Thursday, December 25, 2008

छुटेको समाचार


नोभेम्बर २ २००८ मा गोरखापत्रमा एउटा विज्ञापन छापियो जङ्गी अड्डाको नाममा । विज्ञापनको पेटबोलीमा थियो नेपाली सेनामा करिब दुई हजार जना सिपाहीँ भर्ती लिने । दुई दिन छापियो त्यो विज्ञापन । विज्ञापनले कताकता दिमागमा शङ्का जन्मायो । सेना समायोजनको यत्रो बहस भइरहेको बेलामा यो विज्ञापन कसरी र किन आयो ।

सामान्य बुझाईमा पनि नेपाली सेना करिब एक लाख छन् र शिविरमा जनमुक्ति सेना करिब १९ हजार । सबै जोड्दा पुग्छ सवा लाख । बेलाबेलामा साथीभाइले बहसका पर्रा बर्साउँछन् नेपालजस्तो देशमा यतिधेरै सेना किन चाहियो । न भारतसित युद्ध लड्न सक्नु न चीनसित । नेपालभित्रै चलेका सशस्त्र युद्ध रोक्ने त विगतका अनुभवबाट नै साबित भइसकेको छ । त किन चाहियो यत्रो बगाल ।

नेपाली सेनाबाट करिब एक वर्षअघि निवृत्त हुनुभएका मोहन थापा दाइसित पनि सल्लाह भयो । उहाँले पनि यस्तो भर्ती खोल्नु शान्ति सम्झौता विपरीत भएको सम्झौताको धारा पल्टाउँदै व्याख्या गर्नुभयो । रक्षा मन्त्रीसित पनि सजातिय साइनो भएकाले कोट लिन सजिलै हुने ठानेको थिएँ । विज्ञापनको कटिङ र सम्झौताको प्रति गोजीमा कोचिसकेको थिएँ । एकातिर मनमा फूर्ति थियो अर्कोतिर कार्यालयमा कहिले नयाँनेपालको संयोजन त कहिले रिपोर्टिङको असाइमेन्ट लगाउने तरिका हेर्दा मलाई दिक्क लाग्थ्यो । मैले मात्र किन यस्तो डब्बल काम गर्नपर्ने । मेरो दिमागमा यो वाक्यले स्थायी घर जमाइसकेको थियो । जे काम गर्नुपर्दा पनि मलाई लाग्थ्यो मैले मात्र यो काम किन गर्नुपर्ने ।

यिनै प्रश्नहरुले समयमै उचित समाधान पाउन नसक्दा यो समाचार बाघ मार्ने हुँदाहुँदै पनि आफैँ शहीद बन्यो । विज्ञापन र सम्झौताका कटिङहरु लुगासँगै धोइए । कुनै पत्रिका टिभीका साथीलाई मैले बरु यो इस्यु बन्न सक्छ भनेर टिप्स दिएको थिएँ । तर उनले पनि यो इस्यु उठाए उठाएनन् थाहा भएन । पत्रपत्रिकामा यो एङ्गलबाट समाचार आएनन् आए त यतिले आवेदन दिए । मधेसीले रुचि देखाएनन् यस्तैयस्तै । जब बुटवलमा माओवादी सेनाका डेपुटी कमान्डर बलदेवले नेपाली सेनाले भर्ती नरोके जनमुक्ति सेनाले पनि भर्ती खोल्ने अभिव्यक्ति दिए तब यो इस्यु बल्ल समातियो । संयुक्त राष्टसंघका महासचिवका विशेष प्रतिनिधी इयान मार्टिनले भोलिपल्टै विज्ञप्ति प्रकाशित गरेर नेपाली सेनाको सो कार्य शान्ति सम्झौता विपरीत भएको प्रष्ट गरे । सेनाले पनि अर्को विज्ञप्ति जारी गर्दै भागेका मारिएका राजीनामा दिएकाहरुको ठाउँमा सो भर्ती गर्न लागिएको बतायो ।

करिब तीन दिनलाई मसला बन्यो यो घटना नेपाली मिडियालाई । बिर्सिसकेको न्यूज आइडिया फेरि तरोताजा भयो मानसपटलमा । यतिबेला पो मलाई महसुस भइरहेको छ त्यो छुटेको समाचारको । जो मैले सोचेको करिब डेढ महिनापछि सार्वजनिक भयो नेपाली मिडियामा । यतिबेला यो पनि महसूस भयो समाचार भनेको कुनै जबरजस्ती र करकापमा जन्मने होइन न त कुनै फर्मालिटीमा नै । प्रधानसम्पादक र प्रमुख समाचारदाताले आफ्ना समाचारदातामध्ये कसको खुबी के हो कति छ र कसरी के काममा लगाउने तरिका ठीकसित नजान्दा स्कूप समाचारहरु पनि गर्भमै हराउँदा रहेछन् । मलाई अहिले यही तत्वबोध भइरहेको छ ।

No comments: