Saturday, February 14, 2009
साइकल चढ्ने क्याप्टेनसाब
महङ्गा गहना ढाकिएकी कुनै महिला भेटिइन् भने लख काटिन्छ लाहुरेकी जहान हुन् कि छोरीबुहारी । घुम्दै जाँदा कतै आधुनिक डिजाइनका भव्य घरमा आँखा परे भने मनमा तर्कना छचल्किन्छन् लाहुरेको घर होला । ब्राण्डेड लुगाकपडा भिरेका युवा युवती देखिए लाग्छ लाहुरेका छोराछोरी होलान् । अत्याधुनिक मोडेलका मोटरसाइकल कतै हुँइकिएको पाइए स्वतः अनुमान हुन्छ लाहुरेका सन्तति होलान् ।
सामान्यतः आम नेपालीको भन्दा लाहुरेहरुको जीवनशैली उच्चस्तरको देखिन्छ । तर नेपाली समाजमा रहेको आम मान्यता र हेराइलाई चुनौती दिँदै साइकल चढ्छन् बेलायती सेनाका एक क्याप्टेनसाब ।
काठमाडौँ र ललितपुरको साँघुरो गल्लीहरुमा टाउकोमा ह्याट, आँखामा कालो सन ग्लास लगाएका, रुमालले मुख छोपेका कुनै अधबैँसे साइकल पेल्दै गरेको भेटिए मान्नुस् उनी हुन् क्याप्टेन कूलप्रसाद पुन । धागोले बुनेको झोला काँधमा भिरेका, हाफ पाइन्टमा सजिएका यी क्याप्टेन साबसँग मोटरसाइकल त के गाडी चढ्ने औकात नभएको होइन । दर्जनौँ व्यावसायिक प्रतिष्ठानमा हात हालेका यी क्याप्टेन साबलाई किन प्यारो लाग्यो त साइकल -
"मोटरसाइकल चढ्ने औकात नभएर मैले साइकल चढेको होइन । आफ्नो परिवार र समाजलाई नमूना देखाउन मैले यसो गरेको हुँ" क्याप्टेन पुन स्पष्ट पार्छन् ।
उनले अहिले चढ्दै गरेको साइकल २०५३ सालमा किनेका रहेछन् । थाइल्याण्डमा बनेको त्यो साइकलको मूल्य त्यतिबेला थियो रे नौहजार रुपियाँ । त्यसैलाई डेण्ट-पेण्ट गर्दै चलाइरहेका छन् पुनले । साइकल चढ्नुको फाइदाको पोको खोल्दै पुन भन्छन् - स्वास्थ्यलाई पनि फाइदा । जतिसुकै साँघुरोमा पनि जान मिल्ने । समयमा पुगिने ।
वि.सं. २००९ मा बाग्लुङ जिल्लाको बोँगादोभान गाउँ विकास समिति, पानचिरबाङमा क्याप्टेन पुनले जीवनको पहिलो पाइला टेके । पाँच पाण्डव छोरा र एक छोरीका सृष्टिकर्ता इन्द्रदास पुन क्याप्टेन पुनका पिता मात्र थिएनन् पहिलो विश्वयुद्धका योद्धा पनि थिए । भैरहवाको नाइट कलेजबाट एसएलसीको फलामे ढोका पार गरेका क्याप्टेन पुन ब्रिटिश आर्मीमा बाबुकै पालादेखि गाँसिएको जरो पहिल्याउँदै अन्ततः सन् १९७१ मा भर्ती भए ।
भैरहवामा पढ्दाताका फुटबलका राम्रा खेलाडी थिए पुन । त्यही कारण भर्ती हुन पनि कुनै सोर्सफोर्स र छक्कापञ्जा गर्नुपरेन । "भैरहवा नजिकै पक्लिहवामा गल्ला अफिस थियो । फुटबलको राम्रो खेलाडी भएकाले त्यहाँका अधिकृत लेङसित राम्रो सम्बन्ध थियो । एकदिन उनले ए कूलप्रसाद भर्ती हुने हो’ भने । बाउले पनि भर्ती हुन जा भनेका थिए । म त त्यतिकै भर्ती भइहालेँ" बस यति थियो भर्तीको अन्तरकथा ।
भर्तीपछि नौतुनवा, गोरखपुर, बनारस हुँदै हङकङ पुगे पुन । हङकङमा तालिम लिने पहिलो टोली पुन सम्मिलित टोली नै थियो । तालिमे जीवनका रमाइला क्षण पुनलाई अझै याद छ । तालिममा सुर्ती, मदिरा, खैनी खान बन्देज थियो । तर पुनको तालिम पार्टनर अशोक थापा भने शौचालयमा गएर चुरोट पिउँदारहेछन् । गुरुजीले यो कुरा सुइँको पाएपछि पुनसहित आठ जनालाई कट्टू खोलेर पोलो मैदान घुमाएको क्षण पुन भुल्दैनन् ।
भैरहवामा स्कुल पढ्दा सामान्य प्रेम भएको पुन स्वीकार्छन् । त्यस्तो डीप चाहिँ थिएन’ पुनले भने । त्यतिबेला पल्टनमा गोरासँगै रहँदा गोराहरुले पनि भ्यालेण्टाइन डेको भने कुनै चर्चा गर्दैनथे रे । क्रिसमस, इस्टर, न्यू इयरबाहेक अरुको कुरा नउठेको पुन बताउँछन् । पल्टनबाट छुट्टी आएपछि मगर रितिअनुसार आफ्नै मामाकी छोरीसित उनले लगनगाँठो कसे ।
नेपाल छँदैदेखिको फुटबलको नशाले पुनलाई पल्टनमा पनि छाडेन । घर आउने छुट्टी नै काटेर पल्टनमा हुने नेपाल कपमा खेल्ने पुनको आदत बनिसकेको थियो । सन् १९७३ मा पुनको सिक्स जीआर पल्टनले नेपाल कप जित्दाको असिम खुशी पुन बिर्सदैनन् । त्यतिबेलाको सम्झना पुन यसरी गर्छन् "त्यत्रो ब्रिगेडका मानिसहरुको अगाडि नेपाल कप जित्दा म मैदानमा छु कि छुइनँ खुशीले थाहै भएन" । फुटबलमा जित्दा साथीभाइ र अफिसरहरुको वाहवाह मात्र होइन पैसा जोगाउन नसकेकोमा बाउको गाली पनि पाएका छन् पुनले ।
अफिसर भएपछि गोरा र गोरखा सिँपाहीबीचको भेदभावको गुत्थी थाहा पाए पुनले । उनी आफैँ पनि ओभरसीजमा जाने मामिलामा भेदभावमा परे । त्यसैले कमाण्डिङ अफिसरले अहिले नजा भन्दाभन्दै पुन १९९३ मा पेन्सनमा घर फर्के ।
घर फर्केपछि के गर्ने - दोस्रो नोकरीका लागि धेरै ठाउँमा दरखास्त दिए । ब्रुनाइको गोरखा रिजर्भ युनिट, नेपालमै विभिनन ठाउँमा छरिएको गोरखा वेलफेयर अफिस सबैतिर । तर कतैबाट प्रत्यूत्तर आएन । त्यसपछि आफैँ केही गर्नुपर्यो भन्ने इरादाले उनले भीमबहादुर लिम्बू र लालबहादुर थापासँग मिलेर धवलागिरी सः मिल खोले । व्यापारिक र्फमहरु दर्ता नै नगरिने त्यस समयमा पुन भने र्फम दर्ता गराउन पुगे घरेलु तथा साना उद्योग कार्यालय । कार्यालयका उपप्रमुखले भनेको "टन्न कमाउनु भाकै छ घर बसिबसि खानोस् न किन दुःख गर्नुहुन्छ -" वाक्य वाण भएर पुनको मनमा भासिएको छ ।
ओहो लाहुरेहरुले त केही व्यवसाय नै गर्नु हुँदैन कि क्या हो - पुनलाई त्यतिबेला यस्तै लागेको थियो । त्यही इखले पुनमा केही गरेरै देखाउने प्रतिज्ञा बिजारोपण भयो । कडा मिहिनेतको फलस्वरुप अहिले उनको सः मिलले वाषिर्क करोडौँ कारोबार गर्न सफल भएको छ ।
गोरखा भूतपूर्व सैनिक संघ गेसोको पुन स्थापनाकालदेखि नै उपसभापति हुनुहुन्छ । गेसोमा लाग्दा उनको जीआरयुमा नाम काटियो । रिटायर्ड भएको एक वर्षपूरा भएको मानिस मात्र वेलफेयरमा राखिन योग्य हुने गरेकोमा पुनलाई हटाएर रिसेटलमेण्ट गर्दै गरेको मानिसलाई ल्याएर राखियो । त्यसो त उनको पेन्सन पनि सात महिनासम्म रोकिएको थियो । पछि मुद्दा लडेपछि फुकुवा भयो । त्यसबेलादेखि ब्रिटिश क्याम्प पस्न छाडेको पुन बताउँछन् । भन्छन् "कतिपय स्थान मेरालागि प्रतिबन्धित छन् ।"
नेपाल मगर संघको केन्द्रीय कोषाध्यक्ष रहेका पुन पूर्व ब्रिटिश गोरखा सैनिकहरु मिलेर खोलिएको गोरखा मिलेनियम बहुद्देश्यीय सहकारी लिमिटेडको लेखापरीक्षण विभाग प्रमुखको जिम्मेवारी पनि निर्वाह गर्दै छन् ।
मासिक करिब पचास हजारको हाराहारीमा पेन्सन थापेर पनि साइकलमा हिँड्ने पुन लाहुरेलाई पल्टने जीवनशैली र रिटायर्डपछिको जीवनशैली फरक बनाउन सुझाव दिन्छन् । भन्छन् - सानोतिनो कमाइलाई कमाइ नदेख्ने सोचलाई त्याग्नुपर्छ । लाहुरेहरुले राम्रो काम गरेर देखाए मात्र पछि आउने पुस्ताले लाहुरेलाई सम्झिरहने पुनको विचार छ । शायद आउने पुस्ताबाट यस्तै अपेक्षाका लागि हो कि पुनको साइकल यात्रा ?
युरोपको नेपालीपत्र २९ माघ फागुन ६ अंकमा प्रकाशित
Subscribe to:
Post Comments (Atom)
1 comment:
cyclema chadhepachhi kehiko pani tension hudaina ni ta. petrol napaune bandako sasthi khepna naparne sabai bata tadha nuha payepachhi kina aru chadnu paryo ra hai!
Post a Comment