Tuesday, November 25, 2008

जनताले दिएको भीसी


".......त्यो तार देखेपछि हत्त न पत्त खुकुरी निकालेर तार झ्यामझुम्म पारिदिएर त्यो ढलेको मान्छेको गन तान्न लागेको त भित्रबाट फुत्त निस्क्यो र मलाई समात्न आयो । मैले हतियार बाहिरै फालेको थिएँ के’रे । हातमा त्यही तार काटेको खुकुरी थियो । मेरो पालो समात्न आएकालाई त्यही खुकुरीले सुइँक्याइदिएँ । एउटा चाहिँको टाउको च्याट्ट काटिदिएछु अर्कोको चाहिँ काँधमा कता परेछ । टाउको छिनेको चाहिँ ढलिहाल्यो अर्को चाहिँलाई तीन चोट हानेर ढालेँ । त्यसलाई हान्दाहान्दै त फेरि अर्को आएर ठाडै समात्न लाग्यो । मार , त्यसल्लाई पनि हानेर ढालेँ । अब तीन जनालाई ढालिसकेँ, उता दुलोबाट आएको आए गरे । जति आउँछन् खुकुरीले हान्दिन्छु जम्मै भक्लक्क पर्छन् ।"
दोस्रो विश्वयुद्ध सन् १९४४ मा मगाउँ, बर्मामा जापानसँग भएको युद्धमा तुलबहादुर पुनले यसरी लडेर भिक्टोरिया क्रस जितेका थिए । आफू बाँचेर मात्र होइन, दुस्मनलाई हराएर उनले भिक्टोरिया क्रस पाएका थिए । दर्जनौँ गोरा अफिसरलाई मृत्युको मुखबाट बचाएर मात्र होइन, बेलायतलाई युद्धमार्फत् महाशक्तिशाली बनाएर तुलबहादुर पुनले भिक्टोरिया क्रस पाएका थिए ।
भिक्टोरिया क्रस पाएको साढे छ दशकपछि भिसी पुन गतवर्ष पुनः एकाएक चर्चाको शिखरमा पुग्नुभयो - बेलायतबाट राष्ट्राध्यक्षले पाउने सम्मान पाएर । कुनै समय बेलायतको सेवक बनेका, दुर्गम गाउँमा जन्मेका सर्वसाधारण पुनले शाह, राणा खलकले पाउन नसकेको सम्मान पाए, बेलायती र नेपाली जनताको दबाबमा ।
भिक्टोरिया क्रस विजेता पुन म्याग्दीको बेगखोलामा सन् १९२३, २३ मार्चमा जन्मेका थिए । सन् १९४० सालको चौथो महिनाको १८ तारिखमा १८ वर्ष उमेर लेखाएर उनी गोरखा सैन्यमा भर्ती भएका थिए । पुनको आर्मी नम्बर १०११९ हो । बेलायती सेनाबाट अवकास पाएपछि पुन भूतपूर्व गोरखा सैनिकको हकहितका लागि संघर्षरत् थिए । गोरखा भूतपूर्व सैनिक संघ, गेसोका संरक्षक रहेका पुनले गोरखा सैनिकहरूको दर्जनौँ राष्ट्रिय/अन्तर्राष्ट्रिय कार्यक्रमको अध्यक्षता र आतिथ्य ग्रहण गरेका थिए । गोरखा सैनिकहरूको सडक संघर्ष, दूताबास घेराउ, जनप्रदर्शन लगायतका कार्यक्रममा भीसी पुनको अगुवाई रहने गरेको थियो ।
लामो समय पुन बेगखोलामा म्याग्दी सदरमुकामभन्दा बेनीबजारबाट एक दिन लाग्ने गर्दछ बसे । बढ्दो उमेरसँगै पुनलाई पनि रोगले च्याप्न थाल्यो । रक्तचाप, मधुमेह, आँखाको रोगले गाँज्यो । पुराना साथीभाइको तिर्सनाले पनि पिरोल्यो । त्यसैले पुनले नेपालमा भन्दा बेलायतमा -जहाँ उनले आफ्नो जीवनको सबैभन्दा उर्जाशील समय, १८ वर्ष खर्चेका थिए) मा आफ्नो उत्तम उपचार हुनसक्ने ठाने । र, बेलायतको आवासीय भिसाका लागि गत असोजमा काठमाडौँस्थित बेलायती दूताबासमा आवेदन दिए । तर बेलायती दूताबासले उनलाई घोर उपेक्षा गर्‍यो । जसले बेलायतलाई कहिल्यै घाम नअस्ताउने देशका रूपमा स्थापित गर्‍यो, जसले विश्वभर बेलायती साम्राज्यको सार्वभौमको रक्षा गर्‍यो र विगतमा बेलायती सरकारले उनको बहादुरिताको उच्च कदर गर्दै भिक्टोरिया क्रसजस्तो उच्च सम्मान प्रदान गर्‍यो त्यो योगदानलाई स्मरण गर्न बेलायती दूताबासले उचित सम्झेन । छ महिनासम्म उनको आवेदनमाथि कुनै प्रतिक्रिया व्यक्त नगरेर दूताबासले पुनको मात्र होइन, आफ्नै महारानीले दिएको भिक्टोरिया क्रसकै अपमान गर्‍यो । भिक्टोरिया क्रस विजेता सैनिकलाई बेलायती महारानीले समेत उठेर अभिवादन गर्दछिन् । त्यस्तो व्यक्तित्वलाई बेलायती दूताबासले बेलायतसँग दरिलो सम्बन्ध देखाउन नसकेको भन्दै आवासीय भिसा दिन इन्कार गर्‍यो ।
दूताबासले भिसा अस्वीकार गरेपछि पुनले बेलायती सरकारको यस्तो अपमानका विरुद्धमा मुद्दा लड्ने निधो गरे । बेलायतका वकिलहरूको कम्पनी होबे एण्ड कम्पनीबाट कानुनी परामर्शको सहारा लिएर बेलायतको इजाइलम एण्ड इमिग्रेसन ट्राइबुनल एआइटीमा पुनले मुद्दा दर्ता गरे । ट्राइबुनलले गत अगस्ट महिनामा उनको मुद्दाको सुनुवाई गर्ने मिति पनि तोकिसकेको थियो । बेलायती सञ्चारमाध्यमले भिसी पुनलाई भिसा अस्वीकार गरिएको खबर थाहा पायो र, क्षणभरमै सारा बेलायती जनता र विश्वभर आगोसरी फैलाइ दियो ।
बेलायतका साम्राज्य विस्तारका निमित्त ज्यानसम्म दिएका गोरखा सैनिकमाथि बेलायतले गरेको दुव्र्यबहार बेलायती जनतालाई थाहा भयो । उनीहरूले दुईसय वर्षदेखि गोरखाहरूमाथि बेलायतले गरिरहेको भेदभावबारे छर्लंग भए । र, बेलायतभित्रै नागरिकस्तरमा यस्तो अमानवीय रवैयाको प्रतिकार गर्ने सङ्कल्प लिए । फलस्वरूप एक साताभित्रैमा बेलायत सरकारको वेभसाइटमार्फत् १७ हजारभन्दा बढी बेलायती नागरिकहरूले भिसी पुनका पक्षमा र बेलायती सरकारको गलत कार्यको विपक्षमा प्रतिवद्धता जाहेर गरे । बेलायतका प्रवुद्ध व्यक्तित्वहरूले भिसी पुनलाई जस्तोसुकै हालतमा पनि अधिकार दिलाएरै छाड्ने अठोट लिए । बेलायतका भिक्टोरिया क्रस विशेषज्ञ लर्ड माइकल आस्क्रट, नायिका जोना लुम्ले, दोस्रो विश्वयुद्धका पुनका सहयोद्धा रोनाल्ड हेस्टिंस्की छोरी जे मिलर लगायतले भिसी पुनलाई अधिकार दिलाउन जस्तोसुकै मूल्य चुकाउन आफूहरू तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।
बेलायतभित्र यस्तो जनदबाब बढेपछि बेलायती सरकारले अभियान शुरु भएको एकसाता नबित्दै आफ्नो पुरानो निर्णयमा पुनर्विचार गर्नुपरेको थियो । जुन १ मा बेलायती गृह मन्त्रालय र अध्यागमन मन्त्रालयले पुरानो निर्णयमाथि पुनर्निर्णय गरी भिसा दिने व्यवस्था मिलाएका थिए ।
बेलायत सरकारको सो निर्णयपछि भिसी पुनले भन्नुभएको थियो, "म आज सन् १९४४ मा भिसी पाएजति नै खुशी छु र म नेपालमा भएका अन्य भिसी तथा सम्पूर्ण गोरखाहरूले मैलेजस्तै अधिकार पाउनुपर्छ भन्ने लडाई जारी राख्नेछु ।"
बेलायती जनता, डेली मिरर पत्रिका, बेलायती वकिल र गेसोको अभियानका बलमा तुलबहादुर पुनले बेलायतको आवासीय भिसा पाउन सफल हुनुभयो । वास्तवमा पुनले आवासीय भिसा पाउनु व्यक्तिको मात्र सवाल थिएन, समग्र गोरखाली जातिमाथि दुईसय वर्षदेखि बेलायतद्वारा हुँदै आएको भेदभावको अन्त्य हुन लागेको कडी थियो ।
बेलायती जनताले पुनलाई भिसा मात्र दिएर नपुग्ने भन्दै बेलायत सरकारसँग विशेष व्यवस्थाका लागि आग्रह गरे । सोही दबाबमा बेलायत सरकारले पुनलाई राष्ट्राध्यक्षलाई दिइने सम्मान गार्ड अफ अनर दिने निर्णय गरेको थियो ।
बेलायती निर्णयलगत्तै पुन नेपालस्थित बेलायती दूताबासद्वारा बेलायत जान भिसा इन्कार गरिएका, नेपालमा कष्टप्रद अवस्थामा जीवनयापन गरिरहेका, सारा विश्वयुद्ध तथा विभिन्न युद्धका योद्धा, सम्पूर्ण गोरखा सैनिकका पक्षमा दबाब सिर्जना गर्न बेलायत प्रस्थान गर्नुभयो । पुनलाई लिन बेलायतबाट डेली मिरर पत्रिका पत्रकारहरू, होवे एण्ड कम्पनीका वकिलहरू, चिकित्सकहरू नेपाल आएका थिए । काठमाडौँदेखि दिल्लीसम्म गल्फ एयरबाट पुनलाई लगिएको थियो भने दिल्लीबाट हिथ्रोसम्म उहाँको टोलीलाई लाने व्यवस्था भर्जिन एटलाण्टिक एयरलाइन्सले मिलाएको थियो । जुन ४ मा बेलायतको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पुनलाई अति विशिष्ट सम्मान गार्ड अफ अनर प्रदान गरिएको थियो । पुन सवार विमान सो विमानस्थलमा अवतरण गर्दा सम्मानस्वरूप आधा घण्टासम्म अन्य विमानको आवागमन रोकिएको थियो ।
बेलायत पुगेका पुन बृद्ध उमेरमा पनि चुप बसेनन् । बेलायत पुगेर उनले आफूजस्तै दुःख पाएका सहयात्री गोरखाहरूका बारेमा चर्को श्वरमा आवाज उठाए । बेलायती प्रधानमन्त्री गोर्डन ब्राउनसँग पनि उनले भेट गरे । "हाम्रा सबै गोरखाली दाजुभाइले बेलायत आएर नोकरी गर्न, बसोबास गर्न र गोरासरह पेन्सन खान पाउनुपर्छ" बेलायती प्रधानमन्त्रीसमक्ष आफूले राखेको भनाइ जस्ताको तस्तै उहाँ सुनाउनुहुन्छ ।
"म एउटा गरिब देशको गरिब जनता, गरिबको छोरो ठूलो मान्छेसित बात गर्न सक्दैन, डराउँछ भन्ने सबैलाई लागेको थियो" बेलायती प्रधानमन्त्रीसित भेट्नअघि आफ्ना बारेमा अरूले यस्तैगरी सोचेको उहाँ आफैँ बताउनुहुन्छ । "तर मजस्ता गरिब गोरखा, जो बेलायतसम्म पुग्न अनेक कोसिस गर्दा पनि पाएका छैनन्, तिनका बारेमा मैले बोल्नैपर्छ भन्ने मलाई लाग्यो" पुनले भन्नुभयो । "जति पनि गोरखाहरू बेलायत आउन चाहन्छन् उनीहरूलाई बेलायत आउन दिनैपर्छ, पेन्सन, भत्ता, नोकरी पनि गोरासरह दिनैपर्छ, गरिब देशलाई सपार्न पनि पनि यस्ता कुरा दिनैपर्छ" बेलायती प्रधानमन्त्रीसित राखेका आफ्ना भनाइ उहाँले राख्नुभयो ।
नेपालका एक साधारण किसानका छोराले यसरी सो देशका राष्ट्राध्यक्षले समेत उठाउन नसकेको सवाललाई महाशक्तिसम्पन्न बेलायतका प्रधानमन्त्रीसँग निर्धक्कतासाथ राख्नुभयो । त्यतिखेर पुनलाई सकारात्मक जवाफ दिने बेलायती प्रधानमन्त्रीको सकारात्मक कार्य भने हेर्न बाँकी नै छ ।

No comments: