Thursday, May 21, 2009

नचाहँदा नचाहँदै बनेका हिरो

त्यसो त सगरमाथाको चुचुरो छुने आप्पा शेर्पाको कुनै धोको होइन । अझ कीर्तिमान बनाउने त उनले सपनामा पनि चिताएका थिएनन् । धेरैको जीवन सगरमाथाको टुप्पो त के फेदीसम्म पनि नटेकी बित्छ । तर आप्पा शेर्पा, जसले उद्देश्य नराखिकनै सगरमाथा आरोहणमा एकपछि अर्को कीर्तिमान बनाएका छन् ।
बिहीबार बिहान ८ बजे सगरमाथाको चुचुरोमा 'जलवायु परिवर्तन रोक, हिमालयलाई बाँच्न देऊ' अंकित व्यानर फहराउँदै आप्पाले आफूलाई १९ औँपटक विश्वको सबैभन्दा अग्लो भूगोलमा पुर्‍याए । १३ महिनाअघि आफैँले कायम गरेको सबैभन्दा बढीपटक सगरमाथा चढ्ने मानवको कीर्तिमान आफैँले तोडे । 
थामे, सोलुखुम्बुका ४९ वषर्ीय आप्पा १२ वर्षको छँदा आफ्ना गोठाला पिताको निधन भएपछि परिवार पाल्न पर्वतारोहण पेशामा लागेका हुन् । पिताको मृत्युपछि आमा इलाफुटी, दुई दिदी र दुई भाइको जिम्मेवारी लाक्पा तेञ्जिङको थाप्लोमा आइपर्‍यो । भरियाका रुपमा यस पेशामा लागेका आप्पाले एकजना डेनिस समाजसेवीको मद्दतले सोलुकै हिमालयन ट्रस्ट स्कुलमा भर्ना भए । तर दुई बर्ष नबित्दै पर्वतारोहणले आप्पालाई तानिहाल्यो । 
आप्पाले १९८८ मा पहिलोपटक सगरमाथा आरोहण शुरु गरे । तर उनी ८ हजार ५०० मिटरभन्दा माथि जान सकेनन् । विगत केही वर्षयता कीर्तिमानमाथि कीर्तिमानको भारी बोकिरहेका आप्पाको शुरुका तीन आरोहण प्रयास विफल भएका थिए । सन् १९९० मे १० मा उनले रोब हल, ग्यारी बल र एडमण्ड हिलारीका नाति पिटर हिलारीसित पहिलोपटक सगरमाथाको आरोहण आरम्भ गरेका थिए । 
त्यसपछिका वर्षहरुमा भने आप्पाले कहिल्यै पछि फर्केर हेर्नु परेको छैन । त्यसयताका १९ वर्षमा उनले १९ सै पटक सगरमाथा चढिसकेका छन् । सन् १९९६ र २००१ मा उनले सगरमाथा चढेनन् तर १९९२ मा एकैवर्ष दुईपटक सगरमाथा चढे । आत्मीय पर्वतारोही मित्र बाबुछिरी शेर्पाको आरोहणकै क्रममा निधन भएपछि सन् २००३ मा आप्पाले पर्वतारोहणबाट सन्यासको घोषणा पनि गरेका थिए । तर त्यो कार्यान्वयन भने भएन । 
सन् २००६ को डिसेम्बरदेखि आप्पा अमेरिकाको ड्रापरमा श्रीमती र छोराछोरी समित बसिरहेका छन् । आप्पाले पटकपटक भन्ने गरेका छन् - ँकीर्तिमान राख्ने कुनै योजना पनि थिएन । मैले कीर्तिमान राख्ने सपना पनि कहिल्यै देखिना । म कहिल्यै कीर्तिमानको पछि लाग्दिना पनि’ 
तर के गर्नु जब कीर्तिमान नै आप्पाको पछि लागिदिन्छ 

2 comments:

Chorus Lamichhane said...

sagarmatha ma kirtiman rakhnu ta nepaliko lagi therai ramro kura ho...read more...http://www.sharemarketinnepal.blogspot.com

Chorus Lamichhane said...

haina ma kahile hero bane ha?haa ha ha ....just kidding yar....naresh, malai ekpalta fon gara hai.......