दिन १
देशको मूल कानुन लेख्ने अधिकार पाएका एक सभासदसित यो साता तीनदिन सहयात्राको मौका मिल्यो । संयोग जुराइदिएको थियो नेपाल मगर विद्यार्थी संघले । माघको ११ र १२ गते दाङको घोराहीमा संघको राष्ट्रिय विस्तारित भेला थियो । संघको पूर्व महासचिवको हैसियतले पंक्तिकार र संस्थापक महासचिवको हैसियतले सभासद् रामबहादुर थापामगर त्यसतर्फ लम्क्यौँ ।
माइक्रोबसको अन्तिम सीटमा थचारिएर हामी दुईको यात्रा कलंकीबाट शुरु हुन्छ । पुग्नुथियो त्यसदिन कपिलवस्तुको मोतिपुर । माइक्रोबसले हामीलाई छोड्ने थियो बटौलीसम्म । हतार थियो निक्कै हामीलाई । माइक्रोका चालक भने यति फुर्सदमा थिए कि हरेक दुई घण्टामा चूरोटको सर्को नलिई गाडी अगाडि र्सर्दै र्सर्दैनथ्यो । चालकको कार्यशैलीबाट सभासद् यति दिक्क थिए दुइ ठाउँमा त मुखै फोरे - ए भाइ अलि चाँडो जाऊँ न । त्यो संविधानसभा थिएन जहाँ एक्लैले रोष्ट्रम छेकेर भए पनि आफ्नो माग पूरा गर्न सकियोस् । माइक्रोका चालक यति र्सवाधिकारसम्पन्न थिए कि यात्रु सबैले विरोध गरे पनि उनले प्रधानमन्त्रीले झैँ रोष्ट्रम अगाडि ठडिएर जवाफ दिनु पर्दैनथ्यो ।
जेनतेन साँझ छ बजे रुपन्देहीको देवदह टेक्यो हामी चढेको माइक्रोले । अगाडि तेर्सिएका थिए गाडीका ताँती । माइक्रोका सहयोगीले स्थानीय लवजमै भने - जाम खाइयो । केहीबेर अगि कुनै गाडीले कुनै स्थानीय मानिसलाई ठक्कर दिएकाले बाटो ठप्प पारिएको रहेछ । जतिबेला पायो त्यतिबेला, जे पायो त्यही बहानामा राजमार्ग ठप्प गर्न पाइने । कुनै कानुन नलाग्ने । कस्तो सजिलो । गाडी चलाउन त संकटकालमै सजिलो - माइक्रोबसका सहयोगीले मनको डकार ओकले । अब बन्ने संविधानमा सडकका यस्ता समस्यालाई यी सभासद्ले कसरी समेट्लान् मलाई चाहिँ खुल्दुली लागिरह्यो ।
गाउँ र खेत बीचको फराकिलो आलीमा हुइँक्यो माइक्रोबस । कच्ची धुले भूइँमा कहिले एकहात माथि उफार्दै त कहिले नाक ठोक्काउँदै । सभासद्ले ससुराली मोतिपुर लान बोकेको सुन्तला भरिएको झोला हाम्रा लागि भारी भयो । प्रकृति प्रदत्त दुई हात एउटाले हातेझोला र अर्कोले माइक्रोको छेउकुना समात्दै ठीक्क । यतिबेला नवदुर्गाको झैँ चार हात भएको भए । बुटवल पुग्दा घडीमा साढेसात टरिसकेको थियो । मोतिपुरसम्म जाने स्थानीय बसहरुको छुट्टी भइसकेको रहेछ । नेपालगञ्ज जाने एउटा रात्री बस पाइयो । आधाघण्टा बस्दा पनि त्यो बस चटनपटाएपछि ओर्लियौँ विकल्पको खोजीमा ।
गाडी रोक्न हात उठाउँदा उठाउँदा हैरान । संसदमा भए सभासद्ले हात उठाए सभामुखले कारबाही रोक्लान तर यहाँ कसैले गाडी रोके पो । तिनीहरुलाई के थाहा त्यो उठेको हात सभासद्को हो । एउटा ट्रकले आश देखायो । अलि परसम्म हामी केहीबेर लतारियौँ । हेर्दाहेर्दै त्यसले हामीलाई माछो माछो भ्यागुतो बनायो । फक्यौँ । केहीबेरमा अर्को ट्रक आयो । अमलेखगञ्जबाट डिजेल बोकेर सन्धिखर्क हिँडेको । मालबाहक भए पनि त्यसभित्र हामी १२ यात्रु थियौँ । समावेशी । महिला, पुरुष, बालक, युवा, बृद्ध सबै । खुट्टा तन्काउने त के टेक्ने ठाउँधरी थिएन । ट्रकको एक कुनामा गोपिक्याँच थिए माननीय सभासद् । यतिबेला मैले सम्झेँ केही अगिको हिमाल खबरपत्रिकामा प्रकाशित शाही ठाँट शीर्षकको रिपोर्ट । सभासद्हरुको व्यवहार खान्दानी बन्दै गएको भाव थियो त्यसमा । मनमा तर्कना उठ्यो - यो पनि शाही ठाँटकै एक अध्याय होला ।
दिन २
पाल्पाबाट सभासद् लीलाकुमारी सोमैमगर र नेपाल मगर संघका महासचिव वसन्त र्घर्तीमगरले व्यवस्था गरेको निजी गाडी हामी दुई भाइले कपिलवस्तुको बनगईमा समात्यौँ । बाटोमा वसन्त र लीलाले वर्णन गरेका बाल्यकालका दुःख सम्झँदा आँशु झर्न खोज्थे । एउटा प्रसंगमा सोमैले भनिन् - भोलिपल्ट जंगल जान ढिलो हुन्छ भनेर अघिल्लो साँझ नै मुख धोएर सुत्थ्यौँ । दाउरा र घाँससँग जीवन साटिरहेका बहुसंख्यक दिदीबहिनीको अवस्था उनको यो भनाइमा पोखिएको थियो । रामबहादुरको दुःखको पहाड पनि कम्ती अग्लो थिएन । यस्तो थियो एउटा वाक्य - भैरहवाबाट साइकलमा एकै दिनमा परासी पुगेर फर्कँदा साइकलको होइन झण्डै आफ्नै हावा नखुस्केको ।
भेलाको उदघाटन सकियो । बन्दसत्र त्यसै साँझ शुरु हुने भयो नीमा फिल्महलमा । खानपान भ्याएर राति १० बजे हल छिरियो । कार्यक्रम ढिला शुरु हुने छाँट देखियो । अगिल्लो दिनको ट्रकको हल्लाइ र निरन्तरको बसयात्राबाट थाकेका सभासद्को चाहना थियो एकछिन सुत्ने । आयोजकले व्यवस्था गरिदिएको विश्रामस्थल केही टाढा थियो । त्यसैले स्टेजको चिसो भूइँमै निन्द्रादेवीको काखमा सभासद लुटपुटिए ।
दिन ३
राति राम्रोसँग निदाउन नपाएकोले होला बिहान उठ्न अलि बेर भयो । साढेआठ बजे तुलसीपुर चोक आउँदा काठमाडौँ जाने बसले हामीलाई छोडिसकेको रहेछ । स्थानीय साथीहरुले उपाय निकाले - लमहीसम्म लोकल गाडीमा जाने त्यसपछि काठमाडौँ । खोज्दा सुर्खेत जाने माइक्रो फेला पर्यो । कण्डक्टर राजी भए हामीलाई लमहीसम्म लान । सभासद माइक्रोको ढोका उक्लन मात्र के खोजेका थिए लोकल जीपका कण्डक्टरले दुवै हात फैलाएर ढोकामै छेके । भने - सुर्खेत जाने गाडीले लमही जाने यात्रु बोक्न थाले भने हामीले चाहिँ कसलाई बोक्ने । के भयो ? सभासदले निरीहभावमा जवाफ दिए - हेर न यो लोकल जीपको भाइले चढ्नै दिँदैन ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment