२०६१ असोज १० गते । सरकारी अखबारमा कार्यरत् भए पनि जनयुद्धको राजधानी रोल्पा छिचोल्ने अभिष्टले काठमाडौँ छोडेँ । साँझ पक्रेर भोलिपल्ट दिउँसो बुटबल पुगेँ । 'उज्यालैमा चढेर उज्यालैमा घर पुग्ने बसलाई चाहिँ नाइट बस रे, अँध्यारैमा चढेर अँध्यारैमा घर पुग्ने बस चाहिँ डे बस रे' बसभित्र चलेको यस्ता अन्तरविरोधी चर्चाले म नाइट बसमा चढेँ के कि डे बसमा द्विविधामा परेँ ।
बुटवलमा भेट्नु थियो रोल्पायात्राका संगती हिमाल खबरपत्रिकाका जेवी पुनमगरलाई । पुनलाई भेटेपछि निस्कर्ष निस्कियो - खाम मगर भाषा बोल्ने र बुझ्ने एक गाइड लिएर जाऔँ । कहाँ खोज्ने ? तिनाउ खोलापारि बेलबासमा रोल्पाबाट झरेका पुनका एक मित्र रहेछन् । हरि नामका ती मित्र बिहान मुख धुनु अगावै मदिराले आँत भिजाउँदा रहेछन् । धेरै कर गरेपछि उनले खोजिदिए थवाङका महेश बुढालाई । बुटवल-भालुवाङ बसको सिट र भालुवाङ-सुलीचौर बसको छतमा बसेर रोल्पा पुग्यौँ । विगतका माओवादी महेशले रोल्पाका, माओवादी जनयुद्धका र आफ्नै जीवनका केस्राकेस्रा यति रमाइलोगरी छोडाए कि बसको छतमा बसेर कच्ची बाटोमा गुडिरहेको पत्तै भएन ।
रोल्पा जानुको उद्देश्य थियो - माओवादी सेनाका कमाण्डर पासाङलाई भेट्नु । नेपाल प्रेस इन्स्टच्यूटको तीन महिने खोज पत्रकारिता तालिमले युद्ध अपराधसम्बन्धी आलेख तयार गर्न उक्साएको थियो । र, खोज्नुथियो त्यस्ता युद्ध अपराधका सबुतहरु, प्रमाणहरु, दसीहरु । माओवादी वा राज्य जोसुकैले गरेको होस् । देशभर माओवादीले बर्बर व्यवहार गरेको सञ्चारमाध्यममा छ्यास्सछ्यास्ती थियो । र, सोध्नु थियो पासाङलाई - के साँच्चै तपाईहरुले यस्ता अपराध गर्नुभएकै हो त ?
रुइनिबाङ -सुलीचौर पारिपट्ट)ि एक आफन्तकहाँ महेशले हामीलाई राखे । फूपाजु पर्ने ती आफन्तसित मगर खाम भाषामा पासाङ कता होलान् भन्ने जानकारी लिए । र, थवाङमा पासाङलाई भेट्न सकिने सम्भावना हामीलाई सुनाए । आस्वासन मात्रैले पनि हामी फुलेल भयौँ । रुइनिबाङबाट अगाडि जान माओवादीको अनुमति हुनु अनिवार्य थियो । त्यहाँका सेक्रेटरी अग्नीलाई भेट्न त सकिएन तर सम्पर्क सुत्रले अनुमतिपत्र नभए पनि जैमाकसलासम्म जानु भन्ने खबर ल्याइदियो । साथमा थिए - हामीलाई स्कर्टिङ गर्ने दुई मिलिसियाहरु ।
जैमाकसला पुग्दा झमक्क साँझ पर्यो । अगाडि बढ्न थप अनुमति चाहिने जानकारी पहिले नै गराइएको थियो । त्यसैले त्यसदिनको बास जैमाकसलामै । हामीलाई होटलमा राखे । वरपरि मिलिसियाहरु थिए । नाम, ठेगाना, भेट्न चाहेको व्यक्ति, भ्रमणको उद्देश्य डायरीमा टिपे । उनीहरुको कम्मरमा झुण्डिएको गि्रनेड प्रष्टै देखिन्थ्यो । पाहुना मानेर हामीलाई होटलमै चामलको भात खुवाए । उनीहरुले चाहिँ ठूलो भाँडोमा आँटो ओडालेर साग र छोपसित छाक टारे ।
भोलिपल्ट बिहानै अनुमति पत्र आउने आश्वासन दिइएको थियो । घडीले सात, आठ, नौ, दश, एघार, बाह्र, एक, दुई बजायो । अनुमति पत्र आएन । त्यहीँको स्वास्थ्य चौकीकी स्वास्थ्य सहायक गोरखाकी विष्णु थापाका कारण दिन बिताउन पट्यार लागेन । आफ्नो नाममा देवी, माया, कुमारी नभएका कारण पुरुष ठानेर आफूलाई यस्तो द्वन्द्वग्रस्त क्षेत्रमा खटाइएको उनले बताइन् । काठमाडौँमा बसेर रोल्पाको नाम सुन्दै आत्तिने हामी रोल्पाको गाउँगाउँमा दुईवर्ष बिताएकी उनलाई भेटेपछि सम्हालियौँ ।
भोलिपल्ट तीन बजेतिर अनुमति पत्र आयो । पत्रमा लेखिएको थियो - 'जो जससँग सम्बन्धित छ, पत्रबाहक दुई पत्रकारलाई थवाङसम्म जान दिइएको छ । कमरेडहरुले आवश्यक सहयोग गर्नुहोला ।' साथमा थिए बाटो देखाउने दुई कामरेडहरु । जैमाकसलाका कामरेडहरुले एक काइँयो केरा दिएर बिदाइ गरे ।
भोलिपल्ट थवाङ पुग्ने दिन । बिहान पाँचैबजेदेखि हिँडेका हामी चारबजेतिर पुन्टीबाङ पुग्यौँ । बाटामा थवाङबाट र्फकँदै गरेका कामरेडहरु भेटिए । उनीहरुले हामीसँगैका कामरेडहरुसित थवाङमा नेपाली सेना आउँदै गरेकाले महिला केटाकेटीबाहेक सबै घर छोडेर हिँडेको बताए । पुन्टीबाङमै केही जिम्मेवार कमरेडहरु भएकाले थवाङ होइत बरु त्यतै जान सुझाए । 'राति नै सेना आइपुगेर सोत्तर पार्छ कि' सन्त्रास बोकेर रात काट्यौँ । माओवादीका क्षेत्रीय ब्यूरोसदस्य धनेश्वर पोखरेल -लीलामणि पोखरेलका भाइ) रहेछन् त्यहाँ । भोलिपल्ट हामीसित लामो बयान लिएपछि उनले 'स्थिति प्रतिकूल रहेकाले र्फकन' अनुरोध गरे । फूलमाला र अबिर टीका लाइदिएर सानो कोणसभाजस्तै गरे । उनीहरुको आतिथ्यता साँच्चिकै स्मरणयोग्य थियो ।
र्फकेर धुरी कट्नासाथ आकाशमा जोर हेलीकोप्टर घुम्न थाल्यो । 'ल अब गोला बर्साउने भो' भन्ने भो । दौडेर रुखको पोथ्रामा छलियौँ । हेलिकोप्टरले डाँडा काट्यो । बाटोमा निस्केर दगुर्यौँ । एकातिर माओवादीले 'तिमीहरु पनि आउने आर्मी पनि आउने' भनेर सुराकीको शंकामा दुःख देला भन्ने डर । अर्कोतिर आर्मीले तिमीहरु माओवादी नेतालाई भेटेर आएका हौ, नेताहरु कहाँ छन् देखा' भन्ने डर । दोमन बोकेर हामी दगुरिह्यौँ । बेजोडको दगुराईले मेरो त जरो नै फुट्यो । जसोतसो चारपाउ टेक्दै भावाङमा बास बस्यौँ । बास त पाइयो तर घरमा एकजना बिरामी महिला र चार भान्टाङभुन्टुङ मात्र रहेछन् । रक्स्याहा पतिले कुटेर उनको हर फुस्काइदिएका रहेछन् । माओवादीले मदिरा निषेध गरे पनि उनको पति भने माओवादीकै आडमा श्रीमती भकुर्दा रहेछन् ।
जरोले थलिएर रोल्पामा सिद्धिन्छु कि जस्तो भो । आमा, बाऊ, आफन्त, साथीसंगी सबैलाई सम्झेँ । भोलिपल्ट जसोतसो सुलीचौर आइयो । महेशको आफन्तकै घर थियो चिनेको । उनकै पुसैको छोरीले हात थामेर क्लिनिक लगिन्, जचाइँन्, औषधि लिइदिइन् । 'परदेशी मर्ला कि' भन्ने पीर मलाई भन्दा उनलाई चर्को थियो । औषधि र उनको हेरचाहले दुईदिनमै म तङगि्रएँ । पासाङलाई भेटेर के के न प्रश्न गर्छु, रोल्पा गएर के के न स्कुप मार्छु भन्दा माओवादी-आर्मीको शंका र ज्वरोबाट बाँचेर फर्किन पाएको मेरा लागि महत्वपूर्ण भयो । तर यो अखबारमा छापिने समाचार थिएन ।
No comments:
Post a Comment