Saturday, February 7, 2009

ऋषि धमलाको खबर के छ ?

हिउँदे बिहानीको निन्द्रालाई जबरजस्ती पञ्छाउँदै, आँखा मिच्दै नित्यकर्मका लागि भर्‍याङ झर्दाझर्दै दोस्रो तल्लामा बस्ने छिमेकी सोमप्रसाद देवकोटाले भन्नुभयो, नरेश सर । नमस्कार । ऋषि धमलाको केस के हो सर ? खै सञ्चारमाध्यममा जति आए त्यति नै हो मैले पनि जानेको भनेर उम्किएँ ।
शहरमा बस्नेहरुको आदत बनेको छ आजकल चियासँगै पत्रिकाका समाचार पिउनु । २०५८ देखि यही बानीको शिकार भएको म अनुहार खकलेर पत्रिका दिन लम्किरहेको थिएँ । भूइँतल्लामा पसल गरिबस्ने घरबेटी केशव महर्जन दाइले पक्रिहाल्नुभयो र सोध्नुभयो त्यो ऋषि धमलालाई के हुन्छ अब ? खै दाइ पुलिसले पक्रेको छ, अनुसन्धान गर्दै होला केही दिनमै थाहा होला नि । जवाफ फर्काएर फुत्किएँ ।
करिब एकसय मिटर परको स्टेशनरीसम्म पुग्दा कसैले बीचबाटोमा रोकेन र सोधेन ऋषि धमलाको हालचाल के छ ? बीडीएस स्टेशनरी, चाकुपाट पाटनको सटरभित्र के छिरेको थिएँ साहुजीले समातिहाले । नरेश दाइ त्यो ऋषि धमलाले साँच्चै बम पड्काएको हो त ? खै भाइ म के भनुँ प्रहरीले जाँचपड्ताल गर्दै छ एक दुइ दिनमा थाहा होला नि । केहीबेर बस्न मन लागे पनि पत्रिकाको बण्डल काखीमा चेपेर कुलेलम ठोकेँ । थप प्रश्न सुन्नु थिएन मलाई ।
पत्रिका पनि पढ्ने चिया पनि पिउने २०५८ सालदेखिको थलो बनेको छ हेमन्त देवकोटाको पसल । पसलभित्र छिरेपछि मलाई ऋषि धमलाका बारेमा गरिने प्रश्नहरुबाट बचियो भन्ने भान भयो । सिन्धुलीका यी मृदुभाषी देवकोटा बन्धुले शुभप्रभातका फर्मालिटी पूरा गरे । चियाको आदेश पनि जारी गरे । र, मतिर फर्किएर सोधे साँच्चि नरेशजी त्यो ऋषि धमला त्यस्तो मान्छे हो त ? प्रश्न सुनेर भाउन्न पनि भयो । समयले बताउला नि । मसित त्यति सारो घुलमिल भएको मान्छे पनि थिएन । त्यसैले म ठीक बेठीक केही भन्न सक्दिनँ भनेँ । छिटोछिटो चियाको सुरुप्प लिएर बिदा भएँ ।
घर आएँ पत्रिका पढेँ । अब पालो थियो इमेल चेक गर्ने । न्यूजसाइट हेरेर अपडेट हुने । जीमेल, एमएसएन र याहू मेसेञ्जर अपलोड गरेँ । फेसबुक साइन इन गरेँ । केहीबेरमै छिचिमिरा झैँ साथीहरु अनलाइन देखा परे । केही साथीहरुले कुरा शुरु गरे हलो । हाइ । नमस्कार । यस्तैयस्तै शब्दबाट । मैले पनि जवाफ फर्काएँ । पालो थियो उनीहरुको । प्राय सबैको दोस्रो प्रश्न थियो ऋषि धमलाको केस के हुँदैछ ? म त तीन छक्क परेँ । जुरुक्क उठेदेखि जहाँजहाँ जान्छु यही प्रश्नले छोडेको छैन । अझ अनलाइनमा पनि यही प्रश्न ?
एक हिसाबले कन्पारो पनि तात्यो । देशमा कति मानिस खाने अन्नको गेडो नपाएर भोकभोकै छन् । कति यो माघको ठण्डीमा नांगै छन् । कति उपचार नपाएर छटपटाइरहेका छन् । कति जागिर नपाएर भौँतारिरहेका छन् । तिनीहरुको बारेमा आजसम्म कसैले सोधेनन् । तर ऋषि धमला को हो र यतिबिघ्न सोधिखोजी हुनुपर्ने ? केही साथीहरुलाई अनलाइनमै यसै भनेर झाटेँ पनि । तर यसरी सोध्नेहरु धेरैजसो प्रवासी र मोफसलबासी नेपाली थिए । माफ गर्नुहोला पनि भनेँ ।
म मात्र होइन । पत्रकारिता क्षेत्रमा काम गरिरहेका धेरै साथीहरुलाई माघ २१ गते ऋषि धमला पक्राउ परेदेखि दिनदिनै र छिनछिनै जहाँसुकै यही प्रश्नले खेदिरहेको छ ।
वास्तवमा दिनहुँ विभिन्न आरोपमा हजारौँ नेपाली देशभरबाट पक्राउ पर्छन् । विदेशमा पक्राउ परेको त कुरै नगरौँ । तिनीहरुको कुनै चर्चा हुँदैन । सभासद बबन सिंह यसै महिना पक्राउ परे तर कसैले मलाई यसरी सोधेका थिएनन् । तर किन ऋषि धमलाको बारेमा मात्र यत्रो चियोचर्चो ? के ऋषि धमला यो देशका प्रधानमन्त्री हुन् राष्टपति हुन् ? मन्त्री हुन्, सभासद् हुन् ? अथवा कुनै क्षेत्रमा ख्याति कमाएका विशिष्ट विज्ञ हुन् ? ऋषि धमला पक्राउ पर्दा समाज र राष्टलाई के हानी हुन्छ र वा खुला रहँदा के फाइदा भएको थियो ?
मिडियाले छोटो समयमै केही व्यक्तिहरुलाई यसरी सगरमाथा चढाइदिएको छ । जसका कारण आममानिसमा तिनीहरु कुनै विषय र क्षेत्रमा दक्ष नहुँदानहुँदै पनि समाज र राष्ट्रका लागि बडा अपरिहार्य छन् भन्ने भ्रम सिर्जना भएको छ । लाग्छ तिनीहरु नभए देशै डुब्ने छ जसरी इतिहासमा रणबहादुर शाहले भनेका थिए म मरे मुलुक डुब्ने छैन भीमसेन मरे मुलुक डुब्ने छ । उता चर्चामा आउनु पर्ने र चर्चा पाउनु पर्ने विषयवस्तु भने डल्लै ओझेल परिरहेका छन् । नेपाली मिडियाको कस्तो जिम्मेवारी निर्वाह ?

No comments: