Tuesday, November 25, 2008

न्याय क्षेत्रका सर्वोच्च मगर

सकेसम्म कसैलाई अन्यायमा पार्नुहुन्न’ दुनियाँको भलो चिताउने सामान्य नागरिकको अलिखित न्यायिक सिद्धान्त हो यो । के यो अमूर्त’ दर्शनले साँच्चिकै सबैलाई न्याय दिलाउला ? न्याय छिन्ने अधिकार नभएका सामान्य नागरिकले यसलाई ब्याबहारिकता बदल्लान भन्नेमा भर पर्न सकिन्न । तर एक न्यायदूत, जसको हातमा न्याय निरोपण गर्ने अधिकार छ उसको सर्वोच्च आकाङ्क्षा नै यही छ भने अन्यायमा परेकाले धेरैले न्याय पाउन सक्छन् । हो, सर्वोच्च अदालतका न्यायाधीश तपबहादुर मगरको जीवनमा उडी चन्द्र छुने’ उद्देश्य छैन । उद्देश्य छ त केवल यत्ति - कानुन बमोजिम सबैलाई न्याय दिलाउने ।
अञ्चल अदालतदेखि विशेष अदालत हुँदै सर्वोच्चसम्म अन्यायमा परेकालाई न्याय दिलाउँदै आउनुभएका तपबहादुर मगर, मगर समुदायबाट न्यायिक क्षेत्रको यति उच्च स्थानमा पुग्ने उहाँ पहिलो र ऐतिहासिक व्यक्तित्व हुनुहुन्छ ।
मगरका बराज्यू गोरखामा जिम्मूवाल हुनुहुन्थ्यो । गाउँघरमा मुद्दा मामिला मिलाउनुपर्ने भएकाले परिवारमा कानुनतिर चासो त हुने नै भयो । त्यसो त मगरका पिताले काठमाडौँमा जग्गा किन्दा मुद्दा पनि परेको थियो रे । यस्तो पृष्ठभूमिले मगरलाई कानुनी क्षेत्रमा डोर्‍यायो । "कानुन नजाने ठगिइन्छ, दुःख पाइन्छ भन्ने बाउ/बाजेले पनि जोड गरेका थिए" कानुन क्षेत्रमा प्रवेशको कारण खुलाउँदै मगर भन्नुहुन्छ ।
वि.सं २००३ मा ललितपुरको कोपुण्डोलको सामान्य परिवारमा तपबहादुर मगरको जन्म भएको हो । तपबहादुरले त्रिपद्म विद्याश्रम, मङ्गलबजारबाट प्रवेशिका उत्तीर्ण गर्नुभयो । त्यसपछि पाटन कलेज, पाटनढोकाबाट स्नातक गर्नुभयो । त्यसपछि शुरु भयो कानुनको अध्ययन । नेपाल ल कलेजबाट उहाँले बी.एल. गर्नुभयो । बी.एल.को नतीजा आइसक्दा लोकसेवा आयोग पनि खुलिसकेको थियो । हुन त प्रशासन सेवामा पनि आवेदन माग गरिएको थियो तर उहाँले न्याय सेवामा नै आवेदन गर्नुभयो । किन त ? कानुन पढेकाले आफूले अध्ययन गरेकै क्षेत्रमा जानुपर्छ भनेर’ मगरको जवाफ छ ।
२०२७ सालमा सर्वोच्च अदालतको शाखा अधिकृतबाट उहाँ न्याय सेवामा छिर्नुभएको थियो । त्यसपछि विशेष प्रहरी विभाग, मन्त्रालयहरू चाहार्दै उहाँ तत्कालीन अञ्चल अदालतमा अञ्चल न्यायाधीश बन्नुभयो । नारायणी अञ्चल अदालत, बाग्मती अञ्चल अदालतमा उहाँ न्यायाधीश बन्नुभयो । त्यतिञ्जेलमा उहाँ बढुवा भएर पुनरावदेन अदालतमा पुगिसक्नुभएको थियो । पुनरावेदन अदालत, पोखरा, जनकपुर, ललितपुरमा उहाँले काम गर्नुभयो । राजस्व न्यायाधीकरणको अवधारणा आएपछि उहाँलाई राजस्व न्यायाधीकरण विराटनगरको अध्यक्ष बनाइयो । त्यसपछि विशेष अदालतको अवधारणा अनुसार उहाँ विशेष अदालतको अध्यक्ष बन्नुभयो । विशेष अदालतको अध्यक्ष रहँदा कुनै समय शक्तिशाली रहेका मन्त्रीहरूको मुद्दामा गरेको फैसलाले उहाँलाई रातारात चर्चित बनाइदियो । शक्ति र पदको आडमा कुनै पनि व्यक्ति कानुनभन्दा माथि हुन सक्दैन भन्ने पाठ त्यतिबेलाको फैसलाले सबैलाई सिकाइदियो ।
