चैत २३ गते पूर्व ब्रिटिश लाहुरेहरुको संगठन गेसोको दोस्रो राष्ट्रिय महाधिवेसनको उद्घाटन समारोहमा सभापति पदमबहादुर गुरुङले भनेको दुई वाक्य घत लाग्यो । 'पहिले घरमा सोफासेट राख्नसक्ने मेरो हैसियत थिएन अहिले हैसियत छ तर ढाडको रोगले सोफामा बस्न हुँदैन ।' 'पहिले मसित बियर खानसक्ने क्षमता थिएन अहिले बियर राख पुग्ने पेन्सन छ तर स्वास्थ्यको कारण खान सक्दिनँ' ।
यस्ता अन्तरविरोधहरु मेरा जीवनयात्रामा पनि आए । २०५४ मा काठमाडौँ छिरेर भूमिगतजस्तै भएको म २०५६ मा फेला परिहालेँ । एउटै स्कुल पढेका तर उमेरले दाइ राजु पोखरेल -जो आरआर क्याम्पसका वर्तमान प्रमुख गोपालचन्द्र पोखरेलका कान्छा भाइ हुन्) ले एक नातेदारको शुद्धाइँमा भेटिहाले । उनको 'कहाँ पढ्दैछौ' भन्ने प्रश्नको जवाफ मसित थिएन । पढाइ छोडेर ढाक्रे बनेको ढाँट्न पनि सकिनँ । स्थिति बुझेपछि उनले मध्यमार्गी उपाय रचे - बिहानदेखि साँझसम्म काम गर्ने, बेलुकी कलेज पढ्ने ।
उपाय त्यति नराम्रो लागेन । त्यहीदिन मैले एसएलसी छिचोलेको दसी सर्टिफिकेट र भर्ना खर्च उनलाई थमाएँ । औपचारिक पढाइको नदीबाट भङ्गालो फाटिएको म दुईवर्षपछि फेरि मूलधारमै मिसिएँ । बिहान उठेदेखि दिनभरिको काम सल्टाएर पढ्न जानु मलाई अक्करे भीरको यात्रा पूरागर्नु जस्तो थियो । कहिले अर्जेन्ट अर्डरले रोक्ने, कहिले पालो दिने पात्र अभावले पाइला रोक्ने । मनमा रहर थियो । पढाइको प्यास थियो । एकदिन बिराएर भए पनि कलेज जाऊँ भन्ने इरादा थियो ।
कुलेश्वरबाट २१ नम्बरको कीर्तिपुर यातायातको लामो बस -यसलाई आजभोलि लाउडा पनि भन्दा रहेछन्) चढेर रत्नपार्क झर्यो । त्यहाँबाट फड्का नाप्दै आरआर कलेज । विषय रोजेको थिएँ - पत्रकारिता, गणित र जनसंख्या । कक्षामा कहिल्यै समयमा पुग्न सकिनँ । ढिलो आउने भरियाले कहाँ बीचमा घुस्रना पाउनु -जहिल्यै अन्तिम बेञ्चमा । मेरो आँखाको ज्योति त त्यतिबेलै मधुरो भइसकेको रहेछ । शिक्षकले कालोपाटीमा लेखेको हिसाब ठम्याउनै नसक्ने । शिक्षकको उच्चारणको भरमा हिसाब सार्थेँ । यो पाराले गणितको डुङ्गा किनारा नलाग्ने सोचेर म आफैँ किनारा लागेँ ।
त्यतिबेर मसित दुईजोर कपडा मात्र थिए । एउटा लगायो, एउटा धोयो । सफा कपडा पनि फोटो धुलाउँदा केमिकल उछिट्टएिर एकैदिनमा दागैदाग हुन्थ्यो । घरबाट सफा कपडा लाएर आए पनि दिउँसोसम्ममा छिर्कैछिर्का हुन्थ्यो । कति दिन त म राष्ट्रिय सभागृह, महेन्द्र पुलिस क्लवको गेटसम्म आएर पनि कपडा फोहोर देखेपछि मनभरि निराशाको भारी बोकेर कक्षा नछिरी फर्कन्थेँ । गरिबीले मलाई थचक्कै बनायो । कसैले केही नभने पनि कलेजको ढोकाबाट बाह्र हात टाढै बनायो । त्यस्तै २० दिन कलेज टेकेँ हुँला । बाँकी त्यस्तै एक साता -एक दिन र्फम भर्न, एक दिन प्रवेशपत्र लिन र जाँच दिन) समय दिएपछि आइए पास गरेँ । आइए पास गर्दासम्ममा मेरो एक जना साथी थिए - जयराम लामा ।
बीए पनि तेस्तै । गार्मेन्टमा सुपरभाइजर कम चौकिदारले केको कलेज जान पाउनु ? रातभरि पढो जाँच दिन गो । वर्षमा एकसाता समय दिएर बीए पनि कटाएँ । आइएमा कमाएको साथी आइएमै अड्किए परेँ म एक्लै । एमए पुगेपछि स्कुले रहरजस्तै रहर पलायो कलेज जाने । परिबन्दहरुलाई पनि जित्छु भन्ने लाग्दै थियो । तर म पो परिबन्दहरुको जालोमा परेको रहेछु । कहिले जागिर कहिले समाजसेवाको भाउँतोले दुईवर्षमा दिनगन्तीले त्यस्तै दुईमहिना कलेज पुगेछु ।
साथीहरुले कलेज जीवनको संस्मरण सुनाउँदा पीडाको सुइरो कोखामा जाकिएजस्तो हुन्छ । कलेजबाट टूर गएको वा जाने योजना सुन्दा पनि शूल भएजस्तो हुन्छ । वास्तवमै आफूमा अलिकति चेत पलाइसकेको, आत्मविश्वास भरिन लागेको जीवन केही गरेर देखाउने मौका पनि हो कलेज जीवन । भिन्न पृष्ठभूमिका मित्रहरुको भिन्न विधाको दक्षता आमोदप्रमोदले जीवनको गोरेटो नै डोरिन पनि सक्थ्यो । जो मैले छुटाएँ । शुरुका अन्तरविरोधी वाक्य जस्तै जीवन केही बनेर पनि केही छुटेको छ । जसलाई म महसूस बाहेक के पो गर्न सक्छु र ?
No comments:
Post a Comment