छोरो देशको प्रधानमन्त्री हुँदा बाबुलाई कस्तो लाग्ला ? छोराले कक्षा उक्लिँदा हर्षबढाइँ गर्ने पुरुषप्रधान नेपालीसमाजका पिताजीहरूलाई लाग्दो हो - जीवनमा यहाँभन्दा खुशी हुने अर्को कुनै सर्वोच्च विन्दू नै छैन ।
के गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' का पिता मुक्तिराम दाहाल -जसले जीवित छँदै छोरालाई प्रधानमन्त्री भएको देखे) लाई पनि यस्तै महसूस भयो होला ? आफ्ना टाढाको नातेदार शक्तिमा पुग्दा आफूलाई नै शक्तिशाली ठान्ने शक्तिपूजक नेपाली समाजमा मुक्तिरामले आफूलाई कति शक्तिशाली ठाने होलान् ?
जेठो छोरो प्रचण्ड प्रधानमन्त्री भएको दिन मुक्तिरामको लागि जीवनको सबैभन्दा खुशीको दिन होइन रे । "छोरा प्रधानमन्त्री भएको दिनभन्दा भूमिगत राजनीतिबाट खुला राजनीतिक जीवनमा प्रवेश गरी वालुवाटारमा सार्वजनिक भएको दिन मेरो जीवनमा सबैभन्दा खुशीको दिन हो" ८१ वषीर्य मुक्तिरामले भन्नुभयो । किन यस्तो लाग्यो त उनलाई ? "एउटै ओछ्यानको साथी कति बेला छ कतिबेला छैन भन्ने अवस्था थियो, ज्यान नै फर्केर आउँछ कि आउँदैन भन्ने लागेको बेलामा छोरो बाँचेर आउँदा त्यहाँभन्दा ठूलो के हुन्छ ?" स्पष्टीकरण दिँदै दाहाल भन्नुहुन्छ ।
त्यसो भए प्रधानमन्त्री हुँदा लाग्यो चाहिँ कस्तो त ? "खुशी लाग्यो " प्रचण्डलाई मन पराउने आमप्रशंसकहरूको भन्दा खासै फरक छैन उनको अनुभूति ।
०६५ साउन ३१ गते शनिबार । यता अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रधानमन्त्रीको चुनाव हुँदै थियो । मुक्तिराम बल्खुस्थित नातिनी ज्वाइँकहाँ बसेर टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेर्दै थिए-छोरा प्रधानमन्त्रीमा निर्वाचित भएको । नेपाल विद्युत प्राधिकरणले दिएको निशुल्क उपहार 'लोडसेडिङ' का कारण उनले छोरो प्रधानमन्त्री भएको टेलिभिजनमा पनि हेर्न पाएनन् । विकल्प बाँकी थियो - रेडियो । खोले र थाहा पाए-छोरो देशकै शक्तिशाली पदमा चुनिएको ।
'कतिबेला छोरालाई भेटूँ र बधाई दिऊँ' मुक्तिरामको मनमा यस्तो चाहना नपलाएको होइन । तर प्रधानमन्त्री भएपछि छोरोसाग पहिलोपटक भेट भयो - प्रधानमन्त्री भएको तीन दिनपछि राष्ट्रपति भवनको सपथग्रहण समारोहमा । के भन्नुभयो त पहिलोपटक छोरोलाई भेट्दा ? "फूलमाला लगाइदिएँ, चिरायु होस् भनेँ, धन्यवाद बधाई छ तिमीलाई, सधैाभरि खुशी-खुशी रहनु, मुरिमुरि बधाई छ भनेँ ।"
कास्की लेवाडे, ढिकुरपोखरीमा जन्मेका प्रचण्डलाई पढाएर 'हेडमास्टर' बनाउने सपना थियो रे मुक्तिराम दम्पत्तिको । हुने बिरुवाको चिल्लो पात जस्तो लाग्छ रे मुक्तिरामलाई प्रचण्डको बाल्यकाल । 'बदमास केही थिएन, खाने-लाउनेमा यस्तो राम्रो, यस्तो मीठो भन्ने थिएन, जे काम गर्न पनि तयार थियो' प्रचण्डको बाल्यकाल सम्झँदै मुक्तिराम भन्नुहुन्छ ।
ढिकुरपोखरीमा साँवा अक्षर छिचोलेका प्रचण्डलाई २०१९ सालमा परिवारै चितवन झरेपछि शारदानगरमा एकैचोटी तीन कक्षामा भर्ना गरियो । तीन कक्षामा एकवर्ष फेल हुनुभएका प्रचण्ड अर्कोवर्ष छलाङ मारेर कक्षा पाँचमा उक्लिनुभयो । "स्कुल पढ्दा नै भाषण राम्रो गथ्र्यो, राम्रो भाषण गरेर चार/पाँच रुपियाँ पुरस्कार पनि जितेर ल्याउँथ्यो, ज्यान ठिक्कैको भएपनि छेलो फाल्नमा सबैलाई जित्थ्यो" स्कुले छोरोको पुराना तस्वीर मुक्तिरामको स्मृतिमा एकपछि अर्को गर्दै पाना सर्दैछन् ।
स्कुल पढ्दा नै छोरो कम्युनिष्ट बनिसकेको मुक्तिरामलाई थाहा थियो रे । "राति-राति सम्मेलन हुन्थ्यो, गाउँले सबैको एउटै विचार थियो" । 'छोरो राजनीतिमा लागेर पढाइ बिगार्ने भो' मुक्तिराम के यस्तो लागेन ? "लाग्यो नि हप्काउने/दप्काउने पनि गरियो तर उसलाई त्यसैमा लाग्नु रै'छ के मान्थ्यो र " मुक्तिरामले हप्काएको टेर्दिएको भए के प्रचण्ड अहिले प्रधानमन्त्री बन्थे ?
प्रचण्ड भूमिगतरूपमै कम्युनिष्ट पार्टीको महामन्त्री बनिसक्दा पनि घरमा आउ-जाऊ भइरहन्थ्यो रे । २०५१ सालमा वीर अस्पतालमा आमालाई उपचार गराउँदा पनि प्रचण्ड आफैँ धेरै दिनसम्म कुरुवा बसेको मुक्तिराम सम्झनुहुन्छ, "आमा-छोरा -प्रचण्ड) को यति गहिरो माया थियो, अहिले पनि म आमाको कुरा आउनासाथ उसको आँखाबाट आँशु निस्किहाल्छ" । शायद प्रचण्ड सोच्दा हुन् - म प्रधानमन्त्री भएको आमाले देख्नुभएको भए कति खुशी हुनुहुन्थ्यो होला ?
२०५२ सालमा भूमिगत हुनु अगाडि प्रचण्डले भनेका थिए रे - म यताउति केही भएछु भने पीर नगर्नु, म मर्न होइन, बाँच्न जाँदैछु । बाबुआमाको मन के मान्थ्यो र ? छोराको टाउको ल्याउनेलाई पुरस्कार तोकिँदा साह्रै डर लाग्थ्यो रे मुक्तिरामलाई । तर जनयुद्धको दशवर्षसम्म मुक्तिरामलाई एकदिन पनि सुरक्षाकर्मीले दुःख दिएनन् रे । "बरू त्योभन्दा अगाडि नै एकपटक प्रहरी घरमा आई छोराको कोठा खोलेर नागरिकता, सर्टिफिकेट लियो, छोरा रै'नछ अब बाबुलाई नै लाने भनेर मलाई तान्न थाले । मेरी श्रीमतीले रोइकराई गरेपछि छाडिदिए" छोराको कारण मुक्तिरामले पाएको सास्ती जम्माजम्मी यत्ति हो ।
जनयुद्धको दश वर्षमा जम्मा एकपटक भेट भयो रे छोरासँग । नौ वर्षपछि भएको भेटको यसरी स्मरण गर्नुहुन्छ मुक्तिराम -"अरू साथीलाई बोलाउन पठाएको रै'छ, बुटवलमा भेट भएको थियो, उसलाई खतरा थियो त्यतिबेला, त्यतिधेरै बातचित हुन पाएन, आधाघण्टा जति पनि बसिएन होला" ।
जनयुद्धकालमा बेलामौकामा शान्तिपूर्ण अवस्थामा आउन छोरालाई सञ्चार माध्यममार्फत् आग्रह गर्ने मुक्तिरामलाई प्रचण्ड जब शान्तिप्रक्रियामा आए तब लाग्यो रे - हिम्मती रहेछ, संसारसित जुध्नसक्ने । जनताको चित्त बुझाएर माथि-माथि पुग्नु सानो कुरा होइन रहेछ ।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि प्रचण्ड आफैँ पिता मुक्तिरामलाई लिन बल्खु पुग्नु भयो । चार/पाँच दिन बालुवाटारमा बस्दा बेलुकी खाना खाने बेलामा मात्र छोरासित भेट हुन्थ्यो रे मुक्तिरामको । के कुरा हुन्थ्यो बाउ-छोरा भेट्मा ? "बोलाउाथ्यो, 'कस्तो लागिरहेछ तपाईलाई मेरो काम' 'कस्तो मान्नु भा'छ भन्थ्यो" मुक्तिराम भन्नुहुन्छ । 'यताबाट एउटाले एक थोक भनेको छ, उताबाट अर्काले अर्कोथोक भनेको छ, उसलाई -प्रचण्डलाई) जतिखेर पनि फुर्सदै हुँदैन । खेतमा बाउसे खेलेर आएजस्तो लखतरान देखिन्थ्यो- बेलुका' छोराप्रतिको पितृस्नेह देखिन्थ्यो मुक्तिरामले यसो भनिरहँदा ।
'बेलुका छिटो सुत्ने, बिहान छिटो उठ्ने' प्रचण्डको नानीदेखिको बानी प्रधानमन्त्री हुँदा पनि अझै उस्तै पाए मुक्तिरामले । 'पहिला दुध र घ्यूसँग भात मुछेर मीठो मानी-मानी खान्थ्यो अहिले त रोगले घ्यू खानै नहुने भएछ' भिन्नता पनि पाए मुक्तिरामले प्रचण्डको बाल्यकाल र अहिलेमा ।
काठमाडौँ १० बाट संविधानसभा निर्वाचनमा उम्मेदवार बनेका प्रचण्डको प्रचारमा मुक्तिराम पनि हिँडेका थिए । 'हार्ला कि भन्ने डर लाग्थ्यो' मुक्तिरामले मनको कुरा लुकाएनन् । माओवादी पार्टी अध्यक्ष प्रचण्डको पिता बनेर दर्जनौँ ठूला सभामा उनले अतिथि बनेर मुठ्ठी उठाइसकेका छन् तर भाषण चाहिँ अहिलेसम्म गरेका छैनन् । "गाई पाल्ने दुध, दही खाने मान्छे, त्यतातिर त लय नै भएन" मुक्तिरामले आफूलाई भाषण गर्न नआउने बताए ।
आफूले भाषण नगरे पनि छोराको भाषण सुन्न भने मुक्तिराम हुरुक्कै हुन्छन् । "अरूको पालो चाँडै सकिएर उसैको पालो आइदिए हुन्थ्यो जस्तो लाग्छ" छोरो प्रचण्डको कार्यक्रममा पुग्दा मुक्तिरामलाई यस्तै लाग्छ रे । "धन्य हो, एउटा क्षमता नभईकन, नधकाईकन त्यत्रो मान्छेको अगाडि त्यसरी बोल्न सकिँदैन" मुक्तिरामलाई छोराको भाषण सुनेर चाहिँ यस्तो लाग्छ रे ।
छोराको पार्टीले सबैभन्दा बढी सीट जित्दा पनि प्रधानमन्त्री बन्न दिँदैनन् कि भन्ने आशङ्का मुक्तिरामलाई पनि थियो रे । २४० वर्ष पुरानो राजतन्त्रलाई मात्र होइन बहुदलीय ब्यवस्थादेखि गणतन्त्रान्त्रिक व्यवस्थासम्म एकछत्र शासन गर्ने गिरिजाप्रसाद कोइरालालाई सत्ताको घोडाबाट ओराल्ने नायक प्रचण्डलाई के पिता मुक्तिरामले कहिल्यै सोचेका थिए छोरो प्रधानमन्त्री होला भनेर ? "आ-आपनो तक्दीर हो । दुःखी गरिबलाई सघाउँथ्यो, बाउसे/ हलीले काम गर्न सकेनन् भने आफैँ गएर गरिदिन्थ्यो । ठूलो मान्छे नभए पनि राम्रो मान्छे चाहिँ हुन्छजस्तो लाग्थ्यो" मुक्तिराम भन्नुहुन्छ ।
मुक्तिरामको पिता/पुर्खामा राजनीति गर्ने कोही थिएनन् रे । अहिले पनि प्रचण्डका परिवारतिर राजनीतिमा लागे पनि कान्छो छोरो डा. गंगाराम र छ वटी छोरीतिर कोही राजनीतिमा छैनन् । मुक्तिरामका कान्छा काका नाति नारायण दाहाल अहिले चितवन-३ बाट निर्वाचित सभासद् हुनुहुन्छ । मुक्तिराम आफैँले पनि एकवर्ष भयो रे नेकपा -माओवादी) को सदस्यता लिएको । "पोहोर साल गाउँमै सदस्यता दिन आएका थिए" मुक्तिरामले भन्नुभयो ।
प्रधानमन्त्रीको बाबु भनेर चिनेपछि अहिले मुक्तिरामसाग 'सोर्स-फोर्स' लगाइदिन अनुरोध गर्नेहरू छन् । प्रधानमन्त्री भएपछि आफूले भोग्नुपरेको फरक व्यवहार हो यो मुक्तिरामको । 'उनीहरू -प्रचण्ड) नै काममा पक्कापक्की लागेका छैनन्, मैले के भन्दिने र ?' यसो भन्दै तर्किने मुक्तिराम 'सोर्स-फोर्स' लाइदिने पक्षमा चाहिँ छैनन् ।
प्रधानमन्त्री भइसकेको छोरालाई के अझै राष्ट्रपति भएको हेर्ने इच्छा छ मुक्तिरामलाई ? 'थुचुक्क बसिरहनुपर्ने राष्ट्रपति भएर के काम ?' मुक्तिरामले बुझसिक्नुभएको छ - 'राष्ट्रपतिभन्दा प्रधानमन्त्री हुनु राम्रो, सबै प्रधानमन्त्रीको अधीनमा छ, किन हुनुपर्यो र राष्ट्रपति ?'
त्यसो भए छोरो देशकै सबैभन्दा शक्तिशाली र सबैको माग पूरा गर्ने स्थानमा पुगेका बेला के चाहन्छन् त मुक्तिराम प्रधानमन्त्रीबाट ? "सबैलाई सम्हालेर शान्तितिर लैजाओस् । सबै जनताको चित्त बुझाउन सकोस् । सबैको सहयोग लिएर अझै माथि-माथि जाओस्" हामी चाहन्थ्यौँ, प्रधानमन्त्री पिता मुक्तिरामको छोरासँग कुनै व्यक्तिगत आग्रह छ कि ? प्रश्न दोहोर्यायौँ-तेहर्यायौँ तर देश र जनताका साझा आकाङ्क्षाभन्दा फरक चाहना बताएनन् उनले ।क़
No comments:
Post a Comment