Wednesday, November 26, 2008

माई नेम इज लखन



अचानक एक दिन फेसबुकको भूत चढ्यो । पत्रपत्रिकामा अलि बढी नै झुत्तिने बानीको परिणाम थियो यो । मिति याद भएन, नयाँपत्रिकामा प्रमिला देवकोटाले लेख्नुभएको फेसबुक सम्बन्धी सामग्री थियो त्यो । जसले मलाई फेसबुकको दैलो उघार्न हुटहुटी लगायो ।
फेसबुकको होमपेजको पर्दा खुलेपछि आएका थुप्रै प्रश्नोत्तर त्यसमध्ये एक थियो - आफ्नो नाम प्रविष्ट गर । के नाम राखुँ ? सोचेँ । अन्यत्र असली नाम जो अहिले चलनचल्तीमा छ त्यही भर्दै आइरहेको थिएँ तर किन किन यहाँ भर्न संकोच लाग्यो । अहिलेसम्म मेरो तीन नाम छन् । न्वारानमा चरिनङ्ग्रे बाहुनले राखिदिएको एउटा । त्यसैको आधारमा बोलाउने नाम एउटा जो अहिले मेरो ब्राण्ड बनेको छ र अर्को नाम चाहिँ मेरो स्वर्गीय जिबाले राखिदिएका थिए कक्षा १ भर्ना हुँदा -जुन नाम मन नपरेर विद्रोह गरी एक वर्षसम्म म स्कुल गइनँ) । लाग्यो यी तीनवटै नामबाट अलग नाम राखुँ । सम्झेँ केही वर्षअघि एक साथीले जुराइदिएको मगर वापाले जुराइदिएको नाम पनि -जसलाई केही वर्ष एउटा म्यागेजिनको सम्पादकका रुपमा प्रयोग गरेको थिएँ) । त्यसमा पनि चित्त थामिएन र लागेँ एउटा नामको खोजीमा ।
लखन थापा । अपर्झट निर्णय तर उचित लाग्यो यो नाम । नेपालका प्रथम शहीद थिए लखन थापा । राज्यले मानेको छैन तर जनताले स्वीकारेका छन् । हो, यै नाम राख्ने । त्यसो त त्यही साताको कुनै दिन शहीद गेटमा टाफिक जाम हुँदा नजर जुधेको थियो त्यहाँ टाँगिएका प्रतिमूर्तिहरुसित । शहीदहरुको पंक्तिको सबैभन्दा शीरमा थियो कुनै शाह राजाको श्रीपेचधारी प्रतिमा । मलाई लाग्यो यो शहीद गेटले ब्यंग्य गरिरहेछ मलाई । शहीद तिनलाई भनिन्छ जसले देश जनताको भलोका लागि प्राण आहुति दिए तर ती शाह राजाले कति सालको कुन क्रान्तिमा त्यसरी प्राण उत्सर्ग गरेका थिए ? यस कौतुहलको प्रभावले पनि काम गर्‍यो यो नाम जुराउनमा ।
त्यसो त केही वर्षअघि कुनै कम्युनिष्ट पार्टीको सदस्य बन्नपर्दा टेक नाम राखेको थिएँ, लखन थापा । त्यतिखेर समय पनि संघर्षको थियो र मनमा एकसुर थियो मर्नैपरे लखन थापा नै हुँला । फेसबुकमा लखन थापा नाम दर्ज गरेपछि केही मित्रले मतिर प्रश्नको तोप तेस्र्याए । मित्र उत्तम सुनुवारले एक्काइसौँ शताब्दीको लखन थापा बन्नुहोला भन्नुभयो । हलुका प्रत्यूत्तर फर्काइदिएँ । पुराना कुरा त के भन्नु जस्तो लाग्यो । धर्मराज भूसालले यो बेला पनि छद्म नाम किन भन्नुभयो । कुनै जवाफ फर्काइनँ । भन्न त मन लाग्याथ्यो - अहिले पनि त चलेकै छन् बादल, किरण, प्रचण्ड, अनन्त, पासाङ आदि ।
लखन थापा नाम राख्नु पछाडि वा अगाडि कुनै कारण, महत्वकांक्षा र स्वार्थ छैन । त्यस्सै राख्या हुँ यो नाम । न लखन थापालाई बदनाम वा हलुका बनाउनका लागि हो न प्रचारप्रसार गराउनका लागि । लखन थापालाई राज्यले प्रथम शहीद घोषणा गर्नुपर्छ भनेर छाती ठोक्ने मध्येको एक चाहिँ ठान्छु आफूलाई । जहिले राज्यले लखनलाई पहिलो शहीद घोषणा गर्छ र सम्मान दिन्छ त्यसदिन मात्र उनको आत्माले शान्ति पाउने छ । नजिकिँदै गरेको १३३ औँ लखन स्मृति दिवसमा यही प्रण गरौँ - लखन थापालाई इतिहासले गरेको अन्यायलाई न्यायमा परिणत गरौँ ।

No comments: