्रीमान, छोरा, भाइहरुलाई दाइँ गर्दागर्दै खलाखेतमै सेनाको गोलीको चारो बनेका थिए । घोराहीबाट पत्रकार उदय जीएम र म साइकल चढेर पुगेका थियौँ त्यो गाउँमा । हामी फर्किएको एक घण्टापछि आएको सेनाको गस्तीले त्यही गाउँमा एक जना मारेको समाचार हामी पुग्नुअघि नै घोराही पुगिसकेको थियो ।
    जोडबल गरेर पनि सम्झन नसक्ने नामहरुमा आउँछ, रोल्पा भावाङकी ती दिदी जसलाई श्रीमानले कुटेर हर खुस्काइदिएका थिए । ज्वरोले आलसतालस मलाई जित्नेगरी पीडाले रातभरि हँ हँ गर्थिन् । जनअदालत खोलेर सामाजिक न्याय दिएको फुइँ हाँक्ने माओवादीले पनि रक्सी खाएर स्वास्नी पिट्ने श्रीमान्कै पक्ष लिएको बताउने ती दिदी अहिलेसम्म जीवित छिन् कि मरिसकिन् होला ?
    भन्नेहरु भन्छन्–मानिसको दिमाग जति चलायो उति चल्छ । उदाहरण तेस्र्याउँछन् ‘एक हजार बढी आविस्कार दिएका वैज्ञानिक न्युटनको दिमाग शुन्य दशमलव पाँच प्रतिशत मात्र चलेको थियो रे !’ शुरुमा त मलाई पनि हो कि जस्तो लाग्थ्यो तर अब भोग्दै गइयो तब त्यसो भन्नेहरुले पनि आफूले प्रयोग गरेर होइन अरुले भनेको साभार गरेजस्तो लाग्यो । के ग्रन्थीले कसरी स्मरण शक्ति नियन्त्रण गर्छ मैले वैज्ञानिक अनुसन्धान गरेको छैन । तर परेको के छ भने दिनहुँ सम्झन नसकेका पात्र, घटना, सन्दर्भहरुको थाक बढ्दो छ । ए बाबै, यति छिट्टै मलाई बुढेसकालले भेटेको हो त ??