Friday, December 12, 2008

सन्तोष बुढामगरको डब्बल एसएलसी


एसएलसी । कसले यसलाई 'आइरन गेट' नाम दियो थाहा छैन तर त्यही गेट नाघ्न नसक्दा लाखौँ नेपाली बाध्य हुन्छन् आˆनो जीवन अर्कैतिर मोड्न । 'एसएलसी पास गर्न पाए !' चाहना हुन्छ सबैको यस्तै । त्यसैले कोही नाति नातिनासित नारिएर एसएसली दिइरहेका हुन्छन् त कोही दर्जनौँपटक लट्किँदै । तर सशस्त्र युद्ध लडेको नेकपा -माओवादी) का एक नेताले भने दुर्लभ एसएलसीलाई दुईपटक चुम्न सफल भएका छन् ।

माओवादीका पूर्व केन्द्रीय सदस्य तथा विघटित मगरात स्वायत्त जनसरकारका पूर्व प्रमुख सन्तोष बुढामगर ती कर्मठ हुन् जसले फलामे ढोकालाई दुईपटक पार गरे । अहिले मगरात राज्य समिति सेक्रेटरी बुढाले २५ वर्षको उमेरमा एकै साल दुईपटक एसएलसी पास गरे ।

रुकुमको कोहल हाइस्कुल र रोल्पाको थवाङ हाइस्कुलबाट एकै साल -२०४२ मा) बुढाले एसएलसी पार गरे । कोहल हाइस्कुलका नियमिततर्फ र थवाङबाट आंशिक परीक्षार्थी बनेर बुढाले एसएलसी पास गरेका हुन् ।

रोल्पाली कम्युनिष्टको बीउथलो थवाङका रैथाने बुढाले नौ वर्षको उमेरमा कखरा शुरु गरेका हुन् । शिशु कक्षामा भर्ना भएका बुढाले त्यो साल शिशु र कक्षा एकको होइन एकैचोटी कक्षा दुईको जाँच दिए । जाँचमा पहिलो भएका बुढाले पिताजीबाट पुरस्कार पाए - ग्वाला बन्ने । "पिताजी ज्योतिषीका गुरु हुनुहुन्थ्यो । 'हिसाबकिताब गर्न, नाम लेख्न सक्ने भइहालिस् । अब हिँड 'मङ्गरे' सिक्न हिँड' भन्नुभयो ।" पहिलो हुँदा पिताजीले दिएको उपहार सम्झँदै बुढा भन्छन्

चारवर्ष गाईको पुच्छर निमोठेर बिताए बुढाले । ज्योतिष विद्या, तन्त्रमन्त्र सबै कण्ठ गरे । मोहनी लगाउन, मसान जगाउन सक्ने भए । बुढाका पिताजीले भन्ने गर्थे रे - मैले एउटा मात्र सङ्गाती बाँकी राखेर सबै तँलाई सिकाएँ । -सबै गुरुहरूले आˆना चेलालाई सबै कुरा नसिकाउने विश्वास छ )

त्यतिबेलासम्ममा थवाङ प्राविबाट निमाविमा उक्लिसकेको थियो । कक्षा बढाउन विद्यार्थी पनि बढाउनुपर्ने भयो । विद्यार्थी बटुल्न मुखियाले उर्दि गरे - जसले छोरी/छोरी स्कुल पठाउँदैन उसले महिनाको ५० रुपियाँ तिर्नुपर्ने छ । के जरिवाना तिर्ने ? पिताजी बितिसकेका थिए, आमाले उपाय निकालिन् - ग्वाला बसिरहेको बुढालाई स्कुल पठाउने । चारवर्षे अन्तरालपछि बुढा फेरि पुरानै भङ्गालोमा मिसिए । सँगै पढेका साथीहरू सात कक्षा पुगिसकेका थिए । बुढाले हीनताबोध मानेनन् । तीन कक्षाको जाँच दिए, होल फष्ट भए । शिक्षकहरूले पाँच कक्षामा राख्न खोजे, तर कमजोर हुने डरले दाइहरुले मञ्जुरी दिएनन् ।

चार कक्षामा पनि होल फष्ट भए । कक्षा पाँच पढेनन् । फड्किए छ कक्षामा । छ मा पनि होल फष्ट भए र उक्लिए एकैचोटी आठमा । त्यतिबेलासम्म उनको नाम थियो - धनीराज बुढा । पाँच दाजुभाइ र दुई दिदीबहिनीमध्ये कान्छा उनलाई आमाले राखिदिएकी थिएन् रे त्यो नाम । अब उनको नाम फेरियो - धर्मेन्द्र बुढा । यतिञ्जेलमा बुढा कम्युनिष्ट पार्टीको साधारण सदस्य भइसकेका थिए ।

वि.सं. २०३६ को विद्यार्थी आन्दोलनले विद्यालयमा पनि अनेरास्ववियू खोल्न दियो । कक्षा र स्कुलको मोनिटर बन्दै आएका बुढा थवाङ हाइस्कुलमा अनेरास्ववियुको अध्यक्ष बने । त्यसैवर्ष गठित अनेरास्ववियु जिल्ला समितिको पनि उनी पहिलो अध्यक्ष चुनिए ।

बाइसे चौबीसे कालमा नै राजाविरोधी थलो थियो - थवाङ । त्यसपछि पनि थवाङमा शोषक, सामन्त र जनताका बीचमा पटकपटक लडाइँ हुँदै आयो । २०१५ को चुनावमा थवाङमा सबै भोट मकैको घोघा चिन्हमा खस्यो । २०३८ को राष्ट्रिय पञ्चायत चुनावमा थवाङमा एक भोट पनि खसेन । गाउँको यस्तो वातावरणले बुढालाई नतान्ने कुरै भएन । अनेरास्ववियु प्रतिबन्धित भएपछि त बुढाको नाममा वारेण्ट नै जारी भयो । थवाङमा वारेण्टको केही लाग्दैनथ्यो । प्रहरी चौकी धपाइसकिएको थियो । पुलिसहरू थवाङ नजाने, वारेण्टेडहरू लिवाङ नजाने । गाउँमा जे गरे भइहाल्यो Û

वि.सं. २०३८ को चुनावमा एक मत पनि नखसेपछि त्यही क्षेत्रबाट निर्वाचित तत्कालीन रक्षामन्त्री बालाराम घर्तीमगरले कात्तिक ५ गतेदेखि थवाङमा अपेरेसन शुरु गरे । कात्तिक १६ गतेदेखि स्कुलमा टेष्ट थियो । जाँच दिन तम्तयार विद्यार्थीहरू थुनामा पुगे । सन्तोष भने पक्राउबाट बचे । बचेकाहरूलाई आत्मसमर्पण गरेमा परीक्षा दिन पाउने पासो फालियो । तर एक जनाले मात्र त्यो कायर बाटो रोजे । त्यसवर्ष थवाङबाट दुई जनाले एसएलसी दिए । एसएलसी पास गर्ने धोको बोकेका बुढासहित केहीले पाए राजकाज विरुद्धको मुद्दा ।

"हामी करिब एक सयजना जति भूमिगत थियौँ । पछि मुद्दा नलागेकालाई फिर्ता पठाइयो । हामी मुद्दा लागेका चाहिँ अरु सतर्क बन्यौँ । केटाकेटीले समेत सीआइडी आएको चाल पाउँथे र सूचना फुस्काउँदेनथे । जनयुद्ध त रोल्पामा त्यतिबेलै शुरु भएको थियो" बुढाले भने ।

गाउँमा बसिनसक्नु भएपछि नेता मोहनविक्रम सिंहलाई भेट्न पार्टीको एउटा टोली गोरखपुर हिँड्यो । सिंहले निगरानीमा परेका नेताहरू कोहीलाई भारत भगाउने कोहीलाई बसाई सार्ने सल्लाह दिए । टोली निराश भई फक्र्याे । गाउँ फर्केपछि टोलीका सदस्य तेजमान घर्तीले हृवीप लगाए - कोही भारत जाने छैन । कोही बसाई सर्ने छैन । कसैले परीक्षा दिने छैन । पछि पार्टीको नीति परिवर्तन भयो । परीक्षा दिन र भारत जान पाइने भयो । बुढा पनि लागे भारततिर । "म त बजाउन, गाउन जान्ने मान्छे । डेढवर्ष फरिदावादको नगर साँस्कृतिक टोलीमा नाच्दै गाउँदै बिताएँ" बुढा भन्छन् ।

त्यसपछि २०४० सालतिर 'Û अञ्चलाधीश कार्यालयमा हाजिर हुन जाने' ब्यहोराको चिठ्ठी पार्टीबाट आएपछि बुढा नेपाल र्फके । अञ्चलाधीशको कार्यालय थियो तुलसीपुरमा । थवाङबाट जान पाँचदिन, र्फकन पाँचदिन । हरेक महिनाको तीसमध्ये दश दिन यसरी नै बित्थ्यो

पञ्चायतका रोल्पाली हर्ताकर्ता बालाराम घर्तीले आफूलाई भोट नआउने भएपछि थवाङलाई रुकुममा सार्न खोज्दै थिए । रोल्पाकै राष्ट्रिय पञ्चायत सदस्य बमकुमारी बुढामगर भने सार्न नहुने अडानमा थिइन् । रुकुमेली नेताहरू पनि कोही थवाङलाई ल्याउन हुन्छ भन्दै थिए त कोही भन्दै थिए ल्याउन हुँदैन । यस्तैमा तत्कालीन राजा वीरेन्द्र मध्यपश्चिम आउने भए । थवाङका नेता बर्मन बुढाले सुर्खेत पुगेर राजालाई भने 'बालारामलाई भोट नदिएको निहुँमा गाउँलेलाई झुट्टा मुद्दा लगाइएको छ, थवाङलाई रुकुम सार्न खोजिएको छ' । करिब आधाघण्टा कुरा सुनेपछि राजा वीरेन्द्रले राप्तीका अञ्चलाधीश नारायणसिंह बस्नेतलाई भने - छिटो मुद्दा छिनिदिनू ।

त्यसको तीन/चार महिनामै मुद्दा छिनियो । मुद्दा जितेपछि जाली फटाहाको मनोबल घटाउन बाजागाजा र अविर जात्रा भयो थवाङमा । असारको महिना थियो त्यो । भदौ १ गतेसम्म स्कुलमा मिनपचास विदा थियो । भदौ १ गते विद्यालयको घण्टी बज्नासाथ बुढाले कक्षा १० मा नाम लेखाए । नियमले भर्ना हुने समय बिते पनि 'राजनीतिक पीडित' लाई छुट दिइयो । 'धेरै साथीहरू पढ्न सकिँदैन भनेर भर्ना भएनन् । मैले चाहिँ गाइड गेसपेपर किनेर घोक्न थालेँ । त्यही सालदेखि जिल्लास्तरीय टेस्ट शुरु भयो । म टेष्टमा विषय नलगाई पास भएँ' बुढाले भने ।

सोही सालको एसएलसीमा भने बुढाले गणित र इतिहासमा आलु खाए । त्यतिबेला दुई विषय फेल भएकाले पढाउन पाउँथे । राजनीति पनि गर्ने, जाँच पनि दिने, मास्टरी पनि गर्ने आत्मनिर्णय लिएर बुढाले पुण्टिवाङ प्राथमिक विद्यालयमा पढाउन थाले । केही समयपछि नै शिक्षक हड्ताल शुरु भयो । जिल्ला शिक्षा कार्यालय घेरेर पढाउन नपुग्दै बुढाको जागिर खारेज भइसकेको थियो । कारण थियो - राजकाजको मुद्दा परेको । त्यसपछि थवाङकै हाइस्कुलमा बुढा पढाउन भर्ना भए । नियुक्ति पत्र नपाउँदै बुढाको जागिर खारेज भयो त्यहाँ पनि ।

त्यसपछि त जिल्लाभर निर्देशन भयो - धर्मेन्द्रलाई जागिर नदिनु । अर्को वर्षको कम्पार्ट परीक्षामा पनि बुढालाई सफलता हात परेन । इतिहास त कट्यो तर गणितले फेरि धोका दियो । त्यहीबेला रुकुमको लुकुमबाट साथी बीरेन्द्र घलेले पत्र पठाए - यहाँ मास्टरको दरबन्दी खाली छ आउनू । झोलामा एउटा खास्टो र डायरी च्यापेर बुढा हिँडे लुकुम । थवाङबाट तीन घण्टा टाढा लुकुममा शुरु भयो नयाँ जागिर । यस्तैमा एक दिन सहकर्मी महेन्द्र पन्थीले प्रस्ताव राखे - कोल -रुकुमै अर्को गाऊँ) घुम्न जाउ"m

कोलका हेडमास्टर भक्तिनाथ घिमिरे पन्थीका साढुदाइ थिए । "कोल हाइस्कुल एसएलसीमा दुई साल निल भइसकेको रहेछ । त्यो साल पनि निल भए अनुदान रोक्का हुने रहेछ । स्कुलका शिक्षकहरू कुराकानी गर्दा यो साल पनि निल भयो भने खानुहोला तलव भनी ठट्टा गर्दै थिए । मैले ए Û बड्डा हो मलाई रेगुलर मिलाइदेऊ म पास गरेर बचाइदिन्छु भनेँ" बुढा पुराना दिन सम्झँदै भन्छन् । स्कुललाई पनि पास गर्ने विद्यार्थी चाहिएको थियो । एसएलसी पास गरिदिने शर्तमा बुढा रेगुलर विद्यार्थी बने । वर्षभरिको हाजिर एकैदिन भयो । बुढाले सालभरको फी पनि एकैपटक बुझाए ।

धर्मेन्द्र नामले कहीँ काम गर्न दिएन । रोल्पामा त पढाउन समेत प्रतिवन्ध नै लाग्यो । त्यसैले नाम फेरे उनले र अब धर्मेन्द्रबाट रुपान्तर भए सन्तोष बुढा । जन्म मिति पनि वास्तविक भन्दा दुई वर्ष घटाए । पिताको नाम पनि फेरे । कक्षा नौको मार्कसिट लिन थवाङ हाइस्कुल आउँदा हेडमास्टर कुलानन्द गिरीले 'म यहीँबाट मिलाइदिन्छु रेगुलर' भने पनि बुढा मानेनन् । 'बरु म एक्जाम्टेड परीक्षा यहाँबाट दिन्छु' भनेर र्फम भरे र रुकुम फर्किए ।

एसएलसी शुरु हुने दुई दिनअघि बुढा मुसिकोट गए । कहिल्यै पनि राति १० बजेभन्दा पछि पढेनन् । किताब पल्टाउँथे र हेर्थे शीर्षक मात्र । मुसिकोटमा जहाँ उनी बस्थे त्यहाँ महेश र हीरा नामका दुई साथी पनि थिए उनीहरुले महिनौँदेखि ट्यूसन पढेका थिए । र, रातिसम्म पढ्थे । रेगुलर परीक्षा सकिएपछि बुढा सीधै लिवाङ हान्निए चार दिनपछि हुने एक्जाम्टेडको परीक्षा दिन । नतीजा निस्कियो - उनी रेगुलर र एक्जाम्टेड दुवैतर्फ सेकेण्ड डिभिजनमा पास भए । रेगुलरमा ३७६ अंक ल्याए । एक्जाम्टेडमा ३८० । धर्मेन्द्र नामले धेरै दुःख पाएको बुढालाई थाहा थियो । त्यसैले धर्मेन्द्रलाई घरमा थन्क्याइदिए । सन्तोष गयो क्याम्पस पढ्न दाङ ।

नाम फेर्दा कुनै समस्या परे न त ? पर्‍यो नि Û "स्कुलका श्रीधरसरले कलेज पढ्दै गरेका पार्टीका साथीहरूलाई भन्नुहुँदो रहेछ 'धर्मेन्द्र दाङमा पढ्न आएको छ गणितमा अलि कमजोर छ सहयोग गर्नु' साथीहरू क्याम्पसको रजिस्टर पटकपटक पल्टाउँदा रहेछन् । नपाएर हैरान" बुढाले भने ।

त्यहीबेलामा रोल्पामा संगठन गर्न गएका धर्मेन्द्र बाँस्तोला -हाल माओवादी केन्द्रीय सदस्य) पनि धर्मेन्द्र बुढा ठानिएर समातिएछन् । बुढाले थपे "धर्मेन्द्र दाङमा पढ्छ भनेर पुलिसहरू पनि कलेजमा पटकपटक आए । मलाई पनि दुई/तीनपटक तपाईको नाम के हो भनेर सोधे ।"

स्मरणीय घटना त अर्कै छ । दाङमै कार्यक्रमको तयारी गर्दागर्दै बुढा पक्राउ परेछन् । सुरक्षाकर्मीहरू धर्मेन्द्र यही हो भनेर फसाउन खोज्दा रहेछन् तर प्रमाण छैन । त्यहाँका प्रहरी प्रमुखले पटकपटक कलेजमा खोज्न पठाएछन् - धर्मेन्द्रको नाम । केही नलागेपछि दिक्क भएर सोह्रौँ दिन त बुढालाई नै सोधेछन् - तिम्रो नाम के ? , बुढा यो जवाफ दिएर छुटेछन् "मेरो नाम सन्तोष बुढा । म धर्मेन्द्र होइन । धर्मेन्द्र मेरो दाइ हो, ठूलो बाको छोरा ।"








No comments: