बुधबार माधवकुमार नेपालको नेतृत्वको मन्त्रिपरिषद चौथो किस्तामा विस्तार भयो । विहीबारका क वर्गका नेपाली दैनिक पत्रिकाले लेखे चौथो किस्तामा पनि मन्त्रिपरिषद् विस्तार अधूरै ।
गोरखापत्र संस्थान कर्मचारी बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका मित्र रामकुमार बस्नेतलाई हरेक महिनाको १ गतेदेखि ४ गतेसम्म बोल्न पनि फुर्सद हुँदैन । सहकारीबाट सेवा लिएका सेवाग्राहीबाट मासिक किस्ता संकलन गर्नुपर्ने कारणले । डेस्कटप कम्प्युटरको एकवर्षे किस्ता चुक्ता गरिसकेको म अहिले पनि डिजिटल क्यामेराको किस्ता चुकाउँदै छु । उता, ल्यापटप किन्दा संस्थानबाट लिएको सापटीको किस्ता बुझाउँदा आफ्नो मासिक बजेट नै ढलपल हुन खोज्छ ।
संस्थानमा धेरै साथीहरु छन् जो मोटरबाइकको किस्ता तिर्दै छन् । बेलाबखत भेटिएका लाहुरे मामाहरु हरेक अंग्रेजी महिनाको शुरुको साता पेन्सन बुझ्दै गाडीको किस्ता बुझाइरहेको देख्छु । स्तर नमिले पनि साथी बनेका एक दुई जना चिकित्सक र इन्जिनियर साथीहरु फ्ल्याटको किस्ताको कुरा बेलाबखत सोध्नै नपरीकन ओकल्छन् ।
केहीवर्ष अगाडि पत्रपत्रिकामा विज्ञापन छापिने गर्दथ्यो आइरनदेखि गाडीसम्म किस्ताबन्दीमा । आजकल त्यस्तो एकमुष्ट विज्ञापन नदेखेको त धेरै भयो । तर गुण कोअपरेटिभले चाहिा केही महिना अगाडिसम्म किस्ताबन्दीमा मोबाइल सेट दिने विज्ञापन गर्दै आएको थियो ।
हुन पनि किस्ताबन्दीको सुविधा कहाँसम्म छैन ? मोवाइल सेट, आइरन, टेलिभिजन, डिभिडी, क्यामेरा, फर्निचर, मोटरसाइकल, गाडी, घर, हवाइजहाज के चाहियो ? सबै किस्ताबन्दीमा उपलब्ध छन् । यी त सुनिएकै बुझिएकै थियो तर सरकारसमेत किस्ताबन्दीमा बन्न थालेपछि किस्ताबन्दीको महिमा चुलिएको विश्लेषण मनमनै गर्दैथिएँ । गोरखापत्रको फीचर शाखाका सहकर्मी दाइ कमल रिजालले सुनाउनुभयो - हुँदाहुँदा अब त घर बनाउने डकर्मीले पनि किस्ताबन्दीमा काम गर्न थाले, आज आयो अनि एक सातापछि ।
अर्कोतिर बसेर लेख सम्पादन गरिरहेका दाइ निर्मलकुमार आचार्यले मौनता तोड्दै भन्नुभयो - त्यतिसम्म किस्ताबन्दी त ठिकै हो तर यो क्रम बढ्दै गएर हजामसम्म पुग्यो भने चाहिँ कस्तो होला ???
Subscribe to:
Post Comments (Atom)
1 comment:
nice article lakhan ji.
Post a Comment