Wednesday, June 10, 2009

चश्मा नभएको भए

लालपानी माध्यमिक विद्यालय, शिवगञ्जमा कक्षा ७ पढ्दाको कुरा हो । चश्मा लाएर कक्षामा आएको निहुँमा सहपाठी कृष्णप्रसाद उप्रेतीको गालामा एकाएक शिक्षक रत्नमान श्रेष्ठले चड्कन लगाए । कुन अभियोगमा चड्कन लगाइयो केही थाहा भएन । रत्न सरले भुटभुटिँदै यति मात्र भने - ‘खुब हिरो बनेर कक्षामा आउने’ ।

भोलिपल्टसम्ममा त्यो चड्कन रत्नसरका लागि महंगो साबित भइसकेको थियो । आँखाको समस्याका कारण चिकित्सकले चश्मा लगाउन दिएको प्रेसक्रिप्सन देखाएपछि रत्नसरलाई विद्यार्थीको गालामा बर्साएको त्यो आफ्नै गालामा बजि्रए झैँ भयो । ‘उपकारी व्यक्ति निहुरिन्छ निरन्तर’ भन्ने कवि शिरोमणि लेखनाथ पौड्यालको पंक्ति पछ्याउँदै होला रत्नसरले विद्यार्थीसित माफी मागे ।

बालखैमा आफ्नै सामुन्ने देखेको यो घटनापछि चश्माबाट बाह्र हात परै रहनु पर्नेरहेछ भन्ने पाठ सिकियो । घरमा जिबा (हजुरबा) ले पढ्दा लगाउने चश्मा पनि छुनु नहुनेरहेछ भन्ने लाग्यो । लाग्यो, ठूल्दाइले बेलाबखत लगाउने कालो चश्मा पनि दाइ नभएको मौका छोपेर लगाउनु ठीक हैन रै’छ ।

२०५६ मा रत्नराज्यलक्ष्मी कलेज भर्ना भएपछि सोचेको थिएँ -विज्ञान पनि पढ्न नपाए पनि मेजर म्याथ (गणित) लिएर पढुँ । एक सातासम्म गणित कक्षामा धाउँदा शिक्षकले कालोपाटीमा लेखेको ठम्याउनै नसकेपछि गणितको सपना आधाबाटोमै तु्हियो । यसबीचमा दिदी भेनाको फोटो स्टूडियोमा फोटोग्राफर बन्दा कैयौँचोटी फोकस आउट फोटो खिचियो र गालीको सगरमाथा पनि बेहोरियो ।

२०५७ मा कम्प्युटर सिक्न पाटनढोकास्थित कम्प्युटर सेक्सन धाउँदा पुष्टि भो मेरो आँखाको ज्योति त आंशिक कमजोर भइसकेको रहेछ । सहपाठी बहिनी मन्दिरा शाक्यले सल्लाह दिइन् - दाइ तपाईको त आँखा कमजोर भइसकेछ । डा. नारायणी श्रेष्ठसित जचाउँदा नतीजा निस्क्यो - मैले माइनस १.५ पावरको चश्मा लाउनुपर्ने रहेछ । समय बितिसकेपछि अब पो घोत्लिन मन लाग्यो - मेरो आँखा किन कमजोर भयो ? फोटो स्टूडियोको डार्करुममा बसेर काम गर्नाले कि रातभर कम्प्युटरमा गेम खेल्नाले ?

चश्मा बिनाको जीन्दगीको कल्पना गर्न छाडेको धेरै वर्षपछि यो साता केही साथीहरुले प्रश्न गरे - तपाईको चश्मामा पावर पनि छ ? सुत्दा आठ घण्टाबाहेक नौ वर्षयता चश्मा छाड्न सकेकै होइन । तैपनि प्रश्न चाहिँ अर्कै कोणबाट तेर्सियो । एक मन लाग्यो ‘हैन, पावर छैन । मैले नक्कल पार्न मात्र चश्मा लगाको’ भन्दिऊँ कि । कसैले टाउकोमा, कसैले छातीमा, कसैले कम्मरमा चश्मा लाएको छ्यास्सछ्यास्ती देखेका ती साथीहरुले मलाई त्यस्तो प्रश्न सोध्नु अस्वाभाविक पनि हैन भन्ने लाग्यो ।

छलाङ मार्ने गरी बढिरहेको चश्माको पावरका कारण तीनमिटर परको अक्षर ठम्याउन नसक्ने अवस्थामा पुगेको म बेलाबेलामा सोच्छु - आखिर यो चश्माको आविस्कार कसले गर्‍यो होला ? जसका कारण मेरो जीवन जेनतेन घसि्रइरहेको छ । जसोतसो धानिइरहेको छु । यदि चश्मा नहुँदो हो त ? कल्पना मात्र गर्दा पनि कहाली लाग्छ - म घरको कुनै कुनामा थुपि्ररहेको हुन्थेँ होला । जीवन र जगतलाई चर्मचक्षुले स्पर्श गर्नबाट वञ्चित हुन्थेँहोला । अथवा मेरो देखभालका लागि अर्को एकजनाको पनि जीवन त्यतिकै बित्ने थियो होला ।

धन्य छ, चश्मा तिमीलाई कसले आविस्कार गर्‍यो ? जसका कारण आज म र मजस्ता धेरै मानिसले जीवन र जगतलाई भौतिकरुपमा नियाल्न पाएका छन् 

No comments: