Sunday, December 7, 2008

एक्स्क्यूज मी ।।।।।।

ओ सर । जाग नेपाल नामको तलाउमा केही दिनअघि मैले यही नामको ढुंगा खसालेको थिएँ । त्यसले फैलाएका तरङ्गहरु म छेऊ आउन थालेका छन् । ती छालहरुले मलाई शीतल, आनन्द मात्र होइन नयाँ जस्केलाहरू पनि पनि देखाएका छन् जसलाई मैले चाल पाएर पनि नाघ्दै थिएँ । केही मित्रहरुले मलाई पक्रनुभएको र प्रश्न गर्नुभएको छ - अचिनेका पुरुषलाई चाहिँ ओ सर‌‌‌‌‌।।।। भन्ने तपाईले नचिनेका महिलालाई चाहिँ के भन्ने उपाय दिनु पर्दैन - के तपाईका पाठक महिला चाहिँ छैनन् - जस्तै, जस्तै, जस्तै ।
तर्क गरिरहनु भन्दा आफनो कमजोरी महसूस गर्नु बेस । मैले पक्कै पनि त्यो लेखौट तयार गर्दा यतातिर सोच्नै नसकेको अहिले महसूस हुँदैछ । र अनिश्चयको भूँमरीमा पनि पर्दैछु - आखिर मैले त्यतिबेलै सम्झेको भए पो के गर्न सक्ने रहेछु र - पुरुषलाई जस्तो सजिलो रहेनछ महिलालाई सम्बोधन गर्न । पुरुषहरूलाई ओ सर भनेजस्तो महिलालाई ओ मिस।।।। भनेर मात्र नपुग्ने । मिस हो कि म्याडम हो कसरी छुट्ट्याउने - पहिले पहिले विवाह भएका महिलाले ब्लाउज, साडी लगाउँथे र पो दृष्टिविहीनले पनि विवाहित र अविवाहितको भेद छुट्याउन सक्थ्यो । अब त सात सन्तानको आमा पनि टी सर्ट र पाइन्टमै ठाँट्टिन्छन् । क्या फसाद ।।।
विवाहितलाई ओ मिस भनियो भने त ठीकै होला तर अविवाहितलाई ओ म्याडम पर्‍यो भने - गालामा कति नम्बरको छाप बस्ने हो अग्रिम ब्यवस्था गरे हुन्छ । लिम्बूवानमा जन्मेको यो ब्लगरले देखेको छ त्यता कुनै लिम्बूनी आमालाई आमा भन्यो भने उल्टै पिटुँला गरेर झम्टिन्छिन् - तेरो बाउले मलाई कहिले बे गरेको थियो र मलाई आमा भन्छस् - बोजू, काकी, बढ्यामा, छ्यामा त परै जाओस् दिदी, बहिनी समेत भन्न नहुने । खनिइहाल्ने । बरू सोल्टी-सोल्टिनीले माफ पाउँथ्यो । कस्तो अफ्ठेरो -
कसैलाई शुरुमै भेट्दा नामले बोलाउन सम्भव हुने कुरा भएन । एक/दुई पटक नबोलेसम्म नाम याद रहने सम्भावना पनि भएन । सबैका लागि काम लाग्ने साझा सम्बोधन पनि भेटिएको छैन । के गर्ने सोच्दै गर्दा, पूर्वी तर्राईमा बालबालिकामा प्रख्यात एउटा खेलको याद आयो । खेलको नाम हो - आसपास । टीममा एकपटकमा एउटा डुम हुने उसले आँखा चिम्लने र १०० सम्म गनेपछि आँखा खोलेर अरुलाई देख्नासाथ नाम लिएर आसपास भन्ने । जस्तोः प्रचण्ड आसपास, गिरिजा आसपास, झलनाथ आसपास । यदि कसैको नाम याद छैन, कसैको नाम बिर्सियो वा बाझेर नाम नलिने प्रतिज्ञा गरेको भने चाहिँ एउटा उपाय छ - आलु आसपास भन्ने । त्यही सिद्धान्तअनुसार ओ आलु जी’ भन्न पनि मिलेन । कस्तो समस्या ।।
यस्ता अक्करहरू महिलाका जीवनमा धेरै होलान् । सम्बोधनको उचित शब्द फेला नपर्नु पनि पुरुष प्रधान समाजकै अवशेष होला । त्यही भएर महिला विश्वमै पुरुषको दाँजोमा हेपिएका पनि होलान् । बढी सैद्धान्तिक नबनौँ। मलाई एउटा साझा सम्बोधन खोज्नु छ । अँ... भेटियो । तर त्यति र्सवमान्य चाहिँ होइन । चलेकै कुरा हो चलाउने । नयाँ ल्याएर स्थापित गराउने दिमाग पनि त हुनुपर्‍यो आफूसँग । त्यसैले यो टालटूले समाधान हो । एक्सक्यूज मी’ ।।। गोलचक्करमा फसेर फेला पारेको उपाय यही नै हो । अपरिचित महिला, पुरुष मात्र होइन तेस्रो लिङ्गीलाई पनि चल्छ यो । जसलाई भेटे पनि भन्ने- एक्सक्यूज मी’ । अनि कुरा थाल्ने । हुँदैन त -एक्सक्यूज मी’ अहिले यसैले काम चलाउँदै गर्नुहोला नयाँ सम्बोधन पाइएमा पोस्ट गरुला । हुन्न र ।।।।।


No comments: