Thursday, December 25, 2008
नविन विभाषको मृत्युमा
मित्र नविन विभाषको ब्लग हेरे । छोटाछोटा तर चोटिला उनका लेखाइ देखेर डाह लाग्छ मलाई । उनले धेरैसमय अपडेट नगर्दा पनि म उनको ब्लगको नियमित पाठक थिए म । अचानक यही शर्ीष्ाकमा लेखिएको सामग्री पढेपछि मलाई पनि केही लेख्न मन लागिरहेको थियो । तर कहिले जागर नहुने कहिले बिजुली नहुने समस्या खलनायक थियो । फेसबुकका असिम भाइ नाम गरेका नविनका एक शुभचिन्तकले लेखेको पनि हेरे लेखाइ खदिलो नै लाग्यो ।
नविनसित उति लामो चिनाजानी छैन मेरो । केही वर्षपहिले संकटकालको समयमा उनलाई सुरक्षाकर्मीले आधारातमा पाहुना बनाउदा मगर विद्यार्थीको तर्फाट मैले नै विज्ञप्ति जारी गर्नेदेखि अन्य काम समेत गर्नुपरेको थियो । यतिबेलासम्म न उनले मलाई चिन्थे न मैले उनलाई नै । केही महिना भैरवनाथ गणको पाहुना बनेर छुटकारा पाएपछि हामी एकआपसमा परिचित भयौ र अहिले हामी एउटै संस्था मगर आमसञ्चारकर्मी समाजमा पनि आवद्ध छौ । केही समय पहिले पत्रकार मित्र जेबी पुनमगरसित यस्तै थरका बारेमा छलफल भएको थियो केही साथीहरुले आफ्नो वास्तविक थर नलेखेर अनेक उपनाम लेख्ने गरेकोमा हामीले चिन्ता व्यक्त गरेका थियौ । जस्तो उदय जीएम, राजकुमार बगर, एमबी आस्था, नविन विभाष, टीकाराम उदासी, भावेश भुमरी आदिआदि ।
सूचना, साहित्य र सञ्चारको क्षेत्रमा औलामा गन्न सकिने मगरहरु पनि यसरी मगर लेख्न छाडेर अनेक उपनाममा बाधिन थालेकोमा हाम्रो आपत्ति थियो । त्यसो त जेबीले पनि कहिल्यै असली नाम झकबहादुर पुन पत्रिकामा छपाएनन् । मैले पनि असली तर लामो नाम नरेशकुमार खपांगीमगर कहिल्यै छपाउन सकिन । पुरानाम मगर पत्रकारहरु लोकदीप थापा, खिलध्वज थापाले कहिल्यै मगर लेखेनन् । बसन्त थापाले बरु ऋतुराज लेखे मगर लेखेनन् । नाममा मगर लेखेर समुदायमा नाम कमाएका उजिर मगरले पनि असली असली नाम इन्द्रप्रसाद बुढाथोकी कहिल्यै छपाएनन् । केही पुस्तक लेखिसकेका दीपक थापाले पनि मगर लेखाएनन् ।
यस पृष्ठभूमिमा नविन विभाष किरण पुन भएकोमा मलाई कताकता खुशी पनि लाग्यो । नविन विभाष छदाजस्तो अब उन उनलाई तिमी के जातका हौ भनेर कसैले नसोध्लान् नि - मगर भित्रका केही थरहरु जो अन्य जातिका थर उपथरहरुमा मिल्दैनन् त्यसमध्ये पुन पनि एक हो । तर नविनको २०-३० वर्षा जुन पहिचान नविन विभाषबाट बनेको थियो त्यसलाई एकाएक ध्वस्त बनाउनु भने मलाई उचित लागेन ।
थाहा छ नविनको यसमा केही दोष छैन र उनले नविन विभाष लेख्न नचाहेका पनि होइनन् तर जुन पब्लिकेसन हाउस जहा नविन रोटी पकाउछन् त्यसले लिएको नीति भने ठीक होइन । तिनै नारायण वाग्ले केही महिना अघिसम्म कान्तिपुरको सम्पादक थिए त्यतिबेला उजिर मगर, अमृत भादगाउले लगायतको नामबाट रचना छापिएकै थिए । अहिले कुन मौलिकताका लागि उनले यस्तो नीति लिएका हुन् - नामलाई संसारमै व्यक्तिको अधिकारका रुपमा लिइन्छ त्यसैले व्याकरणीय नियम उपनियमलाई व्यक्तिले छाला काड्दै आफ्नो प्रभुत्व जमाउछ । तर दैनिकीले के नया प्रयोग देखाउन खोजेको हो त्यसपछिको तर्क के हो -
आफ्ना समाचारदातालाई त दैनिकीले त्यो नियममा कज्याउन सक्ला तर के लेखक, स्तम्भकारलाई पनि उसले यही ढुंग्रोभित्र छिराउन सक्छ - विमल निभालाई विमलकृष्ण श्रेष्ठ, अभि सुवेदीलाई अभिनारायण सुवेदी, तुलसी दिवसलाई तुलसीप्रसाद जोशी, मोदनाथ प्रश्रतिलाई मोदनाथ पौडेल लेख्न सक्छ - के उल्लिखित व्यक्तिहरु पनि नविनले झै आत्मर्समर्पण गर्न सक्लान - लेखक, स्तम्भकारको मात्र होइन दैनिकीमा प्रकाशित हुने कुनै पनि सामग्रीमा कुनै पनि व्यक्तिको उपनाम छापिएन भने मात्र सो नियमले केही खालो सारेको महसूस होला हैन भने हिड्ने गोरुको पुच्छर निमोठ्ने बाहेक केही ठहरिने छैन ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment