Wednesday, January 6, 2010

ब्लु फिल्मको पछि लाग्दा

दाइ दाइ’
बहिनीलाई विराटनगर पुग्ने मकालु यातायातको टिकट चाइना टाउन, सुन्धाराबाट संकलन गरेर काठमाडौँ मल नजिकै पुग्दा कसैले बोलायो ।
चारैतिर मुन्टो बटारेँ । मुखमा मास्क लगाएको कसैले हातले इशारा गरिरहेको देखेँ । के रहेछ त ? नजिकै जान मन लाग्यो । नजिक नपुग्दै दुईहात भरि सिडी बोकेको त्यो मास्कवालाले विज्ञापन शुरु गरिहाल्यो ।
दाइ आज राम्रो राम्रो सिडी आएको छ’
पीके कलेजको केटीको’
इटहरीको’
ठमेलको’
मलाई के ठानेर त्यो केटोले यस्तो विज्ञापन गरेको होला । एक मनले लाग्यो । अर्को मनमा लाग्यो - ए बाफ रे, नेपाली ब्लु भिडियो यसरी खुलेआम बिक्री भइरहेको रहेछ । यसो वरिपरि हेरेँ अलिपर तीन जनाजति युवाहरुले हातभरि त्यसरी नै सिडी बोकिरहेको देखेँ । नेपाल बन्द, आमहड्तालका दिन मात्र पैदल हिँड्ने मलाई सडकमा यस्ता वस्तुहरु पनि खुलेआम पाइन्छन् भन्ने थाहै थिएन ।
केटो मस्त थियो विज्ञापन गर्नमा । गज्जब सिन छ दाइ १४ वर्षकी केटी हो, कुनै कोरियनभन्दा कम छैन’ । उसले ठान्यो होला - खाट्टी नयाँ मुर्गा आज फेला पारेँ, नभिराई कहाँ छाड्थेँ र
हो र भाइ ?’
मैले जिज्ञासा बढाएँ ।
सिडी खाली त छैन नि’
केटोसामू अनुभवी झैँ देखाउन खोजेँ ।
ल के कुरा गर्नुहुन्छ दाइ ? एकपटक हेरेकाहरु मलाई सिडीको दाम मात्र होइन टिप्स पनि दिएर जान्छन्’ ।
उसले विश्वास दिलाउने यत्न गर्‍यो ।
खोल चाहिँ कुनै हिन्दी फिल्मको थियो । मैले सोधेँ -तिमीहरु यो खोल चाहिँ किन के के हाल्छौ ?
अरे दाइ ओरिजिनल खोल हालेर बेचेको भेट्यो भने त पुलिसले कोचिहाल्छ नि ’
हो क्यारे’ सोचेँ ।
मोलतोल भयो ।
उसले भाउ राख्यो - गोटाको ४० रुपियाँ।
मैले घटाएँ । अन्तिममा तीन वटाको १०० रुपियाँमा कुरा मिल्यो । सोचेँ - खाली नै भए पनि १०० रुपियाँ त हो नि जाने । सिन भए हेरौँला । भए पनि नभए पनि कमसेकम एउटा समाचार त बन्ला
कसैले देख्ला झैँ गरी ज्याकेटमा तीनवटा सिडी कोचेर हिँडे ।
कार्यालय पुगेपछि सहकर्मी करुण अर्याल भेटिए । सदा झैँ चिया खान बाहिरियौँ । मैले सुन्धारामा तीनवटा सिडी किनेको सुनाएँ । गलल्ल हाँसेर उनले भने - ल फसेछौ, म पनि ब्लु फिल्म किन्दा खाली सिडीमा ठगिएको छु ।
केशवजी -आर्टिस्ट केशव राज खनाल) पनि यसरी नै ठगिएका रैछन्’ अर्यालले यसरी ठगिनेको सूची नै पेश गर्न लागे । उनले त्यसो भनिरहे पनि मेरो मनमा चाहिँ मैले ल्याएको सिडी असली छ कि भन्ने लागिरहेको थियो ।
आफू ठगिएको औपचारिकरुपमा प्रमाणित हुन अब केही बेर मात्र बाँकी थियो । साँझ घर लगेर अरुले देख्लान् कि भनेर लुकाइलुकाइ सिडी ल्यापटपमा घुसारेँ । पहिलोमा भारतीय चलचित्र बोर्डको जाँचपास सर्टिफिकेटको ३० सेकेण्ड लामो भिडियो मात्र थियो । दोस्रो पूरै खाली थियो । तेस्रोमा चाहिँ वेकअप सिद फिल्म रहेछ । हलमा हेर्न नपाएकाले केही समय पुरानै फिल्म भए पनि दुईघण्टा बिताएँ ।
मनमा लागिरह्यो ।
म जस्ता कति नेपाली ब्लु फिल्मको चक्करमा अझै ठगिइरहेका होलान् ?’

Wednesday, December 30, 2009

छैटौँ महाधिवेसनको सन्दर्भमा


नेपाल मगर विद्यार्थी संघको दोस्रोदेखि पाँचौँ राष्ट्रिय महाधिवेसनसम्म प्रतिनिधि बनेको यस पंक्तिकारले छैटौँ राष्ट्रिय महाधिवेसनमा त्यो भूमिका पाउने छैन । पाँचौँ महाधिवेसनबाट उसको संघसँगको प्रत्यक्ष साइनो छुटि्टएको छ तर भावनात्मक सम्बन्धको नशा चुँडिइसकेको छैन । कहिले कार्यकर्ता, कहिले नेतृत्वकर्ता हुँदै अहिले संघबाट निवृत्त फरक-फरक परिचयमा रहेर संघको कार्य नियालिरहेको छ ।
२०५१ सालमा सीमित मगर युवा विद्यार्थीहरुबाट स्थापित मगर विद्यार्थी संघ अहिले देशभित्र र देशबाहिर छरिएर रहेका मगर समुदायबीच परिचित भइसकेको छ । मगर समुदायभित्र आशा र भरोसाका केन्द्र तथा सहयात्री आदिवासी जनजाति विद्यार्थी संघहरुमाझ नेतृत्वदायी हैसियत पनि यसले प्राप्त गरिसकेको छ भने सिंगो आदिवासी जनजाति समुदाय यसबाट अपरिचित, नौलो छैन । देशभित्रका धेरै अञ्चल, जिल्ला, सरकारी तथा पब्लिक क्याम्पसहरुमा संघको संरचना निर्माण भइसकेका छन् । सदस्य संख्याको यकिन तथ्यांक नभए पनि लाखौँ मगर विद्यार्थी संघको सम्पर्क र नेतृत्व मातहतमा रहेको अनुमान गर्नु गलत हुँदैन । यति सघन संरचना बनाइसकेको संगठनलाई समयसापेक्ष कसरी अगाडि बढाउने, सैद्धान्तिक, वैचारिक र ब्यावहारिक रुपमा कसरी आकर्षणको केन्द्र बनाउने यही नै छैटौँ राष्ट्रिय महाधिवेसनको सन्दर्भमा सार्थक छलफलको केन्द्रीय विषय बन्न पुगेको छ ।
शैक्षिक अभियान
मगर विद्यार्थी संघको विधान पल्टाउने हो भने यसको सारभूत उद्देश्य मगर जातिलाई शैक्षिक जागरणको मूलबाटोमा ल्याउने रहेको देखिन्छ । विधानका धेरैवटा बुँदामा यही कुरामा घुमाइफिराइ जोड दिइएको छ । मगर विद्यार्थी संघ स्थापनाको १५ वर्षे अवधिमा संघको अभियान, संघका कार्यक्रमकै कारण कति मगर विद्यार्थीहरुले शिक्षाको पारिलो घाम ताप्न पाए त्यसको वैज्ञानिक र औपचारिक अनुसन्धान भएको छैन । संघले आयोजना गर्ने हरेकस्तरका कार्यक्रमहरुमा वक्ताहरुले शिक्षाको महत्वमाथि जोड दिँदै दिने प्रवचनहरुले समाजमा के कस्तो प्रभाव पारेको छ त्यसको पनि कुनै हिसाब गर्न सकिएको छैन । निश्चित कुरा चाहिँ के हो भने संघले अहिलेसम्म शैक्षिक जागरणका लागि अलग्गै अभियान सञ्चालन गरेको पाइएको छैन । एकपटक यस पंक्तिकार केन्द्रीय समितिमा रहँदा कुनै मगर बाहुल्य तर शैक्षिक चेतना कमजोर भएको क्षेत्रमा एक महिने शैक्षिक जागरण अभियान चलाउने छलफल भएको थियो तथापि त्यो छलफलमै सीमित भयो । त्यसपछि पनि त्यस्तो कुनै छलफल र अभियान चलाइएको थाहा छैन । यत्रो सञ्जाल भएको संगठनले कम्तीमा वर्षमा पाँचवटा मात्र यस्ता अभियानहरु चलाउने हो भने मगर जातिको शैक्षिकस्तर उकास्नमा महत्वपूर्ण योगदान पुग्ने थियो । संघलाई वर्षमा यस्ता अभियान दर्जनौँ स्थानमा चलाउन गाह्रो पर्ने पनि देखिादैन । आउने नेतृत्वको ध्यान त्यता पनि जाओस् ।
संगठन सुदृढीकरण
संघको शाखा संगठन कति छन्, कहाँ कहाँ छन् ? कुन समितिका जिम्मेवार नेता पदाधिकारी को को हुन् भन्ने प्राय थाहा पाउन सकिए पनि संघमा कति सदस्य छन् भन्ने प्रश्नको उत्तर न यसअघिका पदाधिकारीहरुले दिन सके न त वर्तमान पदाधिकारीहरुले नै सक्छन् । संगठनको ढाँचाकाँचा जस्ताको तस्तै रहन दिने हो भने अब आउने पदाधिकारीहरुको पनि अवस्था त्यस्तै हुन्छ । त्यसैले सदस्य बनाउने प्रक्रियालाई व्यवस्थित बनाउन सकियो भने यस प्रश्नको जवाफ पाउन सकिन्छ ।
संगठनलाई भावनात्मक कम र जिम्मेवारीयुक्त ज्यादा बनाउन सकियो भने धेरै काम स्वतः व्यवस्थित हुने छन् । यसका लागि संघले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ । एकैदिन वा एकैछिनको मिहिनेतले मानिसको सोचाइ बदलिने कुरो हुादैन तर एकै उद्देश्यका लागि फरकफरक कार्यक्रमहरु लगातार गरिरहेको अवस्थामा त्यसले परिणाम दिनेमा शंका पनि छैन । अहिले संघमा लागेका मगर विद्यार्थीहरु बढी भावनाले चलेका देखिन्छन् । हुन त संगठन भावना र विचारले नै चल्ने हो तर कार्यकर्ताहरुमा संघको उद्देश्यबारेमा जानकारी नै भएन भने भावनाको अर्थ के ? संघमा हिँड्नेहरुको क्रियाकलाप अवलोकन गर्दा उद्देश्यसंगत, उद्देश्यसम्मत देखिँदैनन् । त्यसैले मगर विद्यार्थीहरुलाई मगर विद्यार्थी संघमा लाग्न जिम्मेवार बनाउने अभियानलाई पनि दीर्घकालिन अभियानकै रुपमा लैजान जरुरी छ । जसले संघलाई संख्यात्मक मात्र होइन गुणात्मक विकास गराउन सहयोग गर्ने छ ।
राजनीतिक संगठनहरुका लागि त उच्चमाध्यमिक विद्यालयहरुमा संगठन निर्माण चुनौतीको पहाड बनेको छ भने मगर विद्यार्थी संघका लागि त सगरमाथा नहुने कुरै भएन । भएन त्यसमाथि गत महाधिवेसनबाट माध्यमिक विद्यालयहरुमा समेत संघ गठन गर्न सकिने वैधानिक व्यवस्था भएपछि ती शैक्षिक संस्थामा पनि संगठन विस्तार एउटा चुनौती नै छ । एक्काइसौँ शताब्दी पनि जातीय कुरा गर्ने ? जातीय कुरा गरेर साम्प्रदायिक सद्भाव विथोल्ने ? भन्नेजस्ता वचनका वाणहरु पहिले जस्तो तीखो गरी प्रहार नभए पनि अहिले पनि त्यस्ता वाण बर्साउने धनुर्धारीहरुको कमी छैन । तरल राजनीतिक अवस्थाका कारण जातीय समस्या समाधानका पक्ष र विपक्षमा उत्तिकै विचारका ज्वारभाटाहरु उठिरहेका छन् । तिनले मगर विद्यार्थी संघलाई संगठन गर्नमा सजिलो र असजिलो दुवै हुनसक्छ ।
मगर विद्यार्थी संघमा लाग्नु राजनीतिक विद्यार्थी संगठनमा लाग्नुजस्तो करियर प्लस हुने प्लेटर्फम बन्न सकेको छैन । मगर विद्यार्थी संघमा लागेर व्यक्तिको करियरमा कति सहयोग हुन सक्छ ? संघमा लागेकै कारण व्यक्ति कति सफल बन्न सक्छ ? संघमा गम्भीरतापूर्वक लाग्ने हरेक विद्यार्थीले यो प्रश्नको उत्तर खोज्ने गर्दछन् । हालसम्मको अनुभव हेर्दा संघमा लाग्ने विद्यार्थीहरुले आ-आफ्नो करियर त बनाएका छन् तर आफ्नै मिहिनेतले । संघले करियर खोजिदिने वा बनाइदिने भन्दा पनि व्यक्ति आफैाले खोजी गरेर व्यवस्थित हुने गरेका छन् । अब संघले कार्यकर्ताको करियर स्थापित हुने काम पनि गर्नु आवश्यक छ, संघप्रति आकर्षण जगाउनका लागि ।
आर्थिक सबलीकरण
संघमा यस पंक्तिकार विद्यमान छादा रचनात्मक क्रियाकलाप सम्बन्धी विभिन्न सोचाइहरु पदाधिकारी तथा सदस्यहरुबाट आउँथे । छलफल हुन्थे । कहिले मेची महाकाली साइकल यात्रा, कहिले मगर साँस्कृतिक महोत्सव वा मगर महोत्सवको । सबै सोचाइहरु नवीन थिए हाम्रा समाजका लागि । तर ती सबै कार्यान्वयन गर्नका लागि हामीसित आर्थिक शक्तिको जरुरी हुन्थ्यो । मगजमा अत्यन्त सुन्दर सपनाहरु सजाए पनि हातमा पैसा नहुँदा हाम्रा ती सपनाहरु गर्भमै तुहिए, वर्तमान नेतृत्वमा रहेका साथीहरुको सपना पनि त्यही मार्गमा होलान् । संघले अनिवार्य रुपमै गर्नुपर्ने स्थापना दिवस, मगर दिवस, लखन दिवस जस्ता कर्मकाण्ड बाहेक नयाँ कार्यक्रमहरु खासै दिन सकिएन । अहिले पनि त्यही अवस्थाबाट संघ गुज्रिरहेको देखिन्छ ।
यति ठूलो सञ्जाल भएको संगठनले चाह्यो भने आर्थिकरुपमा सुदृढ र सबल हुन त्यति गारो कुरै छैन । ठूलो जनशक्ति समस्या हैन, त्यो जनशक्तिलाई सदुपयोग गर्ने शक्ति र जुक्ति चाहिँ ठूलो कुरा हो । संगठित जनशक्तिलाई विभिन्न उपायबाट आर्थिक संकलन गर्ने काममा लगाउन सकिन्छ । खाँचो छ त केवल तिनीहरुलाई परिचालन गर्ने योजनाको । संगठनको उद्देश्यसाग मेल खाने विभिन्न योजना, आयोजना, कार्यक्रम, अभियानमा उनीहरुलाई संगठित रुपमा सहभागी गराएरै पनि आर्थिक उपार्जन गर्न सकिन्छ । सधैा चन्दा मागेर संगठन चलाउने भन्दा संघको आफ्नै दीर्घकालीन स्रोत बनाउनु आवश्यक मात्र हैन अत्यावश्यक नै भइसकेको छ ।
सफलता पनि छन्
अहिलेसम्म मगर विद्यार्थी संघले केही गर्न सकेन भनेर कसैले भन्छ भने त्यो पूरै पूर्वाग्रही विश्लेषण हुने छ । व्यापारिक कम्पनीमा जस्तो हरेक साल नाफा घाटा सामाजिक संगठनहरुमा पाउन कठिन हुन्छ । मगर हुँ भन्न पनि हिच्किचाउने मगर विद्यार्थीहरुलाई म मगर हुँ भनेर गर्वपूर्वक भन्नसक्ने, संघमा लाग्नसक्ने बनाउनु नै मगर विद्यार्थी संघको सबैभन्दा ठूलो सफलता हो । मगर विद्यार्थीको नेतृत्व क्षमता विकास गर्न संघले खेलेको महत्वपूर्ण भूमिकाकै कारण आज धेरै राजनीतिक विद्यार्थी संघहरुमा मगर विद्यार्थीहरुले पनि अवसर पाएका छन् । शैक्षिक सत्ताका रुपमा रहेको स्वतन्त्र विद्यार्थी युनियनमा चुनिने अवसर पाएका छन् । मगर विद्यार्थीहरुको यस्तो उपस्थितिका कारण मगर विद्यार्थीका समस्याहरु अरु समुदायलाई जानकारी हुन सजिलो भएको छ ।
शैक्षिक सत्तामात्र होइन राज्यसत्ताका विभिन्न अंगहरु संसद, लोकसेवा, प्रहरी, सैनिक तथा अन्य अवसरहरुमा समानुपातिक सहभागिता र आरक्षणको व्यवस्था हुनुको पछाडि मगर विद्यार्थी संघको पनि प्रत्यक्ष अप्रत्यक्ष भूमिका छ भन्दा अन्यथा नहोला । यस्तै, सिंगो मगर जातिको जातीय संस्था नेपाल मगर संघलाई आवश्यक कार्यकर्ता उत्पादन गर्न, मगर संघका निर्णयहरु कार्यान्वयनमा सहयोग गर्न तथा कतिपय अवस्थामा खबरदारी गर्न पनि विद्यार्थी संघ सफल भएको छ । यस्ता परोक्ष अप्रत्यक्ष उपलब्धिका फेहरिस्त नै छन् ।
र, अन्त्यमा
जबजब मगर विद्यार्थी संघको महाधिवेसन आउँछ अवसरवादीहरुको चलखेल शुरु हुन्छ । यस पंक्तिकारको संलग्नता रहेका सबै महाधिवेसनहरुमा ती भाइरसहरुले राम्रैसित प्रभाव जमाउन खोजेका थिए कतिपयमा उनीहरु केही हदसम्म सफल भए, कतिपयमा धूलो चाटेर फर्के । अरुबेला संघमा नाकमुख नदेखाउनेहरु, संघका विभिन्न समितिका विभिन्न जिम्मेवारी पदमा रहेर पनि माखो नमार्नेहरु महाधिवेसनको तिथि घोषणा भयो कि गणेश दौड गर्न थाल्छन् । महाधिवेसनलाई कसरी भाँड्ने, कसरी पद हत्याउने, काम गर्नेहरुलाई कसरी छिर्के हान्ने दाउ हेर्न थाल्छन् । संघका कार्यकर्तामाझ कुनै प्रभाव नभएपछि ती कामचोर, पदलोलुपहरु अमुक राजनीतिक पार्टीको झण्डा समात्न थाल्छन् । संघको नेतृत्व चयनमा प्रभाव पार्ने व्यक्तित्वहरुको वरिपरि चाकडी गर्न थाल्छन् । तिनीहरुलाई संघको कुनै मायामोह हुँदैन, जसरी हुन्छ महाधिवेसनको तिथि लम्ब्याएर होस् वा संघलाई ऋणको कुवामा डुवाएर होस् पद ओगटेरै छाड्न खोज्छन् । भलै कुनै काकताली लागेर पद पाए पनि चुनिएको भोलिपल्टदेखि उनीहरुको नाकमुख औाशी पूर्णेमा देख्न पाए त ठूलो कुरा, पूरै अर्को महाधिवेसन कुर्नुपर्छ । अर्को महाधिवेसनमा उनीहरुलाई नै बढुवा चाहिन्छ मानौ संगठन तिनको बाउको विर्ता हो । सिन्को नभाँची संघमा पेन्सन पकाउन चाहन्छन् तिनीहरु ।
विगतमा दलीय भागवण्डाको नाममा होस् वा क्षेत्रीय सन्तुलनको बहानामा, सक्रिय र संगठनप्रति समर्पित कार्यकर्ताहरुले पाखा लाग्नुपरेको पनि छ । संघको विरुद्धमा लाग्ने, महाधिवेसन भाँड्छु, संघलाई टुक्र्याउँछु भन्नेहरु, तोकिएको जिम्मेवारी पूरा नगर्नेहरु, संगठनको दामासाहीमा परेकाहरु, लेवी नबुझाएकाहरु, संगठनको आर्थिक हिनामिना गरेकाहरु मात्र होइन मगर जातिभित्रै नपरेकाहरुले पनि संघबाट कारबाही होइन पुरस्कारस्वरुप विभिन्न पद पड्काएका छन् । संघभित्र वैचारिक विविधता, क्षेत्रीय सन्तुलन, लैङ्गिक सन्तुलन आवश्यक छ तर त्यसको पनि छनौटको आधार कार्यसम्पादन नै हुनुपर्छ । काम नगर्नेहरुलाई संघमा रातो कार्पेट बिछ्याएर स्वागत गर्नु भनेको इमान्दार कार्यकर्तालाई गलहत्याएर संघबाट निकाल्नु मात्र हो ।
संघभित्र यति वफादार, इमान्दार र लगनशील कार्यकर्ता छन् भन्ने संघमा लाग्ने जो सुकैलाई थाहा छ । पंक्तिकार नेतृत्वमा रहादा हेटौँडामा २०६३ सालमा भएको राष्ट्रिय विस्तारित भेलाको तयारीका क्रममा पत्रिका बिछ्याएर चिउरा, मुरही र दालमोठ खाएर भेला सफल बनाउने साथीहरु, २०६० सालमा नेपालगञ्जमा भएको विस्तारित भेलामा खर्च घटाउन फुकीफुकी तौलीतौली योजना बनाउने साथीहरु सम्झँदा अहिले पनि उनीहरुलाई सलाम गर्न मन लाग्छ । यी त केही उदाहरण मात्र हुन्, भोकै, आफ्नो सबै काम छोडेर, नसुतेरै संघको काम गर्ने साथीहरु देशभरि नै छन् । छैटौँ महाधिवेसनले नेतृत्व चयन गर्दा ती साथीहरुको शीर ननिहुरियोस् ।
विद्यार्थी संघ भए पनि संघको उद्देश्य भनेको मगर जातिको समग्र मुक्ति नै हो । मगर जातिलाई भेदभाव, शोषण, उत्पीडनबाट अलग गर्ने नै हो । यसका लागि मगर जातिबीच सर्वस्वीकार्य जुक्ति भनेको मगर बाहुल्य र मगरहरुको आदिभूमिमा मगरात राज्य स्थापना तथा अन्य स्थानमा जातीय जनसंख्याको आधारमा राज्यका सबै अंगमा मगर जातिको समानुपातिक प्रतिनिधित्व नै हो । यो आममत स्वीकार गर्न नसक्नेहरु, जातीय आधारमा राज्य बन्न हुँदैन भनेर सिंगो जनजातिमाथि थप शोषण गर्न चाहनेका मतियारहरुले विद्यार्थी संघको वैचारिक नेतृत्व हाँक्न सक्दै सक्दैनन् । मगरातका बारेमा आफैा अस्पष्ट र अनिच्छुक रहनेहरुलाई नेतृत्वमा ल्याउनु भनेको घरमै सर्पलाई दुध खुवाएर पाल्नु मात्र हुन्छ । छैँटौँ महाधिवेसनका प्रतिनिधिहरुलाई चेतना भया ।
नेपाल मगर विद्यार्थी संघको मुखपत्र मगर आवाजमा प्रकाशित

Monday, November 30, 2009

उपराष्ट्रपति नहुँदा कर्मचारीलाई न्यास्रो

मर्यादाक्रममा दोस्रो स्थानमा रहेका उपराष्ट्रपतिको कार्यालय अहिले 'रानोबिनाको माहुरीको घार' जस्तै बनेको छ ।

तीन महिनादेखि देशमा उपराष्ट्रपति निष्त्रिmय अवस्थामा रहे पनि ३० कर्मचारीले उपराष्ट्रपतिको कार्यालय चलाइरहेका छन् । जसको नाममा कार्यालय स्थापना भएको हो, उही नभएको अवस्थालाई कर्मचारीहरूले पनि खल्लो मानेका छन् ।

अरू -उपराष्ट्रपति बहाल रहेको) बेला सुरक्षाकर्मी र भेट्न आउनेहरूको लर्को लाग्ने बहादुरभवन अहिले चकमन्न छ । सुरक्षाकर्मीको स्टर्किङको तीखो साइरन अब बिर्सिन थालिसकिएको छ । ढोकामा दुई नेपाली सेनाका सैनिकले तीन/तीन घन्टामा बदली हुँदै पहरा दिइरहेका छन् ।

ढोका छिचोल्नासाथ टेकिने जनसम्पर्क कक्षमा अहिले न भेट्न आउनेहरूको ताँती छ, न त चेकजाँच गर्ने सुरक्षाकर्मीहरू नै छन्, न छन् सोधपुछ गर्ने, नाम टिप्ने कर्मचारीहरू नै । मात्र रित्ता कुर्सीहरू आगन्तुक कुरेर बसिरहेकाजस्ता भेटिन्छन् ।

दुई तला माथि रहेको उपराष्ट्रपतिको कार्यकक्षबाहिर केही कर्मचारी उपराष्ट्रपति नभए पनि 'ड्युटी' गरिरहेका छन् । "हामी त कर्मचारी, कार्यालयमा जेजस्तो काम परे पनि गर्छौं", सचिवालयका कर्मचारी हरिबहादुर कार्कीले भन्नुभयो ।

परमानन्द झाको उपराष्ट्रपति पद निष्त्रिmय भए पनि उपराष्ट्रपति कार्यालयबाहिर 'परमानन्द झा, उपराष्ट्रपति' अङ्कित नामपाटी भने अझै छ । सायद उहाँकै प्रतीक्षामा हो कि ? "हामीले राखेका पनि होइनौँ, त्यसैले हटाउने कुरा पनि भएन । राज्यले राखिदियो, राज्यले नै हटाउनू भन्नु पर्‍यो", कार्कीले प्रस्टीकरण दिनुभयो ।

सरसफाइका लागि हरेक दिन बिराएर उपराष्ट्रपति कार्यकक्ष कर्मचारीहरूले सफा गर्ने गरेका छन् । "खोलेन भने त बाफिइहाल्छ नि", कार्कीले भन्नुभयो । उहाँका अनुसार एक/दुई दिन बिराएर कोठा खोल्ने, सफा गर्ने, पङ्खा चलाउने गरिएको छ । "हिजोमात्र खोलेको", उहाँले थप्नुभयो ।

भदौ १५ गतेदेखि कार्यालय आउन छाडेका झाले यसबीच बेलाबेलामा फोन गरी कार्यालयको खबर के छ भनी कर्मचारीलाई सोध्ने गर्नुभएको छ । केही दिनअघि जनकपुरको विवाहपञ्चमी मेलाका लागि ˆयाक्समार्फत आएको निमन्त्रणापत्र पठाइदिन झाले फोन गर्नुभएको थियो । उपराष्ट्रपतिले चढ्ने किया र ल्यान्डक्रुजर गाडी अहिले बहादुरभवन प्राङ्गणमा रहेको ग्यारेजमा 'आराम' गरिरहेका छन् । दैनिक उपयोग नभएर होला, गाडीमाथि धूलोको सहत बढ्दो छ । चालकहरूले बेलाबेलामा गाडी स्टार्ट र सफा गर्छन् ।

कार्यालयका सचिव नाथुप्रसाद चौधरी उपराष्ट्रपति हुँदा कार्यालयको रौनक नै अर्को हुने बताउनुहुन्छ । "उहाँ -उपराष्ट्रपति) हुँदा कहिले नेताहरू, कहिले मन्त्रीहरू, कहिले उहाँका जिल्लाबासी, कहिले बालबालिका आउँथे, कार्यालयको रौनकै अर्को हुन्थ्यो", चौधरीले भन्नुभयो ।

उपराष्ट्रपति नहुँदा पनि दैनिक कार्यसम्पादनमा कर्मचारीहरूलाई कुनै असजिलो नभएको र काम पनि नरोकिएको उहाँले प्रस्ट्याउनुभयो ।

"उपराष्ट्रपतिज्यू र उपराष्ट्रपतिको कार्यालयबीच दैनिक कामकाज नै रोकिने गरी 'टाई अप' नभएकाले कार्यालयको कार्य सञ्चालनमा कुनै बाधा परेको छैन", कार्यालयका कानुन उपसचिव सुशील कोइरालाले भन्नुभयो, "तैपनि मनोवैज्ञानिक प्रभाव त परिहाल्छ, अभिभावक हुनु र नहुनुजस्तो ।"

Saturday, October 31, 2009

मनु पनि बेलायत गइछन्

मनु ठाडा पनि बेलायत गइछन् नि । नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य नरेन्द्र थापाले सुनाउँदा पत्याइनँ । बेलायत गएकी हैनन होला । गएकी नै भए पनि घुम्न गएकी होलिन् । मैले तर्क गरेँ । सँगै रहेका साथी भोजविक्रम बुढामगरले पनि पत्याएनन् ।

करिब सात वर्षअघि धनकुटामा पहिलोपटक भेट हुँदा मनु ठाडा मगर विद्यार्थी संघको जिल्ला अध्यक्ष थिइन् । बीएड सकेर काठमाडौँ आउने तयारीसहित संघको नेतृत्व पनि हस्तान्तरण गर्दै थिइन् । एक सम्भावनायुक्त नेतृत्व थियो उनको । त्यसैले काठमाडौँ आउनु भएपछि मगर विद्यार्थी संघको केन्द्रीय समितिमा बस्न मैले अनुरोध पनि गरेको थिएँ भलै उनले स्वीकार गरिनन् । पढाइलाई नै अघि बढाउने उनको योजना थियो । योजना मुताबिक नै फटाफट डिग्री सकिन् पनि । यसबीचमा एसएनभी र मार्टिन चौतारीमा स्वतन्त्र अनुसन्धानका काम पनि गर्न भ्याइन् ।

धनकुटाबाट निस्के हाम्रो विचार साप्ताहिककी सम्पादक पनि रहेकी उनी गत सात मेरै अध्यक्षतामा गठित मगर आमसन्चारकर्मी समाजकी कोषाध्यक्ष पनि थिइन् । पत्रपत्रिकामा उनका शोधमूलक खोजमूलक लेखहरु छापिन थालेका थिए । मगर समुदायका कार्यक्रमहरुमा बौद्धिक टिप्पणी पनि गर्न थालेकी थिइन् । मगर समुदायले उदाउँदो बौद्धिक व्यक्तित्वको सूचीमा उनलाई राख्न थालेको थियो ।

मार्टिन चौतारीमा शोधमा संलग्न मित्र झकेन्द्र घर्तीमगरले मनु आइटी पढ्न स्टुडेन्ट भिसामा बेलायत गएको पुस्टि गरेपछि म हतप्रभ भएँ । बेलायत पुगेका विद्यार्थीको बेहाल भएका समाचारका अक्षरहरु पनि घुम्न थाले । सबैलाई त्यस्तो त नहोला तर किन किन एउटा सम्भावनाको पलायन ठानेँ । हुन त विदेशमा ज्ञान आर्जन गरेर देशमै काम गर्न पनि सकिन्छ गरेका पनि छन् । तर किन किन मनु बेलायत गएको समय अलि मिलेन कि जस्तो लागिरह्यो । अरु केही वर्ष नेपालमा उनले लिइरहेको गति निरन्तर गरेको भए उनलाई समाजलाई र देशलाई राम्रो हुन्थ्यो ।

यस्ता कति सम्भावनाहरुको निर्यात भइरहेको छ यसदेशबाट दिनहुँ । आखिर यसमा जिम्मेवार शासन चलाउनेहरु त हुँदैहुन् हामी आफैँ पनि छौँ कि । जे होस् मनुलाई उज्वल भविस्यको शुभकामना ।।।।।।।

त्रिशुलमा उनिएको म

आज आइतबार । मेरो घरमा माइला दाजुको विवाह छ ।बहिनी हिजो रात्री बस चढेर घर पुगिसकी । म भने पुल्चोकको डेरामा तीन तलामाथि बसेको छु त्रिशुलमा उनिएको ध्वजासरह भएर ।

बहराइनबाट एक महिना लामो विदामा नेपाल आएका मेरा माइला दाजु मेरा दाजु मात्र होइनन् एक असल साथी पनि हुन् । उमेरले मभन्दा दुई वर्ष जेठा भए पनि कक्षा आठदेखि हामी पढाइमा पनि सँगै थियौँ । जेठा दाजुको माओवादी जनयुद्धमा लाग्दालाग्दै निधन भएपछि चौपट घरलाई हामी दुईभाइ भएर भरथेग गर्दै आएका छौँ एक अर्कासित सल्लाह गरेरै । एकले अर्काको विचार र योजनाको सम्मान गरेरै ।

पछि साथी बनेका विभिन्न साथीहरुको जन्ती र भोज खान नचुकेको म आफ्नै दाजुको विवाहमा भने गयल भएको छु त्यो पनि आफ्नै मनोगत र आत्मगत कारणहरुले । आफ्नै फोस्रो आडम्बर र मनोमानीले । घरप्रतिको परिवारप्रतिको दाजुप्रतिको र समाजप्रतिको दायित्व बहन गर्न सकिनँ भन्ने गम्भीर पश्चातापले पिरोलिइरहेको छु । दुनियाँलाई लेखेर बोलेर भाषणा गरेर अर्ती उपदेश दिने म आफ्नै दम्भ अहङकार घमन्डका कारण छियाछिया भएको छु ।

पश्चातापको आहालमा चोबलिइरहकै बेला अचानक आमाको फोन आउँछ मावली बाजे सिकिस्त बिरामी हुनुहुन्छ केही दिनदेखि । आवाज बन्द भएको छ रे । अनुहारको एक भाग बाहिरै देखिने गरी कालो भएको छ रे । मामालाई फोन गर्दिएस् है । आमाले भन्नुभयो । २०४२ सालका ताप्लेजुङ जिल्ला पन्चायतका जनपक्षीय उपसभापति महेन्द्र थापामगर मेरा जिबा कहिल्यै आफ्ना कुरामा विचलित थिएनन् । आफ्ना छोरा छोरीसित पनि उनले सम्झौता गरेनन् चाहे उनीहरु घरबाट निस्कीएरै किन नजाउन् । यस्ता कडा मान्छे पनि बिराम लागेपछि थलिएछन् गलेछन् ।

तीन छोरा तीन छोरीका पिता मेरा जिबा उपचार नपाएरै अन्तिम दिन गनिरहेका छन् । धन हुनेको मन छैन मन हुनेको धन छैन । आफ्नै सन्तानहरु उनको अन्तिम संस्कार गर्न पर्खिरहेका जस्ता लाग्छन् । धिक्कार छ ती सन्तानहरुलाई । र मजस्ता नालायक नातिहरुलाई जस्ले केही वर्षदेखि थलिएका जिबाको उपचार गराउन सकेन ।

आजै तनहुँ जानु थियो दिदीको जेठानी दिदी बित्नुभएको १३ दिने शुद्ध्याइँमा । घर परिवार सबैको कर थियो दाजुको विहेमा नआउने भए त्यता भए पनि जा न त । तर मलाई किन हो किन मन छैन । मन वेचैन छ । मैले आफ्नो सानो जिम्मेवारी पनि पूरा गर्न सकिरहेको छैन । परिवार समाज नातागोताबाट पर पर भागिरहेको आफ्नै छायाँ देख्छु ।

साथीभाइको फोन आउँछ उठाउन मन छैन । अनलाइन भेटिन्छन् साथीभाइ आफन्तहरु । कुरा गर्न मन छैन । कुरा गर्न खोज्नेहरुलाई छिटोछिटो टाटो लगाउँछु । मीना होटलकी मीना दिदी आउँछिन् भाइ भात खाने होइन । म आफैँ अवाक छु अमन छु । नेपालिपत्रबाट विज्ञान शर्माजी मेल पठाउनुहुन्छ स्टोरी आजै पठाइदिनुभए हुन्थ्यो । जवाफ दिन मन छैन। नियमित काममा जान खुट्टा लागेको छैन । ढोका बन्द गरेर सुत्न मन लागेको छ । सबैबाट केही क्षणलाइ भए पनि अलग भएर । के म दुनियाँबाट भाग्न सकुँला ।

Sunday, October 11, 2009

जनजाति आन्दोलनलाई एकधक्का

लोकतान्त्रिक आन्दोलन २०६२ ६३ पछि सबैभन्दा बढी फस्टाएको आन्दोलन मधेसी आन्दोलन थियो भने त्यसपछिको पंक्तिमा पर्न आउँछ जनजाति आन्दोलन । अध्येताहरुले नेपालमा जनजातिहरुको संगठित विद्रोहको डेढसय वर्ष लामो इतिहास कोट्याए पनि उल्लेख्य उपलब्धि दिलाउन भने २०६२६३ कै आन्दोलन कुर्नुपर्यो । फलतः जनताले आफ्ना लागि आफैँले बनाउने भनिएको संविधान बनाउने ऐतिहासिक संविधानसभामा एकतिहाई जनजाति प्रतिनिधिको उपस्थिति छ ।
संविधानसभामा मौजुद जनजाति सभासद्ले जनजातिका पक्षमा संविधान बनाउन के कस्ता भूमिका निर्वाह गर्लान् त्यो त हेर्न बाँकी नै छ । जनजाति सभासद्हरुको साझा फोरम बने पनि अहिले क्रियाशील नरहँदा आशा गर्ने ठाउँ त्यति छैन तर विभिन्न जातिले संविधानसभामा प्रतिनिधित्व गर्ने सभासद्हरु समेतको सहभागितामा खडा गरेका संयुक्त मोर्चाहरु सक्रिय रहिरहेका कारण निराश बन्न पर्ने स्थिति पनि छैन ।
लखन थापाको संगठित विद्रोहसित जोडिने जनजाति आन्दोलनका उपलब्धि एकतिहाई सभासद् निर्वाचित हुनु मात्र होइन । त्यो त एउटा कडी मात्र हो । सरकारले सबै क्षेत्रमा जनजातिका लागि विशेष व्यवस्था गर्नु, राजनीतिक दल लगायत सबै संरचनामा जनजातिको प्रतिनिधित्व गराउन थालिनु निश्चय नै जनजाति आन्दोलनका जग बन्ने प्रक्रिया हो । जनजाति आन्दोलन स्थापित हुँदै जानु हो । भलै यो आन्दोलन जादूको छडीजस्तो निमेषभरमै वा १० महिनामा मानिस जन्मिने शास्वत जस्तै निश्चित समयपछि परिपक्व भएर भएको चाहिँ होइन । यस अवस्थासम्म आइपुग्नुका पछि विभिन्न पाटा र पक्षहरु छन् । ती मध्ये एक महत्वपूर्ण पक्ष हो गोरखा भूतपूर्व सैनिक समुदायको लगानी ।
नेपालमा जनजाति आन्दोलनको थालनी मगर, गुरुंग, राई, लिम्बूबाट भएको पाइन्छ । यी चार जातले गोरखा पल्टनमा पनि नाम कमाएका छन् । पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध लगायतका विभिन्न विभिषिकामा भाग लिएका, अंग्रेजको संगत गरेका, भारतको स्वतन्त्रता आन्दोलन देखेका, मलाया, ब्रुनाइ, इण्डोनेसिया लगायतका क्षेत्रमा आन्दोलन देखेका र भोगेका गोरखा सैनिकहरुले नेपालमा २००७ को प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिए । आन्दोलन सफल भएपछि यिनीहरुले विभिन्न जातिय संस्थाहरुको स्थापना गरे । भलै त्यतिबेला यी जातीय संगठनहरुको उद्देश्य राजनीतिक थिएन । त्यसो त आन्दोलनको उद्देश्य भनेको समयले निर्धारण गर्छ ।
सात सालको परिवर्तनपछि समाजसुधारका नाममा खुलेका यी जातिय संगठनहरुको नेतृत्वमा पूर्व गोरखा सैनिकहरु नै थिए । गोरखाहरुमा त्यतिबेला दिभागमा चेतना थियो, हातमा पैसा थियो । लाहुरेहरुले भनेको गाउँलेले खान्थे । त्यसो त लाहुरेलाई ऋण पनि जति भन्यो त्यति दिने गाउँघरमा चलन नै थियो । नेपाल मगर संघको संस्थापक संगठन नेपाल लांघाली परिवार संघका संस्थापक अध्यक्ष डा. हर्षबहादुर बुडादेखि शुरु यो क्रम केही वर्षअघिसम्म जारी थियो । मगर संघमै क्याप्टेन यमबहादुर बुडाथोकी, किरात राई यायोख्यामा कूलबहादुर राई, सुनुवार समाजमा मेजर मानबहादुर सुनुवार, तमु बौद्ध सेवा समितिमा तोरणबहादुर गुरुंग त यसका केही प्रतिनिधि पात्र मात्र हुन् जसले जातीय संस्थाको नेतृत्व गरे । अहिले पनि लाहुर जाने संस्कार बोकेका प्राय जातिका जातीय संगठनमा गोरखा भूपूहरुको प्रतिनिधित्व छ ।
त्यसो त गोरखा भर्तीको अर्को पक्ष गोरखा आन्दोलनका लागि उर्बर भूमि र नेता तयार गर्नु पनि हो । बाउ लाहुरे छादा पल्टनमै हुर्केर शिक्षा दीक्षा पाएकाहरु धेरैले जनजाति आन्दोलनको बागडोर सम्हाले र अहिले पनि सम्हाल्दै छन् । जनजाति आन्दोलनका सर्वमान्य व्यक्तित्व स्वर्गीय हर्क गुरुंग हुन् कि प्राध्यापक सन्तबहादुर गुरुंग, सुरेश आलेमगर हुन् कि डा. ओम गुरुंग सबैको व्यक्तित्वको जरा गोरखा भर्तीसितै गएर गाँसिन्छ । त्यसो त गोरखा भर्तीले नेपालको आदिवासी जनजाति आन्दोलनलाई पछाडि पारेको आरोप पनि लगाइन्छ । विगतमा लाखौँ र हज्जारौँको संख्यामा भर्ती लगिँदा त्यसो भएको थियो भन्ने आधार पनि बलियो होला तर वर्तमानमा दुईसयभन्दा कम मात्र लग्ने गरिएको अवस्थामा त्यो तर्क उचित देखिँदैन ।
एनजीओ आइएनजीओ आउनुभन्दा अगाडि नेपालको जनजाति आन्दोलनको आर्थिक स्रोत लाहुरे समुदाय नै थियो । जुनसुकै कार्यक्रम गर्न चाहिले मामुली खर्चदेखि जातीय संगठनको घर बनाउनेसम्मको खर्चको दुईतिहाईभन्दा बढी स्रोत गोरखा भूतपूर्व सैनिकहरु नै हुन् । अहिले पो एनजीओ आइएनजीओले पैसा खन्याए र ? नत्र त आदिवासी जनजातिहरु सरकारी जागिरमा थिएनन् । बन्द व्यापार थिएन । जातीय संस्थाको दराज, कुर्सि किन्दिनेदेखि विधान, पर्चा छपाइदिने गोरखा भूतपूर्वहरु नै थिए ।
बेलायत सरकारले गत अप्रिल २९ मा सबै गोरखा भूतपूर्व सैनिकहरुलाई बेलायतको आवासीय अधिकार दिने घोषणा गरेपछि त्यसको असर जनजाति आन्दोलनमा प्रत्यक्ष र परोक्ष रुपमा पर्ने देखिन्छ । एक त जातीय संस्थाको बागडोर सम्हालिरहेका, विभन्न पदमा रहेर काम गरिरहेका गोरखा भूतपूर्व सैनिकहरु प्रवासिँदा प्रत्यक्ष असर नै पर्नेछ । अर्कोतर्फ उनीहरुबाट प्राप्त हुने आर्थिक सहायता लगायतले जनजाति आन्दोलनलाई फेरि कमजोर बनाउने छ । बेलायत सरकारको नीतिबाट लाभ हासिल गर्ने करिब डेढलाख गोरखा र उनका परिवारजन्मध्ये दुईतिहाई आदिवासी जनजाति समुदायभित्रबाट पर्नेछन् ।
तथापि बेलायत सरकारको नयाँ नीतिबाट जनजाति आन्दोलनमा पर्ने असरका बारेमा नेपाल आदिवासी जनजाति महासंघले गम्भीर रुपमा सोच्न जरुरी ठानेको देखिँदैन । शायद महासंघका वर्तमान अध्यक्ष लाहुर जाने संस्कार भएका जातिका नभएकाले हुनसक्छ । बेलैमा नसोच्ने हो भने जनजाति आन्दोलनलाई एकाएक झट्का पर्नसक्छ । त्यसो त गोरखा समुदायको पलायनले जनजाति आन्दोलन मात्र होइन सिंगो देशलाई आर्थिक र सामाजिक रुपमा गम्भीर असरहरु पर्ने पनि निश्चित छ । त्यतातर्फ पनि सबैले सोचून ।
अमेरिकाको नेपाली खबरमा प्रकाशित

कस्तो होला नेपालको नयाँ पहिचान ?


संविधानसभाको संवैधानिक समितिले दशैाअघि राष्ट्रिय चिन्हहरुमाथि बहस शुरु गरेपछि विभिन्न पाटा र पक्षहरुबाट विभिन्न खाले प्रतिक्रियाहरु व्यक्त भइरहेका छन् । जनमतबाट अनुमोदित भएर नयाँ संविधान निर्माणको अधिकार पाएको संविधानसभाले शुरु गरेको यस बहसमा सकारात्मकभन्दा नकारात्मक पक्ष हाबी भइरहेको छ । राष्ट्रिय चिन्हरु आकाशका चन्द्रसूर्य जस्तै अपरिवर्तनीय र अटल हुन् भनेर बहसको मुखमा पट्टी बाँध्न खोजिँदैछ । अर्कोतिर संविधानसभाले गर्नुपर्ने काम नगरेर औचित्य नै नभएको विषयमा ध्यान केन्द्रीत गरेको आरोप पनि लगाउन थालिएको छ ।
१० वर्षको सशस्त्र युद्ध, १९ दिने लोकतान्त्रिक आन्दोलन, आदिवासी जनजाति र मधेस आन्दोलनको उपलब्धिस्वरुप देशमा संविधानसभा प्राप्त भएको छ । विगतमा मुठ्ठीभर केही व्यक्तिहरुले जिम्मा लिएर बनाइने र राजाहरुबाट जनतालाई संविधान बक्स हुने गरेकोमा अहिले जननिर्वाचित प्रतिनिधिको हातबाट बल्ल लेख्न अवसर मिलेको छ । अर्को अर्थमा जनताले आफ्नो संविधान आफैँ लेख्ने अवसर हो यो । एकजुगमा एक दिन आउने संज्ञा दिइएको संविधानसभाले अहिले सोचे अनुरुप काम गर्न नसके पनि नयाँ संविधान लेखनको आफ्नो मूल लक्ष्यलाई तिलाञ्जलि दिइसकेको छैन । ढिलै सही नयाँ संविधान यात्रामा गति अगाडि बढाइरहेकै छ । विभिन्न समितिहरुले आफ्ना प्रतिवेदनहरु संविधानसभासमक्ष बुझाइरहेका छन्, कति छलफलका चरणमा छन् । संविधानसभालाई नयाँ संविधानमा राखिने जस्तोसुकै र जुनसुकै प्रावधानहरुका बारेमा छलफल चलाउन र निर्णय गर्न पूर्ण अधिकार छ । यसअघिका संविधानहरुमा जस्तो दरबार, राजा, राजपरिवार अहिले संविधानभन्दा माथि छैनन् सर्वाधिकार जनतामा छ । कुनै पनि विषयमा बहस छलफल नचलाउने भन्नेजस्ता अधिकारबन्देज संविधानसभालाई छैन । तर संविधानसभाले आफ्नो छलफल अगाडि बढाइरहँदा किन सकारात्मक विचारहरु आउन सकिरहेका छैनन् ?
नेपालका राष्ट्रिय चिन्हरु, राष्ट्रिय झण्डा, राष्ट्रिय जनावर, राष्ट्रिय पंक्षी, राष्ट्रिय रङ, राष्ट्रिय फूलले परिवर्तित अवस्थामा नेपालको प्रतिनिधित्व गर्न सकेका छन् कि छैनन् भन्ने विषय संवैधानिक समितिले अहिले उठाएको बहसको चूरो हो । नेपालले २०११ सालदेखि चन्द्र सूर्य अंकित तीन चोसे झण्डालाई राष्ट्रिय झण्डा, गाईलाई राष्ट्रिय जनावर, डाँफेलाई राष्ट्रिय पंक्षी, सिम्रिकलाई राष्ट्रिय रंग र लालीगुराँसलाई राष्ट्रिय फूल मान्दै आएको छ । यी चिन्हहरुको चयन कुनै लोकतान्त्रिक विधि वा जनताको जनमतबाट भन्दा पनि तत्कालीन राजा महेन्द्रको हुकुमबाट भएको इतिहास साक्षी छ । तीस वर्षे पञ्चायत र त्यसपछि पनि अपरिवर्तित रहेका ती चिन्हहरुप्रति लामो समयसम्म अपनाइएका कारण सर्वसाधारणको केही ध्यान खिचिएको हुनसक्छ तर जनमानसले आफ्नो मनमस्तिस्कबाट हटाउनै नसक्नेगरी अमिट छाप बनेर बसेका भने अवश्यै होइनन् । यदि त्यस्तो हुन्थ्यो भने अहिले ती चिन्हहरुलाई परिवर्तन गर्ने कि भनेर कसले हिम्मत गर्थ्यो ? आखिर जनता चिढ्याउन त कुन राजनीतिक पार्टी चाहन्छ र ?
यी चिन्हहरुलाई राष्ट्रिय चिन्ह बनाउन विगतमा जसले सल्लाह र दबाब दिएका थिए त्यही समुदाय र शक्ति अहिले राष्ट्रिय चिन्ह परिवर्तनको बहसलाई निरर्थक र बेतुकको बनाउन खोज्दैछ । आफूलाई संस्कृतिविद्, इतिहासविद्, राष्ट्रप्रेमी भनाउन रुचाउनेहरु जो पशुपतिमा भारतीय पुजारी हुनुपर्छ भनेर चिच्याउँछन् तिनीहरु नै अहिले यस बहसलाई राष्ट्रिय चिन्ह फेर्नु भनेको बाउआमा फेर्नुसरह हो’ देश टुक्रयाउने खेल हो’ भनेर कुर्लिरहेका छन् । २३८ वर्षदेखि जग हालेर प्रत्यक्ष शासनसत्तामा बसेको राजतन्त्रको समाप्तिमा मुलुकका केही प्रक्रियामा गडबडी आउनसक्ने भनेर आवाज निकाल्न नसक्नेहरुले करिब ५० यता कागजमा स्थापित आवाजविहीन र निर्जीव यी चिन्हहरु फेर्दा देशै विखण्डन हुने तर्क गर्नु पनि आफैामा हाँस्यास्पद छ ।
वास्तवमा यी चिन्हहरुको बहसलाई दुई तरिकाले उठाइएको देखिन्छ । पहिलो कारण हो राष्ट्रिय चिन्ह परिवर्तनको बहस एकीकृत नेकपा -माओवादी) बाट थालनी गरिनु । संविधानसभा निर्वाचनबाट सबैभन्दा ठूलो राजनीतिक दल भए पछि नै माओवादीप्रति अन्य प्रतिस्पर्धी राजनीतिक दलहरु आत्तिएका छन् र एकोहोरो खनिएका छन् । माओवादीको एजेण्डा पारित भएमा आफूहरु जनताबाट विस्थापित हुने डरले अन्य राजनीतिक पार्टीहरु बरु पुराना कुरालाई हुबहु र यथावत राख्न तयार छन् तर केही कुरा पनि परिवर्तन गर्न चाहँदैनन् । चाहे त्यो पशुपतिमा नयाँ पुजारी नियुक्तिको कुरा होस् या न्यायाधीशहरुको नियुक्तिको कुरा होस् । त्यसकारण राष्ट्रिय चिन्हहरु परिवर्तनको विषय माओवादीले उठाएकै कारण यो बहसलाई नकारात्मक कोणबाट हेरिँदैछ । र, चर्को राष्ट्रवादको पगरी लगाइदिएर चर्काउन खोजिँदैछ । काँग्रेस, एमालेले यो विषय उठाएको भए पनि यो विषयलाई बहसभन्दा विवाद बनाइँदैनथ्यो ।
दोस्रो, नेपालको परिवर्तनतर्फको यात्रालाई विश्वभरका हिन्दू अतिवादीहरुले रोक्न खोजिरहेका छन् चाहे त्यो पशुपतिमा नेपाली पुजारी राख्ने विषयमा होस् या धर्मनिरपेक्ष मुलुक घोषणा गर्ने क्रममा होस् । धर्मनिरपेक्ष मुलुक घोषणा गर्नबाट रोक्न उनीहरु असफल भए पनि पशुपतिमा भारतीय पुजारी राखिराख्न भने उनीहरु सफल भएका छन् । शायद जनआन्दोलन लगत्तै धर्मनिरपेक्ष मुलुक घोषणा नगरिएको भए अहिले नेपाललाई धर्मनिरपेक्ष बनाउन सम्भव थिएन र, जनआन्दोलन लगत्तै पशुपतिमा नेपाली पुजारी राख्ने निर्णय गरिएको भए त्यसलाई कसैले रोक्नसक्ने थिएन । जनआन्दोलनका बेला सिथिल हुने र अहिले समय बित्दै जाँदा संगठित हुने त्यो शक्तिको सम्बन्ध प्रत्यक्षरुपमा दरबारसित गाँसिएको छ । तिनै दरबारियाहरु अहिले अनेक वेशमा विरोधी श्वर लिएर प्रकट भइरहेका छन् । राजनीतिक दलहरुबीचको बेमेललाई हतियार बनाएर फाइदा लुट्न पनि सक्षम भइरहेका छन् ।
देशभित्रका राष्ट्रवादी हिन्दूहरु अन्यायमा परिरहेका छन् र विदेशीको इशारामा चल्ने कथित हिन्दूहरुको नै बोलबाला बढिरहेको छ । अहिले राष्ट्रिय चिन्हको बहसमा पनि तिनै विदेशी हिन्दूहरु अगाडि आएका छन् । नेपाललाई हिन्दू अधिराज्य बनाउन नसके पनि राष्ट्रिय चिन्हहरुमा हिन्दूत्व कायम राख्न खोजिरहेका छन् । राष्ट्रिय चिन्हले कुनै न कुनैरुपमा हिन्दू धर्मको पहिचान बोकिरहोस् भन्ने चाहन्छन् । राष्ट्रिय चिन्हले विश्वसामू मुलुकको एकता र पहिचान बोक्नुपर्छ । तर हिन्दू अतिवादीहरु यी चिन्हले केवल हिन्दू धर्मको पहिचान बोके पुग्छ भन्ठान्छन् । होइन भने मुलुक धर्म निरपेक्ष भइसकेपछि गाईलाई राष्ट्रिय जनावर तोकिइरहनुपर्ने कारण के छ ? सिम्रिकलाई राष्ट्रिय रङ मानिरहनुपर्ने कारण के छ ? दुधालु, गुनिलो मात्र कारणले गाईलाई राष्ट्रिय जनावर मान्ने हो भने गाईभन्दा गुनिलो र धेरै दुध दिने धेरै जनावरहरु छन् तिनीहरुलाई मानिनुपर्ने होइन र ?
विश्वका प्राय सबै देशले आफ्नो देशमा पाइने दुर्लभ जनावरलाई राष्ट्रिय जनावर, दुर्लभ पन्छीलाई राष्ट्रिय पन्छी, दुर्लभ बनस्पतिलाई राष्ट्रिय फूल मान्ने गरेका छन् । प्राकृतिक विविधताले भरिपूर्ण हाम्रो देश नेपालमा पनि अन्यत्र नपाइने धेरै यस्ता विशेषताहरु छन् जसले नेपाललाई विश्वसामू चिनाइरहेका छन् । हामीसित विश्वमा दुर्लभ एकसिँगे गैँडा छ, नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर छ, वनस्पतिहरु फूलहरु त नेपालमा मात्र पाइने कति छन् कति ? यदि ती मौलिक र दुर्लभ हाम्रा सम्पत्तिलाई राष्ट्रिय चिन्ह बनाउन सकियो भने नेपालको पहिचान त हुने नै भयो ती सम्पत्तिको संरक्षण र सम्बर्द्धन पनि हुनसक्ने थियो । दुर्लभ वस्तुहरुलाई नियाल्न, अध्ययन गर्न चाहनेहरुका कारण नेपालको आर्थिक उपार्जनमा पनि सहयोग नै मिल्ने थियो । तर विरोध सुन्नपर्छ भनेर मनमा लागेको कुरा पनि व्यक्त गर्न नसक्ने प्रवृत्तिका नेपालीहरुले नयाँ राष्ट्रिय पहिचानलाई स्थापित गराउन सक्लान् ?
मलेसियाको नेपाली खबरमा प्रकाशित