एकबारको जुनीमा मरेर लैजानु के छ र ? सबैसँग मीठो बोली, हाँसखेली जीवन बिताउन कसलार्इ पो मन नलाग्ला र ? सकेसम्म शत्रु नकमाउँ मलामी कम्ती नहोस् भन्ने कसले पो नठान्दो होला र ? तर सबै कुरा सोचेजस्तो नहुँदोरहेछ ।
घटना सोमबारको मात्र हो । गोरखाहरुका अठार वर्ष नाघेका केटाकेटीले बेलायतको भिसा नपाएको बारेमा समाचार गर्दै थिएँ । गोरखाहरुका बारेमा क्रियाशील संस्थाहरुले यो समस्याको निप्टाराका लागि के गरिरहेका छन् भन्ने कोट (भनाइ) लिनका लागि गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को अल्डरसटस्थित कार्यालयमा फोन गरेँ । पहिले दुइपटक भेटिसकेका, एकाधपटक फोनमा पनि कुराकानी भइसकेका शाही थरका सज्जनले फोन उठाए । खासमा उनी संस्थाको आधिकारिक भनाइ दिने आधिकारिक स्रोत थिएनन् । आधिकारिक व्यक्ति एकैछिन बाहिर गएका रहेछन् ।
समय उपयोग गर्दै मैले उनी आफैँ सो समस्याबाट पीडित हुन् कि भनी जिज्ञासा राखेँ । 'शाहीजी तपाइका छोराछोरीले युकेको भिसा पाए ?' मैले सोँधे । उनले नपाएको बताए । मेरो अर्को प्रश्न 'कति कति वर्षका छन् छोराछोरीहरु ?' भन्ने बित्तकिै उनी बम्किए 'अर्काको छोरा छोरी कति कति वर्षका छन् भन्दै सोध्ने तपाइ को ? मैले गेसोको योगदानका कारण्ा बेलायत आउन पाएको हुँ । मेरा छोरा छोरीको केस पनि गेसोले हेरिरहेको छ । गेसोबाहेक कसैसित म केही बताउँदिनँ । पत्रिकाले नानाथरी लेख्दिन्छन्.....' । उनले अर्को कुनै विरोधी संस्थाको प्रमुख (जसलाइ म पनि व्यक्तिगत रुपमा घृणा गर्छु) सित मलाइ तुलना गर्न समेत भ्याए ।
उनको भनाइ सकिएपछि पत्रिका र पत्रकारलार्इ गलतरुपमा बुझेकोमा मैले उनलाइ सम्झाएँ । कडा मिजास र राजनीतिक हिसाबले सचेत उनी सहजै गल्नेवाला थिएनन् । त्यसैले मैले भन्न बाध्य हुनुपर्यो 'के पत्रकारहरुले गोरखा आन्दोलनलाइ नकारात्मकरूपमा मात्र लेखेका छन् ? के गोरखाहरुले यति सुविधा पाउनुमा पत्रिका/पत्रकारहरुको केही हात छैन ? पत्रिका/पत्रकारहरु आक्रोश, भँडास पोख्ने चौतारी/गुनासो अधिकारी मात्र हुन् ?'
केही मिनेटको अन्तरालपछि अर्को स्रोतसित फोनमा कुरा गर्नु पर्यो । राइ थरका उनी युनाइटेड गोरखा नाम गरेका संस्थाका युकेका हर्ताकर्ता थिए । डेडलाइनको चटारोले थोरै भूमिकापछि कुराकानी सीधै बढ्दैथियो । आफ्ना भनाइकै बीचमा उनले ममाथि ठाडै आक्षेप लगाउने कुचेष्टा पो गरे । '....खपाङ्गीजी सुन्दैछु तपाइले पनि ......लाइ बोक्दै हुनुहुन्छ रे' '.....म ....लाइ २० वर्ष्ादेखि चिन्छु त्यसलाइ मान्छे बनाउन खुबै कोसिस गरेँ, काम लागेन' 'तपाइले बोक्दै हिँड्नुभयो भने राम्रो हुने छैन' ठाडै दादागिरीको भाषा थियो त्यो । मैले कसैलाइ समर्थन गरुँ वा नगरुँ मेरो अधिकारको कुरा हो । उनले सम्झाइरहनुपर्ने, बाटो देखाइरहनुपर्ने विवेकशून्य, निर्णयक्षमताविहीन थिइनँ म ।
2 comments:
सारो दुख लाग्यो तपाइको कुरो पढेर केहि छैन म भय पनि मलामि जाउला
त्यसो होइन दाई । पत्रकारितामा अलि आला काचासिकौरेहरुले कहिले काही गलत काम पनि गरिदिन्छन त्यसैले गर्दा अरु सबै पत्रकारहरुले मार खानु पर्छ । गत साल दशैमा जादा मोफसलका एक दुइ पत्रकारहरुको हर्कत देखेर मै चकित भएकी थिए त्यसतै हरुले गर्दा तपाइहरु जस्तो परिपक्वहरुले पनि कहिले काही बज्र सहनु परेको हो । पत्रकारितामा केही गलत मान्छेहरुको प्रबेशका कारण सबै जना परिपक्व पत्रकारले पनि यो पिडा सहनु परेको हो । तर दाइ त्यसतै हो समाजमा हरेक खालका मान्छे हुन्छन बाच्न दिनु पर्छ तिनलाइ पनि त्यसैले आफू नबिराउनु नडराउनु ।
Post a Comment