एकबारको जुनीमा मरेर लैजानु के छ र ? सबैसँग मीठो बोली, हाँसखेली जीवन बिताउन कसलार्इ पो मन नलाग्ला र ? सकेसम्म शत्रु नकमाउँ मलामी कम्ती नहोस् भन्ने कसले पो नठान्दो होला र ? तर सबै कुरा सोचेजस्तो नहुँदोरहेछ ।
जानेर नजानेर, बुझेर लहडले । पत्रकारिता पेशामा छिरिहालियो । दाम कम नाम बढी भएको यो पेशामा करिब एकदशक बिताएपछि सिंहावलोकन (सिंहले चार पाइला हिँडेपछि पछाडि फर्केर हेर्छ रे) गर्दा धेरै शत्रु कमाएको र धेरै मलामी गुमाएको निस्कर्षमा पुगेको छु ।
घटना सोमबारको मात्र हो । गोरखाहरुका अठार वर्ष नाघेका केटाकेटीले बेलायतको भिसा नपाएको बारेमा समाचार गर्दै थिएँ । गोरखाहरुका बारेमा क्रियाशील संस्थाहरुले यो समस्याको निप्टाराका लागि के गरिरहेका छन् भन्ने कोट (भनाइ) लिनका लागि गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को अल्डरसटस्थित कार्यालयमा फोन गरेँ । पहिले दुइपटक भेटिसकेका, एकाधपटक फोनमा पनि कुराकानी भइसकेका शाही थरका सज्जनले फोन उठाए । खासमा उनी संस्थाको आधिकारिक भनाइ दिने आधिकारिक स्रोत थिएनन् । आधिकारिक व्यक्ति एकैछिन बाहिर गएका रहेछन् ।
समय उपयोग गर्दै मैले उनी आफैँ सो समस्याबाट पीडित हुन् कि भनी जिज्ञासा राखेँ । 'शाहीजी तपाइका छोराछोरीले युकेको भिसा पाए ?' मैले सोँधे । उनले नपाएको बताए । मेरो अर्को प्रश्न 'कति कति वर्षका छन् छोराछोरीहरु ?' भन्ने बित्तकिै उनी बम्किए 'अर्काको छोरा छोरी कति कति वर्षका छन् भन्दै सोध्ने तपाइ को ? मैले गेसोको योगदानका कारण्ा बेलायत आउन पाएको हुँ । मेरा छोरा छोरीको केस पनि गेसोले हेरिरहेको छ । गेसोबाहेक कसैसित म केही बताउँदिनँ । पत्रिकाले नानाथरी लेख्दिन्छन्.....' । उनले अर्को कुनै विरोधी संस्थाको प्रमुख (जसलाइ म पनि व्यक्तिगत रुपमा घृणा गर्छु) सित मलाइ तुलना गर्न समेत भ्याए ।
उनको भनाइ सकिएपछि पत्रिका र पत्रकारलार्इ गलतरुपमा बुझेकोमा मैले उनलाइ सम्झाएँ । कडा मिजास र राजनीतिक हिसाबले सचेत उनी सहजै गल्नेवाला थिएनन् । त्यसैले मैले भन्न बाध्य हुनुपर्यो 'के पत्रकारहरुले गोरखा आन्दोलनलाइ नकारात्मकरूपमा मात्र लेखेका छन् ? के गोरखाहरुले यति सुविधा पाउनुमा पत्रिका/पत्रकारहरुको केही हात छैन ? पत्रिका/पत्रकारहरु आक्रोश, भँडास पोख्ने चौतारी/गुनासो अधिकारी मात्र हुन् ?'
'पछि भेटमा कुरा गरौँला' भन्दै फोनवार्ता त तुरियो तर यो चर्काचर्कीपछि उनको र मेरो सम्बन्ध पूर्ववत् नहुने निश्चित छ ।
केही मिनेटको अन्तरालपछि अर्को स्रोतसित फोनमा कुरा गर्नु पर्यो । राइ थरका उनी युनाइटेड गोरखा नाम गरेका संस्थाका युकेका हर्ताकर्ता थिए । डेडलाइनको चटारोले थोरै भूमिकापछि कुराकानी सीधै बढ्दैथियो । आफ्ना भनाइकै बीचमा उनले ममाथि ठाडै आक्षेप लगाउने कुचेष्टा पो गरे । '....खपाङ्गीजी सुन्दैछु तपाइले पनि ......लाइ बोक्दै हुनुहुन्छ रे' '.....म ....लाइ २० वर्ष्ादेखि चिन्छु त्यसलाइ मान्छे बनाउन खुबै कोसिस गरेँ, काम लागेन' 'तपाइले बोक्दै हिँड्नुभयो भने राम्रो हुने छैन' ठाडै दादागिरीको भाषा थियो त्यो । मैले कसैलाइ समर्थन गरुँ वा नगरुँ मेरो अधिकारको कुरा हो । उनले सम्झाइरहनुपर्ने, बाटो देखाइरहनुपर्ने विवेकशून्य, निर्णयक्षमताविहीन थिइनँ म ।
"तपाइलाइ मेराबारे जरुर गलतफहमी भएको छ । मप्रति धारणा बनाउने भने दुनियाँको पोल सुनेर होइन, मसित सीधै भेटेर बनाउन सक्नुहुन्छ । तपाइसितको मेरो सम्बन्ध समाचारदाता र स्रोतको मात्र हो । मैले कसलाइ समर्थन गर्ने/नगर्ने मामिलामा तपाइले हस्तक्षेप गर्ने होइन । म मेरो विवेक प्रयोग गर्न समर्थ छु" रिसले तातेको कन्पारो सम्हाल्दै मैले भनेँ ।
काम सिन्को नभाँच्ने तर सधैँ चर्चामा रहन रुचाउने उनी पत्रकारसित सम्बन्ध बिगार्ने पक्षमा थिएनन् । तर उनको मुखबाट फुत्केको बोली फेरि भित्र पस्न असम्भव थियो । 'भेटेर छलफल गरौँला' भन्ने निस्कर्षका साथ कुराकानी टुङि्गयो । तर पहिले दिनहुँजसो फोन गर्ने उनीसित न मेरो पूर्ववत् सम्बन्ध रहने छ न उनले अब दिनदिनै फोन गर्ने हिम्मत गर्लान् ।
यसभन्दा अघि बोल्ती बन्द भएका, शिष्टाचार समेत साटासाट गर्न छोडिएका, पख्लास् र देखुँला भएका त कति छन् कति ? यही गतिमा दिनहुँ मित्रहरु गुमाउँदै जाने हो भने मर्ने बेलासम्म कतै एक्लै भइने त होइन ?