Monday, October 17, 2022

‘तपाईको घर कहाँ ?’

संस्मरण 

नरेश खपाङ्गीमगर

‘तपाईको घर कहाँ ?’ 

आज पनि उही प्रश्न सोधियो । 

सामान्यतः नेपालीहरुबीच सर्वाधिक सोधिने प्रश्न हो यो । विद्वानदेखि निरक्षरसम्म, प्रवुद्धदेखि साधारणसम्म, अमिरदेखि कंगालसम्म राखिने यो प्रश्नको जवाफ असजिलो र अफ्ठेरो भने छैन । तथापि अति सामान्य यस प्रश्नले मलाई भने असजिलो बनाइरहेको छ । 

‘मगर’ भन्नासाथ धेरैले सोध्दै नसोधी मलाई पश्चिम नेपालको ठान्छन् । मगरहरुको बाक्लो बसोबास त्यतातिर रहेकाले यस्तो अनुमान लगाउनु निश्चय नै अनुचित होइन । तर धेरैको यस्तो अनुमानविपरीत नेपालको सबैभन्दा पूर्वमा रहेको ताप्लेजुङ जिल्लाको हाङपाङ गाविस वडा नम्बर ८ स्थित मिचिरिङ गाउँमा मेरो जन्म भएको थियो । लिम्बु जातिको आधिक्य रहेको त्यस जिल्ला र गाउँमा मेरा पिता पुर्खा कसरी, कहाँबाट पुगे भन्ने तथ्य अहिलेसम्म रहस्यकै गर्भमा छ । धेरैले पृथ्वीनारायण शाहको नेपाल एकीकरणको फौजमा सम्मिलित भएर गएको अनुमान लगाउँछन् तर त्यसलाई पुष्टि गर्ने आधारहरु भने भेट्न सकेको छैन । पश्चिम नेपालमा पाइने मगरहरुको उपथरहरुसित हाम्रो थर मिल्दैन । त्यसैले सबै शाखा सन्तान नै कतै बिऊ समेत नराखेर पृथ्वीनारायण शाहले हाम्रा पुर्खालाई पूर्व विस्तार गर्न पठाए होलान् भन्ने मेरो लाटो बुझाइले मान्दैन । 

म १३ वर्षको हुँदा अवसरको खोजीमा हाम्रो परिवार झापा बसाइँ सर्यो । नयाँ बसाइ भयो सुरुङ्गा गाविस वडा नम्बर ७ मा । कसैले तुल्सीबारी भन्थे । कसैले बेनुबाजा । खासमा त्यो तुल्सीबारी थियो कि बेनुबाजा मलाई अहिले पनि यकिन छैन । किनभने त्यसको कुनै साँधसिमाना तोकिएको थिएन । जसले जे भने पनि हुने । बसाइ सुरुङ्गा भए पनि पढाइ थियो शिवगंज गाविसमा पर्ने लालपानी स्कुलमा । गाविस शिवगंज तर त्यही स्कुल भएको एउटा वडा मात्र माइखोला वारि पथ्र्यो । बाँकी आठवटा वडा माइखोला पारि । कक्षा ७ देखि एसएलसीसम्म चारवर्ष त्यहाँ बिताइयो । 

बचेराले प्वाँख पलाएपछि आफू हुर्केको गुँड छोडेर भुर्रर उडेझैँ त्यसपछि मेरो बसाइ शुरु भयो धेरै नेपाली युवाहरुको स्वप्नको शहर काठमाडौँमा । शुरुको एक वर्ष पूर्णकालिन श्रमिक त्यसपछि बिस्तारै औपचारिक अध्ययनतिर म जोडिएँ । कहिले कुलेश्वर, कहिले पाटन गरेर मेरा १२ वर्ष काठमाडौँ खाल्डोमा बिते । जतिबेला म काठमाडौँमा डेरा बस्थेँ त्यतिबेला काठमाडौँमा एक किसिमको अफवाह नै थियो झापालीलाई कोठा दिनुहुन्न भन्ने । किस्सा सुनिन्थ्यो–डेरामा बसेका झापालीले छोरी भगाएको, भाडा नतिरी भागेको, धाराको टुटीसमेत लिएर गएको आदि आदि । यसरी चलेको हावाले मलाई पनि सतर्क बनायो । कतै कोठा माग्दा ‘घर कहाँ’ भनेर सोधे भने कता भन्ने ? ‘झापा’ भन्दा कतै कोठा नपाउने पो हो कि ? मनमा यस्ता तर्कना आइरहन्थे तर मेरा तत्कालीन सहकर्मीहरु, आमा समानकी आपुला शाक्य र पुनम श्रेष्ठ दिदीले आफूले चिनेजानेका छिमेकीहरुकोमा कोठा देखाउन लगे । दुवै घरवालाले ‘घर कहाँ’ भनी सोधे मैले पनि नढाँटी ‘झापा’ भनेँ तर मेरोभन्दा आफ्ना छिमेकीको भर परेर होला दुवैले हुन्न भनेनन् । अन्ततः म पुनम श्रेष्ठले खोजिदिएको घरवेटी केशव महर्जनको घर पाटनमा बस्ने भएँ । 

झापाली भूतसितको पहिलो परीक्षा त पास भइयो । अब ‘सबै झापाली फटाहा हुन्न’ भनेर प्रमाणित गरेर देखाउनुपर्ने थियो । घरवेटीका दुई किशोरी छोरी थिए । कतै उनीहरुसित नाम पो जोडिएला कि भनेर बहुत चनाखो हुनुपर्ने भो । आफैँभित्रको भूतले मलाई यति अँठ्याएको रहेछ कि तीमध्ये जेठीसित त म करिब दुई वर्षसम्म एक शब्द पनि बोलिनछु । कान्छीसित भने पसलमा कहिलेकाहीँ सामान किन्दा र कसैले फोन गर्यो भने बोलाउँदा बोल्थेँ । घरधनी असाध्यै भलादमी र लजालु । भाडा माग्न पनि डराएजस्ता । ‘दाइ पैसा चाहिएको छैन’ भनेर आफैँले सोध्नपर्ने । भाडा बुझाउन एकदिन ढिला हुँदा यमराजले जस्तो व्यवहार गर्ने अरु घरवेटीको तुलनामा उनलाई छिटोमा छ महिना, एक वर्ष, डेढवर्षमा भाडा बुझाउँथे । लाग्थ्यो झापाली फटाहा भन्ने उनले बिर्से । नौ वर्ष त्यहाँ बसेर भाइबहिनीलाई त्यो कोठा जिम्मा लाएर म युके आएँ । 

पाटनमा रहँदा नै कम्प्युटर सिक्न पाटनढोकामा कम्प्युटर सेक्सनमा गइयो । त्यहाँ पनि उही प्रश्न आयो । घर कहाँ ? कृतिम आवाज निकालेजस्तो गरेर मीठो बोल्ने सुरेन्द्र पोखरेल थिए प्रशिक्षक । उनी भन्थे, ‘नरेशजी तपाईजस्तो सोझो झापाली मैले अहिलेसम्म देखेको थिएन’ । उनको आवाज बनावटी लागे पनि मेरो व्यवहार बनावटी थिएन । मैले सोझो ठहरिनका लागि यहाँ कुनै अभिनय गरेको थिइनँ । 

करिब एकदशक काठमाडौँमा पत्रकारितामा सक्रिय रहँदा पेशा नै यस्तो कि दिनहुँ नयाँ–नयाँ मान्छे भेट भइरहने । फेरि जिज्ञासा उही दोहोरिन्थ्यो । घर कहाँ ? मैले त्यतिबेलासम्म मनमा सम्झना आलै भए पनि घर ताप्लेजुङ भन्न छोडिसकेको थिएँ किनभने मसित ताप्लेजुङको बालस्मरण मात्र बाँकी थियो । केही छिमेकी गाउँको खासगरी मेरो घर भएको क्षेत्र नम्बर २ तिरका गाउँहरुको, सदरमुकामको र मावली गाउँको नाम मात्र थाहा थियो । उता १ नम्बर क्षेत्रतिर त्यति थाहा थिएन । आफ्नै गाउँमा पनि हाम्रै वडातिर तल्लो गाउँको बारेमा मात्र थाहा थियो माथिल्लो गाउँतिर पुग्दा पनि पुगेको थिएन ।  

घर झापा भनेपछि पनि सुख नपाइने । ‘झापा कुन गाउँ ? कुन वडा ? मोहन मैनालीको घरभन्दा कता ? संगीतकार नारायण ओलीको घरबाट कति टाढा ?’एकपछि अर्को प्रश्न बर्सिन्थे । सुरुङ्गा घर भएपनि म जम्माजम्मी चार वर्ष बसेँहुँला त्यहाँ । मधेसमा वर्षेनी बसाइ सरेर मान्छे थपिइरहने । पोहोर साल खेत भएको ठाउँमा यो साल जाँदा घर बनिसक्ने । त्यस्तो द्रुत गतिमा परिवर्तन भइरहने ठाउँमा मैले काठमाडौँ बसेर कसको घर कति टाढा, कसको घर कता पर्छ भन्नसक्ने अवस्था नै थिएन । प्रश्नकर्ताको पूरा जवाफ फर्काउन नसक्दा कतिले त ढाँटेको पनि ठाने होलान् । मलाई आफैँलाई पनि मन भित्रभित्र उत्तर दिन नसकेकोमा हिनताबोध हुन्थ्यो । 

युके आएपछि पेशाले फेरि नेपाली समुदायमा बढी घुलमिल भइयो । भेट हुने कुराकानी हुने बिल्कुल नयाँ थिए यहाँ । त्यसैले सबैसित नयाँ परिचय हुनुपर्ने भयो । परिचयमा उही प्रश्न आउने भइहाल्यो घर कहाँ ? बाबा आमा झापा बस्ने भएपछि घर झापा भन्न त कर लागिहाल्यो । तर आफ्नो घर र बाबा आमाबाहेक अरु कोहीका बारेमा बताउन सक्ने हैसियत र ज्ञान छैन । त्यसभन्दा बढी आफ्नो जन्मथलोकै याद बढी आउने । घरखेत केही नभए पनि आफन्तहरु त्यतै भएकाले ताप्लेजुङ नै बढी आफ्नो जस्तो लाग्ने तर जहाँ वैध रुपमा मेरो घर छैन । 

युकेमा आफ्नै बुतामा सानो घर जोडे पनि मलाई कति पनि लाग्दैन कि यो मेरो घर हो । मैले युके नै मेरो घर हो, मेरो देश हो भने पनि यहाँका रैथानेले मेरो दाबी मान्ने छैनन् र मेरो पुस्तौपुस्ताले सामना गरिरहनुपर्ने छ उही प्रश्नको ‘कहाँ हो तिम्रो घर ?’ 

मेरो घर झापा भनुँ जसको बारेमा मलाई ज्ञान छैन । मेरो घर ताप्लेजुङ भनुँ जहाँको बारेमा मलाई धूपछायाँबाहेक केही सम्झना छैन । काठमाडौँ जहाँ मैले जीवनका अहिलेसम्मका सबैभन्दा धेरै समय चेतनशील अवधि गुजारेँ त्यहाँ मेरो घर छैन । युके भनुँ म भन्न सक्दिनँ र युकेले मलाई अपनाउँदैन । त्यसैले मैले आजकल सप्रसंग व्याख्या गर्दै भन्ने गरेको छु –मेरो जन्मघर ताप्लेजुङ, मेरो बाबाआमा झापामा बस्नुहुन्छ र म अहिले डार्टफोर्ड, केन्टमा बस्छु । 

भन्नलाई यति धेरै ठाउँको नाम लिए पनि ‘घर जहाँ हो त्यहाँ मन बस्छ’ लागू गर्ने हो भने मन बस्ने ठाउँमा घर छैन, न छ घर भएको ठाउँमा मन ।    

      

डार्टफोर्ट, केन्ट

 

No comments: