Monday, December 15, 2008

मुटुमाथि ढुङ्गा राखी हाँस्नुपर्दा


२०६४ असोज १ गतेदेखि गोरखापत्रमा नयाँ शुरुवात भयो खस नेपालीबाहेकका भाषामा पनि रचनासामग्री छाप्ने । ओम शर्मा कार्यकारी अध्यक्ष हुनुहुन्थ्यो संस्थानभित्रैका विभिन्न बाधाविरोध छिचोल्दै उहाँले हिम्मतिलो निर्णय गर्नुभयो । सरकारी मुखपत्रमा खस नेपाली बाहेकका भाषालाई पनि समान दर्जा दिलाउनुभयो । माओवादी मन्त्रीहरुले सामूहिक राजीनामा दिएकै दिन सो ऐतिहासिक कामको थालनी भएको थियो । संयोगले एक साताअघि मात्र संस्थानको स्थायी सेवामा प्रवेश गरेको मलाई शर्माले नयाँनेपालको संयोजनका लागि मौखिक आग्रह गर्नुभयो र मैले सहर्ष स्वीकारेँ । करिब आधादशक जनजाति आन्दोलनको विभिन्न मोर्चामा भाग लिएकोले पनि नेपालको भाषिक समस्याका बारेमा मलाई राम्रो जानकारी थियो । राज्यबाट हेपिएको भाषिक समुदायको एक सदस्य भएको कारणले पनि मैले त्यो आग्रह स्वीकारेको थिएँ ।
शुरुमा छ भाषाबाट शुरु गरिएको नयाँनेपालको जरो फैलिएर अहिले २६ भाषा पुगिसकेको छ । १५ महिनाको अवधिभर गोरखापत्र निस्किएको जति सबै दिन विभिन्न भाषा पेज निस्किएकै छ चाहे त्यो नेपाल बन्द हड्ताल वा कर्फ्यूको दिन नै किन नहोस् । संस्थानले दिने नाम मात्रको पारिश्रमिकको मुख नहेरी भाषासेवी साथीहरु अहोरात्र खट्नुभएकै छ । खस नेपाली भाषामा समाचार लेख्न जागिर खाएको भए पनि म पनि दुइटै जिम्मेवारीलाई घिसार्दै अघि बढिरहेकै छु ।
गोरखापत्रको यो कार्यलाई केही मुठ्ठीभरले पचाउन नसके पनि धेरैले तारिफ गरेकै छन् । गएको वर्ष गोरखापत्रले देखाउन लायक काम गरेकै त्यही नयाँनेपाल थियो । जो नेपाली पत्रकारितामै विशुद्ध नयाँ प्रयोग थियो । संयोगले संविधानसभा चुनावमा माओवादी सबैभन्दा ठूलो दलका रुपमा स्थापित भयो र चुनावपछि उसकै नेतृत्वमा सरकार बन्यो । डाक्टर बाबुराम भट्टराई अर्थ मन्त्री बन्नुभयो । उहाँकै सदाशयता र तत्कालीन संस्थान व्यवस्थापनको उहाँसितको गाढा सम्बन्धको कारणले गोरखापत्रको सो नवीन प्रयोगले तीन करोड रुपियाँ पायो । बजेट बक्तव्यमा सो कुरा दस्तावेजीकरण भयो ।
स्वाभाविक हो हिजो संस्थानको सीमित कोषबाट नयाँनेपाल जन्मिएको थियो । संस्थानको सो अवस्था र प्रयासका बारेमा नयाँनेपालकर्मी साथीहरु जानकार हुनुहुन्थ्यो । र त्यही अनुरुप प्रस्तुत हुनुभयो । सहयोग गर्नुभयो । तर अहिले सरकारले बजेटमै ब्यवस्था गरेपछि उहाँहरुको आशा पनि बढेको छ । संस्थानले कसरी खर्च गर्दोरहेछ भनेर पर्खेर बस्नुभएको छ । हाम्रो योगदानलाई कदर गर्दोरहेछ रहेछ भनेर कुर्नुभएको छ । तर बजेट सार्वजनिक भएको तीन महिना बितिसक्दा पनि संस्थान ब्यवस्थापनसित भने कुनै भिजन देखिएको छैन । बजेटको पहिलो किस्ता निकासा भइसक्दा पनि कुनै कार्यक्रम ल्याइएको छैन ।
यसै सम्बन्धमा नयाँनेपालकर्मीलाई पत्रकारिताको तालिम दिने सम्बन्धमा मैले एक प्रस्ताव तयार गरेको थिएँ । त्यसबारेमा संस्थानमा आज सोमबार बैठक आयोजना गरिएको रहेछ । तर तालिमको संयोजन गर्न जुन व्यक्तीलाई दिइयो उनबाट नयाँनेपालको स्पीरीटमाथि न्याय हुन सम्भव छैन । मेरो पहिलो असहमति यहीँ हो । दोस्रो कुरा म नेपाली सेवामा नियुक्त भए पनि विगत १५ महिनादेखि मसँगै नेपाली सेवामा प्रवेश गरेका सहकर्मीसरह नेपालीमा समाचार संकलन गरिरहेकै छु र निशुल्क रुपमा नयाँनेपालको संयोजन पनि गर्दै आइरहेको छु । सँगै नियुक्त भएका साथीहरुले सोध्छन् नयाँनेपालको संयोजनवापत् कति पैसा आउँछ । केही छैन भन्दा उल्टो उपहास गर्छन् । उता आफ्नो हाल चाहिँ सधैँ गिर्दो छ । नयाँनेपालको संयोजन गर्दागर्दै मोबाइलको बिलको पारो चढेको कति भयो । अरुबेला १००० रुपियाँले धान्ने मोबाइललाई अहिले ३००० ले पनि पुग्दैन । पैसाको खडेरी लाग्दा एक सातादेखि मोवाइल वान वे भइराखेको छ । मोबाइललाई खुवाउन सकिएको छैन । न राम्रोसित नेपालीमा रिपोर्टिङ गर्न सकिएको छ न अन्य कुनै काम नै । उल्टो बेहोर्नु परेको आर्थिक हानी पनि । ए बाबा मैले गोरखापत्रको के ऋण कुन जुनीमा खाइदेको रहेछु र डब्बल डब्बल ड्यूटी पनि गर्नपर्ने । गोजीको पैसा पनि खर्च गर्नपर्ने । २६ भाषाभित्रको अपसी विवाद सुल्झाउने न्यायाधीश पनि मै बन्न पर्ने । भए नभएको टेन्सन मैले नै खप्नुपर्ने । केही दिनदेखि म दिक्क थिएँ । यस्तैयस्तै कुराले ।
केही दिन यता भन्न पनि थालेको थिएँ नयाँनेपालको यस्तै स्थिति रहिरह्यो भने म नयाँनेपाल मात्र होइन गोरखापत्र नै छाड्छु । प्रधानसम्पादक र केही साथीलाई अस्ती नै भनेको थिएँ । मैले खेप्नुपरेको सास्ती प्रधानसम्पादकले पनि महसूस गर्नुपर्छ । एउटा मामूली रिपोर्टरको टाउकोमा भारी बिसाएर उहाँले सुख पाउनुहुन्न । त्यस्तै महसूस संस्थानका प्रकाशकले पनि गर्नुपर्छ । हामी तल्लोस्तरका कर्मचारीलाई जलाएर प्रकाशकले चाहिँ प्रशंसाको हात मात्र सेक्ने गर्नुहुन्न भन्ने मेरो आशय हो । त्यही भएर मैले आज कार्यकारी अध्यक्ष मातृका तिम्सिनालाई पनि त्यही कुरा भनेँ । थाहा छैन ती बाहुन बाजेले मेरो पीडा र आशय कति बुझे । मेरो सरोकार नयाँनेपाललाई संस्थागत गरिनुपर्छ १५ महिना जसरी चल्यो त्यो प्रवृत्तिको अन्त्य हुनुपर्छ भन्ने मात्र हो । त्यसको इञ्चार्ज म नै हुनुपर्छ भन्ने महत्वाकांक्षा पनि छैन मलाई । यति हो मैले अब डब्बल ड्यूटी र स्वयमसेवाबाट मुक्ति पाउनै पर्छ । होइन भने मसितै नियुक्त भएका अरु पाँच साथीहरुले पनि १५ महिनाका दरले स्वयमसेवा गरुन् । पहिले पो संस्थागत व्यवस्था गर्न संस्थान समर्थ थिएन त । संस्थानसित पैसा थिएन । अब त व्यवस्था गर्नुपर्यो नि ।
कसैले सुने पनि नसुने पनि बुझे पनि नबुझे पनि मैले मेरो कुरा राखेँ । चाहे जुनसुकै रुपमा लिऊन् । मेरो गुनासो पोखेँ । नयाँनेपालका करिब पाँच दर्जन साथीहरुको गुनासो पोख्ने कन्टेनर बनेको मेरो गुनासो पोख्ने ठाउँ नै कहाँ पो छ र । एक किसिमले सन्तोक लाग्यो । परिवेश अनुकूल थियो थिएन मनको वह बिसाइयो ।
यस्तो भन्नुपर्ने अवस्था आइलागेकोमा एकातिर मन अमिलो पनि लागेको थियो । मनमा कुरा खेलाउँदै अध्यक्षको कार्यकक्षबाट आफ्नो कार्यकक्ष आइपुग्न पाएको छैन नयाँनेपालको कम्प्युटर गर्ने शुसीला दिदीको फोन आयो – नरेश भाइ यहाँ नेपालको कम्प्युटरमा सिडी चल्दैन पेन ड्राइभ चल्दैन इन्टरनेट चल्दैन प्रिन्ट गर्न अर्को बिल्डिङसम्म जानुपर्छ । आदि आदि । एक मनले नयाँनेपालको गुनासो सुन्ने भाँडो म मात्र रहेछु भनेर पड्किदिउँ कि जस्तोलाग्यो तर मनको वह कसैलाई नकह नै जाति लाग्यो र आफैँलाई सम्हाल्दै भनेँ – हो दिदी म सबै छिट्टै बनाउने व्यवस्था मिलाउँछु ।

No comments: