नरेश खपाङ्गीमगर
नेपाली पत्रकारिताको इतिहास धेरै पुरानो छैन । करिब एकसय वर्ष अघिदेखि नेपालमा पत्रकारिताको अभ्यास हुँदै आएको अभिलेखहरुले पुष्टि गर्ने गरेका छन् । पत्रकारिताको स्वरुपमा नहोला, नेपाली समाजमा सन्देश आदानप्रदान गर्ने माध्यम भने यसअघि हुँदै नभएका होइनन् । प्रविधिको बाक्लो उपस्थितिका वावजूद पनि कतिपय त्यस्ता माध्यमहरु आजपर्यन्त जीवित छन् । पश्चिमतिर कटुवाल कराउने, पूर्वतिर मान्छे मर्दा शंख पूmक्ने जस्ता कार्य आज पनि चलिरहेकै छन् ।
वि.सं. १९५३ मा निक्लिएको सुधासागरलाई पहिलो नेपाली पत्रिका मान्ने गरिएको छ । यद्यपि यसको मुद्रित अंक देख्न पाइएको छैन । नामको आधारले यसलाई धेरैले समाचारपत्र नभई साहित्यिक पत्रिकाको अनुमान गर्ने गरेका छन् । अखबारको हिसाबले चाहिँ वि.सं १९५८ देखि छापिन थालेको गोरखापत्र नै पहिलो नेपाली अखबार मानिन्छ । जो अहिले पनि निरन्तर निस्किरहेको छ । तत्कालीन राणाशासक देवशमशेरको उदारपनामा शुरु भएको गोरखापत्र पछि जनस्तरबाट अन्य अखबार शुरु हुने वातावरण भने वि.सं.२००० को दशकमा फैलिएको राणाविरोधी क्रान्तिले बनाएको थियो । त्यसबेला सम्ममा साहित्यिक र राजनीतिक विषयवस्तु समेटेका दर्जनौँ साप्ताहिक पत्रिका नेपाल र प्रवास (भारत) बाट निक्लन शुरु भइसकेका थिए । वि.सं. २००७ मा प्राप्त प्रजातन्त्रले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई प्रत्याभूत गरेपछि नेपाली पत्रकारितालाई जग बसाल्ने अवसर दियो । वि.सं. २००७ चैत २० गतेदेखि औपचारिक रुपमा नेपालमा रेडियो प्रसारण शुरु भयो । वि.सं. २०१७ देखि २०४६ सम्मको पञ्चायती कालखण्डमा व्यावसाियक पत्रकारिता अघि बढ्न नसके पनि, स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने परिस्थिति नभए पनि पत्रकारिता ठप्प रोकिएन । यसैकाल खण्डमा २०४१ माघ १७ गते नेपालमा टेलिभिजनको श्रीगणेश भयो ।
२०४६ को प्रजातन्त्र पुनर्बहालीपछि नेपाली पत्रकारिता द्रुत गतिमा अघि बढिरहेको छ । अखबार, रेडियो, टेलिजिभन समानान्तर रुपमा खुल्दै छन् । अझ इन्टरनेटको सहज उपलब्धताले अनलाइनहरु दिनहुँ थपिँदा छन् । सूचना विभागको पछिल्लो (२०६७ चैत मसान्तसम्म) तथ्यांक अनुसार नेपालभित्र ४२० दैनिक, २३ अर्धसाप्ताहिक, २ हजार १७४ साप्ताहिक, ३९९ पाक्षिक, १ हजार ९३४ मासिक, २३४ द्वैमासिक, ५१० त्रैमासिक, २६ चौमासिक, ७० अर्धवार्षिक र ८३ वार्षिक गरी ५ हजार ८७३ पत्रिका दर्ता भएका छन् । त्यस्तै, सूचना तथा सञ्चार मन्त्रालयका अनुसार २०६८ भदौ १२ गते सम्ममा ३९४ वटा रेडियोले सञ्चालनका लागि अनुमति पाएका छन् भने त्यसमध्ये ३३४ वटाले प्रसारण शुरु गरिसकेका छन् । सोही अवधिसम्ममा ३२ वटा टेलिभिजनले सञ्चालनका लागि अनुमति पाइसकेका छन् । यसरी नेपाली पत्रकारिता अहिले धेरै अघि बढिसकेको छ । हजारौँलाई रोजगारी दिने र अर्बौँको कारोबार गर्ने उद्योगमा परिणत भइसकेको छ ।
पत्रकारिता क्षेत्रमा संलग्न व्यक्तिहरुलाई एकतावद्ध बनाई उनीहरुको पेशागत हकहितको रक्षा, व्यावसायिक दक्षता अभिवृद्धि गर्ने प्रयास विगत पाँचदशकदेखि हुँदै आएको छ । वि.सं.२००७ सालको परिवर्तनपश्चात २००८ सालमा सत्यनारायण श्रेष्ठको संयोजकत्वमा पत्रकारहरु संगठित हुने प्रयास गरेपनि त्यसले निरन्तरता पाएन । त्यसपछि २०१२ चैत १६ गते कृष्णप्रसाद भट्टराई (पूर्व प्रधानमन्त्री) को अध्यक्षतामा नेपाल पत्रकार संघ गठन भयो । भट्टराई नै अहिले अस्तित्वमा रहेको पत्रकार महासंघको संस्थापक अध्यक्ष मानिन्छन् । पञ्चायतकालको उतारचढाव पत्रकार संघमा परेपनि यसले आपूmलाई अविछिन्न रुपमा अगाडि बढाउँदै आएको छ । २०४६ को परिवर्तनपश्चात पत्रकारिता क्षेत्रको बहुआयाम देखेर होला पत्रकार संघले आपूmलाई २०५३ असार ११ गतेदेखि महासंघमा परिणत गरेको छ । अहिले महासंघमा ८ हजार १३ जना पत्रकार सदस्य छन् । नेपालभित्र सशक्त पेशागत संगठनका रुपमा आपूmलाई उभ्याएको महासंघ इन्टरनेशनल फेडरेसन अफ जर्नलिस्ट (आइएफजे) र इन्टरनेशल फ्रिडम अफ एक्स्प्रेसन एक्सचेञ्ज (आएफइएक्स)सित पनि आवद्ध छ ।
देशभित्र रोजगारीको सीमित अवसरले उकुसमुकुस भएका युवाशक्तिलाई नेपालको विभिन्न मुलुकसित नेपालको श्रम सम्झौताले विदेशिन प्रश्रय दियो । विदेशमा अध्ययन गर्न विगतभन्दा सहज वातावरणले पनि युवाहरु विभिन्न देशमा पुगे । रहँदाबस्दा निश्चित मापदण्ड पूरा गरेपछि त्यहीँको स्थायी बासिन्दा बने । युके लगायत कतिपय देशमा नेपालीहरुलाई स्थायी बसोबासको अवसर समेत मिल्यो । एक अनौपचारिक सर्भेअनुसार अहिले सार्क मुलुकबाहिर करिब ३५ लाख नेपाली बसोबास गर्दछन् । नयाँ ठाउँमा नेपाली समुदायको विकास र विस्तारसँगै उनीहरुमाझ सञ्चारको पनि आवश्यकता प¥यो । सन्देश एकबाट अर्कोमा पु¥याउने माध्यम टड्कारो भयो । त्यसैले विदेशमा पनि नेपाली पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन पत्रिकाहरुको विकास हुन गयो । साथसाथै ती सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुले पनि पेशागत संगठनको अभाव महसूस गर्न थाले । यसरी विदेशमा कार्यरत नेपाली पत्रकारहरुको संगठन बन्न गयो । विदेशमा कति पत्रकार छन् एकिन तथ्याङ्क नेपाल पत्रकार महासंघसित नभए पनि हालसम्ममा अमेरिका, जापान, हङकङ, कोरिया, युएइ, कतार, मलेसिया लगायतमा पत्रकारहरु संगठित भइसकेका छन् ।
करिब एक लाख बढी नेपालीको बसोबास रहेको, चारवटा साप्ताहिक, एक टेलिभिजन, दुई एफएम रेडियो, दर्जनौँ अनलाइन र अन्य प्रकाशनहरु रहेको बेलायतमा पनि पत्रकारहरुले संगठित हुने प्रयास नगरेका होइनन् । सन् २००९ को फेब्रुअरी २१ मा युकेमा कार्यरत पत्रकारहरुको भेलाले शशी पौडेलको अध्यक्षतामा एक आयोजक समिति गठन गरेको थियो । सो समितिलाई पछि अप्रिलमा बसेको बैठले नेपाली सञ्चारकर्मी संघ, युके नामकरण गरेको थियो । सन् २०१० जुलाई १८ मा बसेको पत्रकारहरुको अर्को भेलाले नविन पोखरेलको अध्यक्षतामा नयाँ तदर्थ समिति गठन ग¥यो । सोही समितिले नेपाल पत्रकार महासंघसित समन्वय गरी बेलायत शाखाको रुपमा मान्यता प्राप्त गरेको छ र महासंघका केन्द्रीय सभापति शिव गाउँलेको उपस्थितिमा यही जनवरी १४ मा पहिलो अधिवेसन सम्पन्न गर्न गइरहेको छ । स्थापनाको छोटै अवधिमा पनि शाखामा अहिलेसम्ममा ३७ पत्रकारहरु आवद्ध भइसकेका छन् ।
सन् १९६० मा स्थापना भएको यति एसोसिएसनको मुखपत्र यतिपत्रलाई बेलायतको पहिलो नेपाली पत्रिका मानिने गरिएको छ । तथापि यो मुखपत्र थियो । यसै दशकमा (सन् १९६९) बीबीसीले लण्डनमा नेपाली सेवा शुरु गरेको थियो । व्यावसायिक पत्रिकाका रुपमा सन् १९९० मा प्रकाशन गरिएको सगरमाथा टाइम्स, सन् २००३ मा शुरु भएको गोरखा मिरर र लण्डन पोस्टले निरन्तरता पाउन नसके पनि २००४ मा शुरु भएको नेपाली सन्देश, २००५ मा शुरु भएको युरोपको नेपालीपत्र, २००८ देखि शुरु एभरेस्ट टाइम्स र २००९ को नयाँ सन्देश भने हालसम्म निरन्तर छन् । नेपाली टिभी, ब्रिटिश सेना मातहतको बीएफबीएस गोरखा रेडियो, बीजीडब्लुएस एफएम तथा अनलाइन पोर्टलहरुले विद्युतीयमाध्यमतर्फ निरन्तरता दिइरहेका छन् । बीबीसी नेपाली सेवाबाहेकको युकेको नेपाली पत्रकारिताको स्थिति व्यावसायिक हिसाबले सन्तोषजनक छैन । नेपालमा जस्तो पत्रकारहरुमाथि शारीरिक दुव्र्यवहार नभए पनि समाचार छापेकै कारण मौखिक धम्की, मुद्दा मामिलाको झमेला भने युकेमा पनि पत्रकार र पत्रिकाले भोग्नु परिरहेकै छ । छापिएको सामग्रीमाथि चित्त नबुझे अपनाउनुपर्ने प्रक्रिया नेपाली समाजलाई बुझाउन सकिएको छैन । अझ त्यो भन्दा ठूलो कुरा त बेलायतको नेपाली समाजलाई नेपाली पत्रकारिताको महत्व बुझाउन सकिएको छैन ।
समाजका लागि पत्रकारिता आवश्यकता हो वा पत्रकारिताका लागि समाज ? प्रष्ट हुन सकेको छैन । समाजमा पत्रकारिताको दीर्घकालिन महत्व र प्रभावका बारेमा समाजसित अन्तत्र्रिmया भएकै छैन । पत्रकारहरुबीच पनि सैद्धान्तिक, व्यावहारिक ज्ञान, सीन र क्षमताको प्रशस्तै अभाव देखिन्छ । त्यही अभावको उपज उनीहरुमा आत्मविश्वासको पनि कमी देखिन्छ । प्रख्यात उद्यमी बारेन बफेटले भनेका छन्, जति पत्रकार काबिल बन्छ त्यति नै समाज राम्रो बन्छ । त्यसैले पत्रकार महासंघ, युके शाखाको अबको ध्येय यहाँ कार्यरत पत्रकारहरुलाई व्यावसायिक सीपले स्पात र जिम्मेवार कालिगढ बनाउने तथा यहाँको नेपाली समाजसित पत्रकारिताको महत्वका बारेमा ‘कन्भिन्स’ गर्ने हुनुपर्दछ । यदि त्यसो भयो भने शाखाले पहिलो अधिवेसनका लागि तय गरेको समुन्नत नेपाली समाजका लागि जिम्मेवार पत्रकारिता नारा पनि सार्थक हुनेछ ।
(लेखमा व्यक्त विचार लेखकका निजी हुन्)
No comments:
Post a Comment