Thursday, January 26, 2012

समुन्नत समाजका लागि पत्रकारिता

नरेश खपाङ्गीमगर
नेपाली पत्रकारिताको इतिहास धेरै पुरानो छैन । करिब एकसय वर्ष अघिदेखि नेपालमा पत्रकारिताको अभ्यास हुँदै आएको अभिलेखहरुले पुष्टि गर्ने गरेका छन् । पत्रकारिताको स्वरुपमा नहोला, नेपाली समाजमा सन्देश आदानप्रदान गर्ने माध्यम भने यसअघि हुँदै नभएका होइनन् । प्रविधिको बाक्लो उपस्थितिका वावजूद पनि कतिपय त्यस्ता माध्यमहरु आजपर्यन्त जीवित छन् । पश्चिमतिर कटुवाल कराउने, पूर्वतिर मान्छे मर्दा शंख पूmक्ने जस्ता कार्य आज पनि चलिरहेकै छन् ।
वि.सं. १९५३ मा निक्लिएको सुधासागरलाई पहिलो नेपाली पत्रिका मान्ने गरिएको छ । यद्यपि यसको मुद्रित अंक देख्न पाइएको छैन । नामको आधारले यसलाई धेरैले समाचारपत्र नभई साहित्यिक पत्रिकाको अनुमान गर्ने गरेका छन् । अखबारको हिसाबले चाहिँ वि.सं १९५८ देखि छापिन थालेको गोरखापत्र नै पहिलो नेपाली अखबार मानिन्छ । जो अहिले पनि निरन्तर निस्किरहेको छ । तत्कालीन राणाशासक देवशमशेरको उदारपनामा शुरु भएको गोरखापत्र पछि जनस्तरबाट अन्य अखबार शुरु हुने वातावरण भने वि.सं.२००० को दशकमा फैलिएको राणाविरोधी क्रान्तिले बनाएको थियो । त्यसबेला सम्ममा साहित्यिक र राजनीतिक विषयवस्तु समेटेका दर्जनौँ साप्ताहिक पत्रिका नेपाल र प्रवास (भारत) बाट निक्लन शुरु भइसकेका थिए । वि.सं. २००७ मा प्राप्त प्रजातन्त्रले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई प्रत्याभूत गरेपछि नेपाली पत्रकारितालाई जग बसाल्ने अवसर दियो । वि.सं. २००७ चैत २० गतेदेखि औपचारिक रुपमा नेपालमा रेडियो प्रसारण शुरु भयो । वि.सं. २०१७ देखि २०४६ सम्मको पञ्चायती कालखण्डमा व्यावसाियक पत्रकारिता अघि बढ्न नसके पनि, स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने परिस्थिति नभए पनि पत्रकारिता ठप्प रोकिएन । यसैकाल खण्डमा २०४१ माघ १७ गते नेपालमा टेलिभिजनको श्रीगणेश भयो ।
२०४६ को प्रजातन्त्र पुनर्बहालीपछि नेपाली पत्रकारिता द्रुत गतिमा अघि बढिरहेको छ । अखबार, रेडियो, टेलिजिभन समानान्तर रुपमा खुल्दै छन् । अझ इन्टरनेटको सहज उपलब्धताले अनलाइनहरु दिनहुँ थपिँदा छन् । सूचना विभागको पछिल्लो (२०६७ चैत मसान्तसम्म) तथ्यांक अनुसार नेपालभित्र ४२० दैनिक, २३ अर्धसाप्ताहिक, २ हजार १७४ साप्ताहिक, ३९९ पाक्षिक, १ हजार ९३४ मासिक, २३४ द्वैमासिक, ५१० त्रैमासिक, २६ चौमासिक, ७० अर्धवार्षिक र ८३ वार्षिक गरी ५ हजार ८७३ पत्रिका दर्ता भएका छन् । त्यस्तै, सूचना तथा सञ्चार मन्त्रालयका अनुसार २०६८ भदौ १२ गते सम्ममा ३९४ वटा रेडियोले सञ्चालनका लागि अनुमति पाएका छन् भने त्यसमध्ये ३३४ वटाले प्रसारण शुरु गरिसकेका छन् । सोही अवधिसम्ममा ३२ वटा टेलिभिजनले सञ्चालनका लागि अनुमति पाइसकेका छन् । यसरी नेपाली पत्रकारिता अहिले धेरै अघि बढिसकेको छ । हजारौँलाई रोजगारी दिने र अर्बौँको कारोबार गर्ने उद्योगमा परिणत भइसकेको छ ।
पत्रकारिता क्षेत्रमा संलग्न व्यक्तिहरुलाई एकतावद्ध बनाई उनीहरुको पेशागत हकहितको रक्षा, व्यावसायिक दक्षता अभिवृद्धि गर्ने प्रयास विगत पाँचदशकदेखि हुँदै आएको छ । वि.सं.२००७ सालको परिवर्तनपश्चात २००८ सालमा सत्यनारायण श्रेष्ठको संयोजकत्वमा पत्रकारहरु संगठित हुने प्रयास गरेपनि त्यसले निरन्तरता पाएन । त्यसपछि २०१२ चैत १६ गते कृष्णप्रसाद भट्टराई (पूर्व प्रधानमन्त्री) को अध्यक्षतामा नेपाल पत्रकार संघ गठन भयो । भट्टराई नै अहिले अस्तित्वमा रहेको पत्रकार महासंघको संस्थापक अध्यक्ष मानिन्छन् । पञ्चायतकालको उतारचढाव पत्रकार संघमा परेपनि यसले आपूmलाई अविछिन्न रुपमा अगाडि बढाउँदै आएको छ । २०४६ को परिवर्तनपश्चात पत्रकारिता क्षेत्रको बहुआयाम देखेर होला पत्रकार संघले आपूmलाई २०५३ असार ११ गतेदेखि महासंघमा परिणत गरेको छ । अहिले महासंघमा ८ हजार १३ जना पत्रकार सदस्य छन् । नेपालभित्र सशक्त पेशागत संगठनका रुपमा आपूmलाई उभ्याएको महासंघ इन्टरनेशनल फेडरेसन अफ जर्नलिस्ट (आइएफजे) र इन्टरनेशल फ्रिडम अफ एक्स्प्रेसन एक्सचेञ्ज (आएफइएक्स)सित पनि आवद्ध छ ।
देशभित्र रोजगारीको सीमित अवसरले उकुसमुकुस भएका युवाशक्तिलाई नेपालको विभिन्न मुलुकसित नेपालको श्रम सम्झौताले विदेशिन प्रश्रय दियो । विदेशमा अध्ययन गर्न विगतभन्दा सहज वातावरणले पनि युवाहरु विभिन्न देशमा पुगे । रहँदाबस्दा निश्चित मापदण्ड पूरा गरेपछि त्यहीँको स्थायी बासिन्दा बने । युके लगायत कतिपय देशमा नेपालीहरुलाई स्थायी बसोबासको अवसर समेत मिल्यो । एक अनौपचारिक सर्भेअनुसार अहिले सार्क मुलुकबाहिर करिब ३५ लाख नेपाली बसोबास गर्दछन् । नयाँ ठाउँमा नेपाली समुदायको विकास र विस्तारसँगै उनीहरुमाझ सञ्चारको पनि आवश्यकता प¥यो । सन्देश एकबाट अर्कोमा पु¥याउने माध्यम टड्कारो भयो । त्यसैले विदेशमा पनि नेपाली पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन पत्रिकाहरुको विकास हुन गयो । साथसाथै ती सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुले पनि पेशागत संगठनको अभाव महसूस गर्न थाले । यसरी विदेशमा कार्यरत नेपाली पत्रकारहरुको संगठन बन्न गयो । विदेशमा कति पत्रकार छन् एकिन तथ्याङ्क नेपाल पत्रकार महासंघसित नभए पनि हालसम्ममा अमेरिका, जापान, हङकङ, कोरिया, युएइ, कतार, मलेसिया लगायतमा पत्रकारहरु संगठित भइसकेका छन् ।
करिब एक लाख बढी नेपालीको बसोबास रहेको, चारवटा साप्ताहिक, एक टेलिभिजन, दुई एफएम रेडियो, दर्जनौँ अनलाइन र अन्य प्रकाशनहरु रहेको बेलायतमा पनि पत्रकारहरुले संगठित हुने प्रयास नगरेका होइनन् । सन् २००९ को फेब्रुअरी २१ मा युकेमा कार्यरत पत्रकारहरुको भेलाले शशी पौडेलको अध्यक्षतामा एक आयोजक समिति गठन गरेको थियो । सो समितिलाई पछि अप्रिलमा बसेको बैठले नेपाली सञ्चारकर्मी संघ, युके नामकरण गरेको थियो । सन् २०१० जुलाई १८ मा बसेको पत्रकारहरुको अर्को भेलाले नविन पोखरेलको अध्यक्षतामा नयाँ तदर्थ समिति गठन ग¥यो । सोही समितिले नेपाल पत्रकार महासंघसित समन्वय गरी बेलायत शाखाको रुपमा मान्यता प्राप्त गरेको छ र महासंघका केन्द्रीय सभापति शिव गाउँलेको उपस्थितिमा यही जनवरी १४ मा पहिलो अधिवेसन सम्पन्न गर्न गइरहेको छ । स्थापनाको छोटै अवधिमा पनि शाखामा अहिलेसम्ममा ३७ पत्रकारहरु आवद्ध भइसकेका छन् ।
सन् १९६० मा स्थापना भएको यति एसोसिएसनको मुखपत्र यतिपत्रलाई बेलायतको पहिलो नेपाली पत्रिका मानिने गरिएको छ । तथापि यो मुखपत्र थियो । यसै दशकमा (सन् १९६९) बीबीसीले लण्डनमा नेपाली सेवा शुरु गरेको थियो । व्यावसायिक पत्रिकाका रुपमा सन् १९९० मा प्रकाशन गरिएको सगरमाथा टाइम्स, सन् २००३ मा शुरु भएको गोरखा मिरर र लण्डन पोस्टले निरन्तरता पाउन नसके पनि २००४ मा शुरु भएको नेपाली सन्देश, २००५ मा शुरु भएको युरोपको नेपालीपत्र, २००८ देखि शुरु एभरेस्ट टाइम्स र २००९ को नयाँ सन्देश भने हालसम्म निरन्तर छन् । नेपाली टिभी, ब्रिटिश सेना मातहतको बीएफबीएस गोरखा रेडियो, बीजीडब्लुएस एफएम तथा अनलाइन पोर्टलहरुले विद्युतीयमाध्यमतर्फ निरन्तरता दिइरहेका छन् । बीबीसी नेपाली सेवाबाहेकको युकेको नेपाली पत्रकारिताको स्थिति व्यावसायिक हिसाबले सन्तोषजनक छैन । नेपालमा जस्तो पत्रकारहरुमाथि शारीरिक दुव्र्यवहार नभए पनि समाचार छापेकै कारण मौखिक धम्की, मुद्दा मामिलाको झमेला भने युकेमा पनि पत्रकार र पत्रिकाले भोग्नु परिरहेकै छ । छापिएको सामग्रीमाथि चित्त नबुझे अपनाउनुपर्ने प्रक्रिया नेपाली समाजलाई बुझाउन सकिएको छैन । अझ त्यो भन्दा ठूलो कुरा त बेलायतको नेपाली समाजलाई नेपाली पत्रकारिताको महत्व बुझाउन सकिएको छैन ।
समाजका लागि पत्रकारिता आवश्यकता हो वा पत्रकारिताका लागि समाज ? प्रष्ट हुन सकेको छैन । समाजमा पत्रकारिताको दीर्घकालिन महत्व र प्रभावका बारेमा समाजसित अन्तत्र्रिmया भएकै छैन । पत्रकारहरुबीच पनि सैद्धान्तिक, व्यावहारिक ज्ञान, सीन र क्षमताको प्रशस्तै अभाव देखिन्छ । त्यही अभावको उपज उनीहरुमा आत्मविश्वासको पनि कमी देखिन्छ । प्रख्यात उद्यमी बारेन बफेटले भनेका छन्, जति पत्रकार काबिल बन्छ त्यति नै समाज राम्रो बन्छ । त्यसैले पत्रकार महासंघ, युके शाखाको अबको ध्येय यहाँ कार्यरत पत्रकारहरुलाई व्यावसायिक सीपले स्पात र जिम्मेवार कालिगढ बनाउने तथा यहाँको नेपाली समाजसित पत्रकारिताको महत्वका बारेमा ‘कन्भिन्स’ गर्ने हुनुपर्दछ । यदि त्यसो भयो भने शाखाले पहिलो अधिवेसनका लागि तय गरेको समुन्नत नेपाली समाजका लागि जिम्मेवार पत्रकारिता नारा पनि सार्थक हुनेछ ।
(लेखमा व्यक्त विचार लेखकका निजी हुन्)

गोल्ड मेडल थाप्न थाल चोर्नुप¥यो


...ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल.. भन्ने कवितांश कवि लेखनाथ पौड्यालले बोलमाया गुरुङकै लागि लेखिदिएजस्तो लाग्छ । करिब ४० वर्षअघि घरको ‘सपोर्ट’ बिनै रुढीवादी समाजको पर्दा च्यात्दै नृत्यमा नेपाल टप गर्ने उनको जीवन दन्त्यकथा जस्तै लाग्छ ।
त्यसो त उनलाई पनि थाहा छैन कतिबेर कसरी नृत्यको रस बस्यो भनेर । सुवेदार उदवर गुरुङकी कान्छी छोरी उनले चारवर्षको उमेरदेखि पोखरामा बस्न पाइन् । कन्या हाइस्कुलमा पढ्न पाएकी उनलाई यति याद छ आफू ५÷१० वर्षको हुँदा टोलटोलमा राजाको जन्मोत्सव मनाइन्थ्यो । त्यसमा स्कुलबाट उत्कृष्ट नृत्य लैजाँदा उनी पर्ने गर्थिन् । र, त्यतिबेलादेखि नै उनले नाचेको परिवारले मन नपराएको पनि उनलाई हेक्का छ । भन्ने गर्थे रे, ‘छोरी मान्छे नाच्न हुन्न । कुलको नाक काटिन्छ ।’
काठमाडौँबाट होलिडे मनाउन होला राजारानी पोखरा गइरहन्थे । मनोरञ्जनका लागि उनीहरुलाई कन्या स्कुलको नाच नभइ नहुने । बोलमाया बिना अपूरो हुन्थ्यो कन्या स्कुलको नाच । “अहिले कसरी चर्चित हुने भन्ने छ तर त्यतिखेर चर्चित हुनु पनि इज्जतै गुमाउनु जस्तो थियो” हाल युकेमा बसोबासरत् उनले भनिन् । बाउआमाको पिटाइ सहँदै भए पनि उनले नृत्यलाई छोडिनन् । कक्षा ८ पढ्दा २०२७ सालमा उनले जिल्ला, अञ्चल र राष्ट्रियस्तरमै नृत्य प्रतियोगितामा पहिलो स्थान जमाइन् । राष्ट्रिय प्रतियोगितामा भाग लिन जान उनलाई घरबाट अनुमति दिइएन, बाटो खर्च पनि दिइएन । जहाँ इच्छा त्यहाँ उपाय । उनी पनि के कम घरबाट आठवटा काँसको थाल चोरिन् र बेचेर बाटो खर्च बनाइन् । उनी भन्छिन्, “गोल्ड मेडल जितेर आउँदा पनि घरबाट स्याबासी पाइएन ।”
स्वर्गीय राजा महेन्द्र, वीरेन्द्र, उनीहरुका आमा रत्न र उनीहरुका पाहुना उनका नृत्यका दर्शक हुन्थे । २०२६ सालतिर होला तत्कालीन राजकुमार वीरेन्द्रको निम्तामा नेपाल आएका १२ देशका राजकुमारहरुलाई नृत्य देखाउँदा बेलायतका राजकुमार चाल्र्स पनि दर्शक भएको उनलाई सम्झना छ । त्यो बेला वीरेन्द्रले ‘ताल प¥यो न्यूरो न्यूरो’ भन्ने गीत गाएको उनी बिर्सदिनन् । २०२७ सालमा रत्नलाई पेटमा चोट लागेको बेला नारायणहिटी दरबारबाटै बोलावट भएर नाच्न गएको स्मरण गर्दै उनी भन्छिन्, “कलाकारको सानोमा सानो र माथि माथिसम्म पहुँच हुँदोरै’छ ।”
नृत्यमा नेपाल टप भएपछि उनलाई कलाकारितामै लाग्न मन थियो । फिल्महरुबाट अफर नआएको पनि होइन । तर परिवार भइदियो काँडेतार । तत्कालिन शाही नेपाल वायुसेवा निगम (आरएनएसी) बाट एअर होस्टेस बन्न अनुरोध पनि आएको थियो रे । प्लेन चढ्न डर लाग्ने भएकाले उनले त्यो पनि लत्याइन् । बाउआमालाई थामथुम पारेर केही समय उनले प्रज्ञा प्रतिष्ठानमा अस्थायी जागिर पनि खाइन् । तर त्यहाँ पनि ‘राम्रो होइन हाम्रो मान्छे’लाई राखिएपछि उनी विरक्तिइन् । बाउआमाको जोड हुर्केकी छोरीको विहे गराउनमा छँदै थियो । उनलाई पनि लाग्यो बरु विहे गरेपछि पो कलाकारितामा स्वतन्त्र भएर लाग्न पाइन्छ कि ?
तावाबाट उम्केको माछो भूङ्ग्रोमा । लाहुरे श्रीमान् पनि परे कलाकारिता मन नपराउने । विवाह भएपछि उनलाई निम्तो आयो यूरोप भ्रमणमा जाने । विश्वका ९६ देशका कलाकारले आफ्नो प्रतिभा देखाउने कार्यक्रममा उनले पनि भाग लिनु थियो । तर श्रीमान्ले त्रिभुवन विमानस्थलमा निवेदन दिएछन् मेरी श्रीमती मेरो सहमतिबेगर विदेश जान लागेकाले रोकिपाउँ भनेर । उनले श्रीमानलाई सम्झाइन् र सन् १९७३ मा जर्मन, फ्रान्स, बेल्जियम, स्पेन, युगोस्लाभिया (तत्कालीन), युकेमा नृत्य देखाउँदै तीनमहिना बिताइन् । एभरेस्ट कल्चर ग्रुपले समन्वय गरेको सो टोलीमा २८ नेपाली कलाकार थिए । सन् १९७४ पनि उनी युरोप आइन् ।
बेल्जियमको दरबारमा नृत्य देखाएपछि रानीले सोधिन् रे–कहाँ सिक्यौ यति राम्रो नृत्य ? हुन पनि उनले अहिलेसम्म कहीँ नृत्य सिकेकी छैनन् । जो जति जानेकी छिन् त्यसलाई भगवान र प्रकृतिको देन भन्छिन् । “अहिलेजस्तो स्कुलमा डान्स टिचरहरु हुँदैन थिए, गणेश शेरचन (पूर्व मन्त्री) हरुले स्कुलमा कहिलेकाहीँ ताल सिकाउनुहुन्थ्यो । राष्ट्रिय प्रतियोगितामा भाग लिन जाँदा चेतन कार्कीले केही निर्देशन दिनुभएको थियो । वास्तवमा मेरो गुरु कोही छैन ।” उनले भनिन् ।
खासमा उनको सपना थियो डान्स स्कुल खोल्ने । श्रीमानले मन नपराएपछि त्यो सपना त्यत्तिकै तुहियो । तर उनी श्रीमान र घर (माइती) लाई मात्र दोष दिने पक्षमा छैनन् । उनीहरुभन्दा पनि त्यतिबेलाको समाजलाई दोषी देख्छिन् उनी । एकपटक गण्डकी अञ्चलका तत्कालीन अञ्चलाधीश गमबहादुर गुरुङले गाउँफर्क अभियानका क्रममा नृत्य देखाउन उनलाई स्याङ्जा लगेका थिए । कार्यक्रममा उनको नाम बोलाउन लागिएको थियो । उनी आफ्नो पालो पर्खँदै ब्याक स्टेजमा थिइन् ठीक त्यहीबेला पछाडिबाट बाउआमाले तानेर गाडीमा राखी पोखरा ल्याएको उनी कहिल्यै भुल्दिनन् । “कुटाइ खाने, पिटाइले खुट्टा सुन्निने त कति भयो कति” उनले थपिन्, “अहिलेजस्तो समाज भए म धेरै माथि जानसक्थेँ” अझ उनलाई लाग्छ, “मजस्ता र मभन्दा प्रतिभाशाली कति कलाकार त्यत्तिकै मरे होलान् म पो आँट गरेर गोल्ड मेडलिस्टसम्म भएँ ।”
राजारानीले कतिलाई तिम्रो चाहना के छ भनेर सोधेको, पढाएको पनि नसुनिएको÷नपढिएको होइन । त्यसैले उनलाई सोधियो, ‘तपाईलाई चाहिँ राजपरिवारले तिम्रो के इच्छा छ भनेर सोधेनन् ?’ “खासमा हामी स्वतन्त्र कलाकार हुन सकेनौँ । सिडियो, आर्मी, पुलिसका चिफहरुले आफ्नो पूmली बढाउन मात्र हामीलाई प्रयोग गरे । हामीलाई केही थाहा थिएन । नाच देखाउन पाए पुग्यो ।”
आफ्नो सोचाइको जीवन अधकल्चो भएपनि उनी अहिले अरु कलाकारलाई प्रोत्साहन दिन लागिपरेकी छिन् । पोखराको हिमाली साँस्कृतिक परिवार, पोखरेली युवा सँस्कृति संघ, झलकमान गन्धर्व ट्रष्ट, सेती गंगा सत्यसाई केन्द्र, साइ विद्याश्रम, नदीपुरमा आवद्ध रहेर उनले कलाकारहरुलाई उत्पे्ररणा दिइरहेकी छिन् ।
अहिलेको पुस्तालाई आफ्नो कला खुलेर राख्न, मिडियाहरु धेरै भएकोले चर्चित हुने मौका पाएकोमा भाग्यमानी ठान्ने उनी कलाकारहरु अनुशासित चाहिँ आफ्नै पालामा भएको ठान्छिन् । “अहिले छिटो नाम र दाम कमाउने भन्ने छ अनि राजनीति पनि” उनले भनिन् ।
पहिले आफ्नो प्रतिभाको कदर नभए पनि अहिले नयाँपुस्ताले आफूलाई कतिपय कार्यक्रममा प्रमुख अतिथि बनाएर बोलाउँदा पुरानो दिन सम्झेर बोल्दाबोल्दै भक्कानिँदै रोएको सुनाउन पनि उनले छुटाइनन् । एकै क्षेत्र भए पनि गायक, संगीतकार अमर हुने तर नृत्यकार गुमनाम हुनुको कारण खोल्दै उनले भनिन्, “नृत्यकारको जीवन लामो छैन गालामा रगत होउञ्जेल मात्र हो उमेर गएपछि कसैले स्टेजमा बोलाउँदैन ।”

Sunday, April 24, 2011

अस्ताए गोरखाहरुका धरोहर

बिहीबार बिहान ३ बजेको हुँदो हो । म निन्द्रामै छु । फोन भ्यार्रभ्यार्र बज्यो । खासै वास्ता गरिनँ । लगालगत तीनचोटी बजेपछि पक्कै कसैले अभर परेर गरेको हुनुपर्छ भन्ठानेर फोन उठाएँ । ुनरेशजी म अर्जुन बोलेकोु भन्नासाथ फोन काटियो । ुको अर्जुनु ठम्याउन नपाउँदै फेरि फोन बज्यो । ुनरेशजी म अर्जुन यहाँ गाउँमा बाबा बित्नुभयो त्यही खबर गरुँ भनेर फोन गरेकोु उताबाट आवाज आयो । आँखा खुलेपनि अर्धनिन्द्रामै रहेको मेरो दिमागले सोच्यो पंक्तिकारकै पिताजी बित्नुभएछ । त्यसैले पुर्नपुष्टिका लागि फेरि सोधेँ ुको बोल्नुभयो रे ु ुम अर्जुन चिन्नुभएन ु आफू प्रष्ट नभए पनि वक्ताले तीनपटक आफू अर्जुन भएको बताइसकेको थियो । अझै सोचिरहेछु - पिताजी मेरै बित्नुभएको हो । बुढ्यौलीबाहेक बिरामी भएको खबरसमेत नपाएकोले मैले सोधेँ ूबिमार चाहिँ के थियो ू उताबाट उत्तर आयो ूखास केही थिएन । यहाँ तिब्ल्याङमा आएर बित्नुभयो । पूजा लगाउने इच्छा थियो त्यो पनि लगायौँ पाहुनाहरुसित पनि मज्जाले बोल्नुभयो । खाना पनि राम्रै खानुभयो । राति अचानक असजिलो भयो र बित्नुभयो ।ू
ुतिब्ल्याङु भनेपछि बल्ल प्रष्ट भएँ । मेरा बा होइनरहेछन् । किनकि गाउँ वरपर तिब्ल्याङ कतै छैन । ुउहाँको नाममा स्कुल बन्दैछु भन्ने वक्ताको भनाइपछि चाहिँ खुलस्तै भएँ ुमेरा बा बितेका होइन रहेछन् । मेरा गरिब पिताजीको नाममा कहाँ स्कुल बन्नु ु अनि पो थाहा भो हामी सबैका अभिभावक भिसी तुलबहादुर पुन बित्नुभएको रहेछ । अनि उहाँका जेठा छोरा मित्र अर्जुन पुनले मलाई खबर गर्नुभएको रहेछ । समाचारका लागि आवश्यक सबै सूचना टिपेपछि अर्जुनले मसित बिदा मागे र अनुरोध गरे सबैतिर खबर गरिदिनुहोला ।
मोवाइलबाट विभिन्न तप्काका महानुभावहरुलाई सबैभन्दा पहिला एसएमएस गरेँ । नेपालमा एबीसी टिभीका चिफ रिपोर्टर मित्र डण्ड गुरुङलाई फोन गरेर ब्रेकिङ न्युज हाल्न भनेँ । त्यसपछि कम्प्युटर खोलेर एक ग्लास तातोपानी घटघट पारेँ । नेपालमा नागरिकन्युज र अनलाइन खबरका साथीहरु अनलाइन रोहछन् समाचार हाल्दिनु है भन्ने अनुरोध गरेँ । प्रवासमा अनलाइन चलाउने विश्वासदिप तिगेला र गोरखा भूतपूर्व सैनिक संघगेसो मा काम गर्दाका मित्र प्रकाश रानाले पनि समाचार हालिदिए । नभन्दै नेपालमा सबैतिर चासो हुन थाल्यो अनलाइनमा आएका साथीहरुले पनि फेसबुकमा स्टाटस राख्न थाले । लाइक गर्न थाले । एसएमएस पठाएका युकेका मित्रहरुले पनि फोन गर्न थाले केहीले एसएमएस गर्न थाले म भने सबैलाई एकाबिहानै दुःखको खबर सुनाउँदै ब्यूँझाएर बिहान साढे ६ सुतेँ ।

Wednesday, August 18, 2010

बेलायतमा नेपाली रोग

नेपालमा हजारौ कार्यक्रममा सहभागी भएर लोद्रो भएको ज्यानलाइ युकेमा सप्ताहन्तमा आक्कल झुक्कल हुने कार्यक्रममा सरिक हुनु कुनै नौलो थिएन । नौलो थियो त परिवेश, कार्यक्रमका तौरतरिका र सहभागी हुने मानिसहरु । कार्यक्रम कसरी चलाइन्छ नै यस पंतिकारका लागि नवीन विषय थियो र रुचिको विषय पनि । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा बेलायत आएको मौका पारी पार्टी आवद्ध स्थानीय संस्था राष्ट्रवादी प्रजातान्त्रिक नेपाली मञ्चले आफू काम गर्ने भवनमै कार्यक्रम राखेपछि कानोले आखो खोजेजस्तै जस्तै भइगो । थापाले व्यक्त गर्ने विचारसित कुनै लिनुदिनु थिएन । स्वार्थ थियो त सिफ कार्यक्रमका पाटोपक्षका बारेमा ।

ओपचारिक निम्तो पत्र पनि नछपाइएको, सञ्चारमाध्यममा विज्ञापन पनि नछपाइएको सो कार्यक्रम साढे दुर्इबजे शुरु हुने भनिएको रहेछ । बेलायती महारानीबाट ओबीइ पाइसकेका प्रवुद्ध व्यक्तित्व डा. राघवप्रसाद धिताल करिब साढे एकबजे नै कार्यक्रम स्थल आइसकेका थिए । अरु सहभागीहरु पनि साढे दुइबजेसम्ममा भित्रिइसकेका थिए । बाकी रहे प्रमुख अतिथि थापा । उनी पनि श्रीमती र छोरीसहित पौने तीन बजे नै कार्यक्रमस्थलमा आए । त्यसपछि कार्यक्रम सञ्चालकले ट्राफिक जामका कारण कार्यक्रमका सभापति आउन ढिला भएकाले केहीबेर प्रतीक्षा गर्न अनुरोध गरे । झट्ट दिमागमा नेपालका चित्र घुमे । प्रमुख अतिथि नआएका कारण निर्धारित समयभन्दा ढिला भएका कार्यक्रम त नेपालमा ९० प्रतिशतभन्दा बढी हुन्थे । टेलिभिजन नआएका कारण, पत्रकार नआएका कारण पनि कति कार्यक्रम ढिला भएका हुन्थे । तर बेलायतमा अलि अनौठो रोग रहेछ । कार्यक्रम प्रमुअ अतिथि, पत्रकार, सहभागीका कारण होइन सभापतिका कारण रोकिदो रहेछ ।

नेपालमा प्रमुख अतिथिका लागि टट्टाउञ्जेल प्रतीक्षा गर्दा पनि नआएपछि अधैर्य सहभागी र सञ्चारकर्मीलाइ आयोजकहरुले थम्थम्याउथे उहा (प्रमुख अतिथि) ट्राफिक जाममा फस्नुभएको छ । आउनासाथ हाम्रो कार्यक्रम शुरु भइहाल्छ ।' एक/दुइ/तीन गर्दा गर्दा चार/पाच घण्टासम्म पनि कार्यक्रम शुरु हुदैनथ्यो । कुनै कुनै कार्यक्रम प्रमुख अतिथि नआउने भएपछि रद्द पनि हुन्थ्यो । आयोजकहरु मरेतुल्य भएर पत्रकार र सहभागीसित क्षमा माग्थे । लाग्थ्यो तिनीहरुमा प्राण हुन्नथ्यो । बेलायतमा पनि कार्यक्रमका सभापति ट्राफिक जाममा फसेको बहाना सुनेपछि नेपालको झल्झली याद आउदैथ्यो । सहभागी एकजनाले प्वाक्कै भनिहाले ( नेपालको ट्राफिक जाम बेलायत सरेछ । निर्धारित समयभन्दा एकघण्टा पछि कार्यक्रम शुरु भएपछि अर्का सहभागीले थपिहाले नेपालको रोग युकेमा पनि आइपुगेछ ।

विश्व विख्यात बिर्टिश टाइमलाइ पनि नेपालीहरुले नेपालीकरण गरिसकेछन् कि कसो ?

Thursday, August 12, 2010

छूचो पेशा

एकबारको जुनीमा मरेर लैजानु के छ र ? सबैसँग मीठो बोली, हाँसखेली जीवन बिताउन कसलार्इ पो मन नलाग्ला र ? सकेसम्म शत्रु नकमाउँ मलामी कम्ती नहोस् भन्ने कसले पो नठान्दो होला र ? तर सबै कुरा सोचेजस्तो नहुँदोरहेछ ।

जानेर नजानेर, बुझेर लहडले । पत्रकारिता पेशामा छिरिहालियो । दाम कम नाम बढी भएको यो पेशामा करिब एकदशक बिताएपछि सिंहावलोकन (सिंहले चार पाइला हिँडेपछि पछाडि फर्केर हेर्छ रे) गर्दा धेरै शत्रु कमाएको र धेरै मलामी गुमाएको निस्कर्षमा पुगेको छु ।

घटना सोमबारको मात्र हो । गोरखाहरुका अठार वर्ष नाघेका केटाकेटीले बेलायतको भिसा नपाएको बारेमा समाचार गर्दै थिएँ । गोरखाहरुका बारेमा क्रियाशील संस्थाहरुले यो समस्याको निप्टाराका लागि के गरिरहेका छन् भन्ने कोट (भनाइ) लिनका लागि गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को अल्डरसटस्थित कार्यालयमा फोन गरेँ । पहिले दुइपटक भेटिसकेका, एकाधपटक फोनमा पनि कुराकानी भइसकेका शाही थरका सज्जनले फोन उठाए । खासमा उनी संस्थाको आधिकारिक भनाइ दिने आधिकारिक स्रोत थिएनन् । आधिकारिक व्यक्ति एकैछिन बाहिर गएका रहेछन्

समय उपयोग गर्दै मैले उनी आफैँ सो समस्याबाट पीडित हुन् कि भनी जिज्ञासा राखेँ । 'शाहीजी तपाइका छोराछोरीले युकेको भिसा पाए ?' मैले सोँधे । उनले नपाएको बताए । मेरो अर्को प्रश्न 'कति कति वर्षका छन् छोराछोरीहरु ?' भन्ने बित्तकिै उनी बम्किए 'अर्काको छोरा छोरी कति कति वर्षका छन् भन्दै सोध्ने तपाइ को ? मैले गेसोको योगदानका कारण्ा बेलायत आउन पाएको हुँ । मेरा छोरा छोरीको केस पनि गेसोले हेरिरहेको छ । गेसोबाहेक कसैसित म केही बताउँदिनँ । पत्रिकाले नानाथरी लेख्दिन्छन्.....' । उनले अर्को कुनै विरोधी संस्थाको प्रमुख (जसलाइ म पनि व्यक्तिगत रुपमा घृणा गर्छु) सित मलाइ तुलना गर्न समेत भ्याए ।

उनको भनाइ सकिएपछि पत्रिका र पत्रकारलार्इ गलतरुपमा बुझेकोमा मैले उनलाइ सम्झाएँ । कडा मिजास र राजनीतिक हिसाबले सचेत उनी सहजै गल्नेवाला थिएनन् । त्यसैले मैले भन्न बाध्य हुनुपर्यो 'के पत्रकारहरुले गोरखा आन्दोलनलाइ नकारात्मकरूपमा मात्र लेखेका छन् ? के गोरखाहरुले यति सुविधा पाउनुमा पत्रिका/पत्रकारहरुको केही हात छैन ? पत्रिका/पत्रकारहरु आक्रोश, भँडास पोख्ने चौतारी/गुनासो अधिकारी मात्र हुन् ?'

'पछि भेटमा कुरा गरौँला' भन्दै फोनवार्ता त तुरियो तर यो चर्काचर्कीपछि उनको र मेरो सम्बन्ध पूर्ववत् नहुने निश्चित छ ।

केही मिनेटको अन्तरालपछि अर्को स्रोतसित फोनमा कुरा गर्नु पर्यो । राइ थरका उनी युनाइटेड गोरखा नाम गरेका संस्थाका युकेका हर्ताकर्ता थिए । डेडलाइनको चटारोले थोरै भूमिकापछि कुराकानी सीधै बढ्दैथियो । आफ्ना भनाइकै बीचमा उनले ममाथि ठाडै आक्षेप लगाउने कुचेष्टा पो गरे । '....खपाङ्गीजी सुन्दैछु तपाइले पनि ......लाइ बोक्दै हुनुहुन्छ रे' '..... ....लाइ २० वर्ष्ादेखि चिन्छु त्यसलाइ मान्छे बनाउन खुबै कोसिस गरेँ, काम लागेन' 'तपाइले बोक्दै हिँड्नुभयो भने राम्रो हुने छैन' ठाडै दादागिरीको भाषा थियो त्यो । मैले कसैलाइ समर्थन गरुँ वा नगरुँ मेरो अधिकारको कुरा हो । उनले सम्झाइरहनुपर्ने, बाटो देखाइरहनुपर्ने विवेकशून्य, निर्णयक्षमताविहीन थिइनँ म ।

"तपाइलाइ मेराबारे जरुर गलतफहमी भएको छ । मप्रति धारणा बनाउने भने दुनियाँको पोल सुनेर होइन, मसित सीधै भेटेर बनाउन सक्नुहुन्छ । तपाइसितको मेरो सम्बन्ध समाचारदाता र स्रोतको मात्र हो । मैले कसलाइ समर्थन गर्ने/नगर्ने मामिलामा तपाइले हस्तक्षेप गर्ने होइन । म मेरो विवेक प्रयोग गर्न समर्थ छु" रिसले तातेको कन्पारो सम्हाल्दै मैले भनेँ ।

काम सिन्को नभाँच्ने तर सधैँ चर्चामा रहन रुचाउने उनी पत्रकारसित सम्बन्ध बिगार्ने पक्षमा थिएनन् । तर उनको मुखबाट फुत्केको बोली फेरि भित्र पस्न असम्भव थियो । 'भेटेर छलफल गरौँला' भन्ने निस्कर्षका साथ कुराकानी टुङि्गयो । तर पहिले दिनहुँजसो फोन गर्ने उनीसित न मेरो पूर्ववत् सम्बन्ध रहने छ न उनले अब दिनदिनै फोन गर्ने हिम्मत गर्लान्

यसभन्दा अघि बोल्ती बन्द भएका, शिष्टाचार समेत साटासाट गर्न छोडिएका, पख्लास् र देखुँला भएका त कति छन् कति ? यही गतिमा दिनहुँ मित्रहरु गुमाउँदै जाने हो भने मर्ने बेलासम्म कतै एक्लै भइने त होइन ?

Monday, March 22, 2010