Wednesday, December 30, 2009

छैटौँ महाधिवेसनको सन्दर्भमा


नेपाल मगर विद्यार्थी संघको दोस्रोदेखि पाँचौँ राष्ट्रिय महाधिवेसनसम्म प्रतिनिधि बनेको यस पंक्तिकारले छैटौँ राष्ट्रिय महाधिवेसनमा त्यो भूमिका पाउने छैन । पाँचौँ महाधिवेसनबाट उसको संघसँगको प्रत्यक्ष साइनो छुटि्टएको छ तर भावनात्मक सम्बन्धको नशा चुँडिइसकेको छैन । कहिले कार्यकर्ता, कहिले नेतृत्वकर्ता हुँदै अहिले संघबाट निवृत्त फरक-फरक परिचयमा रहेर संघको कार्य नियालिरहेको छ ।
२०५१ सालमा सीमित मगर युवा विद्यार्थीहरुबाट स्थापित मगर विद्यार्थी संघ अहिले देशभित्र र देशबाहिर छरिएर रहेका मगर समुदायबीच परिचित भइसकेको छ । मगर समुदायभित्र आशा र भरोसाका केन्द्र तथा सहयात्री आदिवासी जनजाति विद्यार्थी संघहरुमाझ नेतृत्वदायी हैसियत पनि यसले प्राप्त गरिसकेको छ भने सिंगो आदिवासी जनजाति समुदाय यसबाट अपरिचित, नौलो छैन । देशभित्रका धेरै अञ्चल, जिल्ला, सरकारी तथा पब्लिक क्याम्पसहरुमा संघको संरचना निर्माण भइसकेका छन् । सदस्य संख्याको यकिन तथ्यांक नभए पनि लाखौँ मगर विद्यार्थी संघको सम्पर्क र नेतृत्व मातहतमा रहेको अनुमान गर्नु गलत हुँदैन । यति सघन संरचना बनाइसकेको संगठनलाई समयसापेक्ष कसरी अगाडि बढाउने, सैद्धान्तिक, वैचारिक र ब्यावहारिक रुपमा कसरी आकर्षणको केन्द्र बनाउने यही नै छैटौँ राष्ट्रिय महाधिवेसनको सन्दर्भमा सार्थक छलफलको केन्द्रीय विषय बन्न पुगेको छ ।
शैक्षिक अभियान
मगर विद्यार्थी संघको विधान पल्टाउने हो भने यसको सारभूत उद्देश्य मगर जातिलाई शैक्षिक जागरणको मूलबाटोमा ल्याउने रहेको देखिन्छ । विधानका धेरैवटा बुँदामा यही कुरामा घुमाइफिराइ जोड दिइएको छ । मगर विद्यार्थी संघ स्थापनाको १५ वर्षे अवधिमा संघको अभियान, संघका कार्यक्रमकै कारण कति मगर विद्यार्थीहरुले शिक्षाको पारिलो घाम ताप्न पाए त्यसको वैज्ञानिक र औपचारिक अनुसन्धान भएको छैन । संघले आयोजना गर्ने हरेकस्तरका कार्यक्रमहरुमा वक्ताहरुले शिक्षाको महत्वमाथि जोड दिँदै दिने प्रवचनहरुले समाजमा के कस्तो प्रभाव पारेको छ त्यसको पनि कुनै हिसाब गर्न सकिएको छैन । निश्चित कुरा चाहिँ के हो भने संघले अहिलेसम्म शैक्षिक जागरणका लागि अलग्गै अभियान सञ्चालन गरेको पाइएको छैन । एकपटक यस पंक्तिकार केन्द्रीय समितिमा रहँदा कुनै मगर बाहुल्य तर शैक्षिक चेतना कमजोर भएको क्षेत्रमा एक महिने शैक्षिक जागरण अभियान चलाउने छलफल भएको थियो तथापि त्यो छलफलमै सीमित भयो । त्यसपछि पनि त्यस्तो कुनै छलफल र अभियान चलाइएको थाहा छैन । यत्रो सञ्जाल भएको संगठनले कम्तीमा वर्षमा पाँचवटा मात्र यस्ता अभियानहरु चलाउने हो भने मगर जातिको शैक्षिकस्तर उकास्नमा महत्वपूर्ण योगदान पुग्ने थियो । संघलाई वर्षमा यस्ता अभियान दर्जनौँ स्थानमा चलाउन गाह्रो पर्ने पनि देखिादैन । आउने नेतृत्वको ध्यान त्यता पनि जाओस् ।
संगठन सुदृढीकरण
संघको शाखा संगठन कति छन्, कहाँ कहाँ छन् ? कुन समितिका जिम्मेवार नेता पदाधिकारी को को हुन् भन्ने प्राय थाहा पाउन सकिए पनि संघमा कति सदस्य छन् भन्ने प्रश्नको उत्तर न यसअघिका पदाधिकारीहरुले दिन सके न त वर्तमान पदाधिकारीहरुले नै सक्छन् । संगठनको ढाँचाकाँचा जस्ताको तस्तै रहन दिने हो भने अब आउने पदाधिकारीहरुको पनि अवस्था त्यस्तै हुन्छ । त्यसैले सदस्य बनाउने प्रक्रियालाई व्यवस्थित बनाउन सकियो भने यस प्रश्नको जवाफ पाउन सकिन्छ ।
संगठनलाई भावनात्मक कम र जिम्मेवारीयुक्त ज्यादा बनाउन सकियो भने धेरै काम स्वतः व्यवस्थित हुने छन् । यसका लागि संघले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ । एकैदिन वा एकैछिनको मिहिनेतले मानिसको सोचाइ बदलिने कुरो हुादैन तर एकै उद्देश्यका लागि फरकफरक कार्यक्रमहरु लगातार गरिरहेको अवस्थामा त्यसले परिणाम दिनेमा शंका पनि छैन । अहिले संघमा लागेका मगर विद्यार्थीहरु बढी भावनाले चलेका देखिन्छन् । हुन त संगठन भावना र विचारले नै चल्ने हो तर कार्यकर्ताहरुमा संघको उद्देश्यबारेमा जानकारी नै भएन भने भावनाको अर्थ के ? संघमा हिँड्नेहरुको क्रियाकलाप अवलोकन गर्दा उद्देश्यसंगत, उद्देश्यसम्मत देखिँदैनन् । त्यसैले मगर विद्यार्थीहरुलाई मगर विद्यार्थी संघमा लाग्न जिम्मेवार बनाउने अभियानलाई पनि दीर्घकालिन अभियानकै रुपमा लैजान जरुरी छ । जसले संघलाई संख्यात्मक मात्र होइन गुणात्मक विकास गराउन सहयोग गर्ने छ ।
राजनीतिक संगठनहरुका लागि त उच्चमाध्यमिक विद्यालयहरुमा संगठन निर्माण चुनौतीको पहाड बनेको छ भने मगर विद्यार्थी संघका लागि त सगरमाथा नहुने कुरै भएन । भएन त्यसमाथि गत महाधिवेसनबाट माध्यमिक विद्यालयहरुमा समेत संघ गठन गर्न सकिने वैधानिक व्यवस्था भएपछि ती शैक्षिक संस्थामा पनि संगठन विस्तार एउटा चुनौती नै छ । एक्काइसौँ शताब्दी पनि जातीय कुरा गर्ने ? जातीय कुरा गरेर साम्प्रदायिक सद्भाव विथोल्ने ? भन्नेजस्ता वचनका वाणहरु पहिले जस्तो तीखो गरी प्रहार नभए पनि अहिले पनि त्यस्ता वाण बर्साउने धनुर्धारीहरुको कमी छैन । तरल राजनीतिक अवस्थाका कारण जातीय समस्या समाधानका पक्ष र विपक्षमा उत्तिकै विचारका ज्वारभाटाहरु उठिरहेका छन् । तिनले मगर विद्यार्थी संघलाई संगठन गर्नमा सजिलो र असजिलो दुवै हुनसक्छ ।
मगर विद्यार्थी संघमा लाग्नु राजनीतिक विद्यार्थी संगठनमा लाग्नुजस्तो करियर प्लस हुने प्लेटर्फम बन्न सकेको छैन । मगर विद्यार्थी संघमा लागेर व्यक्तिको करियरमा कति सहयोग हुन सक्छ ? संघमा लागेकै कारण व्यक्ति कति सफल बन्न सक्छ ? संघमा गम्भीरतापूर्वक लाग्ने हरेक विद्यार्थीले यो प्रश्नको उत्तर खोज्ने गर्दछन् । हालसम्मको अनुभव हेर्दा संघमा लाग्ने विद्यार्थीहरुले आ-आफ्नो करियर त बनाएका छन् तर आफ्नै मिहिनेतले । संघले करियर खोजिदिने वा बनाइदिने भन्दा पनि व्यक्ति आफैाले खोजी गरेर व्यवस्थित हुने गरेका छन् । अब संघले कार्यकर्ताको करियर स्थापित हुने काम पनि गर्नु आवश्यक छ, संघप्रति आकर्षण जगाउनका लागि ।
आर्थिक सबलीकरण
संघमा यस पंक्तिकार विद्यमान छादा रचनात्मक क्रियाकलाप सम्बन्धी विभिन्न सोचाइहरु पदाधिकारी तथा सदस्यहरुबाट आउँथे । छलफल हुन्थे । कहिले मेची महाकाली साइकल यात्रा, कहिले मगर साँस्कृतिक महोत्सव वा मगर महोत्सवको । सबै सोचाइहरु नवीन थिए हाम्रा समाजका लागि । तर ती सबै कार्यान्वयन गर्नका लागि हामीसित आर्थिक शक्तिको जरुरी हुन्थ्यो । मगजमा अत्यन्त सुन्दर सपनाहरु सजाए पनि हातमा पैसा नहुँदा हाम्रा ती सपनाहरु गर्भमै तुहिए, वर्तमान नेतृत्वमा रहेका साथीहरुको सपना पनि त्यही मार्गमा होलान् । संघले अनिवार्य रुपमै गर्नुपर्ने स्थापना दिवस, मगर दिवस, लखन दिवस जस्ता कर्मकाण्ड बाहेक नयाँ कार्यक्रमहरु खासै दिन सकिएन । अहिले पनि त्यही अवस्थाबाट संघ गुज्रिरहेको देखिन्छ ।
यति ठूलो सञ्जाल भएको संगठनले चाह्यो भने आर्थिकरुपमा सुदृढ र सबल हुन त्यति गारो कुरै छैन । ठूलो जनशक्ति समस्या हैन, त्यो जनशक्तिलाई सदुपयोग गर्ने शक्ति र जुक्ति चाहिँ ठूलो कुरा हो । संगठित जनशक्तिलाई विभिन्न उपायबाट आर्थिक संकलन गर्ने काममा लगाउन सकिन्छ । खाँचो छ त केवल तिनीहरुलाई परिचालन गर्ने योजनाको । संगठनको उद्देश्यसाग मेल खाने विभिन्न योजना, आयोजना, कार्यक्रम, अभियानमा उनीहरुलाई संगठित रुपमा सहभागी गराएरै पनि आर्थिक उपार्जन गर्न सकिन्छ । सधैा चन्दा मागेर संगठन चलाउने भन्दा संघको आफ्नै दीर्घकालीन स्रोत बनाउनु आवश्यक मात्र हैन अत्यावश्यक नै भइसकेको छ ।
सफलता पनि छन्
अहिलेसम्म मगर विद्यार्थी संघले केही गर्न सकेन भनेर कसैले भन्छ भने त्यो पूरै पूर्वाग्रही विश्लेषण हुने छ । व्यापारिक कम्पनीमा जस्तो हरेक साल नाफा घाटा सामाजिक संगठनहरुमा पाउन कठिन हुन्छ । मगर हुँ भन्न पनि हिच्किचाउने मगर विद्यार्थीहरुलाई म मगर हुँ भनेर गर्वपूर्वक भन्नसक्ने, संघमा लाग्नसक्ने बनाउनु नै मगर विद्यार्थी संघको सबैभन्दा ठूलो सफलता हो । मगर विद्यार्थीको नेतृत्व क्षमता विकास गर्न संघले खेलेको महत्वपूर्ण भूमिकाकै कारण आज धेरै राजनीतिक विद्यार्थी संघहरुमा मगर विद्यार्थीहरुले पनि अवसर पाएका छन् । शैक्षिक सत्ताका रुपमा रहेको स्वतन्त्र विद्यार्थी युनियनमा चुनिने अवसर पाएका छन् । मगर विद्यार्थीहरुको यस्तो उपस्थितिका कारण मगर विद्यार्थीका समस्याहरु अरु समुदायलाई जानकारी हुन सजिलो भएको छ ।
शैक्षिक सत्तामात्र होइन राज्यसत्ताका विभिन्न अंगहरु संसद, लोकसेवा, प्रहरी, सैनिक तथा अन्य अवसरहरुमा समानुपातिक सहभागिता र आरक्षणको व्यवस्था हुनुको पछाडि मगर विद्यार्थी संघको पनि प्रत्यक्ष अप्रत्यक्ष भूमिका छ भन्दा अन्यथा नहोला । यस्तै, सिंगो मगर जातिको जातीय संस्था नेपाल मगर संघलाई आवश्यक कार्यकर्ता उत्पादन गर्न, मगर संघका निर्णयहरु कार्यान्वयनमा सहयोग गर्न तथा कतिपय अवस्थामा खबरदारी गर्न पनि विद्यार्थी संघ सफल भएको छ । यस्ता परोक्ष अप्रत्यक्ष उपलब्धिका फेहरिस्त नै छन् ।
र, अन्त्यमा
जबजब मगर विद्यार्थी संघको महाधिवेसन आउँछ अवसरवादीहरुको चलखेल शुरु हुन्छ । यस पंक्तिकारको संलग्नता रहेका सबै महाधिवेसनहरुमा ती भाइरसहरुले राम्रैसित प्रभाव जमाउन खोजेका थिए कतिपयमा उनीहरु केही हदसम्म सफल भए, कतिपयमा धूलो चाटेर फर्के । अरुबेला संघमा नाकमुख नदेखाउनेहरु, संघका विभिन्न समितिका विभिन्न जिम्मेवारी पदमा रहेर पनि माखो नमार्नेहरु महाधिवेसनको तिथि घोषणा भयो कि गणेश दौड गर्न थाल्छन् । महाधिवेसनलाई कसरी भाँड्ने, कसरी पद हत्याउने, काम गर्नेहरुलाई कसरी छिर्के हान्ने दाउ हेर्न थाल्छन् । संघका कार्यकर्तामाझ कुनै प्रभाव नभएपछि ती कामचोर, पदलोलुपहरु अमुक राजनीतिक पार्टीको झण्डा समात्न थाल्छन् । संघको नेतृत्व चयनमा प्रभाव पार्ने व्यक्तित्वहरुको वरिपरि चाकडी गर्न थाल्छन् । तिनीहरुलाई संघको कुनै मायामोह हुँदैन, जसरी हुन्छ महाधिवेसनको तिथि लम्ब्याएर होस् वा संघलाई ऋणको कुवामा डुवाएर होस् पद ओगटेरै छाड्न खोज्छन् । भलै कुनै काकताली लागेर पद पाए पनि चुनिएको भोलिपल्टदेखि उनीहरुको नाकमुख औाशी पूर्णेमा देख्न पाए त ठूलो कुरा, पूरै अर्को महाधिवेसन कुर्नुपर्छ । अर्को महाधिवेसनमा उनीहरुलाई नै बढुवा चाहिन्छ मानौ संगठन तिनको बाउको विर्ता हो । सिन्को नभाँची संघमा पेन्सन पकाउन चाहन्छन् तिनीहरु ।
विगतमा दलीय भागवण्डाको नाममा होस् वा क्षेत्रीय सन्तुलनको बहानामा, सक्रिय र संगठनप्रति समर्पित कार्यकर्ताहरुले पाखा लाग्नुपरेको पनि छ । संघको विरुद्धमा लाग्ने, महाधिवेसन भाँड्छु, संघलाई टुक्र्याउँछु भन्नेहरु, तोकिएको जिम्मेवारी पूरा नगर्नेहरु, संगठनको दामासाहीमा परेकाहरु, लेवी नबुझाएकाहरु, संगठनको आर्थिक हिनामिना गरेकाहरु मात्र होइन मगर जातिभित्रै नपरेकाहरुले पनि संघबाट कारबाही होइन पुरस्कारस्वरुप विभिन्न पद पड्काएका छन् । संघभित्र वैचारिक विविधता, क्षेत्रीय सन्तुलन, लैङ्गिक सन्तुलन आवश्यक छ तर त्यसको पनि छनौटको आधार कार्यसम्पादन नै हुनुपर्छ । काम नगर्नेहरुलाई संघमा रातो कार्पेट बिछ्याएर स्वागत गर्नु भनेको इमान्दार कार्यकर्तालाई गलहत्याएर संघबाट निकाल्नु मात्र हो ।
संघभित्र यति वफादार, इमान्दार र लगनशील कार्यकर्ता छन् भन्ने संघमा लाग्ने जो सुकैलाई थाहा छ । पंक्तिकार नेतृत्वमा रहादा हेटौँडामा २०६३ सालमा भएको राष्ट्रिय विस्तारित भेलाको तयारीका क्रममा पत्रिका बिछ्याएर चिउरा, मुरही र दालमोठ खाएर भेला सफल बनाउने साथीहरु, २०६० सालमा नेपालगञ्जमा भएको विस्तारित भेलामा खर्च घटाउन फुकीफुकी तौलीतौली योजना बनाउने साथीहरु सम्झँदा अहिले पनि उनीहरुलाई सलाम गर्न मन लाग्छ । यी त केही उदाहरण मात्र हुन्, भोकै, आफ्नो सबै काम छोडेर, नसुतेरै संघको काम गर्ने साथीहरु देशभरि नै छन् । छैटौँ महाधिवेसनले नेतृत्व चयन गर्दा ती साथीहरुको शीर ननिहुरियोस् ।
विद्यार्थी संघ भए पनि संघको उद्देश्य भनेको मगर जातिको समग्र मुक्ति नै हो । मगर जातिलाई भेदभाव, शोषण, उत्पीडनबाट अलग गर्ने नै हो । यसका लागि मगर जातिबीच सर्वस्वीकार्य जुक्ति भनेको मगर बाहुल्य र मगरहरुको आदिभूमिमा मगरात राज्य स्थापना तथा अन्य स्थानमा जातीय जनसंख्याको आधारमा राज्यका सबै अंगमा मगर जातिको समानुपातिक प्रतिनिधित्व नै हो । यो आममत स्वीकार गर्न नसक्नेहरु, जातीय आधारमा राज्य बन्न हुँदैन भनेर सिंगो जनजातिमाथि थप शोषण गर्न चाहनेका मतियारहरुले विद्यार्थी संघको वैचारिक नेतृत्व हाँक्न सक्दै सक्दैनन् । मगरातका बारेमा आफैा अस्पष्ट र अनिच्छुक रहनेहरुलाई नेतृत्वमा ल्याउनु भनेको घरमै सर्पलाई दुध खुवाएर पाल्नु मात्र हुन्छ । छैँटौँ महाधिवेसनका प्रतिनिधिहरुलाई चेतना भया ।
नेपाल मगर विद्यार्थी संघको मुखपत्र मगर आवाजमा प्रकाशित

No comments: