Wednesday, December 30, 2009
छैटौँ महाधिवेसनको सन्दर्भमा
Monday, November 30, 2009
उपराष्ट्रपति नहुँदा कर्मचारीलाई न्यास्रो
मर्यादाक्रममा दोस्रो स्थानमा रहेका उपराष्ट्रपतिको कार्यालय अहिले 'रानोबिनाको माहुरीको घार' जस्तै बनेको छ ।
तीन महिनादेखि देशमा उपराष्ट्रपति निष्त्रिmय अवस्थामा रहे पनि ३० कर्मचारीले उपराष्ट्रपतिको कार्यालय चलाइरहेका छन् । जसको नाममा कार्यालय स्थापना भएको हो, उही नभएको अवस्थालाई कर्मचारीहरूले पनि खल्लो मानेका छन् ।
अरू -उपराष्ट्रपति बहाल रहेको) बेला सुरक्षाकर्मी र भेट्न आउनेहरूको लर्को लाग्ने बहादुरभवन अहिले चकमन्न छ । सुरक्षाकर्मीको स्टर्किङको तीखो साइरन अब बिर्सिन थालिसकिएको छ । ढोकामा दुई नेपाली सेनाका सैनिकले तीन/तीन घन्टामा बदली हुँदै पहरा दिइरहेका छन् ।
ढोका छिचोल्नासाथ टेकिने जनसम्पर्क कक्षमा अहिले न भेट्न आउनेहरूको ताँती छ, न त चेकजाँच गर्ने सुरक्षाकर्मीहरू नै छन्, न छन् सोधपुछ गर्ने, नाम टिप्ने कर्मचारीहरू नै । मात्र रित्ता कुर्सीहरू आगन्तुक कुरेर बसिरहेकाजस्ता भेटिन्छन् ।
दुई तला माथि रहेको उपराष्ट्रपतिको कार्यकक्षबाहिर केही कर्मचारी उपराष्ट्रपति नभए पनि 'ड्युटी' गरिरहेका छन् । "हामी त कर्मचारी, कार्यालयमा जेजस्तो काम परे पनि गर्छौं", सचिवालयका कर्मचारी हरिबहादुर कार्कीले भन्नुभयो ।
परमानन्द झाको उपराष्ट्रपति पद निष्त्रिmय भए पनि उपराष्ट्रपति कार्यालयबाहिर 'परमानन्द झा, उपराष्ट्रपति' अङ्कित नामपाटी भने अझै छ । सायद उहाँकै प्रतीक्षामा हो कि ? "हामीले राखेका पनि होइनौँ, त्यसैले हटाउने कुरा पनि भएन । राज्यले राखिदियो, राज्यले नै हटाउनू भन्नु पर्यो", कार्कीले प्रस्टीकरण दिनुभयो ।
सरसफाइका लागि हरेक दिन बिराएर उपराष्ट्रपति कार्यकक्ष कर्मचारीहरूले सफा गर्ने गरेका छन् । "खोलेन भने त बाफिइहाल्छ नि", कार्कीले भन्नुभयो । उहाँका अनुसार एक/दुई दिन बिराएर कोठा खोल्ने, सफा गर्ने, पङ्खा चलाउने गरिएको छ । "हिजोमात्र खोलेको", उहाँले थप्नुभयो ।
भदौ १५ गतेदेखि कार्यालय आउन छाडेका झाले यसबीच बेलाबेलामा फोन गरी कार्यालयको खबर के छ भनी कर्मचारीलाई सोध्ने गर्नुभएको छ । केही दिनअघि जनकपुरको विवाहपञ्चमी मेलाका लागि ˆयाक्समार्फत आएको निमन्त्रणापत्र पठाइदिन झाले फोन गर्नुभएको थियो । उपराष्ट्रपतिले चढ्ने किया र ल्यान्डक्रुजर गाडी अहिले बहादुरभवन प्राङ्गणमा रहेको ग्यारेजमा 'आराम' गरिरहेका छन् । दैनिक उपयोग नभएर होला, गाडीमाथि धूलोको सहत बढ्दो छ । चालकहरूले बेलाबेलामा गाडी स्टार्ट र सफा गर्छन् ।
कार्यालयका सचिव नाथुप्रसाद चौधरी उपराष्ट्रपति हुँदा कार्यालयको रौनक नै अर्को हुने बताउनुहुन्छ । "उहाँ -उपराष्ट्रपति) हुँदा कहिले नेताहरू, कहिले मन्त्रीहरू, कहिले उहाँका जिल्लाबासी, कहिले बालबालिका आउँथे, कार्यालयको रौनकै अर्को हुन्थ्यो", चौधरीले भन्नुभयो ।
उपराष्ट्रपति नहुँदा पनि दैनिक कार्यसम्पादनमा कर्मचारीहरूलाई कुनै असजिलो नभएको र काम पनि नरोकिएको उहाँले प्रस्ट्याउनुभयो ।
"उपराष्ट्रपतिज्यू र उपराष्ट्रपतिको कार्यालयबीच दैनिक कामकाज नै रोकिने गरी 'टाई अप' नभएकाले कार्यालयको कार्य सञ्चालनमा कुनै बाधा परेको छैन", कार्यालयका कानुन उपसचिव सुशील कोइरालाले भन्नुभयो, "तैपनि मनोवैज्ञानिक प्रभाव त परिहाल्छ, अभिभावक हुनु र नहुनुजस्तो ।"
Saturday, October 31, 2009
मनु पनि बेलायत गइछन्
मनु ठाडा पनि बेलायत गइछन् नि । नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य नरेन्द्र थापाले सुनाउँदा पत्याइनँ । बेलायत गएकी हैनन होला । गएकी नै भए पनि घुम्न गएकी होलिन् । मैले तर्क गरेँ । सँगै रहेका साथी भोजविक्रम बुढामगरले पनि पत्याएनन् ।
करिब सात वर्षअघि धनकुटामा पहिलोपटक भेट हुँदा मनु ठाडा मगर विद्यार्थी संघको जिल्ला अध्यक्ष थिइन् । बीएड सकेर काठमाडौँ आउने तयारीसहित संघको नेतृत्व पनि हस्तान्तरण गर्दै थिइन् । एक सम्भावनायुक्त नेतृत्व थियो उनको । त्यसैले काठमाडौँ आउनु भएपछि मगर विद्यार्थी संघको केन्द्रीय समितिमा बस्न मैले अनुरोध पनि गरेको थिएँ भलै उनले स्वीकार गरिनन् । पढाइलाई नै अघि बढाउने उनको योजना थियो । योजना मुताबिक नै फटाफट डिग्री सकिन् पनि । यसबीचमा एसएनभी र मार्टिन चौतारीमा स्वतन्त्र अनुसन्धानका काम पनि गर्न भ्याइन् ।
धनकुटाबाट निस्के हाम्रो विचार साप्ताहिककी सम्पादक पनि रहेकी उनी गत सात मेरै अध्यक्षतामा गठित मगर आमसन्चारकर्मी समाजकी कोषाध्यक्ष पनि थिइन् । पत्रपत्रिकामा उनका शोधमूलक खोजमूलक लेखहरु छापिन थालेका थिए । मगर समुदायका कार्यक्रमहरुमा बौद्धिक टिप्पणी पनि गर्न थालेकी थिइन् । मगर समुदायले उदाउँदो बौद्धिक व्यक्तित्वको सूचीमा उनलाई राख्न थालेको थियो ।
मार्टिन चौतारीमा शोधमा संलग्न मित्र झकेन्द्र घर्तीमगरले मनु आइटी पढ्न स्टुडेन्ट भिसामा बेलायत गएको पुस्टि गरेपछि म हतप्रभ भएँ । बेलायत पुगेका विद्यार्थीको बेहाल भएका समाचारका अक्षरहरु पनि घुम्न थाले । सबैलाई त्यस्तो त नहोला तर किन किन एउटा सम्भावनाको पलायन ठानेँ । हुन त विदेशमा ज्ञान आर्जन गरेर देशमै काम गर्न पनि सकिन्छ गरेका पनि छन् । तर किन किन मनु बेलायत गएको समय अलि मिलेन कि जस्तो लागिरह्यो । अरु केही वर्ष नेपालमा उनले लिइरहेको गति निरन्तर गरेको भए उनलाई समाजलाई र देशलाई राम्रो हुन्थ्यो ।
यस्ता कति सम्भावनाहरुको निर्यात भइरहेको छ यसदेशबाट दिनहुँ । आखिर यसमा जिम्मेवार शासन चलाउनेहरु त हुँदैहुन् हामी आफैँ पनि छौँ कि । जे होस् मनुलाई उज्वल भविस्यको शुभकामना ।।।।।।।
त्रिशुलमा उनिएको म
आज आइतबार । मेरो घरमा माइला दाजुको विवाह छ ।बहिनी हिजो रात्री बस चढेर घर पुगिसकी । म भने पुल्चोकको डेरामा तीन तलामाथि बसेको छु त्रिशुलमा उनिएको ध्वजासरह भएर ।
बहराइनबाट एक महिना लामो विदामा नेपाल आएका मेरा माइला दाजु मेरा दाजु मात्र होइनन् एक असल साथी पनि हुन् । उमेरले मभन्दा दुई वर्ष जेठा भए पनि कक्षा आठदेखि हामी पढाइमा पनि सँगै थियौँ । जेठा दाजुको माओवादी जनयुद्धमा लाग्दालाग्दै निधन भएपछि चौपट घरलाई हामी दुईभाइ भएर भरथेग गर्दै आएका छौँ एक अर्कासित सल्लाह गरेरै । एकले अर्काको विचार र योजनाको सम्मान गरेरै ।
पछि साथी बनेका विभिन्न साथीहरुको जन्ती र भोज खान नचुकेको म आफ्नै दाजुको विवाहमा भने गयल भएको छु त्यो पनि आफ्नै मनोगत र आत्मगत कारणहरुले । आफ्नै फोस्रो आडम्बर र मनोमानीले । घरप्रतिको परिवारप्रतिको दाजुप्रतिको र समाजप्रतिको दायित्व बहन गर्न सकिनँ भन्ने गम्भीर पश्चातापले पिरोलिइरहेको छु । दुनियाँलाई लेखेर बोलेर भाषणा गरेर अर्ती उपदेश दिने म आफ्नै दम्भ अहङकार घमन्डका कारण छियाछिया भएको छु ।
पश्चातापको आहालमा चोबलिइरहकै बेला अचानक आमाको फोन आउँछ मावली बाजे सिकिस्त बिरामी हुनुहुन्छ केही दिनदेखि । आवाज बन्द भएको छ रे । अनुहारको एक भाग बाहिरै देखिने गरी कालो भएको छ रे । मामालाई फोन गर्दिएस् है । आमाले भन्नुभयो । २०४२ सालका ताप्लेजुङ जिल्ला पन्चायतका जनपक्षीय उपसभापति महेन्द्र थापामगर मेरा जिबा कहिल्यै आफ्ना कुरामा विचलित थिएनन् । आफ्ना छोरा छोरीसित पनि उनले सम्झौता गरेनन् चाहे उनीहरु घरबाट निस्कीएरै किन नजाउन् । यस्ता कडा मान्छे पनि बिराम लागेपछि थलिएछन् गलेछन् ।
तीन छोरा तीन छोरीका पिता मेरा जिबा उपचार नपाएरै अन्तिम दिन गनिरहेका छन् । धन हुनेको मन छैन मन हुनेको धन छैन । आफ्नै सन्तानहरु उनको अन्तिम संस्कार गर्न पर्खिरहेका जस्ता लाग्छन् । धिक्कार छ ती सन्तानहरुलाई । र मजस्ता नालायक नातिहरुलाई जस्ले केही वर्षदेखि थलिएका जिबाको उपचार गराउन सकेन ।
आजै तनहुँ जानु थियो दिदीको जेठानी दिदी बित्नुभएको १३ दिने शुद्ध्याइँमा । घर परिवार सबैको कर थियो दाजुको विहेमा नआउने भए त्यता भए पनि जा न त । तर मलाई किन हो किन मन छैन । मन वेचैन छ । मैले आफ्नो सानो जिम्मेवारी पनि पूरा गर्न सकिरहेको छैन । परिवार समाज नातागोताबाट पर पर भागिरहेको आफ्नै छायाँ देख्छु ।
साथीभाइको फोन आउँछ उठाउन मन छैन । अनलाइन भेटिन्छन् साथीभाइ आफन्तहरु । कुरा गर्न मन छैन । कुरा गर्न खोज्नेहरुलाई छिटोछिटो टाटो लगाउँछु । मीना होटलकी मीना दिदी आउँछिन् – भाइ भात खाने होइन । म आफैँ अवाक छु अमन छु । नेपालिपत्रबाट विज्ञान शर्माजी मेल पठाउनुहुन्छ –स्टोरी आजै पठाइदिनुभए हुन्थ्यो । जवाफ दिन मन छैन। नियमित काममा जान खुट्टा लागेको छैन । ढोका बन्द गरेर सुत्न मन लागेको छ । सबैबाट केही क्षणलाइ भए पनि अलग भएर । के म दुनियाँबाट भाग्न सकुँला ।
Sunday, October 11, 2009
जनजाति आन्दोलनलाई एकधक्का
कस्तो होला नेपालको नयाँ पहिचान ?
सम्झेर ती दिनहरु
Sunday, June 28, 2009
महिमा किस्ताबन्दीको
गोरखापत्र संस्थान कर्मचारी बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका मित्र रामकुमार बस्नेतलाई हरेक महिनाको १ गतेदेखि ४ गतेसम्म बोल्न पनि फुर्सद हुँदैन । सहकारीबाट सेवा लिएका सेवाग्राहीबाट मासिक किस्ता संकलन गर्नुपर्ने कारणले । डेस्कटप कम्प्युटरको एकवर्षे किस्ता चुक्ता गरिसकेको म अहिले पनि डिजिटल क्यामेराको किस्ता चुकाउँदै छु । उता, ल्यापटप किन्दा संस्थानबाट लिएको सापटीको किस्ता बुझाउँदा आफ्नो मासिक बजेट नै ढलपल हुन खोज्छ ।
संस्थानमा धेरै साथीहरु छन् जो मोटरबाइकको किस्ता तिर्दै छन् । बेलाबखत भेटिएका लाहुरे मामाहरु हरेक अंग्रेजी महिनाको शुरुको साता पेन्सन बुझ्दै गाडीको किस्ता बुझाइरहेको देख्छु । स्तर नमिले पनि साथी बनेका एक दुई जना चिकित्सक र इन्जिनियर साथीहरु फ्ल्याटको किस्ताको कुरा बेलाबखत सोध्नै नपरीकन ओकल्छन् ।
केहीवर्ष अगाडि पत्रपत्रिकामा विज्ञापन छापिने गर्दथ्यो आइरनदेखि गाडीसम्म किस्ताबन्दीमा । आजकल त्यस्तो एकमुष्ट विज्ञापन नदेखेको त धेरै भयो । तर गुण कोअपरेटिभले चाहिा केही महिना अगाडिसम्म किस्ताबन्दीमा मोबाइल सेट दिने विज्ञापन गर्दै आएको थियो ।
हुन पनि किस्ताबन्दीको सुविधा कहाँसम्म छैन ? मोवाइल सेट, आइरन, टेलिभिजन, डिभिडी, क्यामेरा, फर्निचर, मोटरसाइकल, गाडी, घर, हवाइजहाज के चाहियो ? सबै किस्ताबन्दीमा उपलब्ध छन् । यी त सुनिएकै बुझिएकै थियो तर सरकारसमेत किस्ताबन्दीमा बन्न थालेपछि किस्ताबन्दीको महिमा चुलिएको विश्लेषण मनमनै गर्दैथिएँ । गोरखापत्रको फीचर शाखाका सहकर्मी दाइ कमल रिजालले सुनाउनुभयो - हुँदाहुँदा अब त घर बनाउने डकर्मीले पनि किस्ताबन्दीमा काम गर्न थाले, आज आयो अनि एक सातापछि ।
अर्कोतिर बसेर लेख सम्पादन गरिरहेका दाइ निर्मलकुमार आचार्यले मौनता तोड्दै भन्नुभयो - त्यतिसम्म किस्ताबन्दी त ठिकै हो तर यो क्रम बढ्दै गएर हजामसम्म पुग्यो भने चाहिँ कस्तो होला ???
Wednesday, June 10, 2009
बोक्सी उत्रेको साक्षी
चश्मा नभएको भए
लालपानी माध्यमिक विद्यालय, शिवगञ्जमा कक्षा ७ पढ्दाको कुरा हो । चश्मा लाएर कक्षामा आएको निहुँमा सहपाठी कृष्णप्रसाद उप्रेतीको गालामा एकाएक शिक्षक रत्नमान श्रेष्ठले चड्कन लगाए । कुन अभियोगमा चड्कन लगाइयो केही थाहा भएन । रत्न सरले भुटभुटिँदै यति मात्र भने - ‘खुब हिरो बनेर कक्षामा आउने’ ।
भोलिपल्टसम्ममा त्यो चड्कन रत्नसरका लागि महंगो साबित भइसकेको थियो । आँखाको समस्याका कारण चिकित्सकले चश्मा लगाउन दिएको प्रेसक्रिप्सन देखाएपछि रत्नसरलाई विद्यार्थीको गालामा बर्साएको त्यो आफ्नै गालामा बजि्रए झैँ भयो । ‘उपकारी व्यक्ति निहुरिन्छ निरन्तर’ भन्ने कवि शिरोमणि लेखनाथ पौड्यालको पंक्ति पछ्याउँदै होला रत्नसरले विद्यार्थीसित माफी मागे ।
बालखैमा आफ्नै सामुन्ने देखेको यो घटनापछि चश्माबाट बाह्र हात परै रहनु पर्नेरहेछ भन्ने पाठ सिकियो । घरमा जिबा (हजुरबा) ले पढ्दा लगाउने चश्मा पनि छुनु नहुनेरहेछ भन्ने लाग्यो । लाग्यो, ठूल्दाइले बेलाबखत लगाउने कालो चश्मा पनि दाइ नभएको मौका छोपेर लगाउनु ठीक हैन रै’छ ।
२०५६ मा रत्नराज्यलक्ष्मी कलेज भर्ना भएपछि सोचेको थिएँ -विज्ञान पनि पढ्न नपाए पनि मेजर म्याथ (गणित) लिएर पढुँ । एक सातासम्म गणित कक्षामा धाउँदा शिक्षकले कालोपाटीमा लेखेको ठम्याउनै नसकेपछि गणितको सपना आधाबाटोमै तु्हियो । यसबीचमा दिदी भेनाको फोटो स्टूडियोमा फोटोग्राफर बन्दा कैयौँचोटी फोकस आउट फोटो खिचियो र गालीको सगरमाथा पनि बेहोरियो ।
२०५७ मा कम्प्युटर सिक्न पाटनढोकास्थित कम्प्युटर सेक्सन धाउँदा पुष्टि भो मेरो आँखाको ज्योति त आंशिक कमजोर भइसकेको रहेछ । सहपाठी बहिनी मन्दिरा शाक्यले सल्लाह दिइन् - दाइ तपाईको त आँखा कमजोर भइसकेछ । डा. नारायणी श्रेष्ठसित जचाउँदा नतीजा निस्क्यो - मैले माइनस १.५ पावरको चश्मा लाउनुपर्ने रहेछ । समय बितिसकेपछि अब पो घोत्लिन मन लाग्यो - मेरो आँखा किन कमजोर भयो ? फोटो स्टूडियोको डार्करुममा बसेर काम गर्नाले कि रातभर कम्प्युटरमा गेम खेल्नाले ?
चश्मा बिनाको जीन्दगीको कल्पना गर्न छाडेको धेरै वर्षपछि यो साता केही साथीहरुले प्रश्न गरे - तपाईको चश्मामा पावर पनि छ ? सुत्दा आठ घण्टाबाहेक नौ वर्षयता चश्मा छाड्न सकेकै होइन । तैपनि प्रश्न चाहिँ अर्कै कोणबाट तेर्सियो । एक मन लाग्यो ‘हैन, पावर छैन । मैले नक्कल पार्न मात्र चश्मा लगाको’ भन्दिऊँ कि । कसैले टाउकोमा, कसैले छातीमा, कसैले कम्मरमा चश्मा लाएको छ्यास्सछ्यास्ती देखेका ती साथीहरुले मलाई त्यस्तो प्रश्न सोध्नु अस्वाभाविक पनि हैन भन्ने लाग्यो ।
छलाङ मार्ने गरी बढिरहेको चश्माको पावरका कारण तीनमिटर परको अक्षर ठम्याउन नसक्ने अवस्थामा पुगेको म बेलाबेलामा सोच्छु - आखिर यो चश्माको आविस्कार कसले गर्यो होला ? जसका कारण मेरो जीवन जेनतेन घसि्रइरहेको छ । जसोतसो धानिइरहेको छु । यदि चश्मा नहुँदो हो त ? कल्पना मात्र गर्दा पनि कहाली लाग्छ - म घरको कुनै कुनामा थुपि्ररहेको हुन्थेँ होला । जीवन र जगतलाई चर्मचक्षुले स्पर्श गर्नबाट वञ्चित हुन्थेँहोला । अथवा मेरो देखभालका लागि अर्को एकजनाको पनि जीवन त्यतिकै बित्ने थियो होला ।
धन्य छ, चश्मा तिमीलाई कसले आविस्कार गर्यो ? जसका कारण आज म र मजस्ता धेरै मानिसले जीवन र जगतलाई भौतिकरुपमा नियाल्न पाएका छन्
Thursday, May 21, 2009
नचाहँदा नचाहँदै बनेका हिरो
Tuesday, May 12, 2009
जंगी अड्डाबाट बाँडियो भिडियो
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइ समेटिएको विवादास्पद भिडियो टेप नेपाली सेनाको सैनिक मुख्यालयबाट बाँडिएको पाइएको छ ।
सरकारले रुक्माङद कटवाललाई प्रधानसेनापतिबाट हटाउन स्पष्टीकरण सोधेपछि मुख्यालयले सो भिडियो टेप राष्ट्रपति डा. रामवरण यादव, नेकपा एमाले का वरिष्ठ नेता माधवकुमार नेपाल र केपी शर्मा ओली, नेपाली काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला तथा संविधानसभामा रहेका विभिन्न राजनीतिक दलका नेताहरुलाई बाँडेको स्रोतले बताएको छ ।
यस्तैगरी, सेनाले उक्त भिडियो नेपालस्थित भारतीय राजदूत, अमेरिकी राजदूत तथा विभिन्न कुटनीतिक नियोगमा अंग्रेजी भाषामा उल्थासहित वितरण गरेको स्रोतले जानकारी दिएको छ ।
कटवाल प्रधानसेनापति रहेका बखत डेढवर्ष अघि एक जनमुक्ति सेनाको सहयोगमा सो भिडियो टेप जनमुक्ति शिविरबाट बाहिर ल्याइएको थियो ।
कटवालका तत्कालीन स्टाफ मेजर डिकबहादुर थापाले भिडियो बाहिर ल्याउन जनमुक्ति सेनाका एक उपकमाण्डरसित सम्पर्क सुत्रको काम गरेको स्रोतले बतायो । टेप बाहिर ल्याउने योजना सफल पारेवापत मेजर थापालाई कटवालले पुरस्कृत समेत गरेका थिए । उनलाई पुरस्कृत गरेर अहिले संयुक्त राष्ट्रसंघीय मिसन अन्तर्गत कंगो पठाइएको छ ।
चितवनको शक्तिखोरस्थित जनमुक्ति सेनाको तेस्रो डिभिजनमा १८ महिना अघि माओवादी अध्यक्ष प्रचण्डले राजनीतिक प्रशिक्षण दिने क्रममा तयार पारिएको भिडियो बाहिर ल्याउन सैनिक मुख्यालयले ती छापामारलाई तीन किस्तामा पैसा पठाएको थियो ।
उपकमाण्डर तहका ती छापामारलाई नेपाली सेनाले मोवाइल समेत किनिदिएको थियो भने टेप तयारीको सम्पूर्ण जिम्मा डिकबहादुर थापालाई दिइएको थियो’ स्रोतले बतायो । थापाले कटवालको सीधा सम्पर्कमा रहेर टेप हात पारेको पनि स्रोतले थप्यो । स्रोतका अनुसार कटवालले त्यतिबेलै जनमुक्ति सेनामा विद्रोह गराउन लागि ती उपकमाण्डरलाई प्रस्ताव गरेका थिए ।
डेढवर्ष अघि प्राप्त भिडियोलाई राष्ट्रपति, राजनीतिक दलहरु, कुटनीतिक नियोग र सञ्चारमाध्यममा लैजानु अघि प्रिन्सिपल स्टाफ अफिसर्स पीसीओजको बैठक समेत बसेको थियो । बलाध्यक्ष कुलबहादुर खड्कालाई नबोलाइएको सो बैठकको निर्णय अनुसार नै भिडियोलाई वितरण गरिएको थियो । तर भिडियो सञ्चारमाध्यमबाट प्रसारण गरिने योजना भने सेनाले राष्ट्रपतिलाई सुनाएको थिएन ।
भिडियोको सम्पादन तथा वितरण सेनाको मनोवैज्ञानिक अपरेसन कार्य महाशाखाले गरेको थियो । नेपाली सेनाका प्रवक्ता रमिन्द्र क्षेत्री सो महाशाखाको स्थापनाकालदेखि प्रमुख छन् ।
स्रोतका अनुसार भिडियोलाई प्राविधिक रुपमा गुणस्तरीय बनाउने काम महाशाखाका कम्प्युटर अपरेरटर बालकृष्ण शर्माले गरेका थिए । भिडियो अत्यन्तै रफ थियो, बालकृष्णले त्यसलाई सम्पादन गरेर स्तरीय बनाएका हुन्’ स्रोतले भन्यो ।
द्वन्द्वकालमा माओवादीविरुद्ध मनोवैज्ञानिक दुस्प्रचार फैलाउन खडा गरिएको सो महाशाखा अहिले पनि क्रियाशील छ । स्रोतका अनुसार महाशाखाले माओवादीबाट हत्या गरिएका पत्रकार ज्ञानेन्द्र खड्का तथा माओवादीबाट गरिएको बस आगजनीमा मारिएकी बालिका काजोल खातुनका बारेमा पनि भिडियो तयार गरी कुटनीतिक नियोगमा वितरण गरेको थियो ।
पछिल्लो समयमा सो महाशाखाले सैनिक रणनीति र नेपालको प्रतिरक्षा रणनीति पनि तयार गरेको छ ।
ब्रिगिडियर जनरल रमिन्द्र क्षेत्री उनका सहोदर भाइ कर्णेल रतिन्द्र क्षेत्री, प्रमुख सेनानीहरु विनयविक्रम राणा, सुरेन्द्रसिंह रावल, अनुपजंग राणा र कर्णेल सन्तोषबल्लभ पौडेल सो महाशाखामा कार्यरत् हुनुहुन्छ । ब्रिगिडियर जनरल क्षेत्री र राणा बाहेक अन्य सो विभागमा काजमा ल्याइएका छन । कर्णेल क्षेत्री पूर्व राजा ज्ञानेन्द्रका स्टाफ थिए भने थापा रेञ्जर गणका गुल्मपति, पौडेल गणेशदल गणका गणपति र रावल स्टाफ कलेजबाट काजमा आएका थिए ।
भिडियो कटवाललाई सरकारले स्पष्टीकरण सोधेपछि बाहिर ल्याइएको थियो । सुरुमा एउटा साप्ताहिकले यही भिडियोबाट समाचार बनाएको थियो । राष्ट्रपति यादवले कटवाललाई प्रधानसेनापतिमै काम गर्न पत्राचार गरेर असंवैधानिक कदम चालेको भन्दै प्रधानमन्त्री प्रचण्डले राजिनामा दिएपछि यो भिडियोलाई मूलधारका सञ्चारमाध्यमबाट प्रसारण र प्रकाशन गरेका थिए ।