Wednesday, June 10, 2009

बोक्सी उत्रेको साक्षी

राजधानीको एक गाउँमा शिक्षिका विमला लामाले कल्लीकुमारी विश्वकर्मालाई बोक्सीको पगरी गुथाउँदै दिशा खुवाएको घटनापछि मनमा एउटा तीखो बोक्सी काँडा पस्यो - आखिर शिक्षकजस्तो गाउँका अशिक्षित, अर्धशिक्षित, अर्धदीक्षितहरुलाई अन्धविश्वासबाट वैज्ञानिक बाटो देखाउनुपर्ने विमलाले किन यस्तो गरिन् ? जेठ २६ गतेको कान्तिपुर दैनिकमा एउटा लेख छापियो - महिला हिँसा गर्नेमा शिक्षितहरु अगाडि । जेठ २८ को नागरिक दैनिकमा विमलाले बोक्सीको आरोप लगाउनु आफ्नो गल्ती स्वीकारिन् । खाटा बसिसकेको तर खिल निस्किनसकेको बोक्सी काँडाको घाउ यी सन्दर्भले अझ चस्कायो ।
२०५४/५६ को आधावर्ष तेह्रथुम, आठराईको इवामा बिताउने अवसर यो ब्लगरले पाएको थियो । माइली फूपूको आँगनसँगै जोडिएको थियो उहाँको जेठाजुको घर । फूपूकी जेठानी दिदी बारम्बार बिरामी हुने गर्दथिन् । कहिले कोखामा घोच्यो । कहिले सोला हान्यो । कहिले के कहिले के ? पाँच छोरा, एक छोरीकी आमा उनी एक सातामा दुईपटक बिसञ्चो भएको हुँदा छोरा छोरी त माउ बिनाको चल्ला जस्तै भइएला कि भनी पिरोलिन्थे । त्यो भन्दा पनि चिन्ता त उनका श्रीमानमा छाउँथ्यो । 
एक छोरा एक छोरी एसएलसी पास गरेका भए पनि जब उनी बिरामी हुन्थिन् उनलाई न त स्वास्थ्य चौकी लगिँदैन्थ्यो । न त खुवाइन्थ्यो कुनै औषधिमूलो नै । त्यसो त स्वास्थ्य चौकी पनि पायकमा भने थिएन । जब उनी बिरामी हुन्थिन् घरमा आउँथे चुहान कान्छा जो गाउँका थोरबहुत कहलिएका धामी थिए । चुहान कान्छाले विभिन्न जातिका मसानको नाम पुकार्दै जान्थे, उनी बिस्तारै काम्न थाल्थिन् । तीव्र गतिमा काम्दै जाँदा अनुहार उनको भए पनि आवाज र हाउभाउ अर्कैको आउँथ्यो । म फौदे झाँक्री हुँ । मलाई लैनो भैँसी देऊ । मलाई तिल्के बोको देऊ’ उनले फलाक्ने भाषा यस्तै हुन्थ्यो ।
उनको बक सुनेपछि उनका श्रीमान् उनले लिएको नामप्रति यति आक्रोशीत हुन्थे उनमा धैर्यताको सीमा बाँध्न मुस्किल हुन्थ्यो । गाउँले शब्दमा बक उत्रेपछि बर्बराइरहेका श्रीमती चाहिँ आफ्ना श्रीमानलाई भन्थिन् - ए दीपकका बा राति हुँदो किन यसरी कराको । श्रीमान चाहिँले अहिले तैाले के भनेको थिइस्’ भन्दा उनी हँ, मैले कहिले के भनेा र ?’ भन्दै उल्टै जिज्ञासा पो गर्थिन् । 
यस्तैमा एकदिन बक सुनेपछि श्रीमान् खपिनसक्नु रिसाए । ए दीपक ले खुकुरी । आज म फौदेलाई छाड्दिनँ । कति दुःख खेप्नु मैले ? एक दिन होइन दुई दिन होइन’ भन्दै बुढा त खुकुरी बोकेर फौदे झाँक्रीको घरतिर फटाफट उक्लिन लागे । अब परेन फसाद । रिसको झोँकमा कतै बुढाले फौदेलाई हान्दिने पो हुन् कि अथवा आफ्नो रक्षा गर्न फौदेले नै हान्ने हो कि ? हत्त न पत्त हामी तीनभाइ लाठेले बुढालाई झ्याइँकुटी बनाएर घर फर्कायौँ । 
मैले मेरो जहान निको पार्न के गरिनँ । हल गोरु बेचेँ । लैनो भैँसी बेचेँ । खसी, बाख्रा, कुखुरा नाथे त कति हो कत्ति । मेरो फलाना ठाउँको खलाखेत नै गयो । ल भन त भदै मैले अब कति सम्झिएर बस्ने ?’ बुढाको बोलीमा अन्तरआत्माको चित्कार थियो । 
सोचेँ, अहिले पनि सोच्छु -वास्तवमा भइरहेको के हो ? वास्तवमै बोक्सा-बोक्सी हुन्छन् ? अथवा त्यो धामीको खाने मेसो मात्र हो ? यदि त्यसो हो भने फौदे झाँक्रीकै जस्तो आवाज कसरी निस्क्यो ? 
यस्ता घटना नेपालका चारहजार गाउँघरमा कति होलान् कति ? यसरी जनमानसमा बलियो जरो गाडेको अन्धविश्वासको पर्खाल कानुनको डण्डाले मात्र भत्काउन सकिएला ? 

No comments: