Wednesday, January 6, 2010

ब्लु फिल्मको पछि लाग्दा

दाइ दाइ’
बहिनीलाई विराटनगर पुग्ने मकालु यातायातको टिकट चाइना टाउन, सुन्धाराबाट संकलन गरेर काठमाडौँ मल नजिकै पुग्दा कसैले बोलायो ।
चारैतिर मुन्टो बटारेँ । मुखमा मास्क लगाएको कसैले हातले इशारा गरिरहेको देखेँ । के रहेछ त ? नजिकै जान मन लाग्यो । नजिक नपुग्दै दुईहात भरि सिडी बोकेको त्यो मास्कवालाले विज्ञापन शुरु गरिहाल्यो ।
दाइ आज राम्रो राम्रो सिडी आएको छ’
पीके कलेजको केटीको’
इटहरीको’
ठमेलको’
मलाई के ठानेर त्यो केटोले यस्तो विज्ञापन गरेको होला । एक मनले लाग्यो । अर्को मनमा लाग्यो - ए बाफ रे, नेपाली ब्लु भिडियो यसरी खुलेआम बिक्री भइरहेको रहेछ । यसो वरिपरि हेरेँ अलिपर तीन जनाजति युवाहरुले हातभरि त्यसरी नै सिडी बोकिरहेको देखेँ । नेपाल बन्द, आमहड्तालका दिन मात्र पैदल हिँड्ने मलाई सडकमा यस्ता वस्तुहरु पनि खुलेआम पाइन्छन् भन्ने थाहै थिएन ।
केटो मस्त थियो विज्ञापन गर्नमा । गज्जब सिन छ दाइ १४ वर्षकी केटी हो, कुनै कोरियनभन्दा कम छैन’ । उसले ठान्यो होला - खाट्टी नयाँ मुर्गा आज फेला पारेँ, नभिराई कहाँ छाड्थेँ र
हो र भाइ ?’
मैले जिज्ञासा बढाएँ ।
सिडी खाली त छैन नि’
केटोसामू अनुभवी झैँ देखाउन खोजेँ ।
ल के कुरा गर्नुहुन्छ दाइ ? एकपटक हेरेकाहरु मलाई सिडीको दाम मात्र होइन टिप्स पनि दिएर जान्छन्’ ।
उसले विश्वास दिलाउने यत्न गर्‍यो ।
खोल चाहिँ कुनै हिन्दी फिल्मको थियो । मैले सोधेँ -तिमीहरु यो खोल चाहिँ किन के के हाल्छौ ?
अरे दाइ ओरिजिनल खोल हालेर बेचेको भेट्यो भने त पुलिसले कोचिहाल्छ नि ’
हो क्यारे’ सोचेँ ।
मोलतोल भयो ।
उसले भाउ राख्यो - गोटाको ४० रुपियाँ।
मैले घटाएँ । अन्तिममा तीन वटाको १०० रुपियाँमा कुरा मिल्यो । सोचेँ - खाली नै भए पनि १०० रुपियाँ त हो नि जाने । सिन भए हेरौँला । भए पनि नभए पनि कमसेकम एउटा समाचार त बन्ला
कसैले देख्ला झैँ गरी ज्याकेटमा तीनवटा सिडी कोचेर हिँडे ।
कार्यालय पुगेपछि सहकर्मी करुण अर्याल भेटिए । सदा झैँ चिया खान बाहिरियौँ । मैले सुन्धारामा तीनवटा सिडी किनेको सुनाएँ । गलल्ल हाँसेर उनले भने - ल फसेछौ, म पनि ब्लु फिल्म किन्दा खाली सिडीमा ठगिएको छु ।
केशवजी -आर्टिस्ट केशव राज खनाल) पनि यसरी नै ठगिएका रैछन्’ अर्यालले यसरी ठगिनेको सूची नै पेश गर्न लागे । उनले त्यसो भनिरहे पनि मेरो मनमा चाहिँ मैले ल्याएको सिडी असली छ कि भन्ने लागिरहेको थियो ।
आफू ठगिएको औपचारिकरुपमा प्रमाणित हुन अब केही बेर मात्र बाँकी थियो । साँझ घर लगेर अरुले देख्लान् कि भनेर लुकाइलुकाइ सिडी ल्यापटपमा घुसारेँ । पहिलोमा भारतीय चलचित्र बोर्डको जाँचपास सर्टिफिकेटको ३० सेकेण्ड लामो भिडियो मात्र थियो । दोस्रो पूरै खाली थियो । तेस्रोमा चाहिँ वेकअप सिद फिल्म रहेछ । हलमा हेर्न नपाएकाले केही समय पुरानै फिल्म भए पनि दुईघण्टा बिताएँ ।
मनमा लागिरह्यो ।
म जस्ता कति नेपाली ब्लु फिल्मको चक्करमा अझै ठगिइरहेका होलान् ?’