विशेष अदालतपछि उहाँ पुनरावदेन अदालत, पाटनको मुख्य न्यायाधीश बन्नुभयो । त्यसपछि लगत्तै सर्वोच्च अदालतमा अस्थायी न्यायाधीश बन्नुभयो र पछि स्थायी पनि हुनुभयो । र, हालसम्म सर्वोच्च अदालतमै बहाल हुनुहुन्छ ।
न्याय क्षेत्र, न्यायाधीशका बारेमा बेलाबखत विवाद निस्कने गरे पनि उहाँले भने विवादरहित न्यायाधीश’ को छवि बनाउनुभएको छ । चाहे विशेष अदालतमा हुँदा होस् चाहे सर्वोच्च अदालतमा हुँदा नै किन नहोस् । निस्कलङ्क’ पात्र हुनुहुन्छ उहाँ ।
सर्वोच्च अदालतका न्यायाधीशहरूको ज्येष्ठताक्रममा आफूभन्दा कम उमेरका न्यायाधीश आफूभन्दा अगाडि परेकाले उहाँको प्रधान न्यायाधीश हुने पालो आउने सम्भावना कम छ । प्रधान न्यायाधीश बन्ने मेरो पालो छैन, पदमा बसुञ्जेल इमान्दारिपूर्वक कर्तव्य निर्वाह गर्दै न्याय दिने मेरो इच्छा छ’ मगरले भन्नुभयो ।
के यति लामो अवधिमा सम्पन्न गरिएकाले कामले आफूले न्याय दिलाउन सकेको छु भन्ने लागेको छ त ? मैले सबैलाई जानेबुझेसम्म र कानुनले दिएसम्म न्याय दिलाएको छु भन्ने लागेको छ’ आफ्नो कामप्रति पूर्ण आत्मसन्तुष्टी व्यक्त गर्दै उहाँ भन्नुहुन्छ ।
अबको तीन वर्षपछि उहाँ सर्वोच्च अदालतको न्यायाधीशबाट बाहिरिँदै हुनुहुन्छ - कानुनी क्षेत्रमा लामो अनुभवको भारी बोकेर । त्यसपछिको योजना के बनाउनु भएको छ त ? सर्वोच्च अदालतको स्थायी न्यायाधीशलाई सेवाकाशपछि अरूतिर काम गर्न संविधानले नै बन्देज लगाएको छ त्यसैले त्यति धेरै सोचेको छैन, न्याय क्षेत्रकै बारेमा लेख्ने, अनुसन्धान गर्ने गर्नुपर्ला’ उहाँ भन्नुहुन्छ ।
तपबहादुर मगरभित्रको पनि थापामगर हुनुहुन्छ । तर थापा भन्ने बित्तिकै क्षेत्री कि मगर भनेर सोधिने भएकाले प्रष्ट पहिचानका लागि मगर’ मात्र लेखेको उहाँ प्रष्ट्याउनुहुन्छ । त्यतिबेला अलि पढेलेखेका, सम्पन्न मगरहरूले आफ्नो जात फेरेर क्षेत्री बनेको इतिहासको कालो सन्दर्भ कोट्याउँदा उहाँ भन्नुहुन्छ, आफ्नो जात मेटाएर अरू लेख्ने इच्छा मलाई आएन, आफ्नो जे छ त्यसैमा गौरव गर्नुपर्छ भन्ने लाग्यो ।’
मगर करिब चार दशक लामो सेवाकालमा मगर जातिको भएकैले भेदभाव भने सहनु नपरेको उहाँ बताउनुहुन्छ । इमानदारीपूर्वक काम गरेपछि सबैले माया गर्दारहेछन्, मगर भएकैले अपहेलना सहनु परेको छैन’ उहाँको भोगाइ छ ।
सेवा अवधिमै उहाँले बेलायतको लण्डन युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय कानुनमा पोस्ट ग्राजुयट पनि गर्नुभएको छ । बेलायत, थाइल्याण्ड, कोरिया भारत लगायतका देशको भ्रमण अनुभव पनि सङ्गाल्नुभएको छ ।
मगरका दुई छोरीमध्ये जेठी अहिले इन्जिनियरिङमा स्नातकोत्तर गरी अमेरिकामा कार्यरत् हुनुहुन्छ भने कान्छी पनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमबीबीएस सकेर अहिले अमेरिकामा एमडी गर्दै हुनुहुन्छ ।
मगर समुदायका यी ऐतिहासिक र उदाहरणीय व्यक्तित्व मगर युवावर्गलाई के सुझाव दिन्छन् त ? इमानदार र लगनशील भएर आफू जुन क्षेत्रमा लागेको त्यसमा दत्तचित्त भइयो भने सफल हुन सकिन्छ, हेपिनु पनि पर्दैन’ उहाँको सुझाव छ कसैले दिइदियोस् तानिदियोस् भन्दा पनि हामी आफैँ अगाडि बढेर लाग्नुपर्छ ।’

No comments: