गएको शनिबार मगर बुद्धिजीवीहरुसित आमनेसामने हुने चाँजो मिल्यो । सन्दर्भ थियो मगर अध्ययन केन्द्रको साधारणसभा । मगर जातिका प्राध्यापक, चिकित्सक, इन्जिनियर, अनुसन्धाताहरु संलग्न केन्द्रको साधारणसभामा पुग्नु संयोग थियो । त्यस्तो ठाउँमा पुगेपछि निसन्देह केही बुद्धि बढ्ने अपेक्षा त हुने भयो नै ।
केन्द्रको चबन्नी सदस्य थिएन यो पंक्तिकार । उद्देश्य बोकेको थियो म्यागासेसे पुरस्कार विजेता महावीर पुनको प्रवचन सुन्ने । तर सूचनादाताको अपूर्ण् सूचनालाई पछ्याउँदा पुगियो नो इन्ट्रीमा । केन्द्रका सदस्यबाहेक बाँकीलाई गोप्य मानिएको साधारणसभामा ।
केन्द्रका संस्थापक अध्यक्ष पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक डा. गोविन्दप्रसाद थापाले हार्दिक स्वागत गर्दै न्यानो हात मिलाउनुभयो । सँगसँगै सोध्नुभयो के गर्दै हुनुहुन्छ आजकल ? के गर्ने र, जागिर खाने बस्ने । अलिअलि अल्छि मान्दै जवाफ दिएँ । पढाइ सकियो ? पूरक प्रश्न तेर्सियो । अँ पत्रकारितामा एमए गर्दै छु मैले भनेँ । कहाँ ? उनले थप चासो देखाए । मैले पत्रकारिता शिक्षणबारे केही जानकारी दिन उचित ठानेँ ।
म त्रिभुवन विश्वविद्यालयमा पढ्दै छु । पहिले त्रिवि एक मात्र पत्रकारिता पढाउने विश्वविद्यालय थियो अहिले सबै विश्वविद्यालयले पत्रकारिता पढाउँछन् । पहिले त्रिविको पढाइ राम्रो थियो अहिले अरुको पनि राम्रो हुँदैछ । प्रहरी सेवाबाट निवृत्त भएपछि काठमाडौँ विश्वविद्यालयमा सुरक्षा व्यवस्थापन पढाउन थालेका डा. थापाले त्रिविप्रतिको भँडास निकाल्न शुरु गरिहाले । त्रिविबाटै विद्यावारिधि गरेका थापाले भने त्रिविको त के गुणस्तरको कुरा गर्ने र ? पढाइ हुन पाए पो ? विद्यार्थीले पढ्ने मन गरे पो ?
मैले पनि सही थपिदिएँ डाक्टरसाब त्रिवि त अब डाक्टर इन्जिनियर उत्पादन गर्ने होइन नेता उत्पादन गर्ने कारखाना बनेको छ नि। यति भन्नासाथ डाक्टरसाबले पूर्णचन्द्र आकार लिइहाले । भने बनायो नेता ? सब ढुंगे नेता बनायो । अध्ययनशील, तर्कशील, बौद्धिक नेता बनाए त ठीकै थियो । खाली ढुंगा हान्न सिकाएर ढुंगे नेता बनायो ।
देशको सबैभन्दा ठूलो शैक्षिक केन्द्र त्रिवि के साँच्ची ढुङ्गे नेता कारखाना बनेकै हो त ? डाक्टर साबको भनाइले भृकुटी खुम्च्याउन बाध्य बनायो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment