Tuesday, March 24, 2009

क्षतिपूर्ति नपाएका युद्धबन्दी



युद्धबन्दी हुँदाको क्षतिपूर्ति पाउँला र घर बनाउँला भन्ने हुकुमसिंह पुनको आशा अझै मरेको छैन । कोही लाहुरेलाई अहिले बेलायत जान पाउने कि नपाउने पीर होला, कसैलाई शहरमा घर ठड्याउने, कसैलाई नयाँ गाडी भित्र्याउने पीर होला । तर दोस्रो विश्वयुद्धका यी युद्धबन्दीलाई भने अहिले बसिरहेको छाप्रोको स्तरनोन्नति गर्न सकिएला कि नसकिएला भन्ने पीर छ ।
गुल्मीको रिञ्जामा ९३ वर्षअघि जन्मिएका पुन १६ वर्षको उमेरमा बेलायती सैन्यमा भर्ती भएका थिए । त्यसो त पुनको परिचय बेलायतको लाहुरे, दोस्रो विश्वयुद्धको योद्धा र युद्धबन्दी मात्रले पूरा हुँदैन । दोस्रो विश्वयुद्धमा युद्धबन्दी बनेका एक हजारभन्दा बढी युद्धबन्दीलाई क्षतिपूर्ति दिलाउने अभियानका नायक पनि हुन हुकुमसिंह । हुकुमसिंह पुन, पहलमान गुरुङ र दर्बसिंह राईको तर्फबाट बेलायती उच्चअदालतमा हालिएको मुद्दाको सन् २००२ नोभेम्बर २७ मा फैसला हुँदा युद्धबन्दी गोरखा सैनिकले पनि बेलायती युद्धबन्दीसरह क्षतिपूर्ति पाउने व्यवस्था भएको थियो ।
डकर्मीको घर बाङ्गो, सूचीकारको आङ नाङ्गो भन्ने नेपाली उखान झैँ भएको छ हुकुमसिंहको जीवन । मुद्दाका लागि पटकपटक बेलायत गए, मुद्दा जितेपछि जीवनमा कल्पनै नगरेको देशीविदेशी सञ्चारमाध्यममा छाए । नेपाल फर्केपछि काठमाडौँ, पोखरा, धरान लगायत लाहुरे बाहुल्य बस्तीमा थामिनसक्नु फूलमाला पाए । तर विडम्वना उनले अहिलेसम्म युद्धबन्दीलाई दिइने क्षतिपूर्ति भने पाएका छैनन् ।
दोस्रो विश्वयुद्धमा बेलायतको पक्षबाट जापानविरुद्ध पुन लडे । बेलायती सैन्यबाट फर्किएपछि बेलायतविरुद्ध युद्धबन्दीको पक्षमा मुद्दा लडे । जीवन धान्ने बाध्यतामा भारतीय सीमा सुरक्षा बलमा पनि भर्ती भए । तर अहिले जीवनको अन्तिम घडीतिर युद्धबन्दी भएवापत् पाउनुपर्ने क्षतिपूर्तिका लागि उनी एक दशकदेखि लागिरहेछन् । भन्छन् - बेलायतले देला र पाउँला भन्ने त आशा छैन । गोरखाहरुको आन्दोलनको दबाबबाट भने पाउँछु कि ? उनले थपे - गोराहरु बदमास हुन्छन् तिनको मलाई कति पनि विश्वास छैन । गोरखाहरु बेलायत विरुद्ध लडिरहेका छन् । उनीहरुको आन्दोलनबाट चाहिँ केही हुन्छ कि ?
कान्छा छोरा, बुहारी र एक नातिका साथमा बुटवल पाखापानीको सुकुम्बासी बस्तीमा हुकुमसिंह बसिरहेका छन् । काठमाडौँ, पोखरा, धरान र बुटवलमा आलिशान महल ठड्याएर बसिरहेका लाहुरेको जीवनस्तरसित हुकुमसिंहको जीवनस्तर तुलना गर्दा मन छियाछिया हुन्छ । लाहुरेको शहरिया बिलासी जीवनशैली मात्र देखेकाहरुको लागि हुकुमसिंहको जीवनशैली अस्वाभाविक पनि लाग्न सक्छ । तिनाउ बगरबाट खेपेको ढुंगाको जगमा बसोबासका लागि झुप्रो टेकाएका छन् पुनले । खरलाई बाँसको भाटाले सापेर पर्खाल बनाएका छन् । परालले घरलाई घामपानीबाट छलेका छन् । घरको मूलथाम बनेको छ चार घना बाँस । घरको बारेमा पनि उनैबाट सुनौँ न त - नौ वर्षपछि घरको टेको फेरेको छु । छोराको कमाइले छानो छाएको छु । अझै पानी पर्दा घरभित्र छिर्ने बाछिटा छेक्न सकेको छुइनँ ।
विश्वकै सम्भ्रान्त मुलुकको रक्षा र विस्तारका लागि बन्दूकको नालमा ज्यान राखेर विश्वयुद्ध लडेका पुनको पारिवारिक अवस्था दुःखलाग्दो छ । बुढेसकालमा दुध, मासु खान मन लागे पनि पैसाले पुग्दैन -उनले मन भारी पार्दै दुखेसो पोखे - छोराको कमाइले बल्ल दालभातसम्म जुरेको छ ।
प्लाष्टिकले बारेर घरलाई दुई खण्ड बनाएका छन् पुनले । एक खण्डमा डोरीको खटियामा नाति लिएर उनी सुत्छन् अर्कोमा छोराबुहारी । किचन, डाइनिङ, मिटिङ, सिटिङ सबै भन्नु यति दुई कोठा । यस्तो घरमा जीवन बित्न लागेकोमा पुनलाई त्यति चिन्ता छैन जति चिन्ता मुद्दा जितेर पनि युद्धबन्दीको क्षतिपूर्ति नपाएकोमा छ ।
तीन दाजुभाइ र तीन दिदी बहिनीका धनी हुकुमसिंहलाई भर्ती गर्न गल्लावालहरु घरैमा आएका थिए । आमा बाबा पुन १४ र १५ वर्षको हुादैमा बितेकाले उनलाई जीवन धान्न पनि भर्ती हुन करै लागेको थियो । त्यसमाथि उनका जेठो र माहिला दाइ पनि बेलायती सेनामा भर्ती भएकाले दायाँबायाँ केही सोच्नै परेन । देहरादुनमा भर्ती भएर तालिम सिध्याएपछि पुनलाई कुइटा लगियो । कुइटाबाट झाँसी लगियो । त्यतिखेर बर्मामा युद्ध मच्चिरहेको थियो । त्यसैले पुन सम्मिलित बटालियनलाई बर्मा पुर्‍याइयो । पुनलाई थाहा थिएन कहाँ लगिँदैछ भन्ने । एक रात एक दिन लगाएर बर्माबाट उनको बटालियनलाई पानीजहाजमा मलाया पुर्‍याइयो ।
मलायामा किनारमा उत्रनासाथ जापानले आक्रमण शुरु गरिहाल्यो । त्यहीँ १०/१२ जना गोरखा ढलिहाले । बाँकी अलि अग्लो स्थान खोज्दै अगाडि बढे । त्यहीँ जापानसित भीषण युद्ध भयो । उनको बटालियनका प्राय सबै मारिए । हुकुमसिंहले चाहिँ सालको रुखको धोद्रोमा पसेर ज्यान बचाउनुभयो । धोद्रोमा उनीसहित अरु तीन जना गोरखाली सैनिकले पनि शरण लिएर ज्यान बचाएका थिए । पुन भन्छन् - सबै साथी भकाभक मारिन थाले । यसो हेरेको बुढो सालको रुख देखियो । भित्र धोद्रो रहेछ त्यहीँ घुसे । म भन्दा अगि दुई जना साथी त्यहाँ बसिसकेका रहेछन् । नत्र म पनि तोपको गोलाले उहीँ अचार हुने थिएँ ।
फायरिङ सिद्धियो । गोरखालीहरु सबै सोत्तर भए । जापानी फौज आएर कब्जा जमायो । पुन लगायत रुखको धोद्रोमा लुकेका सबैलाई बन्दी बनायो । सन् १९४१ को घटना थियो त्यो । पुनका अनुसार जापानले बन्दी बनाएर सिंगापुर पुर्‍यायो ।
बन्दी अवस्थाको कुरै नगरौँ । दुःख भनिसाध्य छैन । दिनको एकपटक भात दिने । त्यो पनि काँचै । नखाउँ भने दिनभरिको शिकार खाउँभने कान्छा बाउको अनुहार उखान जस्तेा । नुहाउन नपाइने । लुगा धुन नपाइने । नयाँ लुगा नदिने । जुम्रा परेर हैरान । यस्तैमा पुनले छ वर्ष गुजारे । भन्छन् - बाँचिएला र फर्किएला भन्ने आशै थिएन । खान नपाएर शरीर सुकिसकेको थियो ।
युद्ध सकिएपछि १९४७ मा हुकुमसिंहलाई युद्धबन्दीबाट रिहा गरियो । जापानले जहाजमा बसालेर पुनलाई कलकत्तामा ब्रिटिशलाई हस्तान्तरण गरिदियो । ब्रिटिशले पनि फेरि देहरादुन लगेर पुनलाई कैदमा राख्यो । कैदमै पुनले झगडा गरे । त्यत्रो वर्ष बेलायतको लागि लड्दा जापानले कैदमा राख्ने अहिले फेरि बेलायतले पनि राख्ने ?’ पुनले प्रश्न गरे । कपाल, दाह्री जुागा, नङ लामो न लामो थियो । कपडा अलिकति तानियो कि धर्रर च्यातिने । ब्रिटिशले नचिनेर कैदमा राखेको भन्यो । उनले झगडा गरेपछि कैदबाट छोडिदियो । हुकुमसिंह नाङ्गो खुट्टा दौडँदै घर आए ।
युद्धबन्दीको ताडना खेपेका पुनले फेरि पल्टन फर्कने आँट निकाल्न सकेनन् । घरमै बसे । गृहस्थी सम्हाले । तर घरमा कति दिन चैन हुने हो र ? फेरि भारतीय सीमा सुरक्षा बलमा भर्ती भए । ३१ वर्षसम्म सीमा सुरक्षा बलमा काम गरेपछि पुनले अवकास लिए । अहिले सोवापत् मासिक दुई हजार भारतीय रुपियाँ पेन्सन थापेर घर चलाइरहे छन् ।
गोरखा सैनिकहरुको आन्दोलनमा सन् २००२ नोभेम्बर २७ लाई ऐतिहासिक दिन मानिन्छ । त्यही दिन हो गोरा र गोरखा सैनिक बराबर भन्ने कानुनी मान्यता मिलेको । युद्धबन्दी गोरखा सिंपाहीले पनि गोरा युद्धबन्दीसरह १० हजार पाउण्ड क्षर्तिपूर्ति पाएको यो नै पहिले घटना हो । त्यसैले गोरखा भूतपूर्व सैनिकहरुले सो दिनलाई ऐतिहासिक विजय दिवस भनेर मनाउँछन् । सारा गोरखालीको शिर उँचो बनाउने सो मुद्दाका एक निवेदक हुकुमसिंह भने खाली हात दुःखपूर्ण जीवन बिताउँदैछन् । आखिर किन त ?
एकपटक गोरखपुर जाँदा पुनको लालबुक लगायत डकुमेण्ट चोरी भयो । त्यसपछि अर्को डकुमेण्ट बनाउन जाँदा युद्धबन्दी भनेर लेखिदिएनन् । पुनलाई यो कुरा थाहै भएन । बेलायतले उनीजस्ता थुप्रै युद्धबन्दीलाई क्षतिपूर्ति दाबी गर्ने डरले डकुमेण्टमा युद्धबन्दी लेखिदिएको थिएन । त्यसैकारण उनले क्षतिपूर्ति पाउन सकेका छैनन् । उनले सुनाएको बयानका आधारमा वकिलले बेलायतको अदालतमा बहस गरे । मुद्दा पनि जिते । विडम्वना, त्यही बयान चाहिँ उनलाई युद्धबन्दी प्रमाणित गर्न समर्थ भएन ।
यूरोपको नेपालीपत्रमा प्रकाशित

No comments: