Friday, November 28, 2008

स्कूप समाचारले दिएको पीडा

कहिलेकाहीँ राम्रो समाचारले पनि टेन्सन दिँदोरहेछ । मङ्गलबारको गोरखापत्रमा मैले लेखेको मुख्य समाचार छापियो । शीर्सक थियो- प्रचण्ड बहुमत प्रचण्डकै पक्षमा’ । समाचारमा नेकपा -माओवादी) को राष्ट्रिय कार्यकर्ता भेलामा प्रचण्डको पक्षमा कति, किरणको पक्षमा कति र तटस्थ कार्यकर्ता कति छन् भन्ने आँकडा तालिकासहित छापिएको थियो । बिहानै साथीहरूले फोन गरेर भन्न थाल्नुभयो - बधाई छ, कस्तो स्कूप मारेको । समाचारले पार्टीभीत्र हङ्गामा मच्चाउने पक्कापक्की थियो - त्यसको निम्ती धेरैबेर कुर्नु परेन ।
बोर्ड सदस्य सोमबहादुर घलेले मिसकल गरे कलब्याक गरेँ । मङ्गलबार दिउँसो २ बजे बस्ने नयाँनेपाल -बहुभाषिक पृष्ठ) संयोजकहरूको बैठकबारे कुरा भयो । कुरा सिध्याइदिएँ । एकछिन् पछि फेरि मिसकल गरे, कलब्याक गरेँ । उनले भने - नरेशजी तपाईको न्यूजले अप्ठेरो पार्लाजस्तो छ । मलाई तीनवटा फोन आइसक्यो, के जवाफ दिने हो सोच्नुस् है । हुन्छ - कुरा सिध्याइदिएँ ।
करिब साढे ९ बजेको हुँदो हो । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष मातृका तिम्सिनाका स्वकीयसचिव विष्णु खनालको फोन आयो । नमस्कार भन्न नपाई पड्कनुभयो - पार्टी फुट्यो होइन’ । हैन के भयो दाइ’ भन्नासाथ थप पोखिनुभयो हेडक्वार्टर भनेको को, किरण भनेको को’ त्यस्तो समाचार लेख्ने’ तुरुन्त मन्त्रालय हिँड्नु नरेन्द्रजङ पिटर -सञ्चार मन्त्रालयका सल्लाहकार) लाई जवाफ दिन’ । ताजुब लाग्यो । के भएको हो - समाचारमा कुन बुँदामा कसले आपत्ति जनाए केही सोध्नै पाइनँ ।
उनी बम्केको देख्दा मलाई पनि चुप बस्न मन लागेन । सम्झेँ मेरा आदरणीय जेठा दाइ शंकर खपाङ्गीलाई जो वर्षौँ माओवादीको पूर्नकालीन कार्यकर्ता बन्नुभयो र मारिनुभयो - बन्दीपुर आक्रमणबाट घाइते भएपछि उपचारै नपाई । सम्झेँ मेरी आमालाई जो वृद्ध पितालाई घरमा एक्लै छाडेर महिनौँ खट्छिन् माओवादीको अभियानमा । सम्झेँ मेरै विगतलाई संकटकालकै बेला सरकारी सञ्चारमाध्यमबाट रोल्पा पुग्ने सम्भवतः म एक्लो पत्रकार थिएँ । सरकारले माओवादीलाई आतङ्ककारी घोषणा गरेको बेलामा सरकारी मुखपत्रमै आतङ्ककारीको फुँदो नजोडी नेकपा माओवादीको समाचार लेख्ने र छपाउने शायद म मात्र थिएँ । खनालले ममाथि माओवादीलाई सिध्याउन र खुइल्याउन योजनावद्ध भएर लागेजस्तो व्यवहार गरेको मलाई महसूस भयो । र, सभ्य प्रतिकार गरेँ - पार्टी एकतावद्ध गर्ने ठेक्का तपाईको मात्र हो दाइ ।
अलिबेरपछि फेरि उनकै फोन आयो तुरुन्त संस्थान आउनु, मन्त्रालय जानुपर्छ । ए बाबा, मैले त्यो समाचार छापिनुपूर्व प्रमुख समाचारदाता र प्रधान सम्पादक देखाएर पास गराएको थिएँ । छापिसकेपछि त प्रधानसम्पादक र प्रमुख समाचारदाता पनि त जिम्मेवार हुनुपर्ने होइन र - मलाई मात्र किन यस्तो टर्चर - पहिल्यै चढिसकेको पारो थप रन्कियो र भनेँ-मलाई मात्र किन बोलाउनुहुन्छ बोलाउनु न चिफ रिपोर्टर र चिफ एडिटरलाई । उनले चिफ एडिटरलाई पनि बोलाएको छु त भने तर तत्काल चिफ एडिटरलाई फोन गर्दा उनले समाचारका बारेमा कसैले फोन नगरेको बताए । त्यसपछि झन् रिस उठ्यो । मलाईमात्र धम्क्याएको प्रष्ट भयो ।
केहीछिन् पनि फेरि खनालले फोन गरे । भने -अध्यक्ष र प्रधानसम्पादक मन्त्रालय गइसक्नुभयो तपाई पनि मन्त्रालय आउनुस् । मैले जवाफ फर्काएँ- म मन्त्रालय मन्त्रालय धाउन सक्दिनँ, समाचारका बारेमा जे भन्नुपर्ने हो प्रधानसम्पादक र प्रकाशक -अध्यक्ष) लाई भन्छु । फोन राखिदिएँ । तनावबीच खाना च्यापेर कार्यालय हिँडे । अध्यक्ष र प्रधानसम्पादक मन्त्रालय गइसकेका रहेछन् ।
उनीहरू कतिबेला फर्केलान् कुरिरहेँ । केही साथीहरूले हमदर्दी र कुतर्क एकैसाथ जताए - समाचार त राम्रो हो तर गोरखापत्रले छाप्न नहुने । लाजमर्दो । अरूले छाप्न हुने, गोरखापत्रले चाहिँ किन छाप्न नहुने - उनीहरूसँग ठाडै बाझेँ-यस्ता बकम्फुसे तर्क नगर्नुहोस् । साथीहरूको पत्रकारिताप्रतिको बुझाइको स्तर देखेर दया लागेर आयो ।पत्रकारिताको एबीसी समेत थाहा नपाएका आठ/नौ तह पुगेका वरिष्ठ भनाउँदा मात्र होइन, आफूलाई पत्रकारभन्दा माओवादी कार्यकर्ता बढी ठान्ने नयाँ साथीहरूको पनि श्वर मिलेको थियो - गोरखापत्रले त्यस्तो छाप्न हुन्नथ्यो ।
दुइ बजे मन्त्रालय गएको टोली फर्कियो तर लगत्तै नयाँनेपालको बैठकमा हामी सबै सामेल हुनुपरेकोले केही रिपोर्टिङ भएन । बैठक सकेर अध्यक्ष पनि बाहिरिनुभयो, प्रधानसम्पादक पनि घरतिर लाग्नुभयो । प्रतीक्षाको घडी झन् लम्बियो । घरबाटै प्रधानसम्पादकको फोन आयो-साढे छ बजेतिर हामी केही बस्नुपर्ला, केस सिरियस छ । जाँगर थिएन । आठ बजेतिर प्रधानसम्पादक आए । प्रबन्ध सम्पादक, चिफ रिपोर्टर, पोलिटिकल ब्यूरो चिफ र म बस्यौँ । मन्त्रालयमा भएका कुरा संक्षिप्तमा रिपोर्टिङ भयो र गोजीबाट कागज निकाल्दै प्रधानसम्पादकले भने - प्रचण्ड बहुमत प्रचण्डकै पक्षमा भन्ने समाचारमा अनौपचारिक तालिका असावधानीवश पर्न गएकोमा क्षमायाचना गर्दछौँ भन्ने वाक्यांश भोलिपल्टको गोरखापत्रमा छाप्ने ।
गोप्य सूचना खोजेर ल्याउने एउटा समाचारदाताका लागि यो भन्दा पीडाजनक कुरा के हुन्थ्यो र - समाचारले आठदिन अघि मात्र नियुक्त कार्यकारी अध्यक्ष र प्रधानसम्पादकलाई अफ्ठेरो परेको बुझ्न कठिन थिएन । त्यसैले उनीहरूलाई सजिलो हुन्छ र स्थिति सहज हुन्छ भने सो सूचना छाप्न आफूलाई आपत्ति नहुने बताएँ । यसो गर्नु मेरा लागि शिवजीले कैलाशकुट विष पिएजस्तै भयो ।
पत्रकारिता क्षेत्रका सिनियर र समकक्षी साथीहरू भने आजसम्म पनि भनिरहनुभएको छ - "यसपालिको भेलाको समाचार कभरेज त्रि्रो सबैभन्दा राम्रो भयो । तिमीले त माओवादी बिट हेर्ने साथीहरूमा धमाका नै दियौ ।" म भने समाचारले उत्पन्न गरेको खुशी र पीडाको अनुभव एकैचोटी खेप्दै छु ।

No comments: