Tuesday, February 17, 2009

ढल्दैछ मित्र झुप्रो


हिमाञ्चल प्रदेशको भाग्सुस्थित घर जहाँ बसेर नेपाली भाषामा गीत रेकर्ड गर्ने पहिलो छिमलका कलाकार मास्टर मित्रसेन थापा आफ्ना सिर्जनाहरु टुसाउँथे अहिले सो घरमा मुसा र छुचुन्द्राको रजाइँ चलिरहेको छ ।
"घर भन्नु मात्रै माथिबाट मुसाले माटो बुरबुर झार्छ । अहिले मैले घोचामा प्लाष्टिक बेरेर मुसाले माटो झार्ने प्वालमा घुसारिदिएको छु" नेपाल घुम्न आउनु भएकी मास्टर मित्रसेनकी बुहारी देवकन्या थापाले मित्र झुप्रोको दुर्दशाको वर्णन गर्दै भन्नुभयो ।
पुख्र्यौली घर बाग्लुङ राखुपुला भएका मास्टर मित्रसेन भाग्सुमा जन्मेका थिए । दोस्रो विश्वयुद्धमा होमिँदा युद्ध आतंकदेखि विरक्तिएर मास्टर मित्रसेन नेपाली जातिको सेवामा लागेका थिए ।
उनले सन् १९३६ मा हिज मास्टर भ्वाइस कोलकता र दी स्टार अफ इण्डिया वाराणासीबाट नेपाली गीत डिस्क रर्ेकर्ड गराएका थिए । उनका गीतहरु मलाई खुत्रुक्कै पार्यो जेठान त्रि्रो बैनीले, धानको बाला झुल्यो देशै रमाइलो,
लाहुरेको रेलिमाई फेसनै राम्रो,अब त जाउ कान्छी घर बाटो छ उकालो ओरालो लगायतका ३० लोकगीतका र ६ नाटकका डिस्क रेकर्ड गराएका थिए । रेडियो नेपालले उनलाई नेपाली भाषामा गीत रेकर्ड गराउने पहिलो व्यक्ति भनेको छ ।
"घर भत्कन लागेको छ । खिड्कीहरु भत्किसकेका छन् । पूजा कोठा पनि भत्कन लागेको छ । पहिले त त्यहाँ नातिहरु सुत्थे । कतिबेला किच्ला भनेर अहिले सुत्न छाडिसके । बलोहरु लाएर घरलाई टेको लाएको छु" थापाले भन्नुभयो ।
५८ वर्षदेखि मित्र झुप्रोको रेखदेख गर्दै आउनु भएकी ७४ वर्षीय देवकन्याका अनुसार अहिले पनि मास्टर मित्रसेनका कृतिका थुप्रै पाण्डुलिपि अप्रकाशित छन् । "कोही ढुसी लागेका थिए मैले घाममा सुकाएर ठीक पारेँ । कसैमा मुसाले दूलो पारेका छन् । कोही फोटोकपी गरेर मैले कपडामा लपेटेर राखेको छु" थापाले भन्नुभयो ।
झोलामा पोका पारिएका, लुगामा बेरेर राखिएका थुप्रै पाण्डुलिपि धेरैले मागेर लगेको पनि थापाले बताउनुभयो । "हामी रोटीको पछि लाग्यौँ म कुण्डामडालिनीमा हस्पिटलमा काम गर्थे । सासुसित मागेर धेरैले पाण्डुलिपि लगेछन्" थापाले भन्नुभयो ।
प्रवासमा रहेको नेपाली समाजको राजनीतिक, साँस्कृतिक जागरणमा मित्रसेनले योगदान दिएका थिए । उनको योगदानको सम्मान गर्दै नेपाल र भारतका दुवै सरकारले हुलाक टिकट पनि प्रकाशित गरिसकेका छन् ।
देवकन्याका अनुसार अहिले उनको घर मित्र झुप्रोसँगै भारतीय सरकारले मास्टर मित्रसेन संग्रहालय बनाएको छ । संग्रहालयमा मित्रसेनले प्रयोग गर्ने पुराना भाँडाकुँडा, कपडाहरु, लडाइँ र साहित्यसंगीत सेवामा पाएका तक्माहरु, उनले लेखेका र पढेका किताबहरु, उनले बजाएका बाजाहरु, पूजाका सामग्री, कलमदानी, नेपालबाट संग्रह गरिएका शाल्रि्रामहरु राखिएको थापाले जानकारी दिनुभयो । संग्रहालयमा फाटफुट मान्छे आउने गरेको र आफूले उनीहरुलाई जानकारी दिने गरेको थापाले बताउनुभयो ।
भाग्सुका नेपालीहरुले भने मित्रसेनको पुण्यतिथि र जन्मजयन्तीमा सम्झने गरेको पनि उहाँले थप्नुभयो । "सरकारले केही गरेको छैन । मास्टरजीको जन्मतिथि २९ डिसेम्बरमा गाउँलेहरु आउँछन् । मन्दिर छेउमा कार्यक्रम हुन्छ । दुइ सालदेखि मैले सहभागीहरुलाई खाना खुवाउने गरेको छु" थापाले भन्नुभयो ।
भारत सरकारले मास्टर मित्रसेनका बारेमा केही नगरेकोमा गुनासो छ थापाको । तर त्यो भन्दा ठूलो चिन्ता त अर्कै छ - "मास्टरजीको चिनो मित्र झुप्रो र शिव मन्दिरलाई सुरक्षित राख्न पाए हुन्थ्यो" थापाले वह पोखिन् ।

No comments: