संविधानसभाको संवैधानिक समितिले दशैाअघि राष्ट्रिय चिन्हहरुमाथि बहस शुरु गरेपछि विभिन्न पाटा र पक्षहरुबाट विभिन्न खाले प्रतिक्रियाहरु व्यक्त भइरहेका छन् । जनमतबाट अनुमोदित भएर नयाँ संविधान निर्माणको अधिकार पाएको संविधानसभाले शुरु गरेको यस बहसमा सकारात्मकभन्दा नकारात्मक पक्ष हाबी भइरहेको छ । राष्ट्रिय चिन्हरु आकाशका चन्द्रसूर्य जस्तै अपरिवर्तनीय र अटल हुन् भनेर बहसको मुखमा पट्टी बाँध्न खोजिँदैछ । अर्कोतिर संविधानसभाले गर्नुपर्ने काम नगरेर औचित्य नै नभएको विषयमा ध्यान केन्द्रीत गरेको आरोप पनि लगाउन थालिएको छ ।
१० वर्षको सशस्त्र युद्ध, १९ दिने लोकतान्त्रिक आन्दोलन, आदिवासी जनजाति र मधेस आन्दोलनको उपलब्धिस्वरुप देशमा संविधानसभा प्राप्त भएको छ । विगतमा मुठ्ठीभर केही व्यक्तिहरुले जिम्मा लिएर बनाइने र राजाहरुबाट जनतालाई संविधान बक्स हुने गरेकोमा अहिले जननिर्वाचित प्रतिनिधिको हातबाट बल्ल लेख्न अवसर मिलेको छ । अर्को अर्थमा जनताले आफ्नो संविधान आफैँ लेख्ने अवसर हो यो । एकजुगमा एक दिन आउने संज्ञा दिइएको संविधानसभाले अहिले सोचे अनुरुप काम गर्न नसके पनि नयाँ संविधान लेखनको आफ्नो मूल लक्ष्यलाई तिलाञ्जलि दिइसकेको छैन । ढिलै सही नयाँ संविधान यात्रामा गति अगाडि बढाइरहेकै छ । विभिन्न समितिहरुले आफ्ना प्रतिवेदनहरु संविधानसभासमक्ष बुझाइरहेका छन्, कति छलफलका चरणमा छन् । संविधानसभालाई नयाँ संविधानमा राखिने जस्तोसुकै र जुनसुकै प्रावधानहरुका बारेमा छलफल चलाउन र निर्णय गर्न पूर्ण अधिकार छ । यसअघिका संविधानहरुमा जस्तो दरबार, राजा, राजपरिवार अहिले संविधानभन्दा माथि छैनन् सर्वाधिकार जनतामा छ । कुनै पनि विषयमा बहस छलफल नचलाउने भन्नेजस्ता अधिकारबन्देज संविधानसभालाई छैन । तर संविधानसभाले आफ्नो छलफल अगाडि बढाइरहँदा किन सकारात्मक विचारहरु आउन सकिरहेका छैनन् ?
नेपालका राष्ट्रिय चिन्हरु, राष्ट्रिय झण्डा, राष्ट्रिय जनावर, राष्ट्रिय पंक्षी, राष्ट्रिय रङ, राष्ट्रिय फूलले परिवर्तित अवस्थामा नेपालको प्रतिनिधित्व गर्न सकेका छन् कि छैनन् भन्ने विषय संवैधानिक समितिले अहिले उठाएको बहसको चूरो हो । नेपालले २०११ सालदेखि चन्द्र सूर्य अंकित तीन चोसे झण्डालाई राष्ट्रिय झण्डा, गाईलाई राष्ट्रिय जनावर, डाँफेलाई राष्ट्रिय पंक्षी, सिम्रिकलाई राष्ट्रिय रंग र लालीगुराँसलाई राष्ट्रिय फूल मान्दै आएको छ । यी चिन्हहरुको चयन कुनै लोकतान्त्रिक विधि वा जनताको जनमतबाट भन्दा पनि तत्कालीन राजा महेन्द्रको हुकुमबाट भएको इतिहास साक्षी छ । तीस वर्षे पञ्चायत र त्यसपछि पनि अपरिवर्तित रहेका ती चिन्हहरुप्रति लामो समयसम्म अपनाइएका कारण सर्वसाधारणको केही ध्यान खिचिएको हुनसक्छ तर जनमानसले आफ्नो मनमस्तिस्कबाट हटाउनै नसक्नेगरी अमिट छाप बनेर बसेका भने अवश्यै होइनन् । यदि त्यस्तो हुन्थ्यो भने अहिले ती चिन्हहरुलाई परिवर्तन गर्ने कि भनेर कसले हिम्मत गर्थ्यो ? आखिर जनता चिढ्याउन त कुन राजनीतिक पार्टी चाहन्छ र ?
यी चिन्हहरुलाई राष्ट्रिय चिन्ह बनाउन विगतमा जसले सल्लाह र दबाब दिएका थिए त्यही समुदाय र शक्ति अहिले राष्ट्रिय चिन्ह परिवर्तनको बहसलाई निरर्थक र बेतुकको बनाउन खोज्दैछ । आफूलाई संस्कृतिविद्, इतिहासविद्, राष्ट्रप्रेमी भनाउन रुचाउनेहरु जो पशुपतिमा भारतीय पुजारी हुनुपर्छ भनेर चिच्याउँछन् तिनीहरु नै अहिले यस बहसलाई राष्ट्रिय चिन्ह फेर्नु भनेको बाउआमा फेर्नुसरह हो’ देश टुक्रयाउने खेल हो’ भनेर कुर्लिरहेका छन् । २३८ वर्षदेखि जग हालेर प्रत्यक्ष शासनसत्तामा बसेको राजतन्त्रको समाप्तिमा मुलुकका केही प्रक्रियामा गडबडी आउनसक्ने भनेर आवाज निकाल्न नसक्नेहरुले करिब ५० यता कागजमा स्थापित आवाजविहीन र निर्जीव यी चिन्हहरु फेर्दा देशै विखण्डन हुने तर्क गर्नु पनि आफैामा हाँस्यास्पद छ ।
वास्तवमा यी चिन्हहरुको बहसलाई दुई तरिकाले उठाइएको देखिन्छ । पहिलो कारण हो राष्ट्रिय चिन्ह परिवर्तनको बहस एकीकृत नेकपा -माओवादी) बाट थालनी गरिनु । संविधानसभा निर्वाचनबाट सबैभन्दा ठूलो राजनीतिक दल भए पछि नै माओवादीप्रति अन्य प्रतिस्पर्धी राजनीतिक दलहरु आत्तिएका छन् र एकोहोरो खनिएका छन् । माओवादीको एजेण्डा पारित भएमा आफूहरु जनताबाट विस्थापित हुने डरले अन्य राजनीतिक पार्टीहरु बरु पुराना कुरालाई हुबहु र यथावत राख्न तयार छन् तर केही कुरा पनि परिवर्तन गर्न चाहँदैनन् । चाहे त्यो पशुपतिमा नयाँ पुजारी नियुक्तिको कुरा होस् या न्यायाधीशहरुको नियुक्तिको कुरा होस् । त्यसकारण राष्ट्रिय चिन्हहरु परिवर्तनको विषय माओवादीले उठाएकै कारण यो बहसलाई नकारात्मक कोणबाट हेरिँदैछ । र, चर्को राष्ट्रवादको पगरी लगाइदिएर चर्काउन खोजिँदैछ । काँग्रेस, एमालेले यो विषय उठाएको भए पनि यो विषयलाई बहसभन्दा विवाद बनाइँदैनथ्यो ।
दोस्रो, नेपालको परिवर्तनतर्फको यात्रालाई विश्वभरका हिन्दू अतिवादीहरुले रोक्न खोजिरहेका छन् चाहे त्यो पशुपतिमा नेपाली पुजारी राख्ने विषयमा होस् या धर्मनिरपेक्ष मुलुक घोषणा गर्ने क्रममा होस् । धर्मनिरपेक्ष मुलुक घोषणा गर्नबाट रोक्न उनीहरु असफल भए पनि पशुपतिमा भारतीय पुजारी राखिराख्न भने उनीहरु सफल भएका छन् । शायद जनआन्दोलन लगत्तै धर्मनिरपेक्ष मुलुक घोषणा नगरिएको भए अहिले नेपाललाई धर्मनिरपेक्ष बनाउन सम्भव थिएन र, जनआन्दोलन लगत्तै पशुपतिमा नेपाली पुजारी राख्ने निर्णय गरिएको भए त्यसलाई कसैले रोक्नसक्ने थिएन । जनआन्दोलनका बेला सिथिल हुने र अहिले समय बित्दै जाँदा संगठित हुने त्यो शक्तिको सम्बन्ध प्रत्यक्षरुपमा दरबारसित गाँसिएको छ । तिनै दरबारियाहरु अहिले अनेक वेशमा विरोधी श्वर लिएर प्रकट भइरहेका छन् । राजनीतिक दलहरुबीचको बेमेललाई हतियार बनाएर फाइदा लुट्न पनि सक्षम भइरहेका छन् ।
देशभित्रका राष्ट्रवादी हिन्दूहरु अन्यायमा परिरहेका छन् र विदेशीको इशारामा चल्ने कथित हिन्दूहरुको नै बोलबाला बढिरहेको छ । अहिले राष्ट्रिय चिन्हको बहसमा पनि तिनै विदेशी हिन्दूहरु अगाडि आएका छन् । नेपाललाई हिन्दू अधिराज्य बनाउन नसके पनि राष्ट्रिय चिन्हहरुमा हिन्दूत्व कायम राख्न खोजिरहेका छन् । राष्ट्रिय चिन्हले कुनै न कुनैरुपमा हिन्दू धर्मको पहिचान बोकिरहोस् भन्ने चाहन्छन् । राष्ट्रिय चिन्हले विश्वसामू मुलुकको एकता र पहिचान बोक्नुपर्छ । तर हिन्दू अतिवादीहरु यी चिन्हले केवल हिन्दू धर्मको पहिचान बोके पुग्छ भन्ठान्छन् । होइन भने मुलुक धर्म निरपेक्ष भइसकेपछि गाईलाई राष्ट्रिय जनावर तोकिइरहनुपर्ने कारण के छ ? सिम्रिकलाई राष्ट्रिय रङ मानिरहनुपर्ने कारण के छ ? दुधालु, गुनिलो मात्र कारणले गाईलाई राष्ट्रिय जनावर मान्ने हो भने गाईभन्दा गुनिलो र धेरै दुध दिने धेरै जनावरहरु छन् तिनीहरुलाई मानिनुपर्ने होइन र ?
विश्वका प्राय सबै देशले आफ्नो देशमा पाइने दुर्लभ जनावरलाई राष्ट्रिय जनावर, दुर्लभ पन्छीलाई राष्ट्रिय पन्छी, दुर्लभ बनस्पतिलाई राष्ट्रिय फूल मान्ने गरेका छन् । प्राकृतिक विविधताले भरिपूर्ण हाम्रो देश नेपालमा पनि अन्यत्र नपाइने धेरै यस्ता विशेषताहरु छन् जसले नेपाललाई विश्वसामू चिनाइरहेका छन् । हामीसित विश्वमा दुर्लभ एकसिँगे गैँडा छ, नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर छ, वनस्पतिहरु फूलहरु त नेपालमा मात्र पाइने कति छन् कति ? यदि ती मौलिक र दुर्लभ हाम्रा सम्पत्तिलाई राष्ट्रिय चिन्ह बनाउन सकियो भने नेपालको पहिचान त हुने नै भयो ती सम्पत्तिको संरक्षण र सम्बर्द्धन पनि हुनसक्ने थियो । दुर्लभ वस्तुहरुलाई नियाल्न, अध्ययन गर्न चाहनेहरुका कारण नेपालको आर्थिक उपार्जनमा पनि सहयोग नै मिल्ने थियो । तर विरोध सुन्नपर्छ भनेर मनमा लागेको कुरा पनि व्यक्त गर्न नसक्ने प्रवृत्तिका नेपालीहरुले नयाँ राष्ट्रिय पहिचानलाई स्थापित गराउन सक्लान् ?
मलेसियाको नेपाली खबरमा प्रकाशित
No comments:
Post a Comment