Friday, February 12, 2010

झन्नै खलाँसी भएको

बरालिएको जीवन त्यागेर काठमाडौँ छिर्दा त्यति ठूलो सपना थिएन मसित । दुर्गम ताप्लेजुङमा जन्मेर स्याल खेदाउँदै, बाँदर लखेट्दै हुर्केको मलाई त काठमाडौँ स्वप्न शहर नै थियो जति काठमाडौँबासीका लागि अमेरिका र युरोप हुने गर्छ । गाउँमा मेला, मदिरामा अभ्यस्त दिनचर्याबाट मुक्ति पाउन मैले दिदी भेनाको फोटो स्टूडियोमा जे काम पनि गर्ने बाटो रोजेको थिएँ मैले ।
काम सम्हालेको केही महिनामै मैले अर्डर लिन-डेलिभरी दिन, काउण्टर सम्हाल्न, फोटो खिच्न, डेभलप गर्न, धुलाउन सिकेँ । अब त सारा स्टूडियो मेरै जिम्मामा थियो । एकै जनाले सबै काम सम्हाल्नसक्ने, तलब पनि दिन नपर्ने भएपछि लगानीकर्तालाई ढुंगा खोज्दा द्यौता मिलेजस्तै भैगयो । कहिल्यै छुट्टी नलिने सातैदिन जोतिइरहने गोरु भेटेपछि सबै मालिकहरुलाई त्यस्तै लाग्दो हो । त्यतिबेला मेरो तलव भनेको खाईलाई टुप्पी हल्लाई मात्र थियो । तैपनि असन्तुष्टि क्यै थिएन ।
जीन्दगीको यात्रा तराईको राजमार्गजस्तो सीधा हुँदोरहेनछ बरु पहाडको बाटो जस्तो बाङ्गोटिङ्गो, घुम्ती, उकालो, ओरालो, नागबेली हुँदोरैछ । शान्तपूर्वक चलिरहेको जीवनमा एक्कासी उतारचढाव आयो । मगर विद्यार्थी संघको महाधिवेसनमा जान मन लाग्यो । पसलका साहुजी भेनालाई सोधेर हिाडे महाधिवेसनस्थल कीर्तिपुर । महाधिवेसनबाट उतैउतै घरतिर हिँडे । आउनेबेलामा फोन गरेर आउनु’ भन्ने आदेश तामेल गर्दै भेनालाई फोन घुमाएा । तिमी आउनु पर्दैन हामीले अरु नै मान्छे राखिसक्यौँ काठमाडौँ आउने बाटोमा मलाई तगारो हाल्न खोज्दै उनले भने ।
काठमाडौँ बस्ने बानी जो परिसकेको थियो । जसरी भए पनि काठमाडौँ भित्रिनैपर्ने थियो मेरो लागि । फेरि एक व्यक्तिले नाकाबन्दी गर्दैमा मेरा पाइला रोकिने पनि त थिएनन् । थालेँ वैकल्पिक बाटाहरु केलाउन । पहिलो थियो - मैले काम गर्ने पसलसँगैको अर्को सटरमा पसल भएका मोहनश्याम राजभण्डारी दाइले भर्खरै पस्मिना उद्योग खोलेका थिए त्यसमै काम गर्ने । दोस्रो विकल्प थियो - मैले काम गरेको पसलका घरवेटी पुष्प जोशीले नयाँ बस किनेका थिए त्यसैमा खलाँसी बन्ने । दुवै विकल्पलाई एकै बसाइमा फोन मारेँ । दुवैले हरियो बत्ती बालिदिए ।
राजभण्डारीका विश्वासिला लक्ष्मण गिरीले बेलुकी एकपटक फोन गर, म दाइ -राजभण्डारी) सित कुरा गरेर डिसिजन दिउँला’ भने । जोशीका जेठा छोरा राजुले पनि तिमी काम गर्ने भए त राम्रो भो, हामीलाई पनि विश्वासिलो मान्छे चाहिएको छ’ भने । शुरुमा खलाँसी काम गर्ने, कण्डक्टरको काम सिक्दै जाने, केही महिनाभित्रैमा कण्डक्टर बनाउने योजना उनले सुनाए । भैरहवा-काठमाडौँ चल्ने जोशीको अर्को बसमा साथी देवेन्द्र बुढाथोकीले काम गरिरहेकोले पनि मैले सजिलो मानेको थिएँ । तलव कति दिने भन्ने पनि तय भयो । बसको डेण्टपेण्ट हुादै गरेकाले आफ्नो अनुकूलमा काठमाडौँ आएर सम्पर्क गर्न उनले सल्लाह दिए ।
के हुने निर्णय गर्न कुर्न थियो केही घण्टा । पस्मिनामा गएर के काम गर्ने थाहा थिएन त्यसैले त्यता धेरै कल्पना गर्न पनि सकिएन । तर खलाँसीको काम, कर्तव्य र अधिकार पहिले नै देखेकाले धेरै कल्पना गर्न भ्याएँ । सुई सुई ढप ढप । फलानो ठाउँ- फलानो ठाउँ । ओट हाल्ने । पञ्चर भएमा चक्का फुकाल्ने । गाडी पखाल्ने । सामान उचाल्ने-ओराल्ने । दगुर्दै गरेको गाडीमा चढ्ने, दगुर्दै गरेको गाडीबाट उत्रने । ड्राइभर कण्डक्टरका बेसोमत शब्द भरिएका गाली सुन्ने । आदि इत्यादि । सुई सुई पार्न नआएकाले केहीबेर अभ्यास पनि गरेँ ।
बेलुकी निधो भयो । म पस्मिनामा नै जाने भएँ । तैपनि राजु दाइलाई भनेँ - दाइ म तुरुन्तै काठमाडौँ आउँछु हाम्रो गाडी वर्कसपबाट ननिस्किउञ्जेल मोहनश्याम दाइकोमा काम गर्दैगर्छु । उनले हुन्छ’ भने । केही महिनापछि पस्मिनामा काम छोड्न नमिल्ने भो भनेँ । उनले अझै पनि तिमीलाई मन लागेको बेला आऊ न त’ भने । म भने पस्मिना उद्योगबाट समाचार उद्योगतिर पो पुगेँ ।
आजकल पनि सार्वजनिक यातायात चढ्दा झझल्को आउँछ खलाँसी, कण्डक्टरको शरीरमा आफ्नै अनुहार कपी पेस्ट भएको ।

Wednesday, January 6, 2010

ब्लु फिल्मको पछि लाग्दा

दाइ दाइ’
बहिनीलाई विराटनगर पुग्ने मकालु यातायातको टिकट चाइना टाउन, सुन्धाराबाट संकलन गरेर काठमाडौँ मल नजिकै पुग्दा कसैले बोलायो ।
चारैतिर मुन्टो बटारेँ । मुखमा मास्क लगाएको कसैले हातले इशारा गरिरहेको देखेँ । के रहेछ त ? नजिकै जान मन लाग्यो । नजिक नपुग्दै दुईहात भरि सिडी बोकेको त्यो मास्कवालाले विज्ञापन शुरु गरिहाल्यो ।
दाइ आज राम्रो राम्रो सिडी आएको छ’
पीके कलेजको केटीको’
इटहरीको’
ठमेलको’
मलाई के ठानेर त्यो केटोले यस्तो विज्ञापन गरेको होला । एक मनले लाग्यो । अर्को मनमा लाग्यो - ए बाफ रे, नेपाली ब्लु भिडियो यसरी खुलेआम बिक्री भइरहेको रहेछ । यसो वरिपरि हेरेँ अलिपर तीन जनाजति युवाहरुले हातभरि त्यसरी नै सिडी बोकिरहेको देखेँ । नेपाल बन्द, आमहड्तालका दिन मात्र पैदल हिँड्ने मलाई सडकमा यस्ता वस्तुहरु पनि खुलेआम पाइन्छन् भन्ने थाहै थिएन ।
केटो मस्त थियो विज्ञापन गर्नमा । गज्जब सिन छ दाइ १४ वर्षकी केटी हो, कुनै कोरियनभन्दा कम छैन’ । उसले ठान्यो होला - खाट्टी नयाँ मुर्गा आज फेला पारेँ, नभिराई कहाँ छाड्थेँ र
हो र भाइ ?’
मैले जिज्ञासा बढाएँ ।
सिडी खाली त छैन नि’
केटोसामू अनुभवी झैँ देखाउन खोजेँ ।
ल के कुरा गर्नुहुन्छ दाइ ? एकपटक हेरेकाहरु मलाई सिडीको दाम मात्र होइन टिप्स पनि दिएर जान्छन्’ ।
उसले विश्वास दिलाउने यत्न गर्‍यो ।
खोल चाहिँ कुनै हिन्दी फिल्मको थियो । मैले सोधेँ -तिमीहरु यो खोल चाहिँ किन के के हाल्छौ ?
अरे दाइ ओरिजिनल खोल हालेर बेचेको भेट्यो भने त पुलिसले कोचिहाल्छ नि ’
हो क्यारे’ सोचेँ ।
मोलतोल भयो ।
उसले भाउ राख्यो - गोटाको ४० रुपियाँ।
मैले घटाएँ । अन्तिममा तीन वटाको १०० रुपियाँमा कुरा मिल्यो । सोचेँ - खाली नै भए पनि १०० रुपियाँ त हो नि जाने । सिन भए हेरौँला । भए पनि नभए पनि कमसेकम एउटा समाचार त बन्ला
कसैले देख्ला झैँ गरी ज्याकेटमा तीनवटा सिडी कोचेर हिँडे ।
कार्यालय पुगेपछि सहकर्मी करुण अर्याल भेटिए । सदा झैँ चिया खान बाहिरियौँ । मैले सुन्धारामा तीनवटा सिडी किनेको सुनाएँ । गलल्ल हाँसेर उनले भने - ल फसेछौ, म पनि ब्लु फिल्म किन्दा खाली सिडीमा ठगिएको छु ।
केशवजी -आर्टिस्ट केशव राज खनाल) पनि यसरी नै ठगिएका रैछन्’ अर्यालले यसरी ठगिनेको सूची नै पेश गर्न लागे । उनले त्यसो भनिरहे पनि मेरो मनमा चाहिँ मैले ल्याएको सिडी असली छ कि भन्ने लागिरहेको थियो ।
आफू ठगिएको औपचारिकरुपमा प्रमाणित हुन अब केही बेर मात्र बाँकी थियो । साँझ घर लगेर अरुले देख्लान् कि भनेर लुकाइलुकाइ सिडी ल्यापटपमा घुसारेँ । पहिलोमा भारतीय चलचित्र बोर्डको जाँचपास सर्टिफिकेटको ३० सेकेण्ड लामो भिडियो मात्र थियो । दोस्रो पूरै खाली थियो । तेस्रोमा चाहिँ वेकअप सिद फिल्म रहेछ । हलमा हेर्न नपाएकाले केही समय पुरानै फिल्म भए पनि दुईघण्टा बिताएँ ।
मनमा लागिरह्यो ।
म जस्ता कति नेपाली ब्लु फिल्मको चक्करमा अझै ठगिइरहेका होलान् ?’

Wednesday, December 30, 2009

छैटौँ महाधिवेसनको सन्दर्भमा


नेपाल मगर विद्यार्थी संघको दोस्रोदेखि पाँचौँ राष्ट्रिय महाधिवेसनसम्म प्रतिनिधि बनेको यस पंक्तिकारले छैटौँ राष्ट्रिय महाधिवेसनमा त्यो भूमिका पाउने छैन । पाँचौँ महाधिवेसनबाट उसको संघसँगको प्रत्यक्ष साइनो छुटि्टएको छ तर भावनात्मक सम्बन्धको नशा चुँडिइसकेको छैन । कहिले कार्यकर्ता, कहिले नेतृत्वकर्ता हुँदै अहिले संघबाट निवृत्त फरक-फरक परिचयमा रहेर संघको कार्य नियालिरहेको छ ।
२०५१ सालमा सीमित मगर युवा विद्यार्थीहरुबाट स्थापित मगर विद्यार्थी संघ अहिले देशभित्र र देशबाहिर छरिएर रहेका मगर समुदायबीच परिचित भइसकेको छ । मगर समुदायभित्र आशा र भरोसाका केन्द्र तथा सहयात्री आदिवासी जनजाति विद्यार्थी संघहरुमाझ नेतृत्वदायी हैसियत पनि यसले प्राप्त गरिसकेको छ भने सिंगो आदिवासी जनजाति समुदाय यसबाट अपरिचित, नौलो छैन । देशभित्रका धेरै अञ्चल, जिल्ला, सरकारी तथा पब्लिक क्याम्पसहरुमा संघको संरचना निर्माण भइसकेका छन् । सदस्य संख्याको यकिन तथ्यांक नभए पनि लाखौँ मगर विद्यार्थी संघको सम्पर्क र नेतृत्व मातहतमा रहेको अनुमान गर्नु गलत हुँदैन । यति सघन संरचना बनाइसकेको संगठनलाई समयसापेक्ष कसरी अगाडि बढाउने, सैद्धान्तिक, वैचारिक र ब्यावहारिक रुपमा कसरी आकर्षणको केन्द्र बनाउने यही नै छैटौँ राष्ट्रिय महाधिवेसनको सन्दर्भमा सार्थक छलफलको केन्द्रीय विषय बन्न पुगेको छ ।
शैक्षिक अभियान
मगर विद्यार्थी संघको विधान पल्टाउने हो भने यसको सारभूत उद्देश्य मगर जातिलाई शैक्षिक जागरणको मूलबाटोमा ल्याउने रहेको देखिन्छ । विधानका धेरैवटा बुँदामा यही कुरामा घुमाइफिराइ जोड दिइएको छ । मगर विद्यार्थी संघ स्थापनाको १५ वर्षे अवधिमा संघको अभियान, संघका कार्यक्रमकै कारण कति मगर विद्यार्थीहरुले शिक्षाको पारिलो घाम ताप्न पाए त्यसको वैज्ञानिक र औपचारिक अनुसन्धान भएको छैन । संघले आयोजना गर्ने हरेकस्तरका कार्यक्रमहरुमा वक्ताहरुले शिक्षाको महत्वमाथि जोड दिँदै दिने प्रवचनहरुले समाजमा के कस्तो प्रभाव पारेको छ त्यसको पनि कुनै हिसाब गर्न सकिएको छैन । निश्चित कुरा चाहिँ के हो भने संघले अहिलेसम्म शैक्षिक जागरणका लागि अलग्गै अभियान सञ्चालन गरेको पाइएको छैन । एकपटक यस पंक्तिकार केन्द्रीय समितिमा रहँदा कुनै मगर बाहुल्य तर शैक्षिक चेतना कमजोर भएको क्षेत्रमा एक महिने शैक्षिक जागरण अभियान चलाउने छलफल भएको थियो तथापि त्यो छलफलमै सीमित भयो । त्यसपछि पनि त्यस्तो कुनै छलफल र अभियान चलाइएको थाहा छैन । यत्रो सञ्जाल भएको संगठनले कम्तीमा वर्षमा पाँचवटा मात्र यस्ता अभियानहरु चलाउने हो भने मगर जातिको शैक्षिकस्तर उकास्नमा महत्वपूर्ण योगदान पुग्ने थियो । संघलाई वर्षमा यस्ता अभियान दर्जनौँ स्थानमा चलाउन गाह्रो पर्ने पनि देखिादैन । आउने नेतृत्वको ध्यान त्यता पनि जाओस् ।
संगठन सुदृढीकरण
संघको शाखा संगठन कति छन्, कहाँ कहाँ छन् ? कुन समितिका जिम्मेवार नेता पदाधिकारी को को हुन् भन्ने प्राय थाहा पाउन सकिए पनि संघमा कति सदस्य छन् भन्ने प्रश्नको उत्तर न यसअघिका पदाधिकारीहरुले दिन सके न त वर्तमान पदाधिकारीहरुले नै सक्छन् । संगठनको ढाँचाकाँचा जस्ताको तस्तै रहन दिने हो भने अब आउने पदाधिकारीहरुको पनि अवस्था त्यस्तै हुन्छ । त्यसैले सदस्य बनाउने प्रक्रियालाई व्यवस्थित बनाउन सकियो भने यस प्रश्नको जवाफ पाउन सकिन्छ ।
संगठनलाई भावनात्मक कम र जिम्मेवारीयुक्त ज्यादा बनाउन सकियो भने धेरै काम स्वतः व्यवस्थित हुने छन् । यसका लागि संघले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ । एकैदिन वा एकैछिनको मिहिनेतले मानिसको सोचाइ बदलिने कुरो हुादैन तर एकै उद्देश्यका लागि फरकफरक कार्यक्रमहरु लगातार गरिरहेको अवस्थामा त्यसले परिणाम दिनेमा शंका पनि छैन । अहिले संघमा लागेका मगर विद्यार्थीहरु बढी भावनाले चलेका देखिन्छन् । हुन त संगठन भावना र विचारले नै चल्ने हो तर कार्यकर्ताहरुमा संघको उद्देश्यबारेमा जानकारी नै भएन भने भावनाको अर्थ के ? संघमा हिँड्नेहरुको क्रियाकलाप अवलोकन गर्दा उद्देश्यसंगत, उद्देश्यसम्मत देखिँदैनन् । त्यसैले मगर विद्यार्थीहरुलाई मगर विद्यार्थी संघमा लाग्न जिम्मेवार बनाउने अभियानलाई पनि दीर्घकालिन अभियानकै रुपमा लैजान जरुरी छ । जसले संघलाई संख्यात्मक मात्र होइन गुणात्मक विकास गराउन सहयोग गर्ने छ ।
राजनीतिक संगठनहरुका लागि त उच्चमाध्यमिक विद्यालयहरुमा संगठन निर्माण चुनौतीको पहाड बनेको छ भने मगर विद्यार्थी संघका लागि त सगरमाथा नहुने कुरै भएन । भएन त्यसमाथि गत महाधिवेसनबाट माध्यमिक विद्यालयहरुमा समेत संघ गठन गर्न सकिने वैधानिक व्यवस्था भएपछि ती शैक्षिक संस्थामा पनि संगठन विस्तार एउटा चुनौती नै छ । एक्काइसौँ शताब्दी पनि जातीय कुरा गर्ने ? जातीय कुरा गरेर साम्प्रदायिक सद्भाव विथोल्ने ? भन्नेजस्ता वचनका वाणहरु पहिले जस्तो तीखो गरी प्रहार नभए पनि अहिले पनि त्यस्ता वाण बर्साउने धनुर्धारीहरुको कमी छैन । तरल राजनीतिक अवस्थाका कारण जातीय समस्या समाधानका पक्ष र विपक्षमा उत्तिकै विचारका ज्वारभाटाहरु उठिरहेका छन् । तिनले मगर विद्यार्थी संघलाई संगठन गर्नमा सजिलो र असजिलो दुवै हुनसक्छ ।
मगर विद्यार्थी संघमा लाग्नु राजनीतिक विद्यार्थी संगठनमा लाग्नुजस्तो करियर प्लस हुने प्लेटर्फम बन्न सकेको छैन । मगर विद्यार्थी संघमा लागेर व्यक्तिको करियरमा कति सहयोग हुन सक्छ ? संघमा लागेकै कारण व्यक्ति कति सफल बन्न सक्छ ? संघमा गम्भीरतापूर्वक लाग्ने हरेक विद्यार्थीले यो प्रश्नको उत्तर खोज्ने गर्दछन् । हालसम्मको अनुभव हेर्दा संघमा लाग्ने विद्यार्थीहरुले आ-आफ्नो करियर त बनाएका छन् तर आफ्नै मिहिनेतले । संघले करियर खोजिदिने वा बनाइदिने भन्दा पनि व्यक्ति आफैाले खोजी गरेर व्यवस्थित हुने गरेका छन् । अब संघले कार्यकर्ताको करियर स्थापित हुने काम पनि गर्नु आवश्यक छ, संघप्रति आकर्षण जगाउनका लागि ।
आर्थिक सबलीकरण
संघमा यस पंक्तिकार विद्यमान छादा रचनात्मक क्रियाकलाप सम्बन्धी विभिन्न सोचाइहरु पदाधिकारी तथा सदस्यहरुबाट आउँथे । छलफल हुन्थे । कहिले मेची महाकाली साइकल यात्रा, कहिले मगर साँस्कृतिक महोत्सव वा मगर महोत्सवको । सबै सोचाइहरु नवीन थिए हाम्रा समाजका लागि । तर ती सबै कार्यान्वयन गर्नका लागि हामीसित आर्थिक शक्तिको जरुरी हुन्थ्यो । मगजमा अत्यन्त सुन्दर सपनाहरु सजाए पनि हातमा पैसा नहुँदा हाम्रा ती सपनाहरु गर्भमै तुहिए, वर्तमान नेतृत्वमा रहेका साथीहरुको सपना पनि त्यही मार्गमा होलान् । संघले अनिवार्य रुपमै गर्नुपर्ने स्थापना दिवस, मगर दिवस, लखन दिवस जस्ता कर्मकाण्ड बाहेक नयाँ कार्यक्रमहरु खासै दिन सकिएन । अहिले पनि त्यही अवस्थाबाट संघ गुज्रिरहेको देखिन्छ ।
यति ठूलो सञ्जाल भएको संगठनले चाह्यो भने आर्थिकरुपमा सुदृढ र सबल हुन त्यति गारो कुरै छैन । ठूलो जनशक्ति समस्या हैन, त्यो जनशक्तिलाई सदुपयोग गर्ने शक्ति र जुक्ति चाहिँ ठूलो कुरा हो । संगठित जनशक्तिलाई विभिन्न उपायबाट आर्थिक संकलन गर्ने काममा लगाउन सकिन्छ । खाँचो छ त केवल तिनीहरुलाई परिचालन गर्ने योजनाको । संगठनको उद्देश्यसाग मेल खाने विभिन्न योजना, आयोजना, कार्यक्रम, अभियानमा उनीहरुलाई संगठित रुपमा सहभागी गराएरै पनि आर्थिक उपार्जन गर्न सकिन्छ । सधैा चन्दा मागेर संगठन चलाउने भन्दा संघको आफ्नै दीर्घकालीन स्रोत बनाउनु आवश्यक मात्र हैन अत्यावश्यक नै भइसकेको छ ।
सफलता पनि छन्
अहिलेसम्म मगर विद्यार्थी संघले केही गर्न सकेन भनेर कसैले भन्छ भने त्यो पूरै पूर्वाग्रही विश्लेषण हुने छ । व्यापारिक कम्पनीमा जस्तो हरेक साल नाफा घाटा सामाजिक संगठनहरुमा पाउन कठिन हुन्छ । मगर हुँ भन्न पनि हिच्किचाउने मगर विद्यार्थीहरुलाई म मगर हुँ भनेर गर्वपूर्वक भन्नसक्ने, संघमा लाग्नसक्ने बनाउनु नै मगर विद्यार्थी संघको सबैभन्दा ठूलो सफलता हो । मगर विद्यार्थीको नेतृत्व क्षमता विकास गर्न संघले खेलेको महत्वपूर्ण भूमिकाकै कारण आज धेरै राजनीतिक विद्यार्थी संघहरुमा मगर विद्यार्थीहरुले पनि अवसर पाएका छन् । शैक्षिक सत्ताका रुपमा रहेको स्वतन्त्र विद्यार्थी युनियनमा चुनिने अवसर पाएका छन् । मगर विद्यार्थीहरुको यस्तो उपस्थितिका कारण मगर विद्यार्थीका समस्याहरु अरु समुदायलाई जानकारी हुन सजिलो भएको छ ।
शैक्षिक सत्तामात्र होइन राज्यसत्ताका विभिन्न अंगहरु संसद, लोकसेवा, प्रहरी, सैनिक तथा अन्य अवसरहरुमा समानुपातिक सहभागिता र आरक्षणको व्यवस्था हुनुको पछाडि मगर विद्यार्थी संघको पनि प्रत्यक्ष अप्रत्यक्ष भूमिका छ भन्दा अन्यथा नहोला । यस्तै, सिंगो मगर जातिको जातीय संस्था नेपाल मगर संघलाई आवश्यक कार्यकर्ता उत्पादन गर्न, मगर संघका निर्णयहरु कार्यान्वयनमा सहयोग गर्न तथा कतिपय अवस्थामा खबरदारी गर्न पनि विद्यार्थी संघ सफल भएको छ । यस्ता परोक्ष अप्रत्यक्ष उपलब्धिका फेहरिस्त नै छन् ।
र, अन्त्यमा
जबजब मगर विद्यार्थी संघको महाधिवेसन आउँछ अवसरवादीहरुको चलखेल शुरु हुन्छ । यस पंक्तिकारको संलग्नता रहेका सबै महाधिवेसनहरुमा ती भाइरसहरुले राम्रैसित प्रभाव जमाउन खोजेका थिए कतिपयमा उनीहरु केही हदसम्म सफल भए, कतिपयमा धूलो चाटेर फर्के । अरुबेला संघमा नाकमुख नदेखाउनेहरु, संघका विभिन्न समितिका विभिन्न जिम्मेवारी पदमा रहेर पनि माखो नमार्नेहरु महाधिवेसनको तिथि घोषणा भयो कि गणेश दौड गर्न थाल्छन् । महाधिवेसनलाई कसरी भाँड्ने, कसरी पद हत्याउने, काम गर्नेहरुलाई कसरी छिर्के हान्ने दाउ हेर्न थाल्छन् । संघका कार्यकर्तामाझ कुनै प्रभाव नभएपछि ती कामचोर, पदलोलुपहरु अमुक राजनीतिक पार्टीको झण्डा समात्न थाल्छन् । संघको नेतृत्व चयनमा प्रभाव पार्ने व्यक्तित्वहरुको वरिपरि चाकडी गर्न थाल्छन् । तिनीहरुलाई संघको कुनै मायामोह हुँदैन, जसरी हुन्छ महाधिवेसनको तिथि लम्ब्याएर होस् वा संघलाई ऋणको कुवामा डुवाएर होस् पद ओगटेरै छाड्न खोज्छन् । भलै कुनै काकताली लागेर पद पाए पनि चुनिएको भोलिपल्टदेखि उनीहरुको नाकमुख औाशी पूर्णेमा देख्न पाए त ठूलो कुरा, पूरै अर्को महाधिवेसन कुर्नुपर्छ । अर्को महाधिवेसनमा उनीहरुलाई नै बढुवा चाहिन्छ मानौ संगठन तिनको बाउको विर्ता हो । सिन्को नभाँची संघमा पेन्सन पकाउन चाहन्छन् तिनीहरु ।
विगतमा दलीय भागवण्डाको नाममा होस् वा क्षेत्रीय सन्तुलनको बहानामा, सक्रिय र संगठनप्रति समर्पित कार्यकर्ताहरुले पाखा लाग्नुपरेको पनि छ । संघको विरुद्धमा लाग्ने, महाधिवेसन भाँड्छु, संघलाई टुक्र्याउँछु भन्नेहरु, तोकिएको जिम्मेवारी पूरा नगर्नेहरु, संगठनको दामासाहीमा परेकाहरु, लेवी नबुझाएकाहरु, संगठनको आर्थिक हिनामिना गरेकाहरु मात्र होइन मगर जातिभित्रै नपरेकाहरुले पनि संघबाट कारबाही होइन पुरस्कारस्वरुप विभिन्न पद पड्काएका छन् । संघभित्र वैचारिक विविधता, क्षेत्रीय सन्तुलन, लैङ्गिक सन्तुलन आवश्यक छ तर त्यसको पनि छनौटको आधार कार्यसम्पादन नै हुनुपर्छ । काम नगर्नेहरुलाई संघमा रातो कार्पेट बिछ्याएर स्वागत गर्नु भनेको इमान्दार कार्यकर्तालाई गलहत्याएर संघबाट निकाल्नु मात्र हो ।
संघभित्र यति वफादार, इमान्दार र लगनशील कार्यकर्ता छन् भन्ने संघमा लाग्ने जो सुकैलाई थाहा छ । पंक्तिकार नेतृत्वमा रहादा हेटौँडामा २०६३ सालमा भएको राष्ट्रिय विस्तारित भेलाको तयारीका क्रममा पत्रिका बिछ्याएर चिउरा, मुरही र दालमोठ खाएर भेला सफल बनाउने साथीहरु, २०६० सालमा नेपालगञ्जमा भएको विस्तारित भेलामा खर्च घटाउन फुकीफुकी तौलीतौली योजना बनाउने साथीहरु सम्झँदा अहिले पनि उनीहरुलाई सलाम गर्न मन लाग्छ । यी त केही उदाहरण मात्र हुन्, भोकै, आफ्नो सबै काम छोडेर, नसुतेरै संघको काम गर्ने साथीहरु देशभरि नै छन् । छैटौँ महाधिवेसनले नेतृत्व चयन गर्दा ती साथीहरुको शीर ननिहुरियोस् ।
विद्यार्थी संघ भए पनि संघको उद्देश्य भनेको मगर जातिको समग्र मुक्ति नै हो । मगर जातिलाई भेदभाव, शोषण, उत्पीडनबाट अलग गर्ने नै हो । यसका लागि मगर जातिबीच सर्वस्वीकार्य जुक्ति भनेको मगर बाहुल्य र मगरहरुको आदिभूमिमा मगरात राज्य स्थापना तथा अन्य स्थानमा जातीय जनसंख्याको आधारमा राज्यका सबै अंगमा मगर जातिको समानुपातिक प्रतिनिधित्व नै हो । यो आममत स्वीकार गर्न नसक्नेहरु, जातीय आधारमा राज्य बन्न हुँदैन भनेर सिंगो जनजातिमाथि थप शोषण गर्न चाहनेका मतियारहरुले विद्यार्थी संघको वैचारिक नेतृत्व हाँक्न सक्दै सक्दैनन् । मगरातका बारेमा आफैा अस्पष्ट र अनिच्छुक रहनेहरुलाई नेतृत्वमा ल्याउनु भनेको घरमै सर्पलाई दुध खुवाएर पाल्नु मात्र हुन्छ । छैँटौँ महाधिवेसनका प्रतिनिधिहरुलाई चेतना भया ।
नेपाल मगर विद्यार्थी संघको मुखपत्र मगर आवाजमा प्रकाशित

Monday, November 30, 2009

उपराष्ट्रपति नहुँदा कर्मचारीलाई न्यास्रो

मर्यादाक्रममा दोस्रो स्थानमा रहेका उपराष्ट्रपतिको कार्यालय अहिले 'रानोबिनाको माहुरीको घार' जस्तै बनेको छ ।

तीन महिनादेखि देशमा उपराष्ट्रपति निष्त्रिmय अवस्थामा रहे पनि ३० कर्मचारीले उपराष्ट्रपतिको कार्यालय चलाइरहेका छन् । जसको नाममा कार्यालय स्थापना भएको हो, उही नभएको अवस्थालाई कर्मचारीहरूले पनि खल्लो मानेका छन् ।

अरू -उपराष्ट्रपति बहाल रहेको) बेला सुरक्षाकर्मी र भेट्न आउनेहरूको लर्को लाग्ने बहादुरभवन अहिले चकमन्न छ । सुरक्षाकर्मीको स्टर्किङको तीखो साइरन अब बिर्सिन थालिसकिएको छ । ढोकामा दुई नेपाली सेनाका सैनिकले तीन/तीन घन्टामा बदली हुँदै पहरा दिइरहेका छन् ।

ढोका छिचोल्नासाथ टेकिने जनसम्पर्क कक्षमा अहिले न भेट्न आउनेहरूको ताँती छ, न त चेकजाँच गर्ने सुरक्षाकर्मीहरू नै छन्, न छन् सोधपुछ गर्ने, नाम टिप्ने कर्मचारीहरू नै । मात्र रित्ता कुर्सीहरू आगन्तुक कुरेर बसिरहेकाजस्ता भेटिन्छन् ।

दुई तला माथि रहेको उपराष्ट्रपतिको कार्यकक्षबाहिर केही कर्मचारी उपराष्ट्रपति नभए पनि 'ड्युटी' गरिरहेका छन् । "हामी त कर्मचारी, कार्यालयमा जेजस्तो काम परे पनि गर्छौं", सचिवालयका कर्मचारी हरिबहादुर कार्कीले भन्नुभयो ।

परमानन्द झाको उपराष्ट्रपति पद निष्त्रिmय भए पनि उपराष्ट्रपति कार्यालयबाहिर 'परमानन्द झा, उपराष्ट्रपति' अङ्कित नामपाटी भने अझै छ । सायद उहाँकै प्रतीक्षामा हो कि ? "हामीले राखेका पनि होइनौँ, त्यसैले हटाउने कुरा पनि भएन । राज्यले राखिदियो, राज्यले नै हटाउनू भन्नु पर्‍यो", कार्कीले प्रस्टीकरण दिनुभयो ।

सरसफाइका लागि हरेक दिन बिराएर उपराष्ट्रपति कार्यकक्ष कर्मचारीहरूले सफा गर्ने गरेका छन् । "खोलेन भने त बाफिइहाल्छ नि", कार्कीले भन्नुभयो । उहाँका अनुसार एक/दुई दिन बिराएर कोठा खोल्ने, सफा गर्ने, पङ्खा चलाउने गरिएको छ । "हिजोमात्र खोलेको", उहाँले थप्नुभयो ।

भदौ १५ गतेदेखि कार्यालय आउन छाडेका झाले यसबीच बेलाबेलामा फोन गरी कार्यालयको खबर के छ भनी कर्मचारीलाई सोध्ने गर्नुभएको छ । केही दिनअघि जनकपुरको विवाहपञ्चमी मेलाका लागि ˆयाक्समार्फत आएको निमन्त्रणापत्र पठाइदिन झाले फोन गर्नुभएको थियो । उपराष्ट्रपतिले चढ्ने किया र ल्यान्डक्रुजर गाडी अहिले बहादुरभवन प्राङ्गणमा रहेको ग्यारेजमा 'आराम' गरिरहेका छन् । दैनिक उपयोग नभएर होला, गाडीमाथि धूलोको सहत बढ्दो छ । चालकहरूले बेलाबेलामा गाडी स्टार्ट र सफा गर्छन् ।

कार्यालयका सचिव नाथुप्रसाद चौधरी उपराष्ट्रपति हुँदा कार्यालयको रौनक नै अर्को हुने बताउनुहुन्छ । "उहाँ -उपराष्ट्रपति) हुँदा कहिले नेताहरू, कहिले मन्त्रीहरू, कहिले उहाँका जिल्लाबासी, कहिले बालबालिका आउँथे, कार्यालयको रौनकै अर्को हुन्थ्यो", चौधरीले भन्नुभयो ।

उपराष्ट्रपति नहुँदा पनि दैनिक कार्यसम्पादनमा कर्मचारीहरूलाई कुनै असजिलो नभएको र काम पनि नरोकिएको उहाँले प्रस्ट्याउनुभयो ।

"उपराष्ट्रपतिज्यू र उपराष्ट्रपतिको कार्यालयबीच दैनिक कामकाज नै रोकिने गरी 'टाई अप' नभएकाले कार्यालयको कार्य सञ्चालनमा कुनै बाधा परेको छैन", कार्यालयका कानुन उपसचिव सुशील कोइरालाले भन्नुभयो, "तैपनि मनोवैज्ञानिक प्रभाव त परिहाल्छ, अभिभावक हुनु र नहुनुजस्तो ।"