Monday, October 17, 2022

मोटाउने मेरो रहर

नरेश खपाङ्गीमगर

सानोमा घरमा दुहुना नटुटे पनि ज्यान कहिल्यै लागेन । सधैँको सुकेनास लागेजस्तो । पिलन्धरे र फुकिढल । ६ र ७ वर्षको उमेरमा वर्षेनी घाउखटिराले ५÷६ महिना ढलाएपछि बाँच्नु नै ठूलो कुरा  भयो बाउआमाका लागि । खाइलाग्दो ज्यान भएन भन्ने चिन्ता त धेरै टाढाको कुरा । 

सानैमा पढेको राजकुमार हमालको प्रगतिशील सामान्य ज्ञानले दिमाग यसरी भुटिदिएको थियो कि खानु बाँच्नुको लागि हो । कुन मीठो, कुन मसिनो, कुन नमिठो भेदभाव नगर्नु । खाँदा खानेकुरा नपोखी खानु । खाना थपेर खेर नफाल्नु आदि आदि । करिब २० वर्षअघि ढुंगाको अक्षर बनेर मनमा खोपिएका यी वाचाहरुले कहिले पनि मीठो नमिठो खाना भेद गर्न दिएन । खानमा लोभी कहिल्यै बनाएन । 

बीस वर्ष पुग्दा मैले आफू दुब्लो भएको पहिलोपटक महसुस गरेँ । त्यो पनि शारीरिक दुर्बलता, अस्वस्थताका कारण होइन सामाजिक कारणबाट । मोटोघाटोलाई पालो कुरेर बसेकाहरुले पनि सजिलै पालो मिच्न दिने । कसैले ‘हामी घण्टौँदेखि कुरिरहेका छौँ लाइनमा बस भाइ’ नभन्ने । यमानको पेट हल्लाउँदै ठस्ठसी कन्दै आएपछि राजै आएजस्तो गरी छोडिदिने । बाटोमा हिँड्दा दुब्लो–पातलोको केही त्रुटी भइहाले ट्याक्सी ड्राइभरहरुले सातै लिने तर अलि ज्यान परेको रहेछ भने चुँ पनि बोल्न नसकी आफैँ बाटो तताउने । मालसामान किन्दा पसलेलाई दुईचार रुपियाँ घटाइदिनुस् भन्दा पनि ठाडै इन्कार गर्ने । खाइलाग्दा ज्यान भएकाहरुलाई भने ‘हुन्छ नि’ भन्दै दुईचार पैसा कम गर्दिहाल्ने । 

दुब्लोपन देखेर बेस्सरी हुरी बतास चल्यो भने साथीहरु खिसी गर्दै भन्थे, ‘गोजीमा ढुंगा हालेर हिँड है नत्र हावाले उडाउला ।’ गोरखा सैनिक आवाजमा काम गर्दा गोकर्ण भट्टजी थिए सहकर्मी । उनी पनि उस्तै सुइरे । म उनलाई पातलो ठान्थेँ । उनी त मलाई पो उनीभन्दा दुब्लो ठान्दा रहेछन् । एकदिन अर्का सहकर्मी प्रकाश रानालाई भनेछन्, ’नरेशजी त मभन्दा दुब्लो हुनुहुँदोरहेछ ।’

दुब्लोलाई यसरी हेपाइत गरेको थाहा पाउँदा म पाटनको चाकुपाटमा बस्थेँ । मेरो टोलमा किराना पसल चलाउँथे सिन्धुलीका देवकोटा दाजुभाइ । दाइ हेमन्त थिए दाउरे तर भाइ बद्रि थिए बेलुनजस्ता फुकेका । उधारो लगेकाहरुसित हेमन्तले पैसा मागे सधैँ आलटाल तर भाइ बद्रिले मागे भने केही न केही झरिहाल्ने । भाइ कुनै कुनै बेला मलाई भन्थे ‘मेरो दाइको पसल चलाउने जुक्ति नै छैन ।’ मलाई चाहिँ लाग्थ्यो ‘यो सबै तपाईको भीमकाय शरीरको कमाल हो बद्रि जी ।’

देवकोटा बन्धुहरुसितको दुब्लोमोटोको अनुभव यतिमै सकिँदैन । बद्रि त्यतिबेला ललितपुर मालपोतमा लेखन्दास थिए । उनी काम गर्ने कार्यालयका साहुजी थिए मकवानपुरका सीताराम दाहाल । सीताराम थिए मजस्तै लुइरे । दाह्री पालेका । लवाइमा पनि ल्याङफ्याङ । कुनै कागजपत्र तयार गर्दिएपछि जब ग्राहकलाई ‘हजुरको यति पैसा भयो’ भनेर सीताराम भन्थे प्राय ग्राहकहरु सय रुपियाँ घटाएर ‘यतिमा हुँदैन’ भन्दै बार्गेनिङ गर्ने । तर त्यही कामवापत जब गजधम्म परेका बद्रिले सय रुपियाँ बढाएर ‘यति दिनुस्न’ भनेपछि ग्राहकहरु खुरुखुरु पैसा दिइहाल्ने ।  

भाइको यस्तो व्यक्तित्व देखेर होला दाइ हेमन्तलाई पनि मोटाउने रहर चल्यो । कहाँ, कसले देखायो, एक पातो ट्याबलेट ल्याए । खाए । भोक लगाउने रहेछ । पाटनबाट साइकल चलाएर मरुहिटीको शाक्य प्रेसमा काममा पुग्दा सबैभन्दा पहिलो उनको काम हुने रहेछ खाजा खाने । ट्याब्लेट चुस्दै जाँदा दुईछाक भात र तीन खेप खाजा खाने भइसकेका थिए उनी । गाला पुक्क हुँदै गयो । पेट फुत्त निस्किँदै आयो । उनले मलाई पनि ट्याबलेट देखाउँदै भने ‘मलाई त काम गर्यो, तपाई पनि लिनुस् यो ।’

पाइन्ट किन्न जाँदा सबैभन्दा सानो कम्मर साइजको खोज्नपर्ने । त्यसमा पनि पेटीले बोराको मुख कसेजस्तो कम्मरमा कस्नुपर्ने । गाला खोबिल्टो परेर कुपोषण भएजस्तो । सोचेँ हृष्टपुष्ट फुकेका गाला । हुत्त बाहिर निस्किएको पेट । यदि त्यस्तो हुँदो हुँ त मलाई पनि ‘नरेश भाइको साटो नरेश सर’ कसो नभन्लान् । धेरै सोच्दै नसोची ‘ल्याउनुहोस् म पनि खान्छु’ भनेँ । करिब एक महिना सेवन गरेँ तर म त जस्ताको तस्तै । न भोकाउँछु, म मोटाउँछु । ‘लु मलाई काम गरेन’ भनेर छोडिदिएँ । 

मोटाउने भुत जागेको कसैले मलाई भनिदियो दिउँसो भात खाएर सुतेपछि मोटाउँछ । बिहानै उठेर भात पकायो । ९÷१० बजेतिर खायो । एक निन्द्रा सुत्यो । अनि काममा हिँड्यो । केही महिना यस्तै दैनिकी गुजारियो । तैपनि मोटाइएन । यो सुत्रले पनि मलाई साथ दिएन । 

‘हरेक साँझ बियर पियो भने मोटाउँछ । फलानो बियर पिउनु अघि सुसुपाल थियो ।’ कसैले सुनायो । प्रमाणित नै भइसकेको उपाय थाहा पाएपछि अब के को आइतबार कुर्नु ? त्यसै साँझदेखि लागियो बियर पानमा । आफू मात्र एक्लै कसरी धोक्नु लगियो नजिकका साथीहरु पनि । सकियो हरेक साँझ सय, हजार । मासिक बजेट सन्तुलनमा खरो उतारचढाव आयो तर ज्यानमा कुनै आएन फेरबदल ।

मोटाउन नसकेकोमा चिन्तित थिएँ । एकसाँझ घरबेटी दिदीले भनिन्–‘समय आएपछि पानी खाए पनि हावा खाए पनि मोटाउँछ । हेर, म पनि पहिले तिमीजस्तै दाउरे थिएँ ।’ 

अब म हर उपाय छोडेर त्यस समयको प्रतीक्षामा थिएँ । 

केही वर्षपछि पहिले लगाउने गरेका कपडाहरु साँघुरा लाग्न थाले । खान्की बढेजस्तो देखियो । आलुका परिकार मन पर्न थाले । ऐना हेर्दा गाला पुक्क हुँदै गएका देखिए । भुइँमा पलेटी कसेर बस्न गाह्रो हुँदै गयो । निहुरिएर केही सामान टिप्न असजिलो हुन थाल्यो । आफन्त, साथीभाइले भन्न थाले, ‘तँ त मोटाउन लागिस् ।’ अब खुशीको सीमा रहेन । 

महिना, वर्ष बिते । म सोलोडोलो हुँदै गएँ । छिटोछिटो कपडा फेर्न पर्ने भए । सुकुलमा केहीबेर पनि बस्न नसक्ने भएँ । बाटोमा, चोकमा, काममा, साथीभाइ, समकक्षी, अपरिचितहरुले गर्ने व्यबहारमा केही परिवर्तन आउँदै थियो । ‘मोटो शरीर रोगको घर’ भनेर कसैले सुनायो । अधिकांश मोटाघाटाहरु भित्रभित्रै मधुमेह, रक्तचाप अरु के के रोगले गाँजिएका भेटिए । हृदयाघात पनि तिनैमा बढी भएको देखियो । सिँढी चढ्दा पनि फ्याँफ्याँ भएका पाइन्थे । मोटरसाइल बिग्रिएर वा तेल सकिएर डो¥याउन पर्यो भने त तिनको हरिबिजोग नै हुन्थ्यो । यस्ता परिदृश्यले मेरो मोटाउने रहर मारिसकेको थियो । माथि उल्लेख गरिएका बद्रि देवकोटा पनि एकै रातको बिमारले बितिसकेका थिए । लाग्न थाल्यो मोटाएर रोगाउनु, अटेमटेस हुनुभन्दा त दुब्लै हुनु बेस । त्यसै दिनदेखि बहिनीलाई भान्सामा ‘अबदेखि मलाई बेलुका भात नपकाउनु’ भन्ने लेखेको चिर्कटो छोडेँ ।    

आखिर मानिसको मन नै त रहेछ । कहिले मोटाउन, कहिले दुब्लाउन मन लाग्ने । थाहा छैन समयले कुनबेला हाम्रो कस्तो फिगर डिमाण्ड गर्ने हो । 



जसले मलाई पत्रकार बनाए

नरेश खपाङ्गीमगर



‘ए, ए, भाइ तिम्रो नाम के हो’ एकदिन चिफ रिपोर्टरको कक्षमा यसो मुन्टो घुसारेर दुईपन्ने हस्तलिखित समाचार छोड्नासाथ कसैको गहकिलो श्वरले बोलायो । ‘तिमी नरेश हो’ पहिलो प्रश्नको जवाफ दिन नपाउँदै अर्को प्रश्न बर्सियो । मैले धार्नीको टाउको हल्लाएर ‘हो’ भनेँ । ‘लु तिमीलाई प्रधानसम्पादकजीले भेट्न खोज्नुभाको छ’ उनले थपे । 

यतिञ्जेलमा बल्ल चिनेँ त्यसो भन्ने व्यक्ति गोरखापत्र दैनिकका त्यतिखेरका प्रमुख समाचारदाता किशोर केसी रहेछन् । जसले मलाई चिन्नुभन्दा अघि नै  करिब एक दर्जन बाइलाइन समाचार पास गर्दिसकेका थिए । व्यक्तिगतरुपमा मलाई गोरखापत्र संस्थानमा यतिबेलासम्म पनि कसैले चिन्दैनथे । कारण म दिनभरि पस्मिना कारखानामा काम गर्थेँ, साँझपख लुसुक्क गएर प्रमुख समाचारदाताको कक्षमा समाचार छोड्थेँ, फर्कन्थेँ । कोही भोलिपल्ट, कोही दुई दिन, तीन दिनपछि छापिन्थे । प्रमुख समाचारदाताले त्यतिबेलासम्म मलाई खोजेनन् वा मेरो समाचारमा पुर्नपुष्टि गर्नुपर्ने कुरा भेटेनन् ।

ड्ड

पत्रकारिता जीवन आरम्भका यी अग्रज केसीको गतसाता अमेरिकामा ५५ वर्षको उमेरमा क्यान्सर रोगका कारण निधन भयो । जसका कारण मलाई उनीसित बिताएका करिब आठ वर्षे सहकार्यमध्येका केही पल सम्झन बाध्य तुल्यायो ।  

ड्ड

पस्मिना कारखानामा छुट्टी भएकोले जेठ महिनाको एक शनिबार बिहान म दिउँसै गोरखापत्र पुगेको थिएँ । सगरमाथामा मानिसले पाइला टेकेको ५० वर्ष पुगेको वर्षगाँठ उल्लासका साथ मनाउन लागिएको थियो । उनै केसीले मलाई भने, ‘तिम्रो नाम पठाइदिन्छु, राम्ररी कभर गर है ।’ अघिल्लो वर्ष नेपाल पर्यटन बोर्डबाट ट्राभल राइटर अफ द इयर अवार्ड हात पारिसकेकोले पर्यटन क्षेत्रप्रति मेरो सरोकार छँदै थियो । त्यसमाथि स्वर्ण महोत्सव कभर गर्न पाउनु मेरो करियरमै स्वर्ण अवसर थियो । नाइँ भन्ने कुरै भएन । आप्mनो रुचिको क्षेत्र परेकाले बिहानदेखि बेलुकासम्म पाँच÷सात वटासम्म औपचारिक कार्यक्रम भ्याएर समाचार फाइल गर्ने अन्तिम विन्दूसम्म समाचार लेखिन्थ्यो । परिश्रमको स्वाद गुलियो । एकैदिनमा पहिलो पृष्ठमा तीनवटा र पत्रिकाभरिमा पाँचवटासम्म बाइलाइन समाचार छापिन्थे । कालम नापेर दिइने पारिश्रमिकभन्दा बाइलाइन बडो बहुमूल्य लाग्थे ।

सगरमाथा स्वर्ण महोत्सव सकिँदासम्म मेरो करियर निकै अघि बढिसकेको थियो । तत्कालीन राजा ज्ञानेन्द्र र युवराज पारस, एडमण्ड हिलारी लगायतलाई त्यसै मेसोमा भेट्ने मौका मिल्यो । पत्रिकामा दिनहुँ नाम छापिँदा सिकारु समाचारदाताबाट मेरो प्रोफाइलले सिँढी उक्लिसकेको थियो । दुई साता लामो स्वर्ण महोत्सवभर प्रधानसम्पादकभन्दा मेरै नाम धेरै छापियो पत्रिकामा । अनि त प्रमुख समाचारदाताले भरोसा नगर्ने ठाउँ नै रहेन ।  

राजा ज्ञानेन्द्रको हातमा सत्ता आइसकेको बेला थियो त्यो । दरबारबाट बक्तब्य आउँथे । राजारानीको भ्रमण पनि भइरहन्थ्यो । गोरखापत्रका स्थायी पत्रकारहरु विभिन्न राजनीतिक विचारमा झुकाव राख्थे । झुकाव त हाम्रो पनि थियो । जागिर स्थायी भएका कारण प्रमुख समाचारदाता वा प्रधानसम्पादकको निर्देशन नमाने पनि उनीहरुको जागिर जान्नथ्यो । हामी प¥यौँ ज्यालादारी स्ट्रिञ्जर । छापिएको सामग्री नापेर पेट पाल्नपर्ने । तीन÷तीन महिनामा जागिरको म्याद तन्काउनुपर्ने । फेरि ‘कब रिपोर्टर’ भएकाले हामी करियरको भोको थियौँ । अनि त के चाहियो ? उनै प्रमुख समाचारदाता केसी दरबारबाट विज्ञप्ति आयो कि घर पुगिसकेको भए पनि फोन गरेर कार्यालय बोलाउँथे । बीच बाटोबाट त कति फर्काए कति । 

उनलाई विश्वस्त थिए, यसले लेख्यो भने हामीले हेरिरहन पर्दैन । भोलि तलमाथि पनि पर्दैन । किनभने २०६२÷६३ को आन्दोलन सफल नहुञ्जेल दरबारबाट आउने सूचना, राजपरिवारसित सम्बन्धित समाचारमा अतिकलि (प्राविधिक त्रुटी हुँदासमेत) तलबितल प¥यो भने पनि जागिरै जान्थ्यो । केसीको त्यही विश्वासका कारण कैयौँपटक तत्कालीन राजा ज्ञानेन्द्रको स्थानीय भ्रमणहरुमा सरिक हुने मौका पनि मिल्यो । 

एकातिर राजाको शासन अर्कोतिर दलहरुको आन्दोलन । बीबीसी लगायत निजी मिडियाले राजाले भनेजस्तो साथ दिएका थिएनन् । तत्कालीन सरकारको नीति दलहरु र तिनलाई पुठ दिने मिडियाहरुलाई तारो बनाउने थियो । रेडियो नेपाल, रासस, नेपाल टेलिभिजन, गोरखापत्र सबैले सो नीतिको कार्यान्वयन गरेकै थिए । गोरखापत्रले जनबोली भन्ने स्तम्भ शुरु गरेको थियो । प्रधानसम्पादक र प्रमुख समाचारदाताको सीधा निगरानीमा हुने त्यो साप्ताहिक स्तम्भको जिम्मा मलाई नै दिइएको थियो । त्यसको मिसन थियो पाठकहरुबाट राजाको पक्षमा जनमत संकलन गरी प्रकाशन गर्नु । जनमत त के आउँथ्यो र ? प्रमुख समाचारदाता केसी काल्पनिक पाठकका नाममा हरेक साता तीनदेखि छ वटासम्म, म आपैmँ तीनदेखि छ वटासम्म पाठकपत्र लेख्थ्यौँ । बाँकी छिटफुट हुलाकबाट आउँथे । 

केसीको हस्तलेखन अन्यन्त सफा र प्रस्ट हुन्थ्यो । कहीँ केरमेट भयो भने त्यसमाथि सानो कागजको टुक्रा टाँसेर भए पनि सफा बनाउँथे । टाइपिस्टहरुले पनि उनको लेखाई मन पराउँथे । जनबोलीको सामग्री लिन उनी मलाई उनको घर नजिक झम्सिखेल बोलाउँथे । चौधरी ग्रुप नजिकै उनी गोजीमा सामग्री कोचेर आउँथे । मलाई दिन्थे र भन्थे, ‘कसैलाई पनि नदेखाउनु । भोलि तिमी हामीलाई अप्mठेरो पर्न सक्छ ।’ 

एकपटक काल्पनिक पात्र खडा गर्दा उनले रामकृष्ण मानन्धर, लाजिम्पाट राखेका रहेछन् । दल र राजाको आलोचना गर्ने मिडियाहरुलाई गाली गरिएको हुन्थ्यो प्रायः पत्रहरुमा । त्यो पत्र छापिएको दिन इमेज च्यानलका अध्यक्ष रामकृष्ण मानन्धरले फोन गरे, ‘जनबोलीमा छापिएको त्यो पत्र मैले लेखेको होइन’ भनेर । हामीले पनि ‘रामकृष्ण मानन्धर लाजिम्पाटमा त्यो मात्र छ र ?’ भन्ने तर्क ग¥यौँ । उनी परे लाजिम्पाटका रैथाने । उल्टो चुनौती पो दिए, ‘ल अर्को छ भने देखा’ भनेर । काल्पनिक पात्रका नाममा अड्डी लिनुभन्दा ‘त्यो रामकृष्ण म होइन’ भन्ने शीर्षकमा उनको भनाइ छापिदियौँ । 

सन् २००५ मा तत्कालीन राजा ज्ञानेन्द्र एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन कतारको दोहा गए । सरकारी टोलीमा सामेल पत्रकारहरुमा केसी पनि थिए । त्यतिबेलासम्म गोरखापत्रमा सूचनाप्रविधि निकै अघि बढिसकेको थियो । तर केसी प्रविधिमा अभ्यस्त भइसकेका थिएनन् । उनी दोहाबाट दिनको तीन÷चार पटक मलाई फोन गर्थे । दिनभरि के के भयो ? राजाले को कोसित भेटे ? सम्बोधनमा के के भने ? बेलीबिस्तार लाउँथे । अनि म उनको बाइलाइनमा समाचार लेखिदिन्थेँ । कुनै कुनै समाचार त रेडियो र राससका लागि पनि पठाइदिन्थेँ ।

२०६१ मा खोज पत्रकारिता केन्द्र र नेपाल प्रेस इन्स्टिच्युटको खोज पत्रकारिता तालिम लिएपछि म रोल्पा, दाङ, बर्दिया, नेपालगञ्ज जस्ता द्वन्द्वग्रस्त क्षेत्र पुगेँ । रोल्पामा माओवादीले सुराकीको आरोपमा खुट्टा पीठो बेलेजस्तो गरी बेलेका एक महिलाको समाचार गोरखापत्रमा छापियो । सरकारले माओवादीलाई आतंककारी घोषणा गरेको धेरै वर्ष बितिसकेको थियो । मिडियाहरुले ‘सरकारबाट आतंककारी घोषित’ भन्ने वाक्यांशको साटो आपैmँले आतंककारीको बिल्ला लगाइदिएर सामग्री छाप्थे । तर गोरखापत्रमा ती महिला बारेको समाचार माओवादीलाई आतंककारी नभनी छापिएको थियो । मैले पनि आतंककारी माओवादी लेखिनँ । मप्रति भरोसाका कारण उनले पनि थपेनन् । सायद कसैले थाहा पाए । नत्र दुवैलाई संकट आइपर्ने थियो । 

गोरखापत्रमा धेरै अघि प्रवेश गरेका केसी नेपाली खेलकुद पत्रकारिताका अग्रणीमध्ये पर्थे । प्रमुख समाचारदाताबाट केही महिना हटे भने उनको अर्को गन्तब्य त्यही खेलकुद ब्यूरो हुन्थ्यो । छक्कापञ्जा नगर्ने, इमानदार, हक्की थिए उनी । समाचारदाताले दुःख गरेर तयार पारेको समाचार हप्तौँसम्म नछापिँदा डेस्कमा गएर नछापिनुको कारण खोज्ने अग्रसरता आपैmँ लिन्थे । स्ट्रिञ्जरहरुको पारिश्रमिक ढिला हुँदा होस् वा म्याद थपिन विलम्व हुँदा उनको कुरा सुनुवाई नभए पनि उनी कार्यकारी अध्यक्षसमक्ष आपैmँ पुग्थे । 

नयाँ पत्रकारहरुलाई माया गर्ने उनको आदत थियो । उनीहरुलाई माया गरी–गरी सिकाउनुपर्छ, तिखार्नुपर्छ भन्ने मान्यता थियो । उनीहरुमाथि विश्वास गर्नुपर्छ र ठूला अवसर पनि दिनुपर्छ भन्ने उनको आदर्श थियो । अरु मानिसजस्तै उनको पनि केही अवगुणहरु नभएका होइनन् । छिटो विश्वास गर्ने र हक्कीपनको फाइदा गोरखापत्रकै केही खुराफातीले नलिएका होइनन् । 

पत्रकारिता वा जुकसुकै क्षेत्रमा कसै न कसैले प्लेटफर्म नदिई जतिसुकै क्षमतावान पनि अघि आउन सक्दैन । प्लेटफर्म नपाएकै कारण कैयौँ क्षमतावानहरु पत्रकारितामा लो प्रोफाइलमा अल्झिरहेको मैले नै लेखेको छु । र, यो पनि देखेको छु, प्लेटफर्म दिइएकैले औसत वा सामान्य क्षमताका पत्रकारहरु पनि अब्बल स्तरमा उक्लिएका छन् । उनले त्यसरी प्लेटफर्म नदिएका भए म आपैmँ पनि पस्मिना कारखानामा मात्र सीमित हुन्थेँ होला । जबकि गोरखापत्र समाचारदाता बनिसक्दा पनि मलाई पत्रकारिताबाट पेट पाल्न सकिन्छ भन्ने आत्मविश्वास नै थिएन । 

आठवर्षे संगतमा उनले मलाई पूर्णकालिन पत्रकार होइन उत्कृष्ट समाचारदाता पो बनाए । २०६२ सालमा थापेको उत्कृष्ट समाचारदाताको अवार्डको प्रमाणपत्र हेर्दा उनको सम्झना झल्झल्ती ताजा भएर आउँछ । 

स्वर्गीय केसीप्रति हार्दिक श्रद्धाञ्जलि ।           

  


‘तपाईको घर कहाँ ?’

संस्मरण 

नरेश खपाङ्गीमगर

‘तपाईको घर कहाँ ?’ 

आज पनि उही प्रश्न सोधियो । 

सामान्यतः नेपालीहरुबीच सर्वाधिक सोधिने प्रश्न हो यो । विद्वानदेखि निरक्षरसम्म, प्रवुद्धदेखि साधारणसम्म, अमिरदेखि कंगालसम्म राखिने यो प्रश्नको जवाफ असजिलो र अफ्ठेरो भने छैन । तथापि अति सामान्य यस प्रश्नले मलाई भने असजिलो बनाइरहेको छ । 

‘मगर’ भन्नासाथ धेरैले सोध्दै नसोधी मलाई पश्चिम नेपालको ठान्छन् । मगरहरुको बाक्लो बसोबास त्यतातिर रहेकाले यस्तो अनुमान लगाउनु निश्चय नै अनुचित होइन । तर धेरैको यस्तो अनुमानविपरीत नेपालको सबैभन्दा पूर्वमा रहेको ताप्लेजुङ जिल्लाको हाङपाङ गाविस वडा नम्बर ८ स्थित मिचिरिङ गाउँमा मेरो जन्म भएको थियो । लिम्बु जातिको आधिक्य रहेको त्यस जिल्ला र गाउँमा मेरा पिता पुर्खा कसरी, कहाँबाट पुगे भन्ने तथ्य अहिलेसम्म रहस्यकै गर्भमा छ । धेरैले पृथ्वीनारायण शाहको नेपाल एकीकरणको फौजमा सम्मिलित भएर गएको अनुमान लगाउँछन् तर त्यसलाई पुष्टि गर्ने आधारहरु भने भेट्न सकेको छैन । पश्चिम नेपालमा पाइने मगरहरुको उपथरहरुसित हाम्रो थर मिल्दैन । त्यसैले सबै शाखा सन्तान नै कतै बिऊ समेत नराखेर पृथ्वीनारायण शाहले हाम्रा पुर्खालाई पूर्व विस्तार गर्न पठाए होलान् भन्ने मेरो लाटो बुझाइले मान्दैन । 

म १३ वर्षको हुँदा अवसरको खोजीमा हाम्रो परिवार झापा बसाइँ सर्यो । नयाँ बसाइ भयो सुरुङ्गा गाविस वडा नम्बर ७ मा । कसैले तुल्सीबारी भन्थे । कसैले बेनुबाजा । खासमा त्यो तुल्सीबारी थियो कि बेनुबाजा मलाई अहिले पनि यकिन छैन । किनभने त्यसको कुनै साँधसिमाना तोकिएको थिएन । जसले जे भने पनि हुने । बसाइ सुरुङ्गा भए पनि पढाइ थियो शिवगंज गाविसमा पर्ने लालपानी स्कुलमा । गाविस शिवगंज तर त्यही स्कुल भएको एउटा वडा मात्र माइखोला वारि पथ्र्यो । बाँकी आठवटा वडा माइखोला पारि । कक्षा ७ देखि एसएलसीसम्म चारवर्ष त्यहाँ बिताइयो । 

बचेराले प्वाँख पलाएपछि आफू हुर्केको गुँड छोडेर भुर्रर उडेझैँ त्यसपछि मेरो बसाइ शुरु भयो धेरै नेपाली युवाहरुको स्वप्नको शहर काठमाडौँमा । शुरुको एक वर्ष पूर्णकालिन श्रमिक त्यसपछि बिस्तारै औपचारिक अध्ययनतिर म जोडिएँ । कहिले कुलेश्वर, कहिले पाटन गरेर मेरा १२ वर्ष काठमाडौँ खाल्डोमा बिते । जतिबेला म काठमाडौँमा डेरा बस्थेँ त्यतिबेला काठमाडौँमा एक किसिमको अफवाह नै थियो झापालीलाई कोठा दिनुहुन्न भन्ने । किस्सा सुनिन्थ्यो–डेरामा बसेका झापालीले छोरी भगाएको, भाडा नतिरी भागेको, धाराको टुटीसमेत लिएर गएको आदि आदि । यसरी चलेको हावाले मलाई पनि सतर्क बनायो । कतै कोठा माग्दा ‘घर कहाँ’ भनेर सोधे भने कता भन्ने ? ‘झापा’ भन्दा कतै कोठा नपाउने पो हो कि ? मनमा यस्ता तर्कना आइरहन्थे तर मेरा तत्कालीन सहकर्मीहरु, आमा समानकी आपुला शाक्य र पुनम श्रेष्ठ दिदीले आफूले चिनेजानेका छिमेकीहरुकोमा कोठा देखाउन लगे । दुवै घरवालाले ‘घर कहाँ’ भनी सोधे मैले पनि नढाँटी ‘झापा’ भनेँ तर मेरोभन्दा आफ्ना छिमेकीको भर परेर होला दुवैले हुन्न भनेनन् । अन्ततः म पुनम श्रेष्ठले खोजिदिएको घरवेटी केशव महर्जनको घर पाटनमा बस्ने भएँ । 

झापाली भूतसितको पहिलो परीक्षा त पास भइयो । अब ‘सबै झापाली फटाहा हुन्न’ भनेर प्रमाणित गरेर देखाउनुपर्ने थियो । घरवेटीका दुई किशोरी छोरी थिए । कतै उनीहरुसित नाम पो जोडिएला कि भनेर बहुत चनाखो हुनुपर्ने भो । आफैँभित्रको भूतले मलाई यति अँठ्याएको रहेछ कि तीमध्ये जेठीसित त म करिब दुई वर्षसम्म एक शब्द पनि बोलिनछु । कान्छीसित भने पसलमा कहिलेकाहीँ सामान किन्दा र कसैले फोन गर्यो भने बोलाउँदा बोल्थेँ । घरधनी असाध्यै भलादमी र लजालु । भाडा माग्न पनि डराएजस्ता । ‘दाइ पैसा चाहिएको छैन’ भनेर आफैँले सोध्नपर्ने । भाडा बुझाउन एकदिन ढिला हुँदा यमराजले जस्तो व्यवहार गर्ने अरु घरवेटीको तुलनामा उनलाई छिटोमा छ महिना, एक वर्ष, डेढवर्षमा भाडा बुझाउँथे । लाग्थ्यो झापाली फटाहा भन्ने उनले बिर्से । नौ वर्ष त्यहाँ बसेर भाइबहिनीलाई त्यो कोठा जिम्मा लाएर म युके आएँ । 

पाटनमा रहँदा नै कम्प्युटर सिक्न पाटनढोकामा कम्प्युटर सेक्सनमा गइयो । त्यहाँ पनि उही प्रश्न आयो । घर कहाँ ? कृतिम आवाज निकालेजस्तो गरेर मीठो बोल्ने सुरेन्द्र पोखरेल थिए प्रशिक्षक । उनी भन्थे, ‘नरेशजी तपाईजस्तो सोझो झापाली मैले अहिलेसम्म देखेको थिएन’ । उनको आवाज बनावटी लागे पनि मेरो व्यवहार बनावटी थिएन । मैले सोझो ठहरिनका लागि यहाँ कुनै अभिनय गरेको थिइनँ । 

करिब एकदशक काठमाडौँमा पत्रकारितामा सक्रिय रहँदा पेशा नै यस्तो कि दिनहुँ नयाँ–नयाँ मान्छे भेट भइरहने । फेरि जिज्ञासा उही दोहोरिन्थ्यो । घर कहाँ ? मैले त्यतिबेलासम्म मनमा सम्झना आलै भए पनि घर ताप्लेजुङ भन्न छोडिसकेको थिएँ किनभने मसित ताप्लेजुङको बालस्मरण मात्र बाँकी थियो । केही छिमेकी गाउँको खासगरी मेरो घर भएको क्षेत्र नम्बर २ तिरका गाउँहरुको, सदरमुकामको र मावली गाउँको नाम मात्र थाहा थियो । उता १ नम्बर क्षेत्रतिर त्यति थाहा थिएन । आफ्नै गाउँमा पनि हाम्रै वडातिर तल्लो गाउँको बारेमा मात्र थाहा थियो माथिल्लो गाउँतिर पुग्दा पनि पुगेको थिएन ।  

घर झापा भनेपछि पनि सुख नपाइने । ‘झापा कुन गाउँ ? कुन वडा ? मोहन मैनालीको घरभन्दा कता ? संगीतकार नारायण ओलीको घरबाट कति टाढा ?’एकपछि अर्को प्रश्न बर्सिन्थे । सुरुङ्गा घर भएपनि म जम्माजम्मी चार वर्ष बसेँहुँला त्यहाँ । मधेसमा वर्षेनी बसाइ सरेर मान्छे थपिइरहने । पोहोर साल खेत भएको ठाउँमा यो साल जाँदा घर बनिसक्ने । त्यस्तो द्रुत गतिमा परिवर्तन भइरहने ठाउँमा मैले काठमाडौँ बसेर कसको घर कति टाढा, कसको घर कता पर्छ भन्नसक्ने अवस्था नै थिएन । प्रश्नकर्ताको पूरा जवाफ फर्काउन नसक्दा कतिले त ढाँटेको पनि ठाने होलान् । मलाई आफैँलाई पनि मन भित्रभित्र उत्तर दिन नसकेकोमा हिनताबोध हुन्थ्यो । 

युके आएपछि पेशाले फेरि नेपाली समुदायमा बढी घुलमिल भइयो । भेट हुने कुराकानी हुने बिल्कुल नयाँ थिए यहाँ । त्यसैले सबैसित नयाँ परिचय हुनुपर्ने भयो । परिचयमा उही प्रश्न आउने भइहाल्यो घर कहाँ ? बाबा आमा झापा बस्ने भएपछि घर झापा भन्न त कर लागिहाल्यो । तर आफ्नो घर र बाबा आमाबाहेक अरु कोहीका बारेमा बताउन सक्ने हैसियत र ज्ञान छैन । त्यसभन्दा बढी आफ्नो जन्मथलोकै याद बढी आउने । घरखेत केही नभए पनि आफन्तहरु त्यतै भएकाले ताप्लेजुङ नै बढी आफ्नो जस्तो लाग्ने तर जहाँ वैध रुपमा मेरो घर छैन । 

युकेमा आफ्नै बुतामा सानो घर जोडे पनि मलाई कति पनि लाग्दैन कि यो मेरो घर हो । मैले युके नै मेरो घर हो, मेरो देश हो भने पनि यहाँका रैथानेले मेरो दाबी मान्ने छैनन् र मेरो पुस्तौपुस्ताले सामना गरिरहनुपर्ने छ उही प्रश्नको ‘कहाँ हो तिम्रो घर ?’ 

मेरो घर झापा भनुँ जसको बारेमा मलाई ज्ञान छैन । मेरो घर ताप्लेजुङ भनुँ जहाँको बारेमा मलाई धूपछायाँबाहेक केही सम्झना छैन । काठमाडौँ जहाँ मैले जीवनका अहिलेसम्मका सबैभन्दा धेरै समय चेतनशील अवधि गुजारेँ त्यहाँ मेरो घर छैन । युके भनुँ म भन्न सक्दिनँ र युकेले मलाई अपनाउँदैन । त्यसैले मैले आजकल सप्रसंग व्याख्या गर्दै भन्ने गरेको छु –मेरो जन्मघर ताप्लेजुङ, मेरो बाबाआमा झापामा बस्नुहुन्छ र म अहिले डार्टफोर्ड, केन्टमा बस्छु । 

भन्नलाई यति धेरै ठाउँको नाम लिए पनि ‘घर जहाँ हो त्यहाँ मन बस्छ’ लागू गर्ने हो भने मन बस्ने ठाउँमा घर छैन, न छ घर भएको ठाउँमा मन ।    

      

डार्टफोर्ट, केन्ट