आज आइतबार । मेरो घरमा माइला दाजुको विवाह छ ।बहिनी हिजो रात्री बस चढेर घर पुगिसकी । म भने पुल्चोकको डेरामा तीन तलामाथि बसेको छु त्रिशुलमा उनिएको ध्वजासरह भएर ।
बहराइनबाट एक महिना लामो विदामा नेपाल आएका मेरा माइला दाजु मेरा दाजु मात्र होइनन् एक असल साथी पनि हुन् । उमेरले मभन्दा दुई वर्ष जेठा भए पनि कक्षा आठदेखि हामी पढाइमा पनि सँगै थियौँ । जेठा दाजुको माओवादी जनयुद्धमा लाग्दालाग्दै निधन भएपछि चौपट घरलाई हामी दुईभाइ भएर भरथेग गर्दै आएका छौँ एक अर्कासित सल्लाह गरेरै । एकले अर्काको विचार र योजनाको सम्मान गरेरै ।
पछि साथी बनेका विभिन्न साथीहरुको जन्ती र भोज खान नचुकेको म आफ्नै दाजुको विवाहमा भने गयल भएको छु त्यो पनि आफ्नै मनोगत र आत्मगत कारणहरुले । आफ्नै फोस्रो आडम्बर र मनोमानीले । घरप्रतिको परिवारप्रतिको दाजुप्रतिको र समाजप्रतिको दायित्व बहन गर्न सकिनँ भन्ने गम्भीर पश्चातापले पिरोलिइरहेको छु । दुनियाँलाई लेखेर बोलेर भाषणा गरेर अर्ती उपदेश दिने म आफ्नै दम्भ अहङकार घमन्डका कारण छियाछिया भएको छु ।
पश्चातापको आहालमा चोबलिइरहकै बेला अचानक आमाको फोन आउँछ मावली बाजे सिकिस्त बिरामी हुनुहुन्छ केही दिनदेखि । आवाज बन्द भएको छ रे । अनुहारको एक भाग बाहिरै देखिने गरी कालो भएको छ रे । मामालाई फोन गर्दिएस् है । आमाले भन्नुभयो । २०४२ सालका ताप्लेजुङ जिल्ला पन्चायतका जनपक्षीय उपसभापति महेन्द्र थापामगर मेरा जिबा कहिल्यै आफ्ना कुरामा विचलित थिएनन् । आफ्ना छोरा छोरीसित पनि उनले सम्झौता गरेनन् चाहे उनीहरु घरबाट निस्कीएरै किन नजाउन् । यस्ता कडा मान्छे पनि बिराम लागेपछि थलिएछन् गलेछन् ।
तीन छोरा तीन छोरीका पिता मेरा जिबा उपचार नपाएरै अन्तिम दिन गनिरहेका छन् । धन हुनेको मन छैन मन हुनेको धन छैन । आफ्नै सन्तानहरु उनको अन्तिम संस्कार गर्न पर्खिरहेका जस्ता लाग्छन् । धिक्कार छ ती सन्तानहरुलाई । र मजस्ता नालायक नातिहरुलाई जस्ले केही वर्षदेखि थलिएका जिबाको उपचार गराउन सकेन ।
आजै तनहुँ जानु थियो दिदीको जेठानी दिदी बित्नुभएको १३ दिने शुद्ध्याइँमा । घर परिवार सबैको कर थियो दाजुको विहेमा नआउने भए त्यता भए पनि जा न त । तर मलाई किन हो किन मन छैन । मन वेचैन छ । मैले आफ्नो सानो जिम्मेवारी पनि पूरा गर्न सकिरहेको छैन । परिवार समाज नातागोताबाट पर पर भागिरहेको आफ्नै छायाँ देख्छु ।
साथीभाइको फोन आउँछ उठाउन मन छैन । अनलाइन भेटिन्छन् साथीभाइ आफन्तहरु । कुरा गर्न मन छैन । कुरा गर्न खोज्नेहरुलाई छिटोछिटो टाटो लगाउँछु । मीना होटलकी मीना दिदी आउँछिन् – भाइ भात खाने होइन । म आफैँ अवाक छु अमन छु । नेपालिपत्रबाट विज्ञान शर्माजी मेल पठाउनुहुन्छ –स्टोरी आजै पठाइदिनुभए हुन्थ्यो । जवाफ दिन मन छैन। नियमित काममा जान खुट्टा लागेको छैन । ढोका बन्द गरेर सुत्न मन लागेको छ । सबैबाट केही क्षणलाइ भए पनि अलग भएर । के म दुनियाँबाट भाग्न सकुँला ।
No comments:
Post a Comment