Saturday, February 28, 2009

हेडलाइन लाहुरे


विश्वप्रसिद्ध सञ्चारमाध्यमका पानामा आफ्नै कथा भरिन्छन् भनेर भोजपुर, दिङलाका ज्ञानेन्द्र राई सपनामा पनि सोचेका थिएनन् । साथीभाइको लहैलहैमा ब्रिटिश सेनामा भर्ती भएका राई फोकल्याण्डको लडाइँमा घाइते भए । हवाइ टापुमा अफिसरसितको भनाभनमा परेर छाँटिए । त्यतिबेला सञ्चारमाध्यमले उनलाई चिनेन । ब्रिटिश सेनाबाट निस्कासनमा परेको २२ वर्षछि सन् २००८ मा उनको पछि को थिएन - बीबीसी, गार्जिएन, टेलीग्रफ, डेली मिरर, डेली मेल, टाइम्स ।
फोकल्याण्डमा लागेको घाउको उपचारका लागि उनले बेलायत जान भिसा मागेका थिए । तर बेलायतले भिसा रातो झण्डा देखाइदियो । उनका वकिल ह्वो एण्ड कम्पनीले बेलायतमा यो कुराको पोल खोलिदिए । अनि त के निहुँ चाहियो - भोकोले आहारा खोजेजस्तै उनलाई खोज्दै बेलायती मिडियाहरु काठमाडौँ मात्र होइन भोजपुरसम्म पुगे ।
अर्कोपटक, सन् २००८ को सेप्टेम्बरमा तिनै ज्ञानेन्द्र फेरि सञ्चारमाध्यमको घेरामा परे । कारण थियो, उनीसहित छ जना पूर्व गोरखा सैनिकले हालेको मुद्दामा ३० सेप्टेम्बर, २००८ मा बेलायती उच्चअदालतले सबै गोरखा भूतपूर्व सैनिकलाई आवासीय अधिकार दिन बेलायत सरकारलाई निर्देशन गर्ने फैसला ।
२०१२ सालमा भोजपुरमा जन्मेका राई सन् १९७३ मा बेलायती सेनामा भर्ती भए । दोस्रो विश्वयुद्धका साक्षी पिताको पाइला पछ्याउँदै राई शुरुमा भोजपुरकै साङपाङको प्रारम्भिक गल्लामा छानिए । त्यसपछि धरानमा ब्रिटिश सैन्यको एसएसली -फाइनल सेलेक्सन) पास गरेर हङकङको सेकोङ तालिम केन्द्र पुगे । नौ महिने तालिमपछि तालिमेलाई पल्टनमा बाँडियो । राई परे सेभेन गोरखा राइफलमा । अझै काम बाँड्दैजाँदा राई पुगे ब्याण्ड प्लाटूनमा । काम थियो ड्रम बजाउने । बाँकी समय मेसिन गन चलाउने ।
सन् १९८२ को कुनै दिन बेलायतमा थियो राईको पल्टन । खबर आयो - अर्जेण्टिनाले बेलायत अधीनस्थ फोकल्याण्डमा आक्रमण गर्‍यो रे । अर्जेण्टिनाको झण्डा गाड्यो रे । अब लडाइँमा जाने सूचीमा परे राई । बेल्समा डेढमहिना तालिम गरेपछि मे १२ तारिखमा क्वीन्स एलिजावेथ २ पानीजहाज चढेर १९ दिनपछि फोकल्याण्ड टेके । बी कम्पनीमा बाँडिएका राईले भात न पानी भएर दशदिन दुस्मन खोज्दै फोकल्याण्डको जंगल चाहारे ।
जुन ११ को दिन थियो । दिउँसो अन्दाजी ११ बजे अर्जेण्टिनी आर्टिलरीले बी कम्पनी बसेको एरियामा फायर गर्यो । पिठ्यूँमा भिरेका सामान छेड्दै बमको चोइटा राईको शरीरभित्र छिरयो । "बमको चोइटा लागेपछि मरेजस्तो लाग्यो" राईले अनुभव बाँडे । "यताउती चल्न कोसिस गर्दा पनि बमबार्ड भइरहेको थियो, रेस्क्यू गर्ने एम्बुलेन्स आउन सक्ने अवस्था नभएकोले त्यत्तिकै बस्यौँ" राईले थपे ।
"पहिला त ढुंगाले कुटेजस्तो लागेको थियो देब्रे कुममा हेर्दा त आगो लागिरहेको देखेँ । हातले छाम्दा आगो त निभ्यो । तर हातै प्वालभित्र पसेजस्तो लाग्यो" कमिज माथि सार्दै घाउको खत देखाउँदै राईले भने । "सामान नबोकेको बेला भए त म फोकल्याण्डमै बित्ने थिएँ" झण्डै भेटिएको मृत्युलाई यसरी सम्झे राईले ।
केहीबेरपछि मेडिकल टुप्सले राई लगायतका घाइतेहरुलाई उठाएर फिल्ड अस्पताल पुर्‍यायो । अपरेशन त्यहीँ भयो । "अपरेसनपछि होसमा फर्कदा त स्टेचरमा रगले छ्याप्पै भिजेको थिएँ । देब्रे हातमा बमको चोइटा प्लाष्टिकमा लगाएर बाँधिदिएको रहेछ । खुट्टामा युनियन ज्याक पनि तयार पारिएको रहेछ । मरिहाल्यो भने ओढाइदिनका लागि" घाइते भएपछिको बेलीबिस्तार यसरी लाए राईले । त्यसपछि रेडक्रसको पानीजहाजमा राखेर राईलाई युगाण्डा लगियो । पानीजहाजमै दुइपटक अपरेसन गरिएको राई बताउँछन् ।
युगाण्डामा राईको बमले डढेको घाउ अरुको मासु थपेर सिलाइदिए । डाक्टरहरुले भन्ने गर्थे रे - तिम्रो घाउ दोब्राएर सिलाइदिएको छु । धेरै नचल्नु फाट्न सक्छ । अलिकति अर्काको मासु थपेर सिलाइदिएको छु । गोरखाली सैनिक पुगेको १४ दिनमा अर्जेण्टिना बेलायतको कब्जामा आयो । गोरखाली पल्टन अमेरिकामा बहादुरी र कौशल प्रदर्शन गर्दै बेलायत फर्क्यो । बेलायतमा केहीसमय बसेपछि पुनः उही टुंगोमा फर्काइयो हङकङ ।
सन् १९८६ मा अमेरिकाको हवाई टापुमा काम गरिरहेको सपोर्ट कम्पनीलाई सघाउन मेसिन गन प्लाटून र क्यूएम प्लाटूनलाई पठाइयो । राई मेसिन गन कम्पनीमा परेर हवाई पुगे । कम्पनीका मेजर पियर्सले तालिममा गोरखालीलाई नहुँदो नहुँदो कुरा गरेको गोरखा सैनिकहरुलाई मन परेको थिएन । तालिम समापनको दिन बिदाई पार्टी राखियो । पार्टी सकिएपछि सबै क्याम्पभित्र सुत्न गए । राई पनि सुत्न गए ।
सुत्न बिस्तारामा पल्टेका मात्र के थिए राईले अचानक हल्लाखल्ला सुने । बाहिर निस्कँदा देखे - गोरखाली सैनिकको एउटा समूह डाँडामा रहेको कम्पनी कमाण्डरको टेण्टतिर दगुर्दै थियो । त्यहाँबाट पनि अगि बढ्न थाल्यो । केही समयपछि क्याप्टेन अमरराज राईले गार्डरुम छेउमा आएर - ओसी साबको टाउको फुट्यो कोही अगाडि नआओ भनेर कराए । तर कसले फुटायो, के कारणले फुटायो आफूलाई थाहा नभएको राईले बताए ।
हवाईबाट हङकङ फर्कनासाथ गोरखाली पल्टनलाई विमानस्थलमै गिरफ्तार गरियो । राई पनि त्यसमा परे । क्याम्पमा बन्दी बनाएर राखियो । अनुसन्धान गरियो । दोषी पत्तो लागेन । स्पेशल इन्भेष्टिगेसन ब्राञ्च गठन गरियो । तैपनि दोषी ठहर गर्न सकेन । कुटाइ खाने गोरा अफिसरले पनि जे भयो भयो अब राम्रोसँग काम गर्नुपर्छ मेरो पनि गल्ती भयो हेला दुवै पक्षबाट क्षमा माग्नुपर्छ’ भनेको राई बताउँछन् । त्यसपछि त्यो केस मिलाउने सर्वाधिकार गोरखा मेजर प्रतापसिंह लिम्बूलाई दिइयो । लिम्बूले मुद्दा मिलाउनुको साटो नरहे बाँस नबजे मुरली जस्तैगरी हवाईबाट फर्केका सबै १११ जना गोरखालीलाई बदमास भन्दै घर पठाइदिए ।
घर फर्काउनु अगि राईसित कमाण्डिङ अफिसरले अन्तर्वार्ता लिए । हवाई जाने सबै डिस्चार्ज हुनुपर्छ तर तिमी फोकल्याण्डमा लडेर घाइते समेत भएको हुँदा तिमीले नोकरी अनुसारको पेन्सन पाउँछौँ’ भनेर हस्ताक्षर गर्न लगाएका थिए । राईले पेन्सन नपाउने हो भने म हस्ताक्षर गर्दिनँ’ भन्दा कमाण्डिङले पक्का पाउँछौँ विश्वास गर’ भनेका थिए रे । तर अहिलेसम्म राईले पेन्सन पाएका छैनन् । भन्छन् "पेन्सनको विश्वासमा सही गरेको थिएँ । यतिका वर्षभयो पेन्सनको कुनै अत्तोपत्तो छैन । उल्टो वेलफेयर अफिस जान पनि प्रतिबन्ध पो भयो ।"
"बेलायती सैनिक बनेर बेलायतको लागि लड्दा लागेको घाउ दुख्दा उपचार गराउन वेलफेयर जाँदा पनि अनुमति छैन भनियो । औषधि दिइहाले पनि पेनकिलर भन्दा केही पाइन्न" बेलायतका लागि लड्दा लागेको घाउले भन्दा बेलायती अधिकारीको ब्यवहारबाट लागेको घाउले बढी मर्माहत भएका राईले दुखेसो पोखे ।
अहिले सञ्चारमाध्यम, बेलायती जनता र बेलायती अदालतले उनको पक्षमा फैसला गरिदिएपछि भने राई हर्षित भएका छन् । हरेक महिनाजसो विदेशी सञ्चारमाध्यमका प्रतिनिधिलाई आफ्नो कथा सुनाउन पाउँदा झण्झट मान्ने त कुरै आएन । कतिले उनका बारेमा वृत्तचित्र नै बनाउँदै छन् । कहिलकाहीँ नराम्रो घटनाले पनि राम्रो परिणाम ल्याउँदो रहेछ । फोकल्याण्डमा घाइते नभएको भए, हवाईकाण्डमा कटौतिमा नपरेको भए ज्ञानेन्द्र राईलाई कसैले खोज्थ्यो -
युरोपको नेपालीपत्रमा प्रकाशित

1 comment:

Bhoju said...

प्रोफाइल राम्रो लागि है नरेशजी । यसलाई निरन्तरता दिनुस् । मेरो शुभकामना छ ।
Bhojraj Bhat