Thursday, January 26, 2012

बन्न नसकेको समाचार


गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीका हैसियतले मात्र प्रचण्ड (पुष्पकमल दाहाल) को भारत भ्रमण चर्चामा थिएन । बरोबर भारतविरोधी अभिव्यक्ति दिने त नेपाली कम्युनिष्टहरुको परम्परा नै भइगो । भूमिगत सशस्त्र युद्धकालमा भारतसित लड्न ‘ए’ देखि ‘जेड’ सम्म सबै आकारका सुरुङ खन्न लगाउने माओवादी सेनाका सुप्रिम कमाण्डरका हिसाबले पनि त्यो भ्रमण चासोको थियो । नेपालका प्रधानमन्त्रीले सबैभन्दा पहिला गर्नैपर्ने भारत भ्रमणको ‘बाध्यता’लाई ओलम्पिक समापन समारोहमा चीन पुगेर पञ्छाएको ‘सगौरव प्रष्टीकरण’ पार्टीपंक्तिमा दिए पनि ‘सत्ता सन्तुलन’ गर्न त्यस भ्रमणलाई खुलेर आफ्नो पहिलो औपचारिक भ्रमण भन्ने साहस उनमा थिएन । यस्तो राजनीतिक र कुटनीतिक विशिष्टताका साथ भएको भारत भ्रमणमा सम्मिलित हुनु मेरा लागि भने व्यावसायिक करियरमा महत्वपूर्ण थियो ।
पंक्तिकार कार्यरत गोरखापत्र दैनिकका तत्कालीन प्रधानसम्पादक कृष्ण श्रेष्ठ नवप्रतिभालाई ‘ब्रेक’ दिनुपर्छ भन्नेमा थिए भने भारतसित ‘रोटी र बेटी’को सम्बन्ध भएका प्रबन्धसम्पादक सीताराम अग्रहरि भने आफैँ जाने दाउमा थिए । कार्यकारी अधिकारसम्पन्न संस्थानका अध्यक्ष ओम शर्माले पंक्तिकारको पक्षमा ‘ग्रिन सिग्नल’ दिएपछि अन्ततः मेरो भ्रमण रोक्ने कोही भएन । अघिल्लो वर्ष राजाको कतार भ्रमणमा सम्मिलित तत्कालीन प्रमुख समाचारदाता किशोर केसीको प्रायजसो समाचार आफैँले समन्वय गरेकोले म मानसिकरुपमा चुनौती ब्यहोर्न तयार थिएँ । त्यसमाथि अंग्रेजी र प्रविधिमा दक्ष प्रधानसम्पादक श्रेष्ठ र व्यापारिक रिपोर्टिङमा काबिल सहकर्मी ओम थापाले साथ दिने भएपछि मलाई हाइसञ्चो नै थियो ।
सेप्टेम्बर १४ मा औपचारिक भ्रमण शुरु भो । सञ्चारकर्मीको टोलीमा ‘सरकारी कर्मचारी’ मात्र थिए । नेपाल टेलिभिजनका राजेन्द्रराज तिमिल्सिना (राराति) र क्यामेराम्यान सुरेश मानन्धर, राष्ट्रिय समाचार समितिका एकराज पाठक, रेडियो नेपालका विष्णु सापकोटा, सूचना विभागका वसन्त चित्रकार र गोरखापत्रबाट यस पंक्तिकार । सापकोटा र पंक्तिकारबाहेक सबै थिए सरकारी भ्रमणका खग्गु । कान्तिपुरका गोपाल खनाल र अन्नपूर्ण पोस्टका अनिल गिरी त्यतिबेला दिल्लीमै बस्थे । रिपोटर्स क्लबका सदाबहार अध्यक्ष ऋषि धमला, एभेन्युज, सगरमाथा र नेपाल वान टेलिभिजनका पत्रकार आफ्नै बन्दोबस्तमा सामेल भए पनि सरकारी भोजन, आवास र सवारीको सुविधा लिएकै देखिन्थे । नेपाल पत्रकार महासंघका तर्फबाट सरकारी टोलीमा सामेल रमेश विष्टलाई समाचार कतै पठाउनु नपर्ने भएकाले बडो सुविस्ता थियो ।
भ्रमण तालिकालाई कहिले पछ्याउँदै कहिले पछि पार्दै भोलिपल्ट सबेरैदेखि भ्रमण शुरु भो । पत्रकारहरुलाई विनियोजित दुई सवारीमध्ये एक नेटिभीका पत्रकारहरुले कब्जा गरिहाले दोस्रोमा कहिले ऋषि धमला त कहिले हामीले काम चलायौँ । दिल्लीस्थित नेपाली दूताबासको कमजोर समन्वय बाबजूद प्रधानमन्त्रीलाई पछ्याउनु थियो । कर्मचारीहरुको कहिले गाली, कहिले घुर्की, कहिले दयाको पात्र बन्न मञ्जुर थियौँ किनकि समाचार छुटाउनु सरकारी मिडियाका लागि अपराध जो थियो । त्यसमाथि राससका पाठक र रेडियोका सापकोटालाई नेपाली टाइप गर्न नआउने भएकाले उनीहरुको टाइपिस्ट पनि आफैँ बन्नु थियो । अल्प प्राविधिक ज्ञानी मेरा लागि होटलमा वाइफाई जोड्नु मुश्किल थिएन तर त्यसको उपभोग गरेवापत पाँचतारे होटलको आकाश छुने बिल आफ्नै थाप्लोमा आइलाग्ला कि भन्ने चाहिँ अग्घोरै चिन्ता थियो । त्यसैले धेरैजसो दिल्लीस्थित नेपाली दूताबासकै कम्प्युटर र इन्टरनेट चलाइयो ।
यस्तैमा दिल्लीको बाह्रखम्बा रोडस्थित नेपाली दूताबासमा प्रधानमन्त्री जाने खबर आयो । कार्यक्रम थियो भारतमा रहेका नेपालीलाई सम्बोधन गर्ने । दूताबास परिसरमा टाँगिएको पालभित्र आयोजित सो कार्यक्रममा उनले नेपाल–भारत सम्बन्धका बारेमा केही नयाँ शब्दमा परम्परागत प्रवचन दिए । उनले बिर्सेनन् नेपालको जनयुद्ध र जनआन्दोलन सफल बनाउन भारतमा रहेका नेपालीहरुको योगदानको गुणगान गाउन । तर उनले छुटाए सालभरि दुःखगरि कमाएको पैसा लिएर चाडबाडमा घर फर्किँदा नाकामा लुटिने नेपालीहरुको पीडा । भारतमा श्रमिकका रुपमा कार्यरत लाखौँ नेपालीहरुको ब्यथा, पीर, मर्का र हेलाँहाचो । त्यसो त त्यसअघि र पछिका प्रधानमन्त्रीहरुले पनि उनीहरुलाई सम्झेकै कहाँ छन् र ? प्रधानमन्त्रीहरुको वार्तामा कुल्ली, बहादुर, दरबान, कान्छा र मुम्बईमा बेचिएका चेलीहरुको कुरा सुहाउँदिलो पनि कहाँ होला र ?
कार्यक्रम सकियो । प्रधानमन्त्री हिँडे दूताबासको निरीक्षण गर्न । दूताबासको माथिल्लो तल्लामा अर्को कार्यक्रम थियो प्रधानमन्त्रीको । तर कार्यक्रम अगावै उनी एउटा कोठामा सुटुक्क पसे । उनका स्वकीय सचिव समीर दाहाल, भारतस्थित माओवादीसम्वद्ध संगठनका इञ्चार्ज लक्ष्मणदत्त पन्त मात्र थिए उनको साथमा । बन्द ढोकाभित्र को थियो ? के कुरा भयो ? बाहिरकालाई पत्तो हुने कुरो भएन । धेरै पत्रकारहरु त माथिल्लो तल्लामा प्रधानमन्त्रीको प्रतीक्षा गरिरहेका थिए । पाठक, सापकोटा र म पनि प्रधानमन्त्रीले को भेट्दैछन् भनेर पछि लागेका थिएनौँ । संयोगले त्यो कोठा नजिक पुगेका थियौँ । जनयुद्धमा फौजी कमाण्डरसमेत भइसकेका रेडियो नेपालका सापकोटा र पन्तको पहिल्यै चिनाजान रहेछ । उनैले मलाई पन्तसित चिनाए । प्रधानमन्त्री निस्केर हिँडेपछि स्वकीय सचिव समीर दाहालले सापकोटा र मलाई इशारा गरेर कोठामा बोलाए । राससका पाठक त्यतिबेला कतै भुलेका रहेछन् । पाठकका बारेमा सामान्य सोधपुछ गरेपछि दाहालले हामी दुईजनालाई अघिल्तिर ह्वीलचियरमा बसेको मानिसतिर देखाएर ‘ल तपाईहरुले उहाँको अन्तर्वार्ता लिइदिनुप¥यो’ भने । जनयुद्धमा घाइते भएपछि पत्रकारितामा लागेका सापकोटा र जनयुद्धमै परिवारको एक सदस्य गुमाएको मलाई दाहालले अति विश्वास गरेका थिए ।
यसअघि कहिल्यै कतै नदेखिएका, नभेटिएका झ्याप्प दारीजुँगा पालेका चश्मावाल ती महोदयसित कसरी अन्तर्वार्ता लिने ? उनको पृष्ठभूमि के हो ? विशेषज्ञता के हो ? के विषयमा प्रश्न सोध्ने ? त्योभन्दा ठूलो समस्या थियो भाषाको । हामी दुइटैको अंग्रेजी भाषा गरिखाने माध्यम थिएन । कनीकुथी हिन्दी बोल्नसक्ने म थिएँ, सापकोटा परे फिटिक्कै हिन्दी नबोल्ने । पन्त र अर्का एकजना हिन्दी भाषीले उनको बारेमा छोटो परिचय दिलाए । उनी भारतीय कम्युनिष्ट पार्टी (माओवादी) सम्वद्ध संयुक्त मोर्चाका उपमहासचिव रहेछन् । उनको खास नाम के थियो थाहा दिइएन तर उपनाम दिइएको थियो साइबाबा । केही समयअघि प्रधानमन्त्रीले अति गोप्य रुपमा भेटेका महानुभाव यिनै थिए । पत्रकारको कर्म यस्तै हो, सधैँ योजना गरेजस्तो कहाँ मिल्छ र ? कतिपटक तत्क्षण केही प्रश्न बनाउनै पर्ने हुन्छ । यहाँ पनि प¥यो त्यस्तै नै ।
समय कम थियो । भूमिगत भएकाले होला उनीहरु पनि हतारमा देखिन्थे । ‘इन्स्ट्यान्ट नुडल्स’ जस्तो हत्तपत्त होस् भन्ने चाहिरहेको उनीहरुको मुद्राले बताउँथ्यो । ‘नेपालमा माओवादीको नेतृत्वमा हालै सरकार गठन भएको छ, तपाईलाई कस्तो लागेको छ ?’ पहिलो प्रश्न टुटेफुटेको अंग्रेजीमा मैले फुटाएँ । उनले परम्परागत कम्युनिष्ट नेताकै शैलीमा पहिले केही पृष्ठभूमि बाँध्दै सारमा नेपालमा माओवादी सरकारमा पुग्नुलाई आपूmहरुले उपलब्धिका रुपमा लिएको बताउँदै थिए । यत्तिकैमा ढोका ढकढक ग¥यो । राससका पाठक हामीलाई खोज्दै आएका रहेछन् । ढोका खोल्नासाथ हामी दुई भाइलाई देखेर उनी भित्र पसिहाले । हामी सबै अक्क न बक्क प¥यौँ । मुखामुख गर्न थाल्यौँ । समीर दाहालले तत्कालै स्थितिलाई नियन्त्रण लिँदै सामान्य बनाइहाले । अन्तर्वार्ता त्यहीँ बिथोलियो । भारतीय माओवादी टोली हामीबाट बिदा भयो । हामी पनि बाहिरियौँ ।
अन्तर्वार्ता पूरा नभए पनि मलाई लागिरह्यो भारतीय सरकारले जोडतोडका साथ खोजी गरिरहेका प्रतिबन्धित भारतीय माओवादी नेतालाई नेपालका प्रधानमन्त्रीले दिल्लीस्थित नेपाली राजदूताबासमा भेटेको भारत सरकारलाई जानकारी थियो होला कि थिएन होला ? यदि त्यो समाचार तत्काल प्रकाशनमा आएको भए भ्रमणले कुन रुप लिन्थ्यो होला ? प्रचण्डको सरकार नौ महिना अगावै पो ढल्थ्यो कि ? यसैगरी अर्कोतिर लाग्थ्यो, भारतले यतिविधि संशयका साथ हेरिरहँदा पनि प्रचण्डले भारतीय माओवादी नेतालाई कसरी भेट्ने जोखिम मोलेका होलान् ?
समाचार बन्नका लागि जानकारी काफी थिएन । फेरि नेपालका प्रधानमन्त्रीले भारत भ्रमणमा भारतीय माओवादी भेटे भन्ने समाचार समग्र नेपालकै द्वन्द्वबाट भर्खरै तङ्ग्रिँदै गरेको नेपालका प्रत्यूत्पादक अवश्य बन्ने थियो । तै चुप मै चुप । यसबारेमा गोरखापत्र न्युज डेस्क त के सापकोटासित पनि अहिलेसम्म छलफल भएको छैन ।

1 comment:

Kamal Budha इमान्दार said...

साहित्यकार तथा पत्रकार दिया चन्द को यो लेख अबस्य पढ्नुहोला http://www.imandarmedia.com/2017/01/diya-chand.html