Sunday, June 28, 2009
महिमा किस्ताबन्दीको
गोरखापत्र संस्थान कर्मचारी बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका मित्र रामकुमार बस्नेतलाई हरेक महिनाको १ गतेदेखि ४ गतेसम्म बोल्न पनि फुर्सद हुँदैन । सहकारीबाट सेवा लिएका सेवाग्राहीबाट मासिक किस्ता संकलन गर्नुपर्ने कारणले । डेस्कटप कम्प्युटरको एकवर्षे किस्ता चुक्ता गरिसकेको म अहिले पनि डिजिटल क्यामेराको किस्ता चुकाउँदै छु । उता, ल्यापटप किन्दा संस्थानबाट लिएको सापटीको किस्ता बुझाउँदा आफ्नो मासिक बजेट नै ढलपल हुन खोज्छ ।
संस्थानमा धेरै साथीहरु छन् जो मोटरबाइकको किस्ता तिर्दै छन् । बेलाबखत भेटिएका लाहुरे मामाहरु हरेक अंग्रेजी महिनाको शुरुको साता पेन्सन बुझ्दै गाडीको किस्ता बुझाइरहेको देख्छु । स्तर नमिले पनि साथी बनेका एक दुई जना चिकित्सक र इन्जिनियर साथीहरु फ्ल्याटको किस्ताको कुरा बेलाबखत सोध्नै नपरीकन ओकल्छन् ।
केहीवर्ष अगाडि पत्रपत्रिकामा विज्ञापन छापिने गर्दथ्यो आइरनदेखि गाडीसम्म किस्ताबन्दीमा । आजकल त्यस्तो एकमुष्ट विज्ञापन नदेखेको त धेरै भयो । तर गुण कोअपरेटिभले चाहिा केही महिना अगाडिसम्म किस्ताबन्दीमा मोबाइल सेट दिने विज्ञापन गर्दै आएको थियो ।
हुन पनि किस्ताबन्दीको सुविधा कहाँसम्म छैन ? मोवाइल सेट, आइरन, टेलिभिजन, डिभिडी, क्यामेरा, फर्निचर, मोटरसाइकल, गाडी, घर, हवाइजहाज के चाहियो ? सबै किस्ताबन्दीमा उपलब्ध छन् । यी त सुनिएकै बुझिएकै थियो तर सरकारसमेत किस्ताबन्दीमा बन्न थालेपछि किस्ताबन्दीको महिमा चुलिएको विश्लेषण मनमनै गर्दैथिएँ । गोरखापत्रको फीचर शाखाका सहकर्मी दाइ कमल रिजालले सुनाउनुभयो - हुँदाहुँदा अब त घर बनाउने डकर्मीले पनि किस्ताबन्दीमा काम गर्न थाले, आज आयो अनि एक सातापछि ।
अर्कोतिर बसेर लेख सम्पादन गरिरहेका दाइ निर्मलकुमार आचार्यले मौनता तोड्दै भन्नुभयो - त्यतिसम्म किस्ताबन्दी त ठिकै हो तर यो क्रम बढ्दै गएर हजामसम्म पुग्यो भने चाहिँ कस्तो होला ???
Wednesday, June 10, 2009
बोक्सी उत्रेको साक्षी
चश्मा नभएको भए
लालपानी माध्यमिक विद्यालय, शिवगञ्जमा कक्षा ७ पढ्दाको कुरा हो । चश्मा लाएर कक्षामा आएको निहुँमा सहपाठी कृष्णप्रसाद उप्रेतीको गालामा एकाएक शिक्षक रत्नमान श्रेष्ठले चड्कन लगाए । कुन अभियोगमा चड्कन लगाइयो केही थाहा भएन । रत्न सरले भुटभुटिँदै यति मात्र भने - ‘खुब हिरो बनेर कक्षामा आउने’ ।
भोलिपल्टसम्ममा त्यो चड्कन रत्नसरका लागि महंगो साबित भइसकेको थियो । आँखाको समस्याका कारण चिकित्सकले चश्मा लगाउन दिएको प्रेसक्रिप्सन देखाएपछि रत्नसरलाई विद्यार्थीको गालामा बर्साएको त्यो आफ्नै गालामा बजि्रए झैँ भयो । ‘उपकारी व्यक्ति निहुरिन्छ निरन्तर’ भन्ने कवि शिरोमणि लेखनाथ पौड्यालको पंक्ति पछ्याउँदै होला रत्नसरले विद्यार्थीसित माफी मागे ।
बालखैमा आफ्नै सामुन्ने देखेको यो घटनापछि चश्माबाट बाह्र हात परै रहनु पर्नेरहेछ भन्ने पाठ सिकियो । घरमा जिबा (हजुरबा) ले पढ्दा लगाउने चश्मा पनि छुनु नहुनेरहेछ भन्ने लाग्यो । लाग्यो, ठूल्दाइले बेलाबखत लगाउने कालो चश्मा पनि दाइ नभएको मौका छोपेर लगाउनु ठीक हैन रै’छ ।
२०५६ मा रत्नराज्यलक्ष्मी कलेज भर्ना भएपछि सोचेको थिएँ -विज्ञान पनि पढ्न नपाए पनि मेजर म्याथ (गणित) लिएर पढुँ । एक सातासम्म गणित कक्षामा धाउँदा शिक्षकले कालोपाटीमा लेखेको ठम्याउनै नसकेपछि गणितको सपना आधाबाटोमै तु्हियो । यसबीचमा दिदी भेनाको फोटो स्टूडियोमा फोटोग्राफर बन्दा कैयौँचोटी फोकस आउट फोटो खिचियो र गालीको सगरमाथा पनि बेहोरियो ।
२०५७ मा कम्प्युटर सिक्न पाटनढोकास्थित कम्प्युटर सेक्सन धाउँदा पुष्टि भो मेरो आँखाको ज्योति त आंशिक कमजोर भइसकेको रहेछ । सहपाठी बहिनी मन्दिरा शाक्यले सल्लाह दिइन् - दाइ तपाईको त आँखा कमजोर भइसकेछ । डा. नारायणी श्रेष्ठसित जचाउँदा नतीजा निस्क्यो - मैले माइनस १.५ पावरको चश्मा लाउनुपर्ने रहेछ । समय बितिसकेपछि अब पो घोत्लिन मन लाग्यो - मेरो आँखा किन कमजोर भयो ? फोटो स्टूडियोको डार्करुममा बसेर काम गर्नाले कि रातभर कम्प्युटरमा गेम खेल्नाले ?
चश्मा बिनाको जीन्दगीको कल्पना गर्न छाडेको धेरै वर्षपछि यो साता केही साथीहरुले प्रश्न गरे - तपाईको चश्मामा पावर पनि छ ? सुत्दा आठ घण्टाबाहेक नौ वर्षयता चश्मा छाड्न सकेकै होइन । तैपनि प्रश्न चाहिँ अर्कै कोणबाट तेर्सियो । एक मन लाग्यो ‘हैन, पावर छैन । मैले नक्कल पार्न मात्र चश्मा लगाको’ भन्दिऊँ कि । कसैले टाउकोमा, कसैले छातीमा, कसैले कम्मरमा चश्मा लाएको छ्यास्सछ्यास्ती देखेका ती साथीहरुले मलाई त्यस्तो प्रश्न सोध्नु अस्वाभाविक पनि हैन भन्ने लाग्यो ।
छलाङ मार्ने गरी बढिरहेको चश्माको पावरका कारण तीनमिटर परको अक्षर ठम्याउन नसक्ने अवस्थामा पुगेको म बेलाबेलामा सोच्छु - आखिर यो चश्माको आविस्कार कसले गर्यो होला ? जसका कारण मेरो जीवन जेनतेन घसि्रइरहेको छ । जसोतसो धानिइरहेको छु । यदि चश्मा नहुँदो हो त ? कल्पना मात्र गर्दा पनि कहाली लाग्छ - म घरको कुनै कुनामा थुपि्ररहेको हुन्थेँ होला । जीवन र जगतलाई चर्मचक्षुले स्पर्श गर्नबाट वञ्चित हुन्थेँहोला । अथवा मेरो देखभालका लागि अर्को एकजनाको पनि जीवन त्यतिकै बित्ने थियो होला ।
धन्य छ, चश्मा तिमीलाई कसले आविस्कार गर्यो ? जसका कारण आज म र मजस्ता धेरै मानिसले जीवन र जगतलाई भौतिकरुपमा नियाल्न पाएका छन्
Thursday, May 21, 2009
नचाहँदा नचाहँदै बनेका हिरो
Tuesday, May 12, 2009
जंगी अड्डाबाट बाँडियो भिडियो
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइ समेटिएको विवादास्पद भिडियो टेप नेपाली सेनाको सैनिक मुख्यालयबाट बाँडिएको पाइएको छ ।
सरकारले रुक्माङद कटवाललाई प्रधानसेनापतिबाट हटाउन स्पष्टीकरण सोधेपछि मुख्यालयले सो भिडियो टेप राष्ट्रपति डा. रामवरण यादव, नेकपा एमाले का वरिष्ठ नेता माधवकुमार नेपाल र केपी शर्मा ओली, नेपाली काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला तथा संविधानसभामा रहेका विभिन्न राजनीतिक दलका नेताहरुलाई बाँडेको स्रोतले बताएको छ ।
यस्तैगरी, सेनाले उक्त भिडियो नेपालस्थित भारतीय राजदूत, अमेरिकी राजदूत तथा विभिन्न कुटनीतिक नियोगमा अंग्रेजी भाषामा उल्थासहित वितरण गरेको स्रोतले जानकारी दिएको छ ।
कटवाल प्रधानसेनापति रहेका बखत डेढवर्ष अघि एक जनमुक्ति सेनाको सहयोगमा सो भिडियो टेप जनमुक्ति शिविरबाट बाहिर ल्याइएको थियो ।
कटवालका तत्कालीन स्टाफ मेजर डिकबहादुर थापाले भिडियो बाहिर ल्याउन जनमुक्ति सेनाका एक उपकमाण्डरसित सम्पर्क सुत्रको काम गरेको स्रोतले बतायो । टेप बाहिर ल्याउने योजना सफल पारेवापत मेजर थापालाई कटवालले पुरस्कृत समेत गरेका थिए । उनलाई पुरस्कृत गरेर अहिले संयुक्त राष्ट्रसंघीय मिसन अन्तर्गत कंगो पठाइएको छ ।
चितवनको शक्तिखोरस्थित जनमुक्ति सेनाको तेस्रो डिभिजनमा १८ महिना अघि माओवादी अध्यक्ष प्रचण्डले राजनीतिक प्रशिक्षण दिने क्रममा तयार पारिएको भिडियो बाहिर ल्याउन सैनिक मुख्यालयले ती छापामारलाई तीन किस्तामा पैसा पठाएको थियो ।
उपकमाण्डर तहका ती छापामारलाई नेपाली सेनाले मोवाइल समेत किनिदिएको थियो भने टेप तयारीको सम्पूर्ण जिम्मा डिकबहादुर थापालाई दिइएको थियो’ स्रोतले बतायो । थापाले कटवालको सीधा सम्पर्कमा रहेर टेप हात पारेको पनि स्रोतले थप्यो । स्रोतका अनुसार कटवालले त्यतिबेलै जनमुक्ति सेनामा विद्रोह गराउन लागि ती उपकमाण्डरलाई प्रस्ताव गरेका थिए ।
डेढवर्ष अघि प्राप्त भिडियोलाई राष्ट्रपति, राजनीतिक दलहरु, कुटनीतिक नियोग र सञ्चारमाध्यममा लैजानु अघि प्रिन्सिपल स्टाफ अफिसर्स पीसीओजको बैठक समेत बसेको थियो । बलाध्यक्ष कुलबहादुर खड्कालाई नबोलाइएको सो बैठकको निर्णय अनुसार नै भिडियोलाई वितरण गरिएको थियो । तर भिडियो सञ्चारमाध्यमबाट प्रसारण गरिने योजना भने सेनाले राष्ट्रपतिलाई सुनाएको थिएन ।
भिडियोको सम्पादन तथा वितरण सेनाको मनोवैज्ञानिक अपरेसन कार्य महाशाखाले गरेको थियो । नेपाली सेनाका प्रवक्ता रमिन्द्र क्षेत्री सो महाशाखाको स्थापनाकालदेखि प्रमुख छन् ।
स्रोतका अनुसार भिडियोलाई प्राविधिक रुपमा गुणस्तरीय बनाउने काम महाशाखाका कम्प्युटर अपरेरटर बालकृष्ण शर्माले गरेका थिए । भिडियो अत्यन्तै रफ थियो, बालकृष्णले त्यसलाई सम्पादन गरेर स्तरीय बनाएका हुन्’ स्रोतले भन्यो ।
द्वन्द्वकालमा माओवादीविरुद्ध मनोवैज्ञानिक दुस्प्रचार फैलाउन खडा गरिएको सो महाशाखा अहिले पनि क्रियाशील छ । स्रोतका अनुसार महाशाखाले माओवादीबाट हत्या गरिएका पत्रकार ज्ञानेन्द्र खड्का तथा माओवादीबाट गरिएको बस आगजनीमा मारिएकी बालिका काजोल खातुनका बारेमा पनि भिडियो तयार गरी कुटनीतिक नियोगमा वितरण गरेको थियो ।
पछिल्लो समयमा सो महाशाखाले सैनिक रणनीति र नेपालको प्रतिरक्षा रणनीति पनि तयार गरेको छ ।
ब्रिगिडियर जनरल रमिन्द्र क्षेत्री उनका सहोदर भाइ कर्णेल रतिन्द्र क्षेत्री, प्रमुख सेनानीहरु विनयविक्रम राणा, सुरेन्द्रसिंह रावल, अनुपजंग राणा र कर्णेल सन्तोषबल्लभ पौडेल सो महाशाखामा कार्यरत् हुनुहुन्छ । ब्रिगिडियर जनरल क्षेत्री र राणा बाहेक अन्य सो विभागमा काजमा ल्याइएका छन । कर्णेल क्षेत्री पूर्व राजा ज्ञानेन्द्रका स्टाफ थिए भने थापा रेञ्जर गणका गुल्मपति, पौडेल गणेशदल गणका गणपति र रावल स्टाफ कलेजबाट काजमा आएका थिए ।
भिडियो कटवाललाई सरकारले स्पष्टीकरण सोधेपछि बाहिर ल्याइएको थियो । सुरुमा एउटा साप्ताहिकले यही भिडियोबाट समाचार बनाएको थियो । राष्ट्रपति यादवले कटवाललाई प्रधानसेनापतिमै काम गर्न पत्राचार गरेर असंवैधानिक कदम चालेको भन्दै प्रधानमन्त्री प्रचण्डले राजिनामा दिएपछि यो भिडियोलाई मूलधारका सञ्चारमाध्यमबाट प्रसारण र प्रकाशन गरेका थिए ।
