Monday, December 1, 2008

ब्लगर विज्ञान मन्त्री र सपना



डब्लुडब्लुडब्लु जीसाह डट वर्डप्रेस डट कम । युवापुस्तामा लोक्रय ब्लगका १ अर्ब १२ करोड ठेगानामध्ये एक हो यो । तर यही ठेगानाका बारेमा लेख्नपर्ने किन ? कारण यो छ - यो कुनै अल्लारे किशोर/किशोरीको ब्लगसाइट होइन । विज्ञान प्रविधिमार्फत् देश विकास गर्ने जिम्मेबारी बोकेका मन्त्री गणेश साहको ब्लगसाइट हो यो । मनमा लागेका कुरा व्यक्त गर्ने विद्युतीय -अनलाइन) डायरी हो ब्लग । पछिल्लो समयमा ब्लगमा आफ्ना भावना साट्नेमा अभिनेतादेखि नेतासम्म छन् । टम वाट्सन् ब्लग चलाउने पहिलो बेलायती सांसद थिए । पछि उनी संसदीय उपमन्त्री र रक्षामन्त्री पनि भए । त्यस्तै हाइप्रोफाइल नेपाली ब्लगर बनेका छन् - वातावरण तथा विज्ञानप्रविधि मन्त्री गणेश साह ।
जतिबेला नेपालमा प्रतिगमन भयो । सूचनाका मुहान थुनिए । सञ्चारमाध्यमको हात-मुखमा पट्टि बाँधिएको थियो । जसबाट सूचनाका थुप्रै उपभोक्ताहरू निस्सासिए । तीमध्येका एक थिए - गणेश साह । 'नेपालमा के हुँदैछ भन्ने जानकारी दिन मात्र पाए पनि हुन्थ्यो' आमसञ्चारकर्मीलाई झैँ साहको मनमा पनि यस्ता प्रश्न खेल्थ्यो । उपायको खोजीमा भौँतारिएका साहले सम्झे - केही समय अघि नेपाल साप्ताहिकमा छापिएको ब्लग सम्बन्धी सामग्री । खोतल्दै जाँदा ब्लगले सूचनाको तिर्खा बिसेक पार्ने ठहरियो ।
२०४० तिरै निजी कम्प्युटर राखेका, बल्र्ड लिङ्कका पहिलो छिमलका यी इमेल उपभोक्तालाई ब्लग चलाउन मन थियो तर ज्ञान थिएन । अमेरिकामा बसेको छोरालाई इमेल पठाए - हाऊ टू अपरेट ब्लग -ब्लग कसरी चलाउने) । छोराले सिकाइदिएको तरिका पछ्याउँदै सन् २००६ देखि साहले ब्लग चलाउन थाले । 'मेरो अङ्ग्रेजी पुअर -कमजोर) छ, नेपाली पनि छिटो टाइप गर्न सक्दिनँ, सम्पादन पनि गर्नु नपर्ने आफ्नो सुरले चलाउँदा पनि हुने भएकाले मलाई ब्लग नै ठीक लाग्यो' ब्लगसित नाता गाँसिनुको प्रष्टीकरण साह यसरी दिनुहुन्छ ।
सन् १९९५ देखि इमेल चलाउन थालेका साहले तीन कामका लागि साहले ब्लग छान्नुभएको थियो रे । पहिलो राजनीतिका लागि, दोस्रो पानीका लागि र तेस्रो हो श्रमिक आन्दोलनका लागि । राजनीतिमा सक्रिय साहको रुचि पानीतिर पनि छ र श्रमिक आन्दोलनको लामो अनुभव पनि । ब्लगलाई यी तीन पक्षको त्रिवेणी बनाउने साहको योजना थियो ।
बेलुकी र रातिको समयमा साहको ब्लग अपडेट गर्ने समय हो । पत्रपत्रिकाको आधारमा ब्लगमा लेख्ने सामग्री तय गर्ने साहको बानी छ । त्यसैले होला उहाँको ब्लगमा शाही प्रशासनद्वारा जारी कफ्र्यू सूचना, प्रतिबन्धित अवस्थामा रहँदा नेकपा माओवादीका अध्यक्ष प्रचण्डले जारी गर्नुभएको विज्ञप्तिदेखि आर्थिक अभावका कारण उच्चशिक्षा अध्ययन गर्न नपाएका विपन्न डोम समुदायका चन्द्रदेव मल्लीसमेतको ब्यथा समेटिएको छ । त्यतिमात्र होइन विवाहको वाषिर्कोत्सव तथा मन्त्री पदको सपथ लिँदाको तस्वीर पनि समेटिएका छन् ।
करिब दुईवर्ष अपडेट नभएको साहको ब्लग मन्त्री पदमा नियुक्त हुनुभएपछि सुचारू भएको छ । विज्ञान मन्त्री भएपछि साहलाई शुभकामना दिनेहरूले समाजमा विज्ञानको आवश्यकता पुष्टि गर्न र ब्रेनड्रेन -प्रतिभा पलायन) रोक्न सुझाव दिएका छन् ।
साहले पनि केही समयमै आफनो सोच ब्लगमार्फत् साटासाट गर्ने जानकारी दिनुभएको छ । ब्लगलाई विचार आदानप्रदान गर्ने खुला थलो बनाउने साहको सोच छ । एमआइएनजीएसएचएएच एट एमओएस्ट डट जीओभी डट एनपी यो हो साहको इमेल ठेगाना । भोलिको नेपाल, सूचनाप्रविधिको नेपाल - नारा समेत तय गरिसक्नुभएको छ साहले । 'तपाईको मन्त्रीलाई इमेल लेख्नुहोस्, तपाईको प्रधानमन्त्रीलाई इमेल लेख्नुहोस्' विज्ञान मन्त्रीको आग्रह छ । "विज्ञानप्रविधिलाई सशक्त र सिर्जनात्मक बनाएर समाजको आर्थिक उन्नति र विकास गर्न हामी एकसाथ हुनुपर्छ" साहले ब्लगमा लेख्नुभएको छ । "सूचनाप्रविधिको उपयोग युवाले गरुन्, डिजिटल डिभाइड कम गर्ने हो भने सूचनाको अधिकारलाई बढावा दिनुपर्छ" साह थप्नुहुन्छ ।
जीवनको अनुभवलाई खुलस्त भएर ब्लगमा साट्ने रहर छ साहको । मन्त्री पदको ब्यस्तताले समय चेपिए पनि हप्तामा एक घण्टा ब्लगलाई छुट्याउने योजना साह बनाउँदै हुनुहुन्छ । लेख्नसक्ने जति सबैलाई ब्लग चलाउन सुझाव दिनुहुन्छ उहाँ । भन्नुहुन्छ, "लेख्नसक्ने जति सबैले ब्लग चलाउनुपर्छ कम मूल्यमा कसैकहाँ जानु नपरीकनै सबैले हेर्नसक्नेगरी लेख्ने ठाउा ब्लगभन्दा अरु कुन छ र ?"
ब्लग चलाउन अघि साहलाई ब्लग भनेको कुन चरीको नाम हो थाहा थिएन । ब्लगलाई सर्वव्यापी बनाउन ब्लग खोल्न र चलाउन सिकाउने इन्स्टिच्यूटको अभाव खट्केको छ साहको मनमा । 'यहाँ पञ्चर टालिन्छ' टोलैपिच्छे भेटिएजस्तै 'यहाँ ब्लग सिकाइन्छ' पनि टोलैपिच्छै भेटिउन् । 'इच्छा हुनेले पनि ब्लग बनाउन सकिरहेका छैनन्, ब्लगको प्रचारप्रसार अत्यन्त आवश्यक छ' साह भन्नुहुन्छ ।
पेशाले मेकानिकल इन्जिनिर साह प्रविधिप्रति रुचि राख्नुहुन्छ । धनुषाको लोहना गाविसमा जन्मिएका साहले अमृत साइन्स क्याम्पस -तत्कालीन पब्लिक साइन्स क्याम्पस) बाट आइएस्सी गर्नुभएको हो । आइएस्सी सकेपछि केही महिना कृषि अनुसन्धान परिषदमा जेटीए रहँदा साहले दरबारमा पालिने गाई र सुँगुरलाई पुग्दो घाँस उन्नतप्रविधिबाट उत्पादन गराउनुभएको थियो । रसियाबाट मेकानिकल इन्जिनियर बनेर २०३१ सालमा नेपाल फर्केपछि खानेपानी संस्थानमा जागिरे रहँदा साहले 'वाटर टि्रटमेण्ट प्लाण्ट' र ट्याङ्कर सेवा शुरु गर्नुभएको थियो । खानेपानीमा काम गर्दाको क्षणलाई अविष्मरणीय मान्नुहुने साह भन्नुहुन्छ, "खानेपानीमा हुँदा पाएको सम्मान अहिले मन्त्री हुँदा पनि पाएको छैन ।"
२०२८ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका साह अहिले नेपाल कम्युनिष्ट पार्टी -संयुक्त) को महासचिव हुनुहुन्थ्यो । अन्तरिम संसदको सदस्य समेत भइसक्नुभएका साह राजनीतिक जीवनमै पहिलोपटक चुनाव -संविधानभाको) लड्न जाँदा जमानत समेत खोसिने गरी पराजित हुनुभएको थियो । "शहरी राजनीति गरेको मान्छे चुनावी राजनीति जान्न नसक्दा जमानत समेत जोगाउन सकिनँ" साह भन्नुहुन्छ ।
जनआन्दोलनको सफलतापछि सञ्चारमाध्यममाथि पनि नियन्त्रण हट्यो । त्यसपछि साहले आफनो ब्लगलाई पनि अपडेट गरिरहन आवश्यक ठान्नु भएन । मित्रहरूको घचघच्याईबाट साहले नीजि वेभसाइट पनि बनाउनुभएको छ । एक्काइसौँ शताब्दीमा मानिसको परिचय नै डब्लुडब्लुडब्लु हो रे । यस्तै लाग्छ साहलाई । भन्नुहुन्छ, "मान्छेको आइडेण्टी नै डब्लुडब्लुडब्लु हो, त्यो पहिचान नभएको मानिस एक्काइसौँ शताब्दीका लागि फीट पनि हुन्न, क्वालिफाइड पनि हुन्न ।"
विज्ञानप्रविधि र नेपाल । विपरीत झैँ लाग्छन् यी दुई शब्द । अन्धविश्वासको खास्टोले नेपाली समाजलाई ग्वाम्लाङ्ग ढाके झैँ लाग्छ । फलतः विज्ञानप्रविधिको अधीनस्त ठानिएको एक्काइसौँ शताब्दीमा पनि अन्धविश्वासले जन्माएका अपराधका समाचार दिनहुँ छाइरहेकै छन् । यस्तो धरातलमा विज्ञानप्रविधिले कसरी देश विकासमा योगदान पुर्‍याउला त ?
आजको युग विज्ञानप्रविधिको युग हो । पङ्क्तिकारको मान्यता होइन यो । हो त नेपाल सरकारको । नपत्याए खोल्नुहोस् विज्ञान मन्त्रालयको विद्युतीय ठेगाना । विज्ञानप्रविधिको उन्नति बिना उत्पादन र आर्थिक वृद्धि गर्न सकिँदैन रे । यो पनि सरकारकै भनाइ हो । सुन्दा आदर्श लाग्छन् यी हरफ । २०५३ जेठ २ गते स्थापित विज्ञान तथा प्रविधि मन्त्रालय सम्हाल्ने मन्त्रीहरूको फेहरिस्त हेर्‍यो भने यस्तो लाग्छ - काम कुरो एकातिर कुम्लो बोकी थिमीतिर । कोही कक्षा आठ पढेका, कोही अण्डर एसएलसी यस्तै योग्यता थियो विज्ञान मन्त्रीहरूको । नयाँ, गणतान्त्रिक नेपालको विज्ञानमन्त्री बन्ने सौभाग्य पाएका मेकानिकल इन्जिनियरिङ समेत पढेका यी ब्लगरसित के छ त त्यस्तो योजना ? जसबाट सर्वसाधारणले फाइदा उठाउन् ।
'प्रविधि-गरिबमुखी, विज्ञान-बुद्धिमानका लागि र वातावरण-विश्वव्यापीरूपमा गर्नपर्ने काम' विज्ञान, प्रविधि र वातावरणबारेको संक्षिप्त सूत्र छ साहको । ग्रामीण जनता अथवा कृषिका लागि उचित प्रविधि खोज्दैछन् विज्ञानप्रविधि मन्त्री । अनि वैज्ञानिकका लागि नि ? 'नेपालमा वैज्ञानिक बस्छन्' भन्ने सिद्ध गर्न खोज्दैछन् । नेपाली वैज्ञानिक नभएका होइनन् तर यथोचित सम्मान दिन नसक्दा पलायन भएको निस्कर्ष छ साहको । 'हरेक वर्ष सय/डेढसय पीएचडी उत्पादन गर्ने' अर्को योजना छ साहको । रसिया सबैभन्दा बढी वैज्ञानिक उत्पादक देश हो । त्यहीँको प्रेरणाको टेको छ साहको यस योजनाको पछिल्तिर । जर्मनीमा आँखा चिम्लेर ढुङ्गा हान्यो भने डाक्टरको टाउकोमा लाग्छ रे अब नेपालमा पनि आँखा चिम्लेर ढुङ्गा हान्यो भने वैज्ञानिकको टाउकोमा लाग्ने अवस्था ल्याउने रे । के वैज्ञानिक उत्पादनले मात्र देशले लाभ लिन सक्छ त ? त्यसपछिको अर्को योजना पनि त छ - 'ल्याब टू ल्याण्ड' -प्रयोगशालाबाट वैज्ञानिकहरूलाई जीवनसम्म पुर्‍याउने) ।
विज्ञानमन्त्रीको यस्ता विज्ञान सपना विपनामा रुपान्तरित होलान् ? के लाग्छ तपाईलाई । अथवा कुनै सुझाव पो छ कि ? लेख्नुहोस् - जीसाहएट जीमेल डट कम।

No comments: