गाउँमा म्याट्रिक छिचोलेर जतिबेला चारभञ्ज्याङ छिरियो मोबाइल नामको बेतारे फोनको नेपालमा जायजन्म नै भाको थिएन । थियो त त्यही तार्लाङतुर्लुङ ल्यान्ड फोन । त्यही पनि भनेको खोजेको बेलामा नपाइने ज्यादै महङ्गो । गायिका कविता आलेमगर दिदी भन्नुहुन्थ्यो काठमाडौँमा शुरुमा फोन राख्नेहरुमा स्वर्गिय गायक अरुण थापामगरको परिवार पनि हो रे ।
देख्दादेख्दै पोष्टपेड मोबाइल फोन आयो । सेवा लिँदा करिब पचास हजार गन्नुपर्ने । अनि सेटको तौल थियो होला पुननपुग एक किलो । त्यतिबेला म काम गर्ने माछापुच्छ्रे पस्मिनाका साहुजीहरु हाल नेपाल बार एसोसिएसनका महासचिव रमनकुमार श्रेष्ठसमेतले ४० हजार जति तिरेर मोबाइल जोड्दा लागेको थियो साला मेरो यस्तो दिन कैले आउला । कुर्दै जाँदा प्रिपेड फोन आयो त्यतिबेला मन एकसय अस्सी डिग्री घुमिसकेको थियो लाग्थ्यो मोबाइल बोक्दैमा ठूलो मान्छे भइँदैन । त्यतिबेलासम्ममा पत्रकारितासँग नशा जोडिइसकेको थियो । यो यस्तो पेशा जस्मा आफ्नो लागि नचाहिए अर्कैको लागि भए पनि फोन चाहिने ।
पहिलोचोटी एक जना साथिले उहाँकै नाममा रहेको सीम चलाउन दिनुभएको थियो र सेट चाहिँ जुटाएको थिएँ कुनै समयका रुम पार्टनर हाल बेलायत निवासी चित्रबहादुर गर्बुजाबाट । नोकियाको सेट पठाइदिनुभएको थियो उहाँले मित्रताको चिनोको रुपमा । बल्ल बानी पर्दैथ्यो राजा ज्ञानेन्द्रको सनकमा परेर सारा मोबाइल सेवा नै विश्राम लिन पुगे धेरै समय । प्रिपेड मोबाइल बन्द गर्ने र पोष्टपेड मात्र चलाउन दिने भने पछि मानिसहरु खान सुत्न छाडे र रातदिन लाम बसे टेलिकम कार्यालय वरपर । भीड देख्दा लाग्थ्यो यी मान्छेहरुलाई खाने सुत्ने होइन बोल्ने सेवाको अभाव रैछ । मेरा केही साथीहरु आँखा नझिम्क्याएरै लाइन बसे । मेरो नागरिकता सरकारी अधिकृतले बेलैमा प्रमाणित नगर्दिँदा लाइनमा परिनँ ।
चिनेका साथीभाइले समेत नागरिकता प्रमाणित नगर्दिँदा रन्थनिएको मेरो समस्यामा मलम पट्टी लाइदिएका थिए एउटै घरमा बहालमा बस्ने सहबासी माधव दाहालले । मालपोत कार्यालय ललितपुरका खर्दार उनले एक अधिकारी थरका अधिकृतलाई अनुरोध गरेर काम सकाइदिएका थिए । लाग्छ माधव दाइसित भेट नभएको भए मैले मोबाइल बोक्थेँ कि बोक्थिँन । सहकर्मी शेषकान्त पन्डितजीकी भाउजु टेलिकम कर्मचारी भएकाले अलि सजिलो भयो । दुईतिर लाइनको बीचमा चेपिएर मैले गोमा भाउजुलाई पैसा र कागज हात लाइदिएँ । एकछिनपछि भाउजुले थैलीमा लुकाएजस्तै गरेर सिमकार्ड दिनुभयो । लाइन नबसी सिम पाउँदा गर्वले छाती फुलेर आयो । साथीहरुलाई धाक लाउन पनि पछि परिएन ।
कहिले काटिँदै कहिले जोडिँदै ९८५१०९९९२९ ले घरपरिवार विदेशमा बसेका दाइ कार्यालयका हाकिम र सहकर्मीसँग गाँसि नै रह्यो । अनेक संक्रमण झेलेर आएको यो फोन अहिले त मलाई लाग्न थालेको छ कतै म थाम्न सक्दिनँ कि । अघिल्लो महिना करिब १५ दिन यस्ले खुराक पाएन । असाध्यै पीडाबोध भयो मलाई । केही साथीभाइ र ब्लगमा पनि पोखेँ यो पीडा । गोरखापत्रको नयाँनेपालमा काम गर्ने साथीहरुले हामी दामासाही उठाएर भएर पनि तपाईको फोनको बिल तिर्दिन्छौँ भन्दा एकातिर मेरो पनि कोइ रछ जस्तो लाग्यो भने अर्कोतिर के म साँच्चै भीखमङ्गा भइसकेँ त भनी सोच्न बाध्य तुल्यायो ।
शुरुमा डिपोजिट बुझाउन र नियमित महसुल बुझाउन बाहेक सेट किन्नमा मैले आजसम्म खर्च गर्न परेको छैन । दाइले मलेसिया र भारतबाट उपहार ल्याइदिएका महंगा सेट मैले नै हराइदिएँ । तैपनि म निराश छु मोबाइल कसरी चलाउने तरिका मैले जानिनँ । कार्यालयका केही साथीहरुले मोबाइललाई पेजर बनाएका छन् त्यसैगरी चलाउने हो कि बोल्ने र सुन्नेगरी चलाउने हो । कसैसित उपाय भए सुझाइदिनु हुन्छ कि ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment