Thursday, April 23, 2009

डाक्टरसाबको पर्खाइमा


बुधबार, अप्रिल २२ मा डा. रमेश चोखानीसित जाँच गराउन नर्भिक इन्टरनेशनल अस्पतालमा तीन महिनाअघि नै नाम लेखाएको थिएँ । २०६४ असोज यता डा. चोखानीसितको यो मेरो चौथो नियमित जाँच थियो । प्रधानमन्त्री पुष्पकमल दाहालको पहिलो भारत भ्रमणको टोलीमा परेर फिर्ताभए लगत्तै म अपत्यारिलो किसिमले दम रोगको पञ्जामा परेको थिएँ । त्यसपछि त महिना, दुई महिना, तीन महिनामा डा. चोखानीकहाँ धाउनु जागिरजस्तै नियमित कार्य बनेको थियो मेरा लागि ।
यसपटक अस्पतालले समय दिएको थियो - साँझ पाँच बजे । सोही अस्पतालकी नर्स बहिनी प्रमिला रानाले मेरो पालो मिलाइदिएकी थिइन् । थला नपरेसम्म सञ्चै ठान्ने गोरखाली स्वास्थ्यचेतनाले युक्त म उनैको करले अस्पताल पुगेको थिएँ । उनले मिलाइदिएको समयतालिका मान्दै म लुरुलुरु पाँच बज्न पाँचमिनेट छँदै अस्पतालमा हाजिर जनाउन पुगेँ । डा. चोखानीको कोठा बाहिर उनलाई कुरेका बिरामीहरुको लाइन पेट्रोल भर्न लाग्ने लामभन्दा कम थिएन । त्यतिले भएन प्यासेजमा राखिएका कुर्सिहरु पनि भरिएका थिए । उनका सहायकलाई ङिच्च दाँत देखाउँदै मैले उपस्थितिको जनाउ दिएँ । 
डा. चोखानी आइपुगेका थिएनन् । उनका सहायक चिकित्सकले प्रारम्भिक बयान लिँदै थिए । १५ मिनेटपछि मलाई पनि सहायक चिकित्सकले बयान लिए । अब कुर्नु थियो डा. चोखानीलाई । त्यतिबेलासम्ममा आफ्नो प्रातकालीन ड्यूटी सिध्याएर प्रमिला आइसकेकी थिइन् । डा. चोखानी सडक जाममा परेको जानकारी आयो । डा. आउने निश्चित थियो तर समय ठेगान थिएन । फर्केर जाने हिक्मत कसैको थिएन । सबै तीन महिनादेखि पालो कुरेका बिरामीहरु थिए । त्यसैले पर्खनुको विकल्प थिएन । बरु विभिन्न बहानामा टहलिनु उचित थियो । हामी पनि निस्क्यौँ चिया पिउन । 
करैले एकघण्टा बिताएर फर्कँदा डा. चोखानी आइसकेका रहेछन् । बुझ्दा थाहा भयो मेरो पालो चौथोमा रहेछ । त्यतिबेलासम्ममा दुईजना बिरामीको नाडी डा. चोखानीले छाम्न भ्याएका रहेछन् । अब तीनवटा रिपोर्ट र एक जनापछि तपाईको पालो’ -करिब सातबजे डा. चोखानीका सहायकले यो वाक्य सुनाउँदा आठ बजेभित्रमा आफ्नो जाँच सकिने लख काटेँ । डा. चोखानीको कक्षबाहिर खुट्टा टेक्ने ठाउँ थिएन । त्यसैले बाहिर अलि परै बसेँ जहाँ हावा राम्रोसँग चल्थ्यो श्वास फेर्न सास्ती हुँदैनथ्यो । 
कुर्दाकुर्दा आठ बज्यो । पालो आएन । डा. चोखानीका सहायकलाई भेटेँ । एकैछिन कुर्नुहोस् पालो आइहाल्छ’ भने । उनीसित यसबाहेक भन्ने कुरा नै के थियो र ? घडीको सुईले साढेआठ टेक्यो । फेरि सहायकलाई भेटेँ । त्यतिञ्जेलमा डा. चोखानीको कक्षबाहिर पालो पर्खिरहेका दुईजना दमका रोगीको हालत बिग्रिँदै गइसकेको रहेछ । के गर्ने दाइ पालो त तपाईको हो तर उहाँहरु सिरियस हुनुभयो, उहाँहरुलाई जान दिऊँ कि के गरौँ तपाई जे भन्नुहुन्छ म त्यही गर्छु’ - सहायकले भने । आफ्नो पालोमा मेरो गोरुको बाह्रै टक्का पनि गरेर भएन । यहाँ त अलिकति मानवीयता अलिकति विवेक पनि देखाउनै पर्नेभयो । धार्नीको टाउको स्वीकृतिमा हल्लाउने बित्तिकै पालो आधा घण्टापछि धकेलियो । 
लाममा बसेकाहरु अझै निकै थिए । कोही बृद्ध, कोही बृद्धा, कोही बालख, कोही आइमाइ केटाकेटी । घडीको सुईले रातको नौ नाघिसकेको थियो । बिरामीहरु कसरी घर पुग्ने चिन्तामा थिए । बच्चाहरु कुर्सिमै निधाइसकेका थिए । निस्सासिएर बृद्ध बृद्धाहरु पालो बसे झैँ एकपछि अर्को गर्दै खोकिरहन्थे । महिलाहरु घरायसी कुराकानीमा मस्त थिए । सबैको साझा चिन्ता थियो - बोलाइएको समयमा पालो आएन । तीन घण्टाभन्दा कम समय कुर्ने त कोही थिएनन् । जाचाएर बाहिर निस्केकाहरुको अनुहार बिरामीको जस्तो होइन युद्ध जितेर फर्किएका सिापाहीको जस्तो देखिन्थ्यो । 
बल्लबल्ल पालो पाँचघण्टा कुरेपछि राति १० बजे मेरो पनि युद्ध जित्ने पालो आयो । म भन्दा पछि दर्जनौँ बिरामी थिए तिनको पालो कतिबेला आयो होला ? डा. चोखानीका निजी सहायकलाई सोधेँ - भाइ सबैभन्दा ढिलो कतिबजेसम्म जाँच गरिएको इतिहास छ ? उनले बिहान १ बजेसम्म जाँच गरिएको जानकारी गराए । तीन चित खाएँ । कम्तीमा एउटा बिरामीलाई जाँच्न कति समय लाग्ने ? एउटा रिपोर्ट हेर्न कति समय लाग्ने ? त्यसको आँकलन गरेर त्यही अनुसार बिरामीलाई बोलाए सबैले घण्टौँ खर्चनु पर्दैनथ्यो । समय व्यवस्थापनको अभावमा खेर गइरहेको समयको जिम्मेवारी कसले लिने ? अस्पताल व्यवस्थापनले वा चिकित्सकले ? 
केही दिनअघि बेलायतमा बसिरहेका एक मित्रले फोनमा भनेका थिए - डेन्टिस्टसित समय लिएको थिएँ, जान सकिनँ । पछि त बिल पो पठाएछ । उनले थपे बोलाइएको समयभन्दा पाँच मिनेटपछि पुग्यो भने पिन रिजेक्ट गरिदिँदोरहेछ । अनि अर्को एपोइन्टमेन्टका लागि नाम लेखायो फर्क्यो । नेपालमा चाहिँ आफैँले समय दिएको बिरामीलाई घण्टौँ पर्खाउने स्वास्थ्य व्यावसायी संस्था र चिकित्सकलाई बिरामीहरुको समय बर्बाद गरिदिएवापत् क्षतिपूर्ति भराउनुपर्ने दिन आइसकेको छ । तर बिरालाको घाँटीमा घण्टी कसले बाँधिदिने ? 

No comments